विगतका विरह — नोस्टाल्जिया­­ - Nostalgia


सुसन मास्के





लेख्न कहिलेकाही मात्र मन उधत हुन्छ । आज फेरि लेख्न मन छ । तर यस्तो सधै हुदैन । लेखन मेरो प्रिय अभ्यास हो , आफूलाई खोज्ने । आफ्नो आत्माको नजिक पुग्ने । तर यो अभ्यासको निरन्तरता छैन कतै टुटफूट छ । म जस्तै , म भित्र । आफूलाई सोच्छु  अनि रुन्चे हासो हास्न मनलाग्छ । अहिले पनि म बचाउन खोज्छु मेरो नीजिपनलाई । कतै पढेको थिए कहिलेकाही केही नगर्नु पनि ठूलो कुरा हो  कुनै अवस्थामा बस बाँच्न मात्र पनि काफी हुन्छ रे यस अर्थमा म सरभाइवर हु । केवल सरभाइभर । बाँच्न कोशिश गरिरहेको मान्छे । कुनै नामविना पहिचानविना , सपनाहरुविना ... बस सासलिइरहेको मान्छे । आफ्नो अवस्थासित कहिलेकाही झिनो प्रतिवाद गर्दै कोही झक्झकाउन खोज्छ मभित्र । “  त यस्ती त थिइनस .. सधै बाँच्नको अर्थ खोज्थिस  । सम्पूर्णतामा ,उद्धेश्यहरुमा ,सपनाहरुमा ...।  बाँच्न कहाँ बिर्सिस ? भन्त । 

बाँची त रहेको छु ..विस्थापित भएर अनि बिथोलिएर । पूर्ववत पहिचान गुमाएर । यस्तो लाग्छ म अर्कै कुनै मान्छे हु । लाग्छ म भित्र कोही मर्दैछ । तर यो मृत्युशैयामा अमृतको अभिषेक कतै छ फेरि बौरिने छे उ..  मलाई थाह छ जब्बर छे धेरै पल्ट मर्दै मर्दै फर्किएकि छे  । उ फेरि बाँच्नेछे पूर्णतामा जीवनको अर्थ खोज्दै .......।

आज क्यानाडालाई छाडेर टाढा जान मन लाग्यो । ब्ल्याक एण्ड ह्वाइट बनेको बर्तमान जिन्दगीबाट टाढा ,मेरो नेपालमा । स्वपनिल र चहकिला रंगहरुको अतितमा । विराटनगर संसारी माइथानको काखमा  हुर्किएको त्यो निर्दोष बाल्यकाल । त्यो किताब कापी झोलामा कोचेर स्कूलको घण्टि सुुनेर कुलेलम ठोकेर कुद्दा प्रार्थना गर्न हुलमा मिसिन भ्याउने संसारी माइथानको भानु स्कूल ।त्यो ‘गाउँछ  गीत नेपाली ’को मधुर जयगानले शुरु हुने नियमित स्कूलको दिनचर्या । त्यो खुला आकाशमुनी चौरी र नीमको चौतारोमा चल्ने कक्षाहरु ।


The Bhanu school building was a former prison/dharmashala/police station built under the rule of Rana Prime Minister Judhha Samsher.

‘ला जास त बकुल्लाले टाउकोमा माछा खसाल्यो’ ‘छ्या छ्या मलाई त छेरिनै दियो’ ‘बाबुचाको टाउकोमा बकुल्लाले अण्डा खसाल्यो बई...’ बर र नीमका रुखको चौतारोमुनी बालसखा र सखीहरुको खस्याक खुसुक, खितखित र कल्याङ्ग मल्याङ्ग र हावामा मिसिएको छ र तरङ्गित  छन् कखरा, ककाकीकीको लयवद्घ कलिलो स्वरहरु । सिपालु सहपाठी युसुफ मियाको नेत्तृत्वमा गुन्जिने एक एकान एक र दुइदुने चारको पहाडाको  सामुहिक रटाइहरु । उनले रटाएर पहाडाहरु आजसम्म कण्ठमा बसेको छ ..पन्द्रएकान पन्द्र,पन्द्रदुना तीस,तीया पैतालिस ,चौके साठ , डाम पचहत्तर, छक्के नब्बे, ......

‘हिसाव पढाउने नयाँ सर ।’ कुरा गर्न औधि सिपालु स्वीटी गोल गोल आँखा घुमाउदै नयाँ सरको बारे सूचनाको पोको फुकाउछे । ‘कस्तो ह्याण्डसम सर छ कस्तो हसाउनु हुन्छ ।’ बालसखी सुधिरा र साधना पनि स्वीटिसित सहमत छन् ।  बिरामी भएर केही दिन स्कूल आउन नसकेको दिनहरुको रिपोर्ट सुनेर मेरो बाल मन धकधक गर्छ । हिसाब पढाउने नयाँ सर ...मेरो हिसाब त सधै कम्जोर छ । अङ्ग्रेजी ,नेपाली अरु विषय भन्नै पर्दैन तर हिसाब...म फत्र्याक फत्र्याक पर्छु । सबै सर र मिसहरुको प्रिय विधार्थी म हिसाब पढाउने नयाँ श्याम सरको प्रियपात्र कसरी बन्न सक्छु मेरो सधैको चिन्ताको विषय हुन्छ ।

 कम बोल्ने रोबदार हेडसर, मुकुन्द सरबाट बेलामौकामा मलाई  ‘गीत गाउन त  सुसन ! ’ भन्ने फर्माइस आउने गर्छ । यसरी आउने फर्माइसका गीतहरुका लागि मास्के परिवारबाट संचालित जलजला सिनेमामा फोकटमा पटक पटक हेरिएर कण्ठ पारिएका  हिन्दी सिनेमाका  अनगिन्ति गीतहरु कन्ठस्थ हुन्छन्  । ‘सुराहीदार गर्दन कोयल सी है आवाज  तेरी हरएक बात पे मुझको है बडा नाज....’ ‘तितली उडी उड जो चली फूलने कहाँ आजा मेरे पास....’ ‘उनसे मिली नजर के मेरे होस उड् गए ...’ गुरु गुरुमाको काखमा बसेर फुरुङ्ग परेर मैले गाउने गीतहरु । कखरा ककाकी खरीले लेखेर घोट्दा घोट्दा फोहर भएको कालो सानो हाते पाटीलाई ट्यूबेलकलको पानीले पखालेर हावामा हल्लाउदै सुकाउँदा  ओठमा आउने गर्छ हामीले रचेको यो सामुहिक गीत ‘कलको पानी कलैमा जा मेरा पाटी सुकि जा.... ’

 खराब भएको एउटा आँखामा पत्थर जडिएको दमायन्ति दिदी  त कडा हुनुहुन्छ । हरदम स्वेटरको काटामै अल्झिरहने हातले  पाठ बुझाएन भने कान पनि निमोठिदिनु हुन्छ । अरुको नक्कल उतार्न खप्पिस साथी साधना भने दमायन्ति दिदीले पान चपाएर स्वेटरका नयाँ नमूना निकाल्न व्यस्त भएको नक्कल उतार्दै हामीलाई  मरि मरि हसाउँछे । अनि नेपाली पढाउने शालिन, सुन्दरी शान्ति दिदीको कपालमा उनिएका फूलका गुच्छाहरु । ‘चपला अपला एक सुरमा गुन केशरीको फुललिई  शीरमा ...’ कविता लेख्ने  कवि भानुभक्तले पक्कै शान्ति दिदीलाई नै कतै कल्पनामा देखेको हुनुपर्छ ।

 हाम्रो जाँचको दिन निशुल्क बाडिने चक्की घोलेर तैयार पारिएको मसी र मसी सोख्ने विशेष खालको कागत बटुल्न हामी स्कुले केटाकेटीहरुमा हानथाप हुने गर्छ ।   वर्ष दिनकोलागि मसी जोहोगर्नु पर्छ  आमाले घरको ठूलो शिशि छानेर दिनु भएको छ । साथी भाईमा कुरा चल्छ । यसपालिको मसी गाढा थियो कि फिक्का ? सूचना र जानकारी चियो चर्चा लिइन्छ कसको कति बोतल मसी भयो ? 

स्कूलको टिन तातेर हपहप गर्मी भयो अलिकता गंगा आइसक्रिम फया्क्टीको  रातो बरफ कि दूध बरफ चुस्ने हो कि ? आमाले दिनु भएको दश पैसाले टिफिनमा अलिकता मुरै हालेको घुघुनी खाने हो कि ? बंगाली बाबुको दोकानबाट तित्री बहेरको खट्ठीमिट्ठी अचार पो खाने हो कि आज ?अमिलो पाचक अलिकता त फाउमा दिइहाल्छ नी ...यस्तै निर्दोष ध्याउन्नमा बित्ने त्यो भानु स्कूलको दिनहरु ..जगजीत चित्रा सिंहले गाएको गजलमा जस्तै भन्न मनलागेको छ .. ए दौलत भी ले लो ए शौहरत भी ले लो मगर मुझे लौटादो बचपनका सावन.... ओ कागज कि कस्ती ओ बारिशका पानी..

बर्षौ पछि यो विस्थापित पत्रकार फेमेलि हेल्थ इन्टरन्याशनल संस्थाले आयोजना गरेको लेखन कार्यशाला चलाउन  विराटनगर पुगेको थियो ।  काम सकेर त्यो साँझ मेरो जीवनका पहिलो ज्ञानको दीयो बाल्ने भानु स्कूलमा सिर निहुराउन पुगेको थिए । स्कूल हामीले पढेको जस्ताको त्यस्तै र त्यही अवस्थामा थियो । झिसमिसे साँझमा बन्द भएको स्कूलको ढोकाको च्यापबाट भित्र चिहाएर हेरे । भित्र हामी पढ्ने पालो देखिको  उही अग्ला डेस्क र  ब्रेन्चहरु   थिए त्यस्तै भालु भेट्टाउने (माटो कोटयाउदा भेटिने एक किसिमको कालो कालो ठूलो किरो  जसलाई  हामी भालु भन्ने गर्थ्यौ  )धुलै धुलोले भरिएको भूइ ।  स्कूलको अतिरित खुला कक्षा चल्ने संसारी माइथानको फराकिलो परिशरमा उभिएर म नियाल्दै थिए । तर संसारी माइस्थानको पछाडि आँगनको स्कूल  र कार्यलय थिएनन् । हामीले एकड दुकड खेल्ने र दौड लगाउने ,प्रर्थानामा उभिने खालि जग्गा काढे तारले बारिएको अवस्थामा थिए । यही परिशरमा  भानु मोरङ्ग सांस्कृतिक  समितिका संस्थापक एवं कलाकार स्व. चतर्भुज आशावादीको अर्धकद मूर्ति थपिएको  थियो ।

Late ChaturBhuj AashaBadi - Local Artist


 जाँच राम्रो होस हे माता ! भन्दै भाक्ने गरेको पिपलको जरामा अवस्थित आराध्य जगदम्बा संसारीमाइ जस्ताको तस्तै थिइन् ।
Sansari Mayasthan Temple


 अनि अलि परतिरको शितल ताप्दै हाम्रो कक्षा चल्ने चौताराका बर र नीम र रुखहरु उही थिए । मेरो आँखा र  अंगालो भरी उनीहरु अटाए  । उनीहरुको छाहरी उतिकै शितल ,घना र गुणकारी देखिएका थिए । तर  मैले देखे उनीहरु उभिएका चौतारा जीर्णशिर्ण भएका छन् । 


Local vendor waiting for students.
यही निम र बरको चौतारामा त हो मेला लाग्ने ।विराटनगरको संसारीमाइको परिशरमा  दशै तिहार गर्मीको विदाहरुमाको मौका छोपेर चल्ने रंगविरंगी मेलाहरु । थरी थरीका खेल तमाशा । आकाशलाई चुम्न तत्कालै उडिहालुला जस्तो गर्ने ग्यासले भरिएको रंगीविरंगी बलुनहरु ।  थरिथरिका सजिएका स्टलहरु । रिंगमा फसाएर प्राइज जित्न  चम्किला शिशाका जगलाई ताक्ने कि भूइकटरको रसिलो झोलले भरिएको डिब्बालाई अनि बास्ना आउने साबुनहरु पनि त्यति नै लोभलाग्दा छन् । तर  धेरै जसो रिंगमा फस्ने गर्छ श्री जुद्घसलाइका बट्टा कि त आशा चुरोटको बट्टाहरु ।..हत्तेरिका अलिकतिले फसेन आफुले ताकेको प्राइज .. मन चुकचुकाउछ । आफ्नो स्टलमा डायस खेल्न ग्राहकलाई कराइ कराइ बोलाउनेले घाटीमा कहिले चुना लगाउछ म उसलाई हेर्न बिर्सिदिन थिए । मेला लागेको दोस्रो वा तेस्रो दिन उसको स्वरले जवाफ दिएको हुन्थ्यो तर उ भने घाटीमा चुना लगाएर सुकेकै स्वर लिएर पनि गाहकलाई बोलाउन उसरी नै तल्लिन रहन्थ्यो ।म उसको सुकेको स्वरमा थाह छैन कस्तो गहिरो आकर्षण पाउथे । भासिएको अजिव स्वर तर सुनिरहु जस्तो ।

संसारी माइथानको मेलामा गाहकलाई बोलाउन संसारी माइथानको चारैदिशामा माइक
 राखिएको हुन्थे जसमा साँझपख लता ,रफी, मुकेशका रेकर्डहरु बज्न थाले पछि बस अरु के चाहियो ? कान थापिरहेको हुन्थे । घरको छत अाँगनमा हल्लिदै मन यो टोहमा हुन्थ्यो कहिले मेलाको रेकर्ड बज्ला  अनि उनीहरुको स्वरसित स्वर मिलाउदै गीतहरु गाउला । अहिले सोच्दै छु त्यो समय मेरो कानमा नेपाली कलाकारको गीत किन त्यसरी कहिले परेन । शायद नेपाली रेकर्ड पर्याप्त थिएनन कि  नेपाली गीतहरु सुन्ने स्रोता थिएनन् ?भारतीय जोगमनी बोर्डर नजिक अवस्थित विराटनगर हिन्दी चलचित्र र हिन्दी गीतहरुको रंगमा रंगमंगिएको हुन्थ्यो । शायद यही प्रभावले होला  घरमा एउटा लाहुरेसित बुवाले किन्नु भएको पुरानो रेडियोमा  रेडियो नेपालको समाचारहरु सुन्न बाहेक अरु समय बिनाका गीतमाला र फौजी भाईका फर्माइसी हिन्दी गीतहरु नै घन्किरहेको हुन्थ्यो । 

छतमाथि के कामले हो फाल्तु त्यसै  राखिएको पोलिथिनको कालो पाइपको उपादेयदा एकदिन आनायस डिसकभर गरिपठाएछु । पाइपबाट गाउदा त हदै मीठो पो स्वर सुनिने । हरदम गीतहरु मन र अधरमा झुन्डिरहने मान्छेलाई के चाहियो ? यो खेल मेरो बालपनको अतिनै जरुरी एक हिस्सा भयो । पाइपको एउटा कुनाबाट गीत गाउने अर्को कुनाबाट कुनै स्रोताले सुन्ने ।गीत सुन्नै स्रोता छैन भने पनि केही चिन्ता छैन पाइपलाई फनक्क आफ्नो कानमा घुमाएपछि आफै स्रोता पनि बनिने । यसरी आफु गायिका कम स्रोता भएर गीत गाउन थापेपछि सुधबुध सारा दुनिया  बिर्सने बानी थियो मेरो । मलाई लाग्छ मेरो बालापनको यही निर्दोष र निजी आराधनामा  मेरो संगीतको जग बसेको छ । र आज पनि म धेरै जसो आफ्नो लागिमात्र र आफ्नो खुशीहरु र दुखकोलागि गाउँछु र आफुलाई सुन्छु   । 

सुनाउनलाई त भानु स्कूलका बाल सखा सखीले घेरिएपछि स्कूलको किताबको कुनै 
पंक्तिलाई कुनै पनि चल्तीको धुनमा ढालेर गाइदिन मेरोलागि बडो मजालाग्दो काम थियो । कहाँ गयो ह ती दिनहरु ? यादहरुको लर्कोको भने अन्त्य छैन । 

म निम र बरको जीर्ण चौताराबाट ओर्लिएर संसारी माइथानको भुरभुराउदो माटोलाई छुन्छु । अहिले पनि माटोमा वर्षौ अघिको त्यही सुगन्घ छ । यहाँको माटोमा तिनताक गुच्चाको लागि खोपेको  अनगिन्ति स सना प्वालहरु हुने गर्थे कि त आइ एम राइट र एकड दुकड खेल्न कोरिएका धर्के कोठाहरु  । खोपी र गुच्चाका लागि नामुद मेरो दाजुहरु डा.महेश रमेश मास्के आफ्ना सहपाठीहरुसित आठै प्रहर जसो गुच्चा खेल्न संसारी माइथानको बास थियो । हरेक साइज र रंगका लोभलाग्दा गुच्चाहरुले खल्ति भरी भरी खनखनाउदै उनीहरुका अभ्यस्त चोरी औलाले  गुच्चालाई ताकेर सुपथ प्रहार गरिरहन्थे । दिनभरी स्कूलको साथले नअघाएका हामी साँझ गहिराउनज्यालसम्म लुकामारी आइ एम राइट , रन रन स्टाचू जस्ता खेलमा लिप्त हुन्थ्यौ । सबकुरा भुलेका हामीमा भागाभाग पर्थ्यो जब घरबाट अभिभावकहरु  खोज्दै आउथे ।  खानलाई पढनलाई कान अठ्याउदै आमाले घर पुर्याउनु पर्थ्यो। गुच्चाखेल्ने बानीदेखि आजित आमा दाजुहरुलाई बोरामा बाधेर लडाइदिनु हुन्थ्यो हजार धम्की र हजार बिन्तिहरु  तर हामी भने कुकुरका पुच्छर जस्ता थियौं ।

म अनायस मुस्काउछु त्यो अवोध बाल्यकालसित । त्यो निश्छल बाल्यकालसित भानु स्कूल र संसारी माइथान नङ र मासु जस्ता साथ रहेछ तर यो सुखद बोधलाई भाुन स्कुल र संसारी माइथानको अहिलेको जीर्ण र उजाड बर्तमान अवस्थाले चस्स बिझाउँछ  । अर्जेल, वर्मा, विष्ट र मास्के परिवारको सद्भाव र छत्रछायाबाट हुर्किएको यस विधालयले संसारी माइथानको खुला परिशरमा पठ्न पाठन गराउँदै आएको साठीदशक नाघिकोको छ । तर पनि किन कोही र कहीबाट केही हुन सकिरहेको छैन ? 

गत ५  वर्षदेखि भानु स्कूलको जेहन्दार विधार्थीलाई छात्रबृति बाड्दै आएको कृष्णादेवी मास्के स्मृति गुठीले यस वर्ष संसारीमाइथानको बर र नीमको जीर्ण चौतारोलाई मर्मतसम्हार गर्ने योजनाभित्र पारेको थियो तर  निर्माण गर्न  पुग्नु भएको कृष्णा देवी स्मृति गुठीको अध्यक्ष चन्द्रा श्रेष्ठलाई यस निम बरको चौतारो कसैको व्यक्तिगत सम्पति भइसकेको जानकारी दिइयो  र बिना उनीहरुको अनुमति यो काम हुन नसकिने भनियो ।  सयौ वर्षदेखिको यो एतिहासिक छाया र छाहरी कसैको व्यक्तिगत मात्र कसरी हुन सक्छ ? यो मठ र मन्दिर स्कूलको आँगन व्यक्तिगत कसरी हुनसक्छ ? 
स्कूलको इतिहासलाई नियाल्दा समाजसेवी शिक्षाप्रेमी रामजी प्रसाद अर्ज्येल , तीलविक्रम मास्के लगायत अरु समाजसेवीहरुको पहलमा २००२ तिर सुकुल र बोरा ओच्छ्याएर केटाकेटाकेटी जम्मा गरेर पढाइने शुुरुमा यो एउटा बेनामे पाठशाला थियो रे । मन्दिर नजिक खरको सानो छाप्रोमा पाठशाला चल्ने भएकोले जनसमाजमा यो संसारी माइथान स्कूलको नामबाट चिनन बथाल्यो । संसारी माइथानको छेउमा जुद्धशम्सेरले बनाएको यस धर्मशालामा पनि यो स्कूलको केही कक्षाहरु  संचालित हुुन थाले पछि २०११ सालतिर भानु शिक्षा निकेतनको नामले सरकारी मान्यता पाएर प्राथमिकतहको ५ कक्षासम्म पढाइ संचालन हुन थाल्यो । 

तर स्तरीय पठ्न पाठनले लोकप्रिय हुन थालेको यो स्कूल भानु मोरङ्ग सांस्कृतिक समितिको स्थापना संगै बिस्थापित हुन थाल्यो । भानु स्कूलको  स्वर्ण महोत्सवको  स्मारिकामा विद्धान लेखक दधिराम सुवेदी औल्याउनु हुन्छ  “संसारी माइस्थानमा २०१८ सालदेखि भानु मोरङ्ग सांस्कृतिक समितिले अड्डा जमाएपछि विधालयले दुःख पाउने क्रम शुरु भयो ।” 

 खरको छानो भएको कक्षाकोठा लगायत स्कूलको कार्यलयलाई जवरजस्ती हटाइयो ।स्कूलको आफ्नो भवन केटाकेटी खेल्ने आगन नभएको भन्ने कारण देखाएर ५ कक्षासम्म स्तरीय पढाइ हुने स्कूललाई  १ देखि तीन कक्षासम्म मात्र पढाउने स्कूलको रुपमा खुम्च्याइयो । भानु स्कूलको नाम धरी फेरिएर प्राथमिक पाठशाला संख्या ८ को नामबाट यो विधालय २०३२ सालसम्म यस्तै उपेक्षित रुपमा चल्यो ।पत्रकार स्व. कुमार बहादुर श्रेष्ठको अध्यक्षतामा यसले भानु मोरङ्ग विधालयको सम्मानित नाम  फिर्ता पायो । प्रधान अध्यापक जगत प्रसाद अर्जेल लगायत केही भद्रभलादमीहरुको अनेकौ प्रयत्न र प्रयासहरुबाट २०४१ मा कक्षा ५ सम्म फेरि संचालन गर्न अनुमति स्कूलले पायो । स्कूलको उन्नतीको भगिरथी प्रयासमा वर्षौदेखि लागि पर्नु भएको पूर्व प्रधानअध्यापक जगत प्रसाद अर्जेलको दुखेसो छ  “बोल्ने कोही भएनन् यो स्कूलको पक्षमा । विधालयलाई घरबारविहीन बनाउने भानु मोरङ्ग सांस्कतिक समिति हुनेखानेको हातमा छ शिक्षकले मात्र विधालयको पक्षमा बोलेर के हुन्छ र ?” । 
Teachers at Bhanu school, Biratnagar are still waiting for the construction of the school's own building.

मन्दिरको स्वामित्वमा रहेको जग्गा समेत हात पारेर व्यक्तिगत फाइदा लिइने कुरा कसैलाई पनि मान्य हुन सक्दैन् । भवन विनाको यस स्कूल आज पनि जुद्धशम्सेरको पालामा बनेको कहिले जेलको रुपमा, कहिले धर्मशालाको रुपमा त कहिले प्रहरी बस्ने घरका रुपमा प्रयोग गरिने उजाड घरमा विधार्थीहरुलाई कोच्याएर कक्षा संचालन गर्न बाध्य छ । भानु स्कूलको दसकौदेखिको  मौन र अरण्य रोदनको अब सुनवाई हुनुपर्छ । विधार्थीको लागि भानु स्कूलको आफ्नो भवनको  निर्माण कार्य  संसारी माइथानको प्राङ्गणमा हुनु पर्छ । यस स्कूलबाट ज्ञानको विवेकको जग बसालेर ठूला ठूला ओहदामा पुगेका योग्य र सक्षम विधार्थीहरुबाट पनि सहयोगको हात अघि आउनु पर्छ ।

तराइको सुनौलो साँझमाथि कलिलो रात झर्न थालेको थियो ।  ज्ञानको पहिलो दीक्षा दिने यो भानु स्कूलकोलागि अनि मेरो बाल्यकालको स्मृतिहरुलाई आजसम्म धरोहरको रुपमा सहजेर राखिदिएको  संसारी माइथानकोलागि मैले के गरे ? चित्त बुझ्दो जवाव मसित  छैन ।थाकेको यात्री जस्तै म संसारी माइथानको सिढीमा टुसुक्क बस्छु । मेरो अलिअलि फुल्न थालेको कपाललाई निम बरको चौतारको हावाले मुसारेको जस्तो लाग्छ । मेरो दोषी र दुखिरहेको मनलाई उनीहरुले  फकाइरहेको जस्तो लाग्छ । हठात मलाई किन लाग्यो संसारी माईथान,भानु स्कूल र यो बर र निमको चौतारो र यहाँको माटोले मलाई चिने । म उनीहरुको काखमा हुर्किएकि त्यही सानी केटी  हु ।
मेरो बाल्यकालको स्मृतिहरुलाई आजसम्म धरोहरको रुपमा सहजेर राखिदिएको निम र बरको चौतारो... 
आज त्यो निर्दोष बाल्यकाल छैन् ।त्यो स्कूलको घण्टी सुनेर कुद्ने हतार छैन । त्यो बकुल्लाले माछा खसाल्दाको बालसखा र सखीहरुको कल्याङ्गमल्याङ्ग छैन । त्यो बंगाली बाबुको  पाचक, तित्री र बहेरको खट्ठीमिट्ठी अचार छैन । छ त मात्र यादहरु..तिता मीठा स्मृतिहरुको कहिले नसकिने  सिलसिलाहरु । युसुफमियाको पहाडा कानमा अझै गुन्जिदैछ  । .....तीया पैतालिस, चौके साठ डामपचहत्तर........ म विगतका–विरह नोस्टाल्जिआ मा अल्झेको अल्झै छु ...

Photo courtesy: Sanjeeb Ghimire

Comments