ॐ
तेस्रो नेत्रको भूमीबाट
सुसन मास्के
 |
| Meditation in Kailash |
“कैलाश गएर धेरै उर्जा बटुलेर ल्याउने ल ” कैलाश मानसरोवर जाने योजना तय गर्दा मेरो अनन्य साथी अन्जु क्षेत्रीले एउटा इमेलबाट यो प्रस्ताव राखेकि थिई । कैलाश मानसरोवरको यात्रा पनि सकियो , तर के उर्जा बटुले त मैले ? शायद फेरि लेखनसित जोडिने त होइन ?कैलाशको उर्जालाई आज नमन गर्दै म कोशिश गरि हेरु लेखनसित फेरि एकपल्ट जोडिन ।
अगस्त १८ तारिख सन् २०१३ विहानको साढे पाँचबजे महाराजगन्जको प्रहरी तालिम केन्द्र अगाडि हामीलाई कैलाश मानसरोवर जाने बसले टिपेर हिड्यो । बर्षौदेखि मनभित्र सन्चित एउटा सपनाले बल्ल यथार्तमा तैरिएर आकार लिएको थियो ।
कैलाश मानसरोवरसित मैले राखेको सरोकार सत्र अठार वर्षजति भयो होला । म उनको आकर्षणमा कसरी बाधिए मलाई संझना छैन । तर उनी मेरो मानसमा यसरी आएर बसिदिए म उनलाई अक्सर सपनाहरुमा भेटन थाले । उनी कस्ता छन् सपनाहरुले मलाई बताउन थाल्यो । कैलाशको स्वेत हिमशिखर र शान्त नीलो मानसरोवर स्वप्नको रहस्यमा लटपटिएर मानौ निम्तो दिइरहन्थ्ये । सपनामा कैलाशको कुदिएको छविसित म तुलना गर्न चाहन्थ्ये उनको साच्चैको बास्तविक आकृतिसित । तर उनलाई मौलिक र साकार रुपमा यसरी नीजिबनाएर हेर्न चाह थियो ,बजारको टुरिष्ट पसलहरुका स्ट्याण्डमा राखिएका कैलाशको पोस्टकार्डहरु हेर्नबाटसम्म तर्किन्थे। आफूलाई कुनै पोस्टकार्ड चाहिएको छ भने पनि कसैलाई लिइदिन अनुरोध गर्थे । वा कथंककदाचित मेरो हातमा कैलाशको पोस्टकार्ड आए पनि आँखा चिम्म गरेर पोस्टकार्ड डेस्कमा पल्टाएर राखिदिन्थे । क्रेजी ह ?
वर्षौ बित्यो ।कैलाशको बोलाहटको निम्तोकोलागि योजनाबद्ध केही सुरसार भएन । केही संवेदनसिल वाचाहरु कैलाश समिप पुर्याइदिने बने पनि ती दीवास्वपनहरु जस्तै मात्र रहे । झन देशबाट धेरै पर भुगोलको पल्लो कुनाको क्यानाडाको बसाइमा कैलाशसित भौतिकरुपमा अझ झन पर भए । तर मानसिक सामिप्यता भने कैलाशसित बनिरह्यो । त्यसैले त सपनाहरुमा मलाई उनको निम्तो आइरहयो । उनको निम्तोको धेरै आलटाल भयो ,अब मलाई कैलाश पुग्नसक्ने भरपर्दो साथ र ठोस योजना चाहिएको थियो । गतवर्ष एउटा परिवारिक विवाह समारोहमा सम्मिलित हुन नेपाल पुगेपछि साथी अन्जुसित मनको बह पोखे । उसित त मभन्दा पनि कैलाशको तीव्र हुटहुटी रहेछ । ल संगसंगैजाने वाचा पक्का भयो । कैलाश यात्रा प्रवन्धको सारा जिम्मेवारी उसले बोकी मलाई केवल अब उसले भनेको समय नेपाल पुग्नु थियो ।
इन्टरनेट र यूट्यूबबाट अन्जुले पठाएको कैलाश यात्राबारे जानकारी र यात्राबारे बनेका पोस्टर ,पोस्टकार्ड, डकुमेन्ट्रिहरु धमाधम आउन थाले । के भो त अनुभुति त सदा नीजि हुन्छ यो सोचेर मैले वर्षौ अधि कैलाशलाई केवल आफ्नो अगाडिमात्र हेर्ने ब्रत भङ्ग गर्दै सारा डकुमेन्ट्रि, पोस्टकार्ड र पोस्टरहरु हेरी भियाए ।
आध्यात्मको अन्यौलता या मनको कौतुहलता कि केही सारै नै संवेदनशील इस्यू पनि मसित जम्मा भएका थिए , मलाई यो सब कैलाश सरोवरलाई बुझाएर निर्मल, निर्भार र शान्त हुनु थियो । विपरित जीवन धारामा बगेको जस्तो लाग्ने मेरो जीवनका कैयौ जटिल र ओझेल गुढ प्रश्नहरु थिए जसको जवाफ मैले खोज्न सकेको थिइन् । आफुसित जुधेर म थाकेको थिए । मेरो सारा उर्जा रित्तिएझै थिए । अतित कुनै दुवस्वप्न झै बनेर मलाई लखेटिमात्र रहेको थियो । र केही थियो मसित जुन मेरो थिएन मलाई यो सबै कैलाशलाई विसाएर मुक्त हुनु थियो । मनको सारा आकुलता र कोलाहालबाट मौन हुन थियो । विश्राम लिनु थियो ।
कैलाश जर्नी प्राइभेट लिमिटेड भारतीय र अन्यविदेशी यात्रीहरुलाई कैलाश पुर्याउने पुरानो नेपालको ट्राभल एजेन्सि रे । भरपर्दो र अनुभवी ट्राभल एजेन्सिको यो छनौट पछि अगस्त ६ तारिखमा क्यानाडाबाट म नेपाल आइपुगेको थिए । कैलाश यात्राकोलागि आवश्यक कागजात भिसाको तैयारी पछि ओरेन्टेशन तैयारीकोलागि हामी बार जना नेपालीहरुको समूह तयार थियौ । एकदुइ जना नेपाली कैलाश यात्रामा जाने परम्परा तोडेर पहिलो पटक यति धैरे नेपाली समूहले कैलाश यात्रा गरिरहेका थिए । यस हिसाबले पनि यो यात्रा एतिहासिक भएको थियो ।
यात्रको शुरुतिर
त्यो शुभ घडी आएको थियो । बारजनाको नेपालीहरुको समूह डप्फा डप्फामा काठमाण्डौको विभिन्न ठाउँमा
प्रतिक्षारत थिए ।डा. घनश्याम गुरुङ्ग र उहाको मिसेज , दाहाल दम्पति सरिता र भुवन , महेश भिनाजु र चन्द्रा दिदी सहित म महारगन्जबाट डा. अरुणा र अन्जु होटल सोल्टिको परिशरबाट र एउटै परिवारका सपत्नीक दाजुभाइ ताम्राकार बन्धुहरुलाई कोटेश्वरबाट लिदै हाम्रो बस अरु भारतीय ४५ यात्रीहरु सहित नेपाली समय एकबजेतिर तातोपानी बोर्डरमा पुग्यो । खाना खाएर बसलाई त्यही छोडेर लगभग १५ मिनेटको हिडाइ पछि हामी नेपाल र तिब्बतलाई छुट्याउने मितेरी पुल पग्यौ ।
 |
| Nepali group at the TatoPani border |
पुललाई हिडेरै आधा पारगरेपछि तिब्बतको सामूहिक भिसालागेको नम्बर अनुसार पालो पर्खर्दै लामवद्ध भयौ । पूलको आधा उता तिर उभिएका चाइनिज प्रहरीबाट गरिएको पासपोर्ट भिजा चेकिङ्गलाई सम्पन्न गर्दै लासाको डिपार्चर प्रोसेसिङ्गको भवनभित्र भएको दोहोरो कडा चेक पछि हाम्रो समूहले अर्को रीजर्भ बसबाट न्यामलुङको लागि प्रस्थान गर्यो ।
बीचबाटोहरुको चेकिङ्ग पोस्ट जस्तो लाग्ने धेरै ठाउँहरुमा बसलाई रोक्दै यात्रुहरुको भिजा , पासपोर्टको फोटो मिलान गर्ने कामहरु चलिरहेको थियो । एक ठाउमा केमा हो चित नबुझेर तिब्बती अधिकारीले एकघण्टा बसलाई रोकेर राख्यो । पछि आउने अरु बसहरु सबै चलान भइरहेका थिए । स्थानीय चेक पोस्टको अधिकारीसित ड्राइभर र चाइनिज गाइडको झगडा जस्तो पनि पर्यो । फर्काएर पठाउने पो हो कि भन्ने त्रास सबको मनमा उठन थालेको थियो । तर यो अवरोध टर्यो शायद केही रसद पानी चेकपोस्टको अधिकारीलाई बुझाएपछि ।
अब बसलाई बेतोडले आफ्नो गन्तव्यतिर कुदिरहन कुनै अवरोध थिएन । वरपरका पहाडहरु अग्लिदै र झनझन चुलिदै गएका थिए । ४००० फिटको उचाइ को पहाडी घुम्तिहरुमा बस कहिले दायाँतिर कोल्टिएर घुम्थ्यो कहिले वायातिर । दायाँतिर देखेको पहाडी भीर पाखा एकैछिन्मा बायाँतिर पुग्थ्यो । बायाँतिरको झर्ना र नदीले फेरि दायाँतिर कोल्टे फेरेको जस्तो लाग्थ्यो । रेनफोरेस्टको हरियाली भित्र फुस फुस उडिरहेको बादल र हुस्सु भित्रभित्र भएर बस कुदिरहेको जस्तो लागेको थियो । बसको झयालबाहिर हर पल बदलिरहेने दृश्यको मौन साक्षी बन्दै म, बसभित्र चन्द्रादिदीको नेतृत्वमा चलिरहेको अन्ताकक्षरी सुन्दै बाहिरको पत्याउन नसकिने र शब्दको वर्णनभन्दा सुन्दर दृश्यहरुसित अल्झिरहे । सडकको विचोबिच चट्टानको छाति चिरेर झरेको झर्नाको पर्दा छिचोल्दै बस सललल पार गर्दा बाल्यकालमा पढेको फैन्टम कमिक बुकको खोपडीनुमा गुफातिर मलाई मेरो स्मृतिहरुले लगेर छोडिदिएको थियो ।
 |
| Way to Nyalam Bazaar |
हिउँ नपरेको तर अग्ला चट्टानहरु सगरमाथाको हाराहारीमा अग्लिरहेकाका थिए । जानिफकार साथीहरुले भने यो नेपालपट्टिको विपरित पाटातिरको सगरमाथाको बेस क्याम्प हो । यतातिरबाट पनि सगरमाथा फत्ते
गर्नेहरुले सगरमाथाको चढाइ गर्छन रे । झिसमिसे साँझतिर बिस्तारै बसले अलि तल ओर्लिदै सानो तर सुन्दर बस्ती न्यालम बजारको गेस्ट हाउसमा हामीलाई लगेर ओरालेको थियो ।
 |
| Hiking uphill in Nyalam Hill |
 |
| First, Second and Third! |
यात्राको दोस्रो दिन विहानको हल्का नाश्तापछि हामी यात्रुहरुलाई उचाइसित अभ्यस्त गर्न न्यालममा नै राख्ने योजना थियो र हामीलाई यस दिन नजिकको एउटा निकै ठाडो डाडामा चढने कार्यमा संलग्न गराइएको थियो । दुइ घण्टाको उकालोको चढाइपछि मेरो हात र अनुहारमा हल्का झमझमाहट भइरहेको थियो । लेक लागेको त होइन ? तर डायमोक्सको आधा डोज हरेक दिन लिने भनेर हामी नेपाली समूहले सल्लाह गरेर काठमाण्डौबाटै औषधि लिन शुरु गरको थियौ । मैले सोचे, यसैको साइड इफेक्ट हुन सक्छ । तर न्यालममा यात्रीहरुसित मिसिएर मैले पनि अक्सिजनको हाते सिलेण्डर किनी भ्याए ।
 |
| I was 6th :P |
 |
| Nepali crew ready for Day 4 |
भोलिपल्ट सबेरै डोङ्गवा जान गेस्ट हाउसबाट हामी हतारिएर बाहिरियौ । हिजोको हाम्रो बस अगाडि थियो तर बसको सिट मोजा, टोपी र मफलर पन्जाहरुले सुरक्षित पारिएको थियो । जुनसिटमा बस्न खोजे पनि एउटा भारतीय यात्री हामीलाई सो स्थान कसैको लागि रिजर्भ भएको भन्थे र बस्न दिदैन थिए ।
मुस्ताङ्गे राजधरानासित सम्वधित तिब्बतियन भाषाका जानकार हाम्रो टोली नेता डा. घनश्याम गुरुङ्गले हामीलाई परेको अफ्ठ्यारो बारे ड्राइभर र गाइडसित कुरा राख्नु भयो । उता बस रिजर्भ गर्ने भारतीयलाई भने आफुले रोकेर राखेको सिटमा अर्को बसबाट भारतीय यात्रुहरुलाई ल्याउन गारो भइरहेको थियो । भारतीय यात्रीको यो सानो हाँसउठदो करतुत पछि हामीलाई चढाएर बस आफ्नो गन्तव्यतिर कुदयो ।
 |
| Long way to go! |
 |
| We saw deserts on the way. |
यो दिनको हाम्रो यात्रा निकै लामो यात्रा मान्नु पर्छ । समुन्द्र तह माथि४५०० फिटमा अवस्थित तिब्बती पठारलाई छिचोल्दै बालुवाहरुको पहाड जस्तो लाग्ने मरभुमी बीचोबिच बनाइएको लामो अलकत्रे मिलौ परसम्म देखिन सकिने सोझो सडकविच दिनभरी जसो हाम्रो बस बेतोडले कुदिरह्यो । बाहिर भने जीवनको नामनिशान मेटिएको जस्तो थियो बनस्पति देखि प्राणिसम्मको । गाउँ र बस्तीको नाममा स्थानीय तिब्बतियनहरुको स साना पाल मिलौको दुरीमा एक्का दुक्का भेडीगोठ र माटो र ढुङ्गाको चारपाटे साना घर फाटफुट मात्र देखिन्थे ।
 |
| Lake Pigatsu and Brahmaputra River |
पिगुत्से लेक र ब्रम्हपुत्र नदीको सौन्दर्य निहार्दै दिनभरीको लामो सफर पछि रात्रीको बास बस्न हामी डोङ्गवा पुग्यौ । घेरै साथीहरु हल्का विसन्चोमा देखिन्थे । दिदीलाई कडा टाउको दुखिरहेको , भिनाजुलाई रुघा खोकी लागेको , तम्राकार परिवारमा ज्वरो र डा. अरुणालाई हाइ अल्टिच्यूटको निद्रा मात्र आइराख्ने असर परेको थियो । नेपाली कुकले तैयार गरेको खानपान पछि आराम गर्न म लुसुक्क बेडमा घुसे । लेक त मलाई पनि लागेको थियो । टाउको दुखेको थियो तर विसन्चो हुन लागेको खवर मैले कसैलाई पतो हुन दिइन । राती उठेर उलुक्क भोमिट गरे अनि टायलनल खाए । मेरो बेड नजिक बेखवर मस्त निदाइरहेकी अन्जु भने स्वस्थ थिइ ।
विहान म अलि ठीक थिए । हल्का चिया र नाश्ता पछि हामी चौथो दिनको यात्राकोलागि तैयार थियौ । र यस यात्राको गन्तव्य हामीलाई समुन्दी सतह भन्दा ४५६० मिटर माथि अवस्थित पवित्र मानसरोवर लेक समिप पुर्याउनु थियो ।
स्नेहको न्यानोपनभित्र
 |
| Warmth of my sister's love in Tibet |
 |
| Travellers from around the world. |
यात्राको एउटा प्याटर्न बनिसकेको थियो । संगै बस्ने ,संगै खाने र घुम्ने । नेपालीहरुको समूहमा प्राय सबैको आ आफ्ना जोडा थिए जो आफ्नो जीवनसाथीसित बसको सिटमा वा लजको रुममा बस्न रुचाउथे । डा.अरुणा म र अन्जु बाहेक अरु सबै दम्पतिहरु साथ साथ यस तीर्थका सहभागी थिए । शायद धेरै भारतीयहरु पनि यसरी नै आएका थिए । जो आफ्ना जोडा वा नजिकका आत्मियका साथ बस्न रुचाउथे । आमा छोरी , साथी साथी , पति पत्नी , लगायत दुर मुलुकहरुमा बसेका एनआरआइहरु पनि । हाम्रो समूहमा मिसिएका मलेशिया बस्ने एक जोडा थिए । हरियो रङ्गको उस्तै उस्तै जर्जी ट्रयाक सुट लगाउने उनीहरुको हातमा हरदम प्लास्टिकको सानो स्टिक हुन्थ्यो । जसलाई उनीहरु यता उता छुवाएर मानिसमा पोजेटिव उर्जा जागृत गर्ने र रोग व्यथालाई निको पार्ने दावा गर्थे ।
 |
| Harsha, always smiling! :) |
यात्रामा सबैको ध्यान आफुतिर तान्ने एक वृद्ध महिला हर्षा पनि थिइन । उनी यस यात्राको सवभन्दा सिनियर जस्तो लाग्ने एक भारतीय महिला थिइन ।बुढेसकालको गरिमामय सेतै फुलेको कपाल, सधै ताजा देखिने उनको सरल मुस्कान । उनको श्रीमान अमेरिकामा न्यू जर्जीतिर कतै बस्छन रे छोरी पनि छिन रे विदेशमै । उनी भने दिल्ली विश्वविधालयमा पढाउने गर्छिनरे । उनको विषेशता थियो विलो माइनस ५ डिग्री तिब्बतको तापक्रममा पनि एकसरो सारी र ब्लाउजमाथि हल्का स्वेटरको पहिरनमा मात्र हुन्थिन् । एउटा विदेशी युवती हंगेरियन महिला जो जहिले पनि एक्लै हुन र बस्न रुचाउथिइन ।
 |
| Mom and daughter who look like twins :) |
 |
| Mona Parmar with her husband. |
दुइजाना दिदी र बहिनी जस्तो लाग्ने डाक्टर आमा र छोरी । अनि हेण्डसम देखिने एक रिटायर्ड आर्मीका सैनिक । बसमा तिब्बतीयन र चाइनिज डिस्को सुनिरहने रुचाउने डाइभरसित शीव धुनको विभिन्न क्यासेट दिएर बजाउन अनुरोध गरिरहने बम्बइ बस्ने मोना पार्मर ।
अबत मोजा टोपी राखेर हामीलाई सीटमा बस्न नदिने ती भारतीय पुरुष पनि हामीसित घुलमिल भइसकेको थियो र भन्न थालेको थियो “दिस टीम इज द बेस्ट ।” र हरेक अन्ताकक्षरी गीत सकिनसकी गाउन र गीतको फर्माइस गर्न सधै तैयार । उसले मेरो दिदीलाई भन्यो “हम आपके लिए इण्डियामे एक सो रखेङ्गे । वाह क्या गाती है आप ।”
चिसो र कठीन यात्राको यस तानाबानामा यात्रीहरु मानविय न्यानो स्नेहमा उनिएका थिए । समझदारी एक आपसको रेखदेखले यात्रालाई सहज बनाएको थियो ।
 |
| With my best friend, Anju Chhetri |
घरी घरी म अन्जुसित बात मार्थे कहिले उसित नबोलेरै पनि कुरा भइरहेको अनुभूति पाउथे । बर्षौले दूरि बनाएको थियो हामी बीच । नेपालको कलेज र युनिवरसिटीको साथ मात्र होइन जीवनको एउटा कालाखण्डको उ मेरो कर्म सखी पनि हो । जीवनको धेरै माइल स्टोन हाम्रो मित्रता र सहकार्यमा तय भएका छन् । तर कालन्तरमा हाम्रो जीवनले बनाएको आपसको दुरीलाई यस आध्यात्मिक यात्राले फेरि धेरै नजिक ल्याएको थियो ।
आध्यात्मिक क्राइसिस र अन्यौलताहरुमा गुज्रिरहेको म र उसको आध्यात्मको लामो यात्रा र अनुभवको घरिघरि साथ र भरोसा पाउन खोज्थे । तर किन आज आँखा भिज्न मात्र खोजिरहेथ्यो । आज सारा भौगोलिक दुरीहरुलाई नाघेर मानसरोवर कति नजिक बन्दैछन मेरो । पुलकित र अलिकता नर्भस जस्तो छ मन । यो सोचेर , आज म उनलाई हेर्न सक्छु र छुन पनि सक्छु । मैले आँखा बन्द गरेको थिए । थकानले हो कि सोचमा बाधा नपरोस भनेर ।
क्षितिजसम्म फैलिएको नीलो मानसरोवर
 |
| Dreams come true... Mansarowar Lake |
 |
| Blue and pure. |
 |
| Touching the horizon |
 |
| Dancing clouds over the Sarowar. |
हठात आँखा खुल्यो तर जे देखे पत्यार लागेन , मानसरोवर ठिङ्ग मेरो अगाडि थियो । मैले सपनामा देखेको जस्तो नीलो कस्तो नीलो भनेर म भन्न सक्छु । लहरको हल्का शोर भित्र सुन्न सकिने निरब्ध शान्ती । क्षितिजभरी अटाएर फैलिएरको नीलो सरोवरले मलाई पर्खेको जस्तो लाग्यो र भनिरहे जस्तो लाग्यो “ आयौ सानु ?” आत्मिय बनेर हत्तपत मलाई भेट्न आएको सरोवरको जल लहरलाई मैले हातले स्पर्श गरे श्रद्धा पूवर्क आँखा र निधारमा लगाएर भने , स्वप्न बनेर आउने तिम्रो बोलाहटमा तिम्रो निम्तो मान्न म आए सरोवर । मेरो केही नीजिसंबेदनाहरु तिमीमा बिर्सजन गर्नु छ । ती भावना र संबेदनालाई अति सम्मानको साथ तिमीमा समाहित गर्नु छ । तिमीले स्नेहले यसलाई लिने छौ र विश्रामको लागि आफ्नो पवित्र काख दिने छौ र मैले कसैलाई पनि र कहिले पनि भन्न नसक्ने भावनालाई र त्यो संबेदनालाई तिमी जस्तै पवित्र बनाएर राख्ने छौ ।
नीलो सरोवरसित घण्टौ मेरो मौन बात चलिरह्यो । गीत जस्तै बनेर केहि भाव पोखियो शब्दमा
 |
| Lost in my thoughts. |
सरोवर ! मन यो
निर्भार हुन चाहन्छ
छोडेर धमिलो देष राग
अब निर्मल हुन चाहन्छ
सरोवर ! मन यो
विश्राम चाहन्छ
मनको सारा
आकुलता र कोलाहल
अब मौन हुन चाहन्छ
शुभ्र र पावन सरोवर !
तिमी जस्तै शान्त र गहिरो
मन यो हुन चाहन्छ
जीवन यो मोक्ष बन्न चाहन्छ
आँशु उनको पावन जलसित थोपा थोपा बनेर मिलिरह्यो । मन शितल ,निर्मल ,कोमल हुद्ै गयो ।अलि पर देखे पलेटी कसेर अन्जु ध्यानमा बसिसकेकि थिई ।
 |
| Prayers |
एकाधघण्टा सरोवर तटमा यसरी बिताए पछि सरोवरको किनारै किनार हुदै बसले हामीलाई चु ग्याले गम्पा लजमा ल्याएर छाडिदियो । लजको आँगन पारी मानसरोवर देखिन््थ्यो । पूर्णिमा थियो त्यस रात । जुनेली उज्यालोमा सरोवरमा कैलाशको प्रतिबिम्बलाई हेर्ने मनको असिम लालसा थियो । पूर्ण जुनको छायाँले कैलाशको शिखरमा गर्ने जादुइ कलाकारिताको कल्पनामा म बेपत्तासित कति पटक चुर्लुम्म डुबेको थिए । तर मेरो यस कल्पना साकार हुने दिनमा भने मौसम प्रतिकूल देखिएको थियो । घना कालो मेघले आकाश ढाकिएको थियो । असाध्यै चिसो बतास चलिरहेको थियो । बादलको ओटभित्र कैलाश शायद गहिरो ध्यानमा थिए । तर हाम्रो आँखा उनको एक झलककोलागि व्याकुल थियो । तर तेस्रो नेत्र भने हाम्रो व्याकुलताको मानौ रस लिइरहेका थिए । उनी एकाध झलक जस्तो देखाएर फेरी बादलको पर्दाभित्र हराउथे । कैलाशको यो लुकामारी लामो समयसम्म चल्यो तर उनले हामीसित अदृश्य नै रहने निधो गरे र पूर्ण दर्शन दिएनन् । रात भरि हल्का हीउँ मिसिएको सिमसिमे पानी परिरह्यो । म भने दिदीसित गुडुल्किएर सुतेको थिए । हल्का स्नेहको गन्ध उठने उनको मायालु दुब्लो देहलाई अंगालेर । आम्मै म दिदीसित यसरी टासिएर निदाएको जुगौ बितेछ । सानैमा टुहुरी भएको मलाई सोधुन् कसैले कस्तो हुन्छ आमाको अभाव । तर मलाई यो अभाव हुन नदिन आमा बनेर हुर्काउने मेरी दिदी नै मेरोलागि जीवनभरीको आमा बनिरहिन । यस अर्थमा दईटा मातृऋण लागेको छ मलाई । के गरेर तिर्ने होला उनको यो रीन मैले ? यस्तो होस अर्को जन्ममा म उनको दिदी बनु र उनलाई त्यसरी नै सारा स्नेहहरुको बर्षात गरिदिउ ।
 |
| Full moon in the clouds |
 |
| Mt.Kailash under the hazy moonlight. |
मध्यरातमा म फेरि उज्यालो जुनको आशामा कैलाश हेर्न एकपटक बाहिर आएको थिए । तर बाहिर मौसममा भने केही सुधार थिएन ।विहान आँखा खुल्यो बाहिरको खलबल र हर्षउल्लासको स्वरले । अन्जुले कराएर मलाई उठाइरहेकी थिइ ।“ तैले मिस गरिस यार ।” म बाथरोब र पाजामामै बाहिर कुदेको थिए । तर बादलभित्र उनी फेरि लुकिसकेका थिए । मैले सुने कैलाशले भर्खर दर्शनदिएका थिए रे । कसैले उनको बन्द तेस्रो नेत्र देखे रे कसैले त्रिशुल र डमरु अनि कसैले ओम ।
 |
| Puja on the banks of Mansarowar |
 |
| Prayer rituals |
 |
| Om Nama Shiva |
विहान पख एकैछिन् हल्का घाम लागिदियो । हामी दुइ मिनेटको दुरीमा रहेको लजको आगन पारी गएर मानसरोवरमा स्नान गरी पूजा ,यज्ञ हवनको कार्यक्रममा सहभागि बन्यौ । सरोवरमा तीन पटक डुबुल्की लगाएर मैले त्यो हल्का गुलाबी रंगको पारदर्शी सानो हाते थैली सरोवरलाई सुम्पिदिएको थिए । मेरो नीजि र कहिले कसैलाई पनि भन्न नसकिने संबेदना र भावनाहरु समेटिएका पानाहरु उनको जलमा बिर्सजित भइरहेका थिए । मेरो संबेदना र भावना अब मानसरोवरको पवित्र लहर बनेको अनुभूतिले म रोइदिए ।
गुम्बाको खोजीमा
 |
| Search of a monastery (Gumba) |
यस यात्रामा म गुम्बाको खोजमा पनि थिए । जहाँ म बाती बाल्नु सकु मेरो स्नेही र दिङ्गवत ससुरा रामनाथ तामाङ्ग ज्यूको नाममा । हाम्रो टोली नेता घनजीलाई मनको यो इच्छा फुकाएको थिए । यस कार्यकोलागि मलाई साथदिन तत्परता देखाउदै उहाले भन्नु भयो “ सुसन जी यता नजिकै उ माथिको डाडामा गुम्बा छ रे जाने हो ? ” म तत्कालै राजी भए ।
 |
| Way to the Gumba |
 |
| Sarita and Bhuban |
खाना खाएर हामी उकालो लाग्यौ आधा घण्टाको ठाडो उकालोमा भेटिएको त्यो सानो एतिहासिक पद्धमसम्भवको गुम्बा थियो । जहाँ उनले यस क्षेत्रमा रहेर सताउने दुष्ट आत्माहरुलाई तन्त्रसाधनाले बाधेर यस क्षेत्रलाई बस्न योग्य बनाएका थिए रे ।
 |
| Nepali group in front of Padmasambav Gumba |
गुम्बाको पहिलो प्रबेशद्धारमा एउटा राक्षसको चित्र कुदिएको ठूलो माने थियो, जसलाई दुष्ट आत्माको प्रतिक बनाएर स्थापित गरिएको थियो । यतातिरको जनविश्वास अनुसार यस मानेलाई घुमाउन हुन्न रे अरुले पनि नघुमाउन भनेर राक्षसको मुखमा बुजो लगाएर यो फनफन ध्वजाले बाधिएको अवस्थामा थियो ।गुम्बापरिसर वरिपरि ओम मणि पद्धमे ओम मन्त्र धुन सुनिन थालेको थियो । तर भित्रको मु्््््््््््््््््््््््््ख्य चोक किन हो बन्द थियो र हाम्रो सामु कोही देखा परेनन । गुम्बामा बाती बाल्ने मेरो धोको कम्जोर देखिन थालेको थियो । गुम्बा वरिपरि चक्कर लगाउदै हामी गुम्बाको टाकुरामाथि पुगिसकेका थियौ । प्रार्थनाहरु लेखिएको पहेलो , सेतो , रातो , हरियो , र नीलो ध्वजाहरुको फरफराहट आफैमा कुनै प्रितकर संगित जस्तो लागिरहेको थियो ।
 |
| Colourful flags singing in the wind. |
 |
| Ghana Gurung - Wishes in paper scattered in the air |
घनजीले गुम्बामा चढाउन भनेर ध्वजा पाताका ल्याउनु भएको रहेछ , हामीले ध्वजा बाँध्न उहाँलाई सघायौ । मन्त्रप्रार्थना लेखिएको कागजको टुक्रा हावामा उडाएर चिताएको मनोकामना पुरा हुने उहाँको कुराले सबै साथीहरुले उचाइबाट आआफ्ना मनोकामनाको छरिरहे । म पनि पछि परिन । तर आफ्नो कामनाहरु देखेर आफै छक्क परे । कति कामनाहरु र इच्छाहरु आफ्ना र प्रियजनकालागि बाकी रहेछन बाबै ।“ इच्छा नै दुःखका कारण हो ”भन्ने बुद्धको निष्कर्षलाई यो मेरो मनले कहिले बुझ्ने हो कुन्नी । ढुङ्गे तह तह जस्तो सिढीमा पलेटी कसेर
हाम्रो सामूहिक ध्यानको सानो सेसन पनि चल्यो ।
 |
| Session of meditation |
अब टाकुराबाट देखिइरहेको थियो मनोरम मानसरोवर र नजिकै तर पारिपट्टिको राक्षस ताल पनि ।
 |
| Rakchyas Taal (Monster Lake) |
यतातिरको जनविश्वासमा राक्षस तालको पानी, प्राणि र जलचरकोलागि विषालु भएकोले यसको नजिक कोही जादैनन रे । अनि माथि शिखरमा कैलाश जो अझै बादलभित्र लुकेर ध्यान मग्न थिए ।
ओरालो झर्दै फेदिमा पुग्दा घनजीले आफ्नो डिएसएलआर क्यामरा टाकुरामै बिर्सिनु भएको थाह भयो । हामीलाई मानसरोवरको बगरमा छाडेर क्यामेरालिन उहाँ फेरि गुम्बाको टाकुरा चढन थाल्नु भयो । हामी भने बगरमा पत्थर र सालिग्राम खोज्न थाल्यौ ।“ के ल्याई दिउ ”मेरो सोधाइको जवाफमा मेरो एधार वर्षको छोरा ओजस्वीले मानसरोवरको राम्रो ढुङ्गाहरु ल्याइदिने फर्माइस गरेको थियो । सरिता दाहाल पनि राम्रो पत्थरको खोजीमा हुनुहुन्थ्यो तर भिनाजुले ओम लेखेको ढुङ्गा पाएको धोषणा गर्नु भयो र मानसरोवरको अगाडि राखी बाधेर भर्खर बहिनी बनाएको सरिताजीलाई रक्षाबन्धनको उपहार भन्दै दिनु भयो । साच्चै नै मैले पनि ओम लेखेको ढुङ्गा पाए हुने नी । मनको यो इच्छा तत्कालै पुरा भयो सानो कालो चम्किलो ऊँ लेखिएको पत्थर मेरो हातमा थियो । कालो पत्थरमा सेतो आकारको प्रष्ट ओम । यति छिटो मनको इच्छा कसरी पुरा हुन्छ मसित यसको जवाफ थिएन् ।
 |
| Jewellery sale |
 |
| Local vendor |
दिउसोको खाना खाएर भारीतारी मिलाउदै हामी पाँचौ दिनको यात्राको लागि तैयार थियौ । लज अगाडि स्थानीय तिब्बती महिलाहरु चाँदीका गरगहना ,मोती ,मुगा, चम्किला पत्थर, धातुका तिब्बती सजावटका हस्तकला , रुद्राक्ष मालाहरु आगन भरी फिजाएर व्यापार गर्न बसेका थिए । मैले कमलको फुलको आकारको कलात्मक धुपदानी किने र मख्ख परे । अनि लजको गेट अगाडि बस हामीलाई दारचेन पुर्याउन पर्खिरहेको थियो । उक्लिएर आआफ्नो सिटमा बसेपछि बस भित्र बज्न थालेको शीव धुनले आध्यात्मको रंग थपिदिएको थियो । यो दिन बसले मानसरोवर लेकको परिक्रमा गराउदै दारचेनको एउटा लजमा लगेर हामीलाई छाडिदियो ।
 |
| Nicely crafted DhupDani - All mine! |
कैलाश परिक्रमा
दारचेन पुग्दा ४६२० मिटर माथि हामी उक्लिसकेका थियौ । दारचेन कैलाशको बेस क्याम्प हो जहाँबाट हाम्रो
कैलाश परिक्रमा कोराको एउटा खण्डको सबैभन्दा कठीन यात्रा शुरु हुनेथियो । हामीले तीनवटा चरणबाट कैलाशको परिक्रमा सम्पन्न गर्न पर्ने थियो । यस यात्राबारे हाम्रो समूहमा सुरुदेखिनै राम्ररी निधो हुन सकेको थिएन । तर अन्जु र म कैलाश परिक्रमा कोरामा जाने निर्णयमा पुगिसकेका थियौँ ।
हाम्रो समूह नेता पनि जाने निष्कर्षमा हुनुहुन्थ्यो । यो साँझ हाम्रो नेपाली समूहको मिटिङ्ग बस्यो । हिडेर जानसकिने भए हिडेर जाने नत्र याक वा घोडा चढेर कोरा गर्ने कुरामा सबैको हल्का सहमति जस्तो बन्यो ।दारचेनमा गाइड शेर्पाहरुले हामीलाई घोडा बुक गर्न सुझाव दिएका थिए तर डिकापुकबाट पनि घोडा लिने निर्णय लिन सकिने छ भनेर हामीले घोडा अग्रिम बुक गराएनौ । केही भारतीय यात्रीहरु पनि दोधारमा देखिएका थिए र हामीसित सरसल्लाह लिन खोज्थे तर धेरै जसो कैलाशको भरोसामा समर्पित थिए । दारचेनको बसाइ निकै कठिन थियो । ओपन टवाइलेट भएका लजहरुको बसाई पनि अब असहज हुन थालेको थियो । त्यसै पनि यति उचाइमा अक्सिजनको कमी ,त्यसमाथि एउटा कोठामा सात आठ कहिले त बार तेर जाना यात्रीलाई एउटै सानो कोठामा लहरै रातबिताउन पर्ने हुनाले सास फेर्न समेत फोक्सोले पर्याप्त अक्सिजन पाएको थिएन । विहान भिनाजुलाई रुघा खोकीले निकै सताइसकेको थियो । दिदीलाई मायग्रेनले ग्रस्तपारेको थियो । सरिता दाहाल पेट दुखाइमा र डा.अरुणालाई अलि बढी लेक लागेको थियो । मलाई भने अलिकति हिडाइ वा कुरा गराई वा सामानहरु मिलाउदा पनि थकाइ लाग्ने ,सास छोटो छोटो भएको र टाउको हल्का दुखेको थियो ।
 |
| Not feeling well. |
 |
| Fever stricken Tamrakar family. |
 |
| Bhuban ji, Mahesh Venaju. Tamrakar ji Exhausted. |
ताम्राकार बन्धुको परिवारलाई ज्वरो आएको थियो । मिसेज गुरुङ्गलाई कडा खोकी र सधै सक्रिय र फुर्तिलो देखिने ब्यांंङ्कर दाहाल पनि रुघाको हल्का ज्वरोको शिकार बनेका थिए । तगडा देखिने भनेको अन्जु र डा घनजी मात्र थिए जो सबैलाई डायमोक्स , सिटामोल र एस्प्रिन बाड्दै हिड्थे ।
 |
| Departure from Darchen. |
विहान मौसम अत्यन्तै प्रतिकुल देखिएको थियो । असिना हिउँ मिसिएको पानी पर्न छोडेको थिएन । तर पनि तीनदिनको लागि हल्का कपडा लत्ता बोकेर अझै पनि कोरा गर्ने मानसिकता लिएर हामी दारचेनबाट सखारै हिडयौ । आठ किलोमिटरको यात्रा पछि बसले हामीलाई टारबोचेको यमद्धारमा लगेर छाडिदियो ।
 |
| Yamadwar |
 |
| Ready for kora Kailash parikrama. |
यमद्धारको तीनपटकको परिक्रमापछि तीन चरणमा बाधिएको कैलाशको परिक्रमा कोरा पैदल तय गर्नु पर्ने थियो । पैदल कोरा गर्ननसक्नेकालागि घोडा र याकहरु थिए ।
 |
| Kora by horse-riding |
 |
| Pilgrims |
 |
| Rest-stop |
यतैबाट धेरै जसो भारतीयहरु घोडाबाट कोरा गर्न शुरु गरे तर हामी नेपाली समूह पैदलै कोराको यो पहिलो चरण पुरा गर्न थाल्यौ । थकाइ लाग्दा बाटोमा देखिएको पाल बेरेर बनाएको पसलमा ठूलो थर्मसमा राखेको तिव्व्बतियन सुच्चा चिया र गाइडले थमाइदिएको प्याकेज लन्च खादै सुस्ताउदै हाम्रो समूह कोरा गरिरहेको थियो ।
 |
| Tibetan tea shop |
 |
| Warm and tasty! |
 |
| Slight rain showers |
दिनभरी जसो सिमसिमे पानीमा हामी रेनकोट लगाउदै कहिले फुकाउदै सोझो कहिले उकालो हुदै हिडिरहयौ । यात्रु र सामानहरुले लादिएको सेता काला झयाप्ले याक ,चौरी र खच्चर घोडाहरुका घाटीमा झुण्डिएको घण्टिको मधुरो संगित वातावरणमा हल्का मिसिएको थियो ।
 |
| Yaks |
 |
| Grazing Yaks |
 |
| Business trip |
 |
| Carrying heavy loads |
 |
| A beaver? |
 |
| Wild Hare |
 |
| Mountain Goats |
 |
| Waterfall |
बडो कुशलता र होशियारी देखाएर बुर्कुसी मार्दै भीरमा उकालो लागि रहेका पहाडी बाख्राहरु र पाखा भरी सेतो बुट्टा बनाएर चरिरहेका भेडाका बथान देखिन्थे । त कतै पर्वतको छातिको हार जस्तै शोभा बनेका सेता झर्नाहरु देखिन्थे ।
 |
| Chu Valley |
 |
| Majestic Mountains |
 |
| Elephant shaped hills |
 |
| More meditation |
बिशाल ला चु भ्यालीको पहाडी घाटी , जता पनि ध्यान गर्न बसिहालु जस्तो मानसिकता बनाइदिने कैलाशको विचित्रको त्यो ल्याण्ड स्केप । शब्द भन्दा परको अलौकिकताको अनौठो अनुभूतिमा शीवको प्रिय गणहरुको मानौ कुनै अज्ञात शिल्पकारले विशाल पहाडी भिता भरी कुदिदिएका आकृतिहरुलाई मनको आँखाले नियाल्दै म हिडिरहे । पत्रेदार चट्टानमा कतै ओम कुदिएको ,कतै त्रिशुल , शीवको नन्दि वहान कतै गणेशको सुडजस्तो हात्ती देख्न पो थालेको थिए । के भएको ? मेरो मनको आँखाले मात्र के के मात्र देख्न थालेका होला । तर होइन मेरो कल्पनाको जस्तै मिल्दो जुल्दो तस्वीर देखिरहेको अरु धेरै जोडा आँखाहरु पनि थिए । “ल हेर्नुसन ! शीव र पार्वती” सरिताजी उत्सुकतासित पारीतिरको पर्वतलाई औल्याउनु हुन्छ । “हात्ती ,मुसा आमै ल सानु ! हेर त उ पर पहाडमा को ध्यान गरेर सुतेको जस्तो लाग्दैन तलाई ” ? दिदी मेरो सहमती जस्तो खोज्नु हुन्छ । ल भएन कसले पत्याउने होला प्रमाणकोलागि हामीहरु फोटोहरु भिडियोहरु धमाधम खिचिरहन्छौ । शीव भूमी हो ,तेस्रो नेत्रको यो भूमी जहाँ शायद आध्यात्मिक मनहरुकोलागि अलौकिकताहरु घट्नु यति अनौठो पनि होइन ।
 |
| Nandi Pahad |
 |
| Devotion in harsh weather |
हामीलाई सानो ब्याकप्याक बोकेर लठ्ठी टेकेर हिड्न धौ धौ परिरहेको थियो तर तिब्बतको यस उचाइमा
प्रतिकुल मौसम र दुर्गम भौगोलिक अवस्थामा पनि आँखालाई विश्वास लाग्न मुश्किल डिभोशनको उदाहरण बाटामा देखिन थालेको थियो । र त्यो थियो यहाँका स्थानीय तिब्बतियन महिला र पुरुषहरुको आफुलाई कडा चुनौति दिदै गरिरहेका कैलाशको कोरा परिक्रमा । यस्ता श्रद्धालु सोझो उभिएर छाति बिच हत्केला जोडेर कैलाशलाई प्रणाम गर्छन अनि उनीहरुको जोडिएको हात शिर माथिसम्म उचालिन्छ ।प्रार्थना र मन्त्र बरवराउदै घुडाको बलमा जमिनमा झुक्दै लम्पसार पर्छन र टाउकोको लम्वाईमा हातले चिनो लगाउदै उठछन । केही कदम हिडेर चिनो लगाएको ठाउँबाट पुन उनीहरु त्यही प्रकृयालाई दोहराउदै पुन जमिनमा लमतन्न पर्दै चिनो लगाउदै अगाडि बढ्छन । यसरी कोरा पुरा गर्न उनीहरुलाई तीन हप्ता वा बीसदिन जति लाग्न सक्छ रे । स्थानीय के मान्यता छ भने यसरी उनीहरुले एकपटक परिक्रमा पुरा गर्दा तेह्राँै पटक कैलाश परिक्रमा पुरा गरेबराबरको पुण्य मिल्छ रे ।
 |
| Chu Valley |
त्यसो त कैलाश हिन्दुधर्मावलम्बिहरुका मात्र पवित्र आस्था होइनन । उनी विश्वका चारवटा धर्मको आस्थाका शिखर हुन । हिन्दुधर्म अनुसार अज्ञानता र भ्रमको संहारक भगवान शीव आफ्ना पत्नी परिवार र गणसित कैलाशमा निवाश गर्छन रे । जैनधर्मालम्बीहरुकोलागि कैलाश मेरु सुमेरु पर्वत हो । जहाँको अष्ठपद पर्वतमा पहिलो जैन तीर्थन्कर ऋषभदेवले निवार्ण मोक्ष पाएका थिए । अर्कोतिर तान्त्रिक बुधिष्ठहरुको मान्यतामा कैलाश बुद्ध धेमचोक चक्रसम्भराको घर हो । सातौ आठौ शताब्दितिरका तान्त्रिक गुरु पद्धमसंभव र दशौ शताब्दितिरका मिलरेपाको यस कैलाश भेकसित अत्यन्त गहिरो र सम्मानित नाता छ । तिब्बतको मौलिक बोन धर्म मान्नेहरुका लागि चाही कैलाश रहस्यले भरिएको नवतल्ला स्वास्तिका पर्बत हो जसमा सबै खालको आध्यात्मिक शक्ति स्थापित छ । बोन ग्रन्थहरुमा कैलाशलाई “पानीको फूल ” वा “समुन्द्रको पानीको पहाड ” पनि भनेर पुकारिने गरिन्छ । तिब्बतियन भाषामा कैलाशलाई“ गाङ्ग रीन पो चे ”भनिन्छ जसको अनुवाद“ हिउँको अमूल्य रत्न ”हुन आउछ । स्थानीयहरु कैलाशलाई“ टिसी” पनि भनेर बोलाउछन अथार्त “नदीको चुचुरो ” । हरेक विषयमा सधँै अपडेट लाग्ने टिम लिडर गुरुङ्ग सरले विकीपिडिया डट अर्ग स्ल्यास विकी स्ल्यास माउन्ट कैलाशबाट डाउनलोड गर्नु भएको एउटा कपीले मलाई कैलाशबारे हल्का जानिफकार बनाएको थियो ।
मलाई “पानीको फुल ” नाम पनि खुब मनपर्यो । सोची भ्याए “नओइलाउने र नसुक्ने पानीको फुल ” भने कसो होला ? नभन्दै कैलाश एशियामा बग्ने चार ठूला नदीको उद्धगम थलो हो । इन्डुज, ब्रम्हपुत्र ,कर्णाली र सतलज कैलाशको चार दिशा भएर बग्छन । शीव जटामा बाधेर आकाश गंगालाई धरतीमा अवतरित गरेको पुराना कुरालाई कुन दुर्भाग्यले हामीले मीथक र कथामात्र संझन थालेका रहेछौ यो अनुभुतिले मलाई असजिलो बनाएको थियो ।
हाम्रो पाइलाहरु गह्राँै र सास छोटा हुदै थिए तर पनि प्रत्येक कदमले कैलाशको नजिक पुर्याइरहेको भान भइरहेको थियो । कैलाशको एकआध दर्शन हुन थालेको थियो बादलको पछाडि अलि छेकिएर । मौसमको आडमा मानौ कैलाश हामीलाई पूर्ण साक्षातकार दिन अझै तैयार थिएनन् ।
 |
| 13th century monastery |
साँझमा बेसरी चिसो हावा चल्न थालेको थियो । परबाटै उकालोमा तेह्राँै शताब्दिको पुरानो गुम्बाको ध्वजा हावामा फरफराएको देख्न थालेका थियो । यसको एक घुम्ति काटेर हामी थकाइले लखतरान हुदै डीकापुकको
एउटा लजमा बासबस्न पुगेका थियौ ।
आध्यात्मिक उत्कर्ष
डिकापुकसम्मको कोरा सफल भएको थियो अगाडिको यात्रा भने स्पष्ट थिएन । अगाडि कोरा गर्न जाने र नजाने दोधारमा साथीहरुको मत बाडिएको थियो । असिना हिउँ मिसिएको पानी पर्न छोडेको थिएन । चारजाना एनआरआइ मानसरोवरका दर्शन पछि अगाडिको यात्रा गर्न असमर्थ भइ हेलिकेप्टरबाट उद्धार भइ फर्किएका थिए । हामी भन्दा अगाडि गएको समूहमा एकजना भारतीय डाक्टरको कोरा गर्दा गर्दै मृत्यु भएको र उनको पत्नी सिकिस्त हालतमा स्थानीय अस्पतालमा उपचार भइरहेको कुराले पनि कोरा पुरा गर्ने निर्णयलाई ढलपल पार्दै थियो । अलि अलि गदै कोरा पुरा नगर्नेतिर हाम्रो समूहको मानसिकता बन्न थाल्यो । हिउँमा घोडा वा याक उकालो हिडन नसके यात्रीलाई उतारेर आफ्नो घोडा याकलाई तिब्बती गाइडले लगिदिने र यात्रीको विजोग हुने अनेक कुराहरु किस्सा सुनिन थाल्यो । टिम लिडर जो अन्जु र मसित कोरामा जाने मानसिकतामा हुनुहुन्थ्यो, उहाँको मिसेज बाटोमा विरामी परिदिनु भयो उहाँलाई इमरजेन्सि अक्सिजन सप्लाई लिनुपरेकोले उहाँ मिसेजको देखरेख गर्नु पर्ने जिम्मेवारीले अगाडि कोरामा नजाने निर्णयमा पुग्नु भयो ।
 |
| Need help! |
 |
| Having medicine - Mrs. Gurung |
नजाने निक्यौलमा पुगेका सारा नेपाली समूहबाट भागेर अन्जु र म मात्र अगाडि यात्रामा निस्केलान भन्ने भयले माइग्रेनले ग्रस्त र यात्राको थकानले कम्जोर देखिने दिदीले तिमीहरु जाने भए मेरोलागि पनि घोडा बुक गर भने पछि हामी असाहय जस्तै भयौ । दिदीको जीवनलाई जोखिममा राखेर गर्ने हाम्रो कोरा कसरी पुरा हुन सक्थ्यो ?“ कैलाशबाट फर्किन्न म उतै बस्ने हो ” । क्यानाडामा बस्ने मेरो परिवारलाई हास्दै भनेर आएको थिए तर भिनाजु र पुजा ,सरिनलाई ( दिदी को परिवार )मैले के भन्ने होला त्यती सोच्नेसम्म पनि मेरो औकातै थिएन । तनमनले आध्यात्मिक साधनामा लागेकी अन्जुको कैलाश परिक्रमा म भन्दा पनि अटल र वर्षौको सपना थियो तर दिदीको कसममा उ मसंगसंगै बाधिई “ त र म मात्र आएको भए जसरी पनि यो कोरा पुरा हुने थियो यार ” उ यति भनेर चुप लागेकी थिई ।
नियतिसित हामी झुकेका थियौ । यात्राको आठौ दिन विहानै घोडा र याकमा यात्रीहरुको एउटा समूहले अगाडिको कोरा गर्न प्रस्थान गरेको भारी मनले टुलुटुल हेरिरहे । त्यस हुलमा मिसिएर हिड्ने ती भारतीय वृद्धा पनि थिइन् ।मैले देखे उनले त्यसदिन खुट्टामा जुत्ता पनि लगाएकि थिइनन् । किन नलगाएको मैले सोधे , सातवटा मोजा भित्र लगाएको छु जुता चाहिदैन भन्थिन् । उनको वृद्ध अवस्था देखेर उनलाई नेपाली शेर्पा गाइड र तिब्बतियन याक डोराउने गाइडले संगै लान मानिरहेका थिएनन । तर उनी भने उम्केर भाग्दै थिइन । “जे परे पनि सहुला बाटोमा मरे पनि मेरो जिम्मा ”भन्ने लेखेको कागजात सही गरेर असिम साहास देखाएर उनी अगाडिको कोरामा हिडेकी थिइन । हाम्रो नेपाली समूह र अगाडिको कोरामा नजाने निर्णयमा पुगेको केही भारतीय यात्रीहरु कैलाशको उत्तरी मोहडातिर चढन थाल्यौ ।
तर त्यसदिनको मौसमले हामीलाई अचम्ममा पारेर स्वागत गरेको थियो । पहिलो पटक यसरी घाम झलमल्ल लागिदिएको थियो । र मैले देखे दुइवटा डाडाको माझ कैलाश अजङ्गको सेतो हीरा जस्तो भएर झल्किएका थिए ।
 |
| Crystal Kailash |
 |
| White Diamond |
शुभ्र चम्किलो र सेतो शितल सूर्य जस्तै । पोस्टर, पोस्टकार्ड र मैले हेरी भ्याएको भिडियो दृश्यचित्र भन्दा सुन्दर र सजिव बनेर । मौलिक र मेरो मात्र बनेर उनी साकार मेरो अगाडि थिए । अवाक बनेको घडि थियो यो मेरो जीवनको ।उनको यस दर्शनको अनुभुति असिम आनन्द बनेर झरझर निशब्द आँसुमा फेरिएको थियो । भर्खर कोरा गर्न अधुरो रहेको सन्ताप पखालिए , विपरित जीवनधारामा बगेका जीवनका सारा गुनासो मेटिए । त्यहाँ मसित केही पनि थिएन । यो शुन्यतामा म लठिएर उनलाई ताकिरहे र भुले सारा प्रार्थना र याचनाहरु जो मैले उनलाई गर्नु थियो । अह मलाई केही पनि आएन भन्न तर पनि लाग्यो उनले सबै कुरा बुझे सबै सुने ।
 |
| More Prayers |
कैलाशलाई संझिदै क्यानाडाबाट पाँच हजार बाती कातेर लगेको थिए । लाखबत्ति बाल्न सकिएलाकि कैलाशमा भनेर तर “भो यो संकल्प नले सानु यो यात्रा कठिन छ ” भनेर दिदीले घ्यूूमा मैले लगेका जति बाति भिजाइदिनु भएको थियो । पशुपति नाथबाट अन्जु र मैले चन्दन ,बेलपत्र ,रुद्राक्ष ,शीवलिङ्ग पिताम्बर र पूजाका समान पनि ल्याएका थियौ । दिदीको नेतृत्वमा बाति बालेर त्यो सानो पूजा कैलाशको अघि सम्पन्न गर्यौ । भिनाजु, दाहाल दम्पति र दुइ ताम्राकार दाजु भाइ सहितको नेपालीहरुको एउटा समूह उकालो लाग्यो । गुरुङ्ग सर उहाँको मिसेजको विरामी अवस्थाले अरु माथि हिड्न त्यो समूहमा मिल्नु भएन । र कैलाशको फोटो ग्राफी गर्न व्यस्त देखिनु भयो । दिदीलाई पर गुमसुम कैलाशतिर हेरर टोलाइरहेको देखे । अन्जु माथि अग्लो टाकुरामा उक्लेर ध्यानमा बसेको थिइ ।
 |
| Anju with Kailash |
मलाई भने शीव जटाबाट तल झरिरहेको झर्नाले बोलाइरहेको थियो । कैलाशको पवित्र जल भर्न म उतातिर हिडे । गडगडाएर बगिरहेको कैलाश नदीले मेरो हातको प्लास्टिकको त्यो सानो कन्टेनर बगाएर लग्यो । कैलाश जल भर्ने मेरो आशा हराएको थियो तर अलि तल गएर पत्थरमा त्यो कन्टेनर अडकेको देखे । खुशी भएर जल भरे पछि म पनि नदीको कलकल स्वरसित ॐ ध्वनीमिसाउदै एउटा ठूलो पत्थर माथि बसेर ध्यान गर्न थाले ।
 |
| Inner Peace |
यसरी ध्यान गर्दै किरणहरुको धर्कामा चढेर एकपटक मिलरेपा कैलाशको शिखरमा पुगेका थिए रे । कथा यस्तो छ । तिब्बतको परम्परागत बोन धर्मका ज्ञाता नोरो बोन चुङ्गालाई चुनौति दिदै बौद्ध धर्मका तान्त्रिक मिलरेपा दश एघार शताब्दिमा तिब्बत पुगेका थिए रे । दुबै तान्त्रिकमा घमासान द्धन्द चल्यो तर जीतको नतिजा ठहर नभए पछि जो पहिला कैलाशको शिखर चढ्छ उ बिजेता हुनेछ भन्ने कुरामा दुबैका सम्मति भएछ । नोरो बोन जादुको ड्रम ढयाङ्गरोमा बसेर गुडाउदै शिखर चढन थालेछन तर मिलरेपा भने चुपचाप ध्यानमा बसेछन् । गुरुले केही नगरी ध्यानमा बसेको देखेर उनका शिष्यहरु चिन्तित भइ आत्तिन थाले । तर नोरो बोन शिखरमा पुग्नै लागेको बेला मिलरेपाको शरीरमा हल्का हलचल भयो र उनी मिलिक्कै सूर्यको किरणमा चढेर नोरो बोनलाई जित्दै कैलाशको टाकुरामा पुगे । र प्रतियोगिताका बिजेता बने ।
यस्तो आध्यात्मिक बलले बाहेक कैलाशको शिखरमा पुग्ने मानव प्रयत्न भने आजसम्म सफल भएको छैन यधपि केही मानविय प्रयत्नहरु भने बेला बेलामा भएका छन् । सबैभन्दा पुरानो प्रयत्न सन् १९२६मा हुग रतलज र कर्नल आर . सी . विल्सनको थियो तर उनीहरुको कैलाश आरोहण गर्ने योजना समय अभावले पुरा भएको थिएन । सन् १९८० मा रेनहोल्ड मेसेनरलको कैलाश आरोहण अभियान पनि असफल भएको थियो । २००१मा एउटा स्पेनिश टोलीले कैलाश आरोहण गर्न खोज्दा ठूलो अन्तराष्ट्रिय विरोधको सामना गर्नु परेपछि चाइनिज सरकारबाट कैलाश चढने सारा प्रयत्नमाथि प्रतिबन्ध लगाइयो । कैलाश आरोहणमाथिको यस प्रतिबन्धसित सहमत हुदै मैले सोची भ्याए पवित्र कैलाशको शिखरलाई पाइतालो टेक्ने दुस्साहास कुनै मानव मनमा कहिले पनि नआओस । यहाँ केवल श्रद्धाले मानव शीर झुकोस ।
विष्णु पुराण अनुसार यो भूभाग ब्रम्हाले आफु रिटायर्ड भएपछि बस्न रोजेका रे । आफ्नो आसपास देवदेवता ,गन्धर्व किन्नरहरु बसोबास गराउदै कमलकोफुलमा आफ्नो उत्पति भएको संझना स्वरुप उनले कमलकोे फुलको प्रतिनिधित्व गरिरहेको यहाँको छ वटा हिमाल र यसको माझको सबै भन्दा विशिष्ट र सुन्दर देखिने कैलाश रचना गरे रे ।कैलाशको चारमोहडालाई क्रिस्टल, रुबी , सुन , र लापिस युक्त पारेर यो शीवआवासको लागि ब्रम्हाले रोजे रे ।
मैले देखिरहेको ब्रम्हाको क्रिएटिभ एनर्जीको यस बेजोड कलाकारिता कैलाशको यो उत्तरी मोहारा क्रिस्टल जस्तै विशुद्ध र झलमलाईरहेको थियो । तर थप रुबी , लापिस र सुनको कैलाशको मोहडाहरुलाई भने मैले कल्पनाभित्र साक्षातकार गरेर सन्तुष्ट हुनु थियो ।आधादिन कैलाशसित यसरी बिताएर पछि हामीसित रहेका शेर्पा गाइडले अब तल झरेर बेसक्याम्प फर्किनु पर्ने बेला भएको बताए ।
 |
| Say Cheese! |
 |
| Dr. Aruna on her way back to Darchen |
हामी बिस्तारै तल ओर्लिर्यौ र हिजो आएको च्यु भ्यालीको बाटो हुदै दारचेन फर्किन लाग्यौ । यमद्धार नजिक त्यही चिनिया गाइड एउटा जिप लिएर पर्खिरहेको थियो । दारचेनमा पहिला बसेकै लजमा रातबिताउन हामीहरुलाई पुर्याइदिएको थियो ।
 |
| Looking for the Gumba |
मेरो एउटा संकल्प अझै अधुरो थियो । हालै दिङ्गवत हुनु भएको ससुरा ज्यूको नाममा गुम्बामा बाति बालिदिन मेरो सासु ज्यूले राख्न्ु भएको आग्रह पुरा गर्नु थियो मलाई । मेरो यस आग्रहको हेक्का राख्ने
गुरुङ्ग सरले स्थानीयहरुबाट पत्ता लागाउनु भएको रहेछ यता एउटा निकै पुरानो गुम्बा छ रे । ध्वजा पाता किनेर बिहानै म घनजीसित त्यो गुम्बाको खोजमा निस्किएको थिए । अन्जु र डा. अरुणाको पनि साथ थियो । तिब्बत अटोनोमस रिजन अफ चाइना भएपछि तिब्बतीहरुलाई आफ्नो धर्म र आध्यात्मिक साधना जोगाउन निकै कठिनाइबाट गुज्रनु परेको थियो रे । तर आफ्ना सारा लिगेसीलाई जसो तसो जोगाइ राखेको एउटा अति प्राचिन मिलरेपाको गुम्बामा हामी एक स्थानीय बासिन्दाको मदतले पुग्यौ । पुरानो र अध्यारो तर भित्ता भरी अति प्राचिन थाङ्काहरुले सुसज्जित थियो यो गुम्बा । बिहान पूजा पाठको समय भएकोले होला कि हाम्रो सौभाग्यले हो यस गुम्बामा पुग्दा तिब्बतियन बौद्ध पुरोहित परम्परागत भेषभूषाले सुसज्जित बाजाहरु बजाएर र ठूलो ढ्याङ्ग्रोमा तिब्बतिय मन्त्र पढिरहेका थिए ।
.png.jpg) |
| Inside the Melarapa Gumba |
.png.jpg) |
| Buddham Sharanam Gachhami |
|
.png.jpg) |
| Om Mani Padme Hum |
घ्यूको पालामा राखेको बातिहरु बुद्धका ठूलो स्तूपा अगाडि थिए । मुस्ताङ्गे राजकुमार गुरुङ्गजीको सानो छदा उहाँको गुरुले सिकाउनु भएको मन्त्रहरुको लयबद्ध गुनगुन सुन्दै उहाँले सिकाउनु भएको हातको विभिन्न मुद्रामा रीतपूर्वक अर्चना दण्डवत गर्दैे गुम्बामा बाती बाल्ने काम सम्पन्न भयो ।
.png.jpg) |
| Ancient religious texts/scrolls |
.png.jpg) |
| Prayer for my father in law. |
.png.jpg) |
| Blissful lights |
हामीले बालेका बातीले त्यो प्राचिन गुम्बा जगमगाइरहेको थियो म यहाँ गहिरो सन्तोष शान्ति र आषिशहरुको अनुभूति पाइरहेको थिए ।
गुम्बाबाहिर ध्वजा बाधेर दारचेन लजमा फर्किदा हिजो हामीसित डेरापुकमा छुटेर तर कोरा पुरा गरेर सकुशल फर्किएर आएको जमात भेटिए ।
.png.jpg) |
| Jai! |
एक आपसलाई बधाई दिइरहेका र हर्षले अंगालोमारिरहेका त्यो समूहमा मैले सन्तोष र गौरवले धपधप गरिरहको तिनै वृद्धाको अनुहारलाई टाढैबाट चिने । उनलाई हेर्दै मैले संम्झे अक्सफोर्ड युनिवरसिटीमा भूगोल पढाउने एउटा ब्रिटिश प्रोफेसरले यूटयूबमा पोस्ट गरेको कैलाश यात्रा डकुमेण्ट्रिलाई । तिब्बतको पोटाला दरवारबाट अति कठिनाइ खेप्दै उनले सत्रदिन लगाएर कैलाशको परिक्रमा पुरा गरेका हुन्छन् । परिक्रमा सम्पन्न गदै आरालो झरेर तीर्थपुरी आएपछि उनको साथ लागेर आएको गाइडले त्यहाँ उनलाई एउटा कठोर परीक्षा दिनु पर्ने बताउछन । त्यो के भने यो गुम्बाको परिसरमा रहेको एउटा शीलाको प्वालभित्र हात पसालेर त्यहाँभित्रको ढुङ्गा टिप्ने कार्य । सेतो पत्थर हातमा आउनेले कैलाश परिक्रमा फेरि गर्न पर्दैन रे तर कालो रंगको ढुङ्गा हात परे कैलाशको परिक्रमा राम्ररी नभएको र फेरि परिक्रमा गर्न पर्ने हुन्छ रे । उनी पहिला त यस परीक्षामा सहभागि हुन आनाकानी गर्छन । उनको गाइडले शीलाको प्वालभित्र हात हाल्छन र उनी सेतो ढुङ्गा पाएर कैलाश परिक्रमा सफल भएको खुशीमा चिच्याउछन् । तर दुर्भाग्यले प्रोफेशरको हातमा भने कालो पत्थर पर्छ । परिक्रमा सम्पन्न गरेर आउनेहरुको लागि त यस्तो परीक्षामा उतिर्ण हुनु पर्छ भने हाम्रो कोरा त त्यसै पनि अधुरो नै थियो ।
 |
| Goodbye Kailash! |
चित्त बुझाउन आफुलाई गारो हुन्छ यो सोचेर
तेस्रो नेत्रको भूमिमा उनको त्यति नजिकसम्म मात्र आउन मलाई अनुमति रहेछ । र म अहिले सोच्दै छु डोल्मा ला पास १८,६०० फिट माथी जहाँ शीव स्थल ,गौरी कुण्ड हुदै, कुवेर पर्वत उक्लेर त्यो दिन गरिने कैलाश परिक्रमा र हाम्रो यात्राको आध्यात्मिक उत्कर्ष मात्र एक दिनको दुरीमा थियो । तर कोराको त्यो खण्ड भने अब मेरो अनुभूतिको अधुरो हिस्सा भएर रहने भयो ।
 |
| Hope you'll invite me again Kailash... |
यो अधुरो कुनालाई भर्न के मैले कैलाश यात्रा फेरि गर्नु पर्ने हुनेछ यो अहिले मेरो मनमा उठिरहेको प्रश्न हो तर जवाफ भने समयको गर्भमा अज्ञात छ तर म कैलाशको निम्तोको प्रतिक्षा गर्ने छु । आध्यात्मिक उत्कर्षमा पुराउने कैलाशको पुन बोलाहटको मलाई सदा प्रतिक्षा रहने छ ।
Photos Courtesy: Ghana S Gurung (Ghurmet), PhD
Comments
Post a Comment