सङ्गीतको मेरो अराध्य,मेरो अम्बर सर ! (भाग ३ )


अम्बर सरको सुस्वास्थ र दीर्घायुको कामना गर्दै विस्थापित पत्रकारको यो डायरीको पानाहरु...

सृजनात्मक सङ्गीतको महान साधक गुरु अम्बर गुरङ

मनको तहखानामा संचित स्मृतिहरुको भण्डार छेउ उभिएर मानौ म अलमलिरहेको छु ,कुनलाई टिपु कुनलाई छाडुको मनस्थितिमा । सरसितको संगतमा बिताएको हर घडिको हर संस्मरण मलाई अहिले उति नै प्रिय भइरहेको छ । यस्तो किन लाग्दैछ सरको बारे म सारा जुनीभरी लेखिरहन सक्छु । तर म अर्कोतिर हतारिएको पनि छु , लाग्दैछ समय छैन , सुन्नेसित पनि सुनाउनेसित पनि ? सरको शब्द उधारो लिएर भन्न पर्दा ‘जीवन हतारिएर संक्षेपमा भनेको कुनै कथा जस्तो रहेछ ।’ साच्चै म हतारिएको छु फुरररर्र छोटिदै गएको जीवनसित अब विस्तृतमा लामो कथा सुनाइ भियाउने समय नै छैन । साच्चै म हतारमा छु ,फेरि जीवन, भर गर्न सकिने कुरा पनि त होइन रहेछ ।

अब त शब्दहरुको भर पनि  लाग्न छोडदैछ  त्यतीबेला जब निगूढ मनको भाव शब्दमा ढल्नै सक्दैन र भनेजस्तो खोजेजस्तो गरी अभिव्यक्तिन सक्दैन । शायद त्यसैले ताओले पनि भनेका होलान ‘जे भनिन्छ त्यो सत्य रहदैन ।’ उसो भए म किन लेखिरहेको छु त ? आफैसित प्रश्न गर्न थालेको छु । सारा स्मृतिहरुलाई मनको तहखाना भित्रै  कैद गरे हुन्थेन र ? यसो गर्दा वेचैन हुन्छ कोही मभित्र । मभित्रको त्यो पत्रकार शायद अझै कतै मौजुद छ र  शिष्याको नजरले हेरेको अम्बसरको छविलाई शब्दचित्रमा ढाल्न व्यग्र छ ।

कलाकारको कलात्मक अस्तित्व

नजिकबाट त्यो शिष्याले सरको व्यक्तित्व  झनझन सुन्दर ,सरल र विराट देखिरहेको थियो । तर अम्बर सरमा कमी कम्जोरी पनि हुन सक्छ ,तर खै मैले त कहिले देखिन । कहिले काही म्याम मनको दुःखसुखको कुरा मलाई हल्का पोख्नु हुन्छ । हल्का गुनासो र व्यवहारका पीर बोकेको   म्यामलाई म उल्टै सरको पक्ष लिएर संझाउछु ।‘ सरलाई हामीले बुझिदिनु पर्छ म्याम, आम मान्छेलाई जस्तो सरलाई हेर्नै मिल्दैन ।’ कलाकारको मनको बनावट नै जटिल हुन्छ । घोर संबेदनशिल मन लिएर एउटा साचो कलाकारले बाँच्नु पर्छ यो विचित्रको संसारमा ।

स्रष्टा र सर्जक मात्र भएर उसले यो संसारमा बाँच्न कमै अवसर पाउछ । म अक्सर सोच्ने गर्छु कलाकारलाई केवल कलाको सर्जक भएर मात्र बाँच्न दिए यो संसार कति सुन्दर हुन्थ्यो होला ? उसको अरु कुनै काम नहोस रात दिन सृजनशिल भएर कलाको उपासना मात्र गरिबसोस ? तर यस्तो भएको छैन । सरको भनाई सापटी लिएर भन्नु पर्दा‘ किन उपयुक्त  मान्छेले , उपयुक्त कामकोलागि उपयुक्त  समयमा अवसर पाउदैन ?’  अनि यो प्रश्न मेरो मनमा आजभोलि झन बढी खेल्न थालेको छ । तर सच्चा कलाको साधक, जस्तो जोखिमलाई सहदै पनि कलाको साधना नै गरिबस्दो रहेछ । बरु दुःख र अस्थिरताले कलाकारलाई अरु खार्दो रहेछ , उसको सृजनालाई अरु गहिरो, धारिलो र दरिलो पनि पार्दो रहेछ । जस्तो स्थितीमा पनि कलाको उपासनामा रम्न सक्दो रहेछ सुखी हुन सक्दो रहेछ । के अम्बर सरको  जीवन यसको सुन्दर  उदाहरण होइन र ?

सर अक्सर  रोमा रोलाको  ३ वटा यो सुन्दर आश्वासन सुनाएर मलाई कला साधना गरिरहन प्रेरणा दिनु हुन्छ ।

१. तिमी आफ्नो कलात्मक विकासमा लागि बस, कुनै दिन तिम्रो जीत निश्चित छ ।
२. तिमी आफ्नो कलात्मक विकासमा लागि बस, जीवनमा तिम्रो जीत भएन भने पनि मृत्यु पछि तिम्रो पूजा हुनेछ ।
३. तिमी आफ्नो कलात्मक विकासमा लागि बस, जीवनभर र मृत्युपछि पनि तिम्रो जीत भएन भने, तिम्रो कलात्मक अस्तित्व नै सबैभन्दा ठूलो इनाम हो ।

यस अर्थमा कलाकार हुनुको  जीतै जीत रहेछ , हारमा पनि जीत नै रहेछ  । नत्र रोमाको यो तेस्रो आश्वसन
 ‘कलात्मक अस्तित्व’ लिएर बाचिरहन पाउनु जस्तो सुन्दर र  सबैभन्दा प्राकृत र निजी इनाम  कलाकारकोलागि अरु के होला ?

सङ्गीतमय मौसमहरु

सरको कान्छा छोरा शरद गुरुङ बोस्टन बर्कली कलेज अफ म्युजिक ग्य्राजुएट भएर नेपाल आफ्नो सानो परिवारसहित फर्किएका छन । सरको यो डेरा अब साँघुरो हुन थालेको छ अलि फराकिलो घर खोजेर सरको परिवार चंडोलमा डेरा सर्छ । अगाडि पछाडि  पर्याप्त ठाँउ भएको ठूलो दुइतले चिटिक्क परेको बंगला , अर्को  प्रतिभाको आगमनले अरु सङ्गीतमय भएको छ । माथिल्लो तलामा शरद भाइको अफिस छ । उनले बजाउने पियानोको मीठो तरङ्ग  घरमा जतिबेला पनि सुनिन थालेको छ । सरको घरको सबै परिवार मायालु छन् । म्याम लागायत परिवारमा थपिएको सरको बुहारी मीरा , सरको सानी नातिनी र्कीती पनि  । अनि अति मायाले सधै मसित लुटपुटिन आउने कुकुर भुकुल्ली सिन्ड्र्रु  । सरको घरमा आउने जाने मेरो कुनै टुङ्गो छैन आजभोलि मैले सरसित समय लिनु पर्दैन । म आफ्नो समय मिल्ने साथ कुदेर चन्डोल पुगिहाल्छु । अनि सुरज वर्षदिनकोलागि अनुबन्धित भएर सिंगापुरमा गएपछि सर सानी आस्थालाई भायलेनको केही लेसन दिनु हुन्छ ।

सानी आस्था सरको साथ


मेरो नियमित शास्त्रिय सङ्गीत सरसित सिक्ने अविरल गतिमा जारी छ । भैरव राग पछि भैरवी राग सिक्न थालेको छु । आरोह रे कोमल ग कोमल ध कोमल नि कोमल आवरोहमा पनि रे ,ग, ध कोमल लाग्ने यो रागको पहिचान हुन थाले पछि म हिन्दी सिनेमाहरुमा प्रयोगमा आउने धेरै पुराना गीतहरु विषेशगरि रोमान्टिक गीतहरु यस रागमा आधारित भएर रचेको आभास पाउछु  ।  रागहरुको अभ्यास गर्दा हामी गुरु शिष्यालाइृ तबलामा साथ दिनेको अभाव खट्किएको छ । सर जानकारीदिनु हुन्छ , तबलाको मात्रा रेर्कड भएको डिजीटल यन्त्र पाइन्छ रे सिलगुडीमा ।  गाडीको व्यवसायको कामले सिलगुडी  आउजाउ गरिरहनु पर्ने मेरो नगेन्द्र दाजुलाई संझिन्छु । मलाई भाइटिका ,रक्षाबन्धनमा बहिनीको मनको साइनो लगाउनु हुने यो दाजुलाई मेरो इच्छा पोख्नु के थियो सिलगुडीबाट यो यन्त्र तत्कालै ल्याइदिनु हुन्छ । अनि भन्नु हुन्छ, ‘सानु तिमीलाई केही दिन पाएको छैन यो तिम्रो सङ्गीत साधनामा काम लाग्ने कुरा दिन पाउदा धेरै  खुशि छु ।’ हामी  गुरु शिष्याको साधनामा अब यो अर्को उपयोगी यन्त्रको साथ थपिएको छ ।  सङ्गीतमय मौसम अरु घना भएको छ ।

सरको अनुमति लिएर अब म विहान पख सरले साधना गरिरहेको बेलामा पनि लुसुक्क पुग्न थालेको छु । बिना कुनै आवाज सास रोकेर,  सरलाई कुनै व्यावधान नहोस भनेर सचेत हुदै कुनामा चुपचाप  आँखा बन्द गरेर म सरले गरिरहनु भएको साधनामा डुब्न थालेको छु । अनि साधना सकेर कहिले गुरु शिष्या टुडालदेबीको दर्शन गर्न पुग्छौ ।

सरकहाँ एक अलि भिन्न पहिचान बनाएर आएको एक मान्छेको अनुहारसित म परिचित हुन थालेको छु । उनी सरको शिष्य होइनन् । पेशाले जयदेव जी  व्यापारी हुन तर कलाको पारखी अनि सरको नम्बर एकको फ्यान प्रसंसक त्यो भन्दा बढी ठूलो सहृदयी र सहयोगी । उनी कहिले सरको अभिनन्दन समारोहको आयोजना गर्छन त कहिले सर म्यामलाई केबुल कारमा चढाएर मनोकामनाको दर्शन गर्न लैजान्छन् । गुरुपूर्णिमा ,सरस्वती पूजा आदी हरेक अवसरमा उनी सामेल देखिन्छन् ।  केवल सृजनामा रमाउने सरलाई आफ्नो कृतिहरुको कुनै पर्वाह छैन । सरका पुराना रेडियोमा बज्ने कतिपय गीतहरु हराउन थालेका छन् ।  सरसित ईष्यालु भाव राख्नेहरुले रेडियो नेपालबाट सरको गीतहरु बजाउन नदिने मौहाल बनाएका छन् । सरको कतिपय रेकर्ड बिगार्ने भावले जानी जानी कोरिएका छन् ।  सरको क्यासेट ‘कहिले लहर कहिले तरङ्ग’ बजारमा पाइदैन । लोप हुने अवस्थामा रहेको सरको गीतहरु सहजने तदरुकता देखाउछन जयदेवजी । कहिले लहर कहिले तरङ्गलाई  सिडीको रुपमा बजारमा पुन ल्याउन प्रयत्नशिल छन् उनी । अनि रेडियो नेपालमा सरको पाइए जतिका पुराना गीतहरु साम ,दाम ,दण्ड ,भेद अपनाएर भए पनि संकलन गर्न सफल हुन्छन उनी  । सरको पुराना गीतहरु संकलनको एउटा कपी मैले पनि पाएको छु । नेपाली   सङ्गीत जगतलाई धनी बनाउने सरको सृजनाका यी अमुल्य रत्नहरु बटुली दिने जयदेव जीसित म हृदयदेखि कृतज्ञ हुन्छु । यति मात्र होइन ‘ अम्बर गुरुङ्ग सङ्गीत प्रबन्ध समिति ’बनाउने उनको योजना छ । उनी मलाई यो संस्थाको सचिव बन्ने अनुरोध गर्छन । म खुशिसित मलाई जिम्मादिने काम गर्ने बचन दिन्छु । यसै ताका सरको शोहरु प्रज्ञा भवन , राष्ट्रिय सभा गृहमा भटाभट आयोजना हुन्छन । सरको  नौलाखा तारा उदाए गीतमा हामीहरु सरलाई साथ दिन्छौ  । अनि सरको सरको कान्छा छोरा शरद, सरको काँधमा काँध मिलाएर यो  सङ्गीतमय मौसममा साथ साथै छन् ।

किन पिउछन कलाकार ?

सरलाई असल रक्सीहरु मनपर्छ मलाई थाह हुन थालेको छ । विदेशतिर अस्मिताको महिला सभा, सेमिनारहरुमा गइरहनु पर्ने मलाई अब एयरपोर्टको ड्यूटी फ्रिको स्टलहरुमा सजाइएका बोटलहरुले नजिक बोलाउन थालेको छ । सरकोलागि पहिलो पटक रेडलेभल लिएर आएको हुन्छु र मन भने मेरो दोषि र भारी छ । म्यामको अगाडि रक्सीको बोटल राख्दै म डराइ डराइ कन्फेसन गर्छु र भन्छु । ‘म्याम मैले नाकाम पो  गरे कि सरलाई यो कुरा उपहारमा ल्याउन हुन्नथियो कि ?’ म्याम मलाई स्नेहले हेर्दै भन्नु हुन्छ ‘सुुसन पीर नमान , सरलाई रक्सी पिउनै नदिने कुनै बन्देज लगाएको छुइन तर धेरै पिउन नदिन भने सचेत हुन्छु । ’ मेरो उपहार स्वीकृत हुन्छ । हाम्रो नेवारी संस्कृतिमा रक्सी ऐला सगुन  हुन्छ अत  अब म सरलाई  यस्तो उपहार बोकर आउदा हरेक पटक अनुरोध गर्न बिर्सिदिन ‘ सर एक दुइ पेग सगुन जस्तो गरेर मात्र पिउनु होला ।’

सर पिउनु हुन्छ धेरै पिउनु हुन्छ तर मैले सरलाई मातेको कहिले देखिन । साँझ ढलिसकेपछि सर पिउनु हुन्छ मानौ यो पनि कला उपासनाको कुनै विधि हो ।  ‘कहाँ गए ती दिनहरु ’ पुस्तकको एक संस्मरणमा सरले आफ्ना  अति प्रतिभाशालि पियक्कड गीतकार, समकालिन,साथी भाइ र दौतरीहरु अगमसिहं गिरी ,शंकर लामिछाने ,भूपी शेरचन , ईश्वरवल्लभ , पासाङ्ग वाङ्गबल आदि कलाका उपासकहरुको  पिउने बानीलाई संझिदै  यो प्रश्न गर्नु हुन्छ ‘ किन कलाकारहरु बढी पिउछन् ?’ र शायद आफैसित पनि प्रश्न गर्नु हुन्छ ? सरको यो जवाफ मलाई मार्मिक लाग्छ  ‘ अरुले खोजी गर्न नसकेको उसको दुःख रक्सीसित साटछ ..... पिएर आफै सिद्धिदै कविता लेख्न सकेकोले म नेपाली जगतमा आउने अनमोल देनलाई रोक्न सक्दिन ।’ के सर पनि अरुलाई थाहै नभएको सरको मनभित्र कसैले खोजी गर्न नसकेको  अथाह पीडाहरुलाई रक्सीसित साटनु हुन्छ ? रक्सीसित कलाको यो कुन उपासना गर्नु हुन्छ सर ? मैलै त जानिन । तर  एकदिन कुनै प्रसङ्गमा ‘ म सृजनशील हुन पिउछु ’ भनेर सरले स्वीकार्नु भएको संझना छ मलाई ।

गुरुकूलको स्नेह

हरेक जस्तो भेटहरुमा सरकोलागि मौसमी फलफूलहरु लग्छु । कोर्नफ्लेक्स, कहिले दिउसोको खाजा , कहिले खत्राक खुत्रुक सानो सानो कुराहरु । ‘सुसन केही पनि नल्याउ ’ एकदिन सर मलाई भन्नु हुन्छ ।‘ तर मलाई खुशि मिल्छ म सुनेको नुुसुनेको गरिदिन्छु ।  केही दिन पछि अर्को पटक सर फेरि भन्नु हुन्छ ,‘  केही पनि नल्याउ सुसन । ’  चित्त दुखेर आहत भएर सोध्छु ‘ किन र सर केही पनि नल्याउनु ’? शिशु जस्तै निर्दोष हासो छर्दै सर भन्नु हुन्छ ‘ अर्को पटक तिमी आउदा के ल्याउछौ भनेर सोेच्न थाल्छु ? ’ अब के भन्ने होला यस्तो सेन्स अफ ह्यूमर भएको मेरो सरलाई ?

‘सर शपिङ्ग गर्न जाउ । ’ ‘ अठ्सठ्ठीवटा सर्ट छ ,पचपन्नवटा पाइन्ट छ बहत्तर वटा टाइ छ , एक दर्जन सुट छ ।’ सर लुगाको संख्या गन्तिमा सुनाउनु हुन्छ । म जिद्दि गरेर भन्छु ‘ सरलाई एउटा ट्रयाक सुट चाहिएको छ र एउटा  ज्याकेट पनि । एउटा सेभिङ्ग क्रिम पनि अनि उतैबाट वैधको रुघा खोकीको औषधि र चवनप्रास ।’ म सरलाई चाहिएको कुरा गन्तिमा सुनाउछु । कर गर्दै पुतली सडक पुर्याउछु सर मेरो मन राखिदिनु हुन्छ । माइती घर बनेको मेरो यो गुरुकुल  अफिसको कामले बाटो त्यता पर्दा भोक लागेको छ भने पनि म चन्डोल पस्न थालेको छु । किचेनको डब्बा छामछुम गर्दै चिया खाजा बनाएर खान थालेको छु । दशैमा छोरीलाई लिएर  सर र म्यामको हातको टीका र आषिश  थाप्न पुग्न थालेको छु ।

आमा र छोरी सरको हातको दशैको टीका थाप्दै 


एकदिन सरकहा पुगेको हुन्छु  म , देख्छु सर हार्मोनियमको मर्मत  गर्दै हुनु हुन्छ , अनि  कपडाको एक पातलो लेयरलाई पटयाएर  हार्मोनियममा राख्दै सर मलाई भन्नु हुन्छ ‘यो हार्मोनियम पनि मजस्तै पुरानो भयो ।’ म केही नसोची भन्छु  ‘अर्को किनम न त सर । म किनीदिन्छु नि सरलाई अनि  यो हार्मोनिम मलाई दिनु सर । म सरको चिनो मानेर एकदम जतन गरेर, पूजा गरेर राख्छु नी ,’ म सरलाई प्रस्ताव राख्छु । सर मलाई केही जवाफ दिनु हुदैन । अर्को पटक जादा सर मलाई सरको पुरानो ठूलो किबोर्ड दिनु हुन्छ‘ यो मेरो तिमीलाई चिनो भयो ।’ म छक्क पर्छु बल्ल मलाई होस हुन्छ , मैले अन्जानमा सरसित सरको भावनात्मक लगाव राख्ने कति ठूलो कुरा खोस्न खोजेको रहेछु । सरले आफ्नो  पुरानो साथीलाई जस्तो स्नेह राख्ने सरको हार्मोनियमलाई मैले कति स्वार्थवस आँखा लगाएको रहेछु  ।  एउटा ग्लानीमा भिजेको दोषी कुना अझै मसित टासिएको छ ।

त्यो सालको नयाँ बर्ष, सरको आषिश लिएको छु अनि सर भैरवी त्रितालको  बन्देज मेरो साधना कापीमा लेखिदिनु हुन्छ ।

भैरवी रागको बन्देज सरको हस्तलिपी..


 भैरवीको यो बन्देजको अभ्यास सकिएको छ ।  अनि दिउसोको चिया पनि खाने बेला भएको छ । म चिया बनाउने तर्खरमा किचेनतिर लाग्न लाग्दा सर मलाई छक्क पार्दै भन्नु हुन्छ, ‘ आज म तिम्रो लागि चिया बनाउछु ।’ अरु दिनहरुमा  म चिया बनाउछु । मलाई कडक चिया मनपर्छ घेरै चिया पत्ति ,दूध  र चिनी हालेको । सरलाई सुगर छ , सेक्रिन हालेर दिने गर्छु  सरको खास स्टीलको  ग्लासमा । अनि आफ्नोलागि पछि चिनी थप्छु । मेरोलागि सरले बनाउनु भएको  चिया छ पातलो तर  चियामा एक किसिमको स्वाद छ   । यस्तो चिया त मैले कहिले खाएको थिइन । कसरी बनाउनु भएको पातलो भएर पनि सर यस्तो मीठो चिया । ‘चियामा कम्ति दूध हाल्नु पर्छ अनि चियापत्तिलाई ठीक्कले उमाल्नु पर्छ।’

हरे शीव ! यतिका दिन सरले मैले बनाएको बाक्लो चिया कसरी केही नभनि खाइरहनु भएको रहेछ अब म चिया बनाउदा कम्ति दूध हाल्न सचेत हुन थालेको छु । तर त्यो दिन खास स्नेहले मेरोलागि बनाउनु भएकोले चियाको स्वाद  आज पनि मेरो मनमा बसेको छ । यस्तो लाग्दैछ अहिले भर्खरै मैले त्यो चियाको स्वाद लिएको छु ।

पत्रकारिता र साङ्गित

अस्मिताले प्रगति गरिरहेको छ । बागबजारको अस्मिताको अफिस पनि  तुलसी प्लाजामा सरेको छ । पत्रिका प्रकाशन लगायत अरु प्रोजेक्टहरुमा व्यस्तताहरु बढिरहेको छ । बौद्धिक महिलाको लागि अस्मिता पत्रिका लगायत नवसाक्षर ग्रामिण महिलाकालागि  अर्को पत्रिका ‘सहचरी’ को प्रकाशन हुन थालेको छ । महिला अधिकारहरु  कार्यक्रमहरु बनाउने सोच छापा संचारमा सिमित अस्मिताले अब इलोक्ट्रेनिक माध्यमतिर पनि जाने सोच बनाएको छ  । रेडियो सगरमाथामा अस्मिता प्रकाशन गृहको महिला कार्यक्रम ‘शक्ति’ को प्रसारणको पूर्व तैयारीकोलागि हेमबहादुर विष्ट ज्यूबाट संचालित मिडिया हाउसबाट रेडियो संचार तालिम लिन  थालेको छु । महिलावादी  बैकल्पिक संचार सम्बन्धित ट्रेनिङ्गहरु संचालन गर्न पूर्वतिरका इलाम र पाल्पाका  केही गाँउ बस्तीहरुमा पुग्नु छ । पत्रकारिता व्यवसायसित मेरो साङ्गितिक यात्रा साथ साथ जारी राख्न  मेरो भगिरथ प्रयत्न  बुलन्द छ ।

 यसबिच जनसांस्कृतिक कर्मी मेरो पुरानो मित्र शरद पौड्यालको विकल्प क्यासेटमा  भर्खर रेकर्डिङ्ग भएको छ र मैले गाएको ‘ म त घाम बनेर आउछु ’ र ‘ आमाबाबु भुलेर ’ गीत रेडियो सगरमाथामा बज्न थालेको छ । मैले स्वर दिएको रायन दाजुबाट रचित  ‘सिम्मा’ गीति नाटकलाई रेडियो सगरमाथामा तत्कालिन  महाप्रबन्धक  हेमबाहादुर विष्ट ज्यू प्रयत्नशील हुनुहुन्छ तर सफलता मिलेको छैन । पत्रकारिताको हाम्रो गुरु हेमबहादुर विष्ट ज्यू एकदिन अनायस मलाई भन्नु हुन्छ ‘पत्रकारिता धैरेले गर्छन तर गीत सबैले गाउन सक्दैनन् ।’ उहाको कुराले भित्रबाट मलाई झस्काएको छ । ‘स्वर कुनै कारखानामा बन्दैन सुसन गाउन नछोड’ कुनै समय अस्मिताको दौडध्रूपमा अति व्यस्त भएर मैले चटकै गीत गाउन छोडेको देखेर चिन्तित हुनु भएको साहित्यकार स्व. पारिजात दिदीको यो मायालु आग्रहले पनि मलाई झस्काइ बस्छ ।

सङ्गीत सधै मेरो नीजि आराधना रह्यो । पंचायती व्यवस्था विरुद्धमा जनताको गीत गाउने कलाकार भएपछि सचेतता फैलाउने माध्यमको रुपमा मात्र मैले आफ्नो सङ्गीत ध्येय संझिएको थिए । पंचायती व्यवस्था ढलेपछि वाक स्वतन्त्रता र खुला अवस्थामा हाम्रो जस्तो अर्धभूमिगत जनचेतना फैलाउने सांस्कृतिक कलाकारको भूमिका र आवश्यकता गौण हुन थालेको थियो । अनि पत्रकारको पेशागत जीम्मेवारीमा डुब्न थाले पछि विधार्थी जीवनको त्यो कालखण्डको प्रगतिशिल गायिकाको लागि  सङ्गीत मनको आवश्यक्ता मात्र भएर रहेको थियो ।  अब म गम खान थालेको छु र सोच्छु  मेरो अबको सङ्गीत  यात्राको उद्धेश्य के हुन पर्ला त ? फेमिनिष्ट पत्रिकाको सम्पादक महिला अधिकार र हक र शशक्तिकरणका कुराहरुमा अहोरात्री लागिपरेको मेरो मनमा एउटा विचार फुर्छ, किन न म एउटा महिला अधिकार सम्बन्धित क्यासेट ननिकालु ?म सहमत हुन्छु आफ्नो विचार सित अनि फेमिनिष्ट अन्तराष्ट्रिय गीतहरु सुन्न अनि तिनको उल्थाहरु गर्न थाल्छु । तर चित्त बुझेको गीतहरु पाउदिन । पारिजात दिदी आफूलाई एक फेमिनिष्ट लेखिका भन्न रुचाउनु हुन्थ्यो । दिदीको नारीवादी भावनाहरुले प्रश्चय पाएको गीत र कविताहरु पक्कै छ होला । मेरो विधार्थी जीवनकालमा पारिजात दिदीसित मेरो एक सम्बेदनशील सम्बन्ध बनेको थियो दिदीले लेख्नु भएको ‘आशु होइन यी आँखाबाट अक्ष्यर पोखिएछ ’ जस्तो महिलाको मर्म  र बेदना प्रसस्त पोखिएको गीत मैलै  कैयौ पटक स्टेजहरुमा गाइसकेको थिए । राल्फाका लागी दिदीले प्रसस्त गीत लेख्नु भएको कुरा पनि मलाई थाह थियो । अनि म दिदीको गीत र कविता खोज तलाश गर्नतिर लाग्छु ।

 पारिजात दिदीको सारा कविता गीतहरु खोज्न मभित्रको खोजी पत्रकार तम्सिएको छ । पुरानो लाइब्रेरीहरु धाउछु शारदा पत्रिकामा दिदीले दार्जिलिङ्गबाट पठाउनु भएको प्रणयका रोमान्टिक गीत कविता , मदन मेमोरियल कन्या स्कुलमा दिदीले रच्नु भएको सरस्वती बन्दना, दिदी रोगग्रस्त हुनुभएपछि लेख्नु भएको अति मार्मिक र निराशाका  गीतहरु अनि राल्फाली आन्दोलनको शून्यवादी अजारकता बोध गराउने गीत हुदै दिदीको प्रगतीशिल धारको सचेतताका जनगीतहरु मसित जम्मा भएका छन् । र अब  म सोच्न थालेको छु मेरो सङ्गीत यात्राको यो पूनरथालनी दिदीलाई सांगेतिक श्रद्धान्जलीबाट शुरु हुनुपर्छ । पारिजात दिदीको त्यो मायालु  आग्रह  ‘स्वर कुनै कारखानामा बन्दैन, गीत गाउन  नछोड सुुसन ’ को सच्चा  अर्थ  बल्ल बुझ्न थालेको थिए । पारिजात स्मृति केन्द्रको अनुमति लिएर दिदीले रच्नु भएको गीत कविताहरु समेटेर म ‘स्वर श्रद्धान्जली’ एलबमको आयोजनाको तैयारीमा लाग्छु । सर मेरो यस परियोजनासित सहमत हुनुहुन्छ र मलाई प्रसस्त मार्ग दर्शन गर्नु हुन्छ । आशु होइन यी आँखाबाट दिदीको गीतको शब्दले. सरलाई पनि छोएको छ । सर भन्नु हुन्छ ‘कस्तो मार्मिक  भाव । चिया बगानको गरीवि र दुःखहरुलाई मैले पनि  नजिकबाट देखेको छु । ’

जीउमै रुझि जीउमै सुकि
जीउमै फाटने चोली
फेर्ने दिन नआउदैमा
यसै मर्ने हो कि ।

अर्को पटक जादा सरले  यो गीतमा लोकलयमा आधारित धून पनि भर्न भियाइसक्नु भएको रहेछ , मलाई सुनाउनु हुन्छ । मैले अफठ्यारो मानेर भने, सर यो गीत त रायन दाजुको धूनमा छ  । सरले कुनै माइन्ड नगरि सहजतासाथ भन्नु हुन्छ त्यसो भए रायनकै धुनमा गाउनु । सरले यस एलबमको अरेन्जमेन्टको जिम्मा आफ्नो कान्छा छोरा शरदलाई दिनु भएको छ । शरद सारा शीप यस एलबममा खन्याउन प्रयत्नशिल छन् ।

 सङ्गीत भर्सेस पत्रकारिता

‘तपाई गायिका कि पत्रकार ? ’ त्यतिबेला मलाई लिने अन्तर्वाताहरुमा अक्सर यो प्रश्न मलाई गरिने गरिन्थयो । म भनिदिन्थ्ये पत्रकारिता मेरो मस्तिष्ककोलागि सङ्गीत मेरो ह्रदयकोलागि हो मलाई दुबै चाहिन्छ ।  तर मेरो यो सन्तुलन लडखडाउन थालेको छ । म आफुभित्र प्रसस्त परिवर्तनहरु देख्न थालेको छु । मानौ मेरो जीवन अप्रत्याशित मोडमा आइपुगेको छ । शायद म गहिरो मिडल एज क्राइसिसमा छु । मन आध्यात्मिक हुन थालेको छ । अचम्म लाग्दो गरि एउटा अलौकिक अनुभूतिबाट गुज्रिएको छु । म सरलाई मेरो यो अनुभव सुनाउछु सर मेरो कुरा ध्यान दिएर सुन्नु हुन्छ यस्तो अनुभव अरुलाई नभन्ने सल्लाह दिनु हुन्छ । सरलाई पनि यस्तो अनुभव कहिलेकाही हुने गर्छ रे ।सर मलाई सुझाव दिनु हुन्छ ‘आध्यात्मिकताको बाटो जेलिएको छ यो बाटोमा  कमै मान्छे हिडने क्षमता राख्छन् ।’

‘ सङ्गीत आध्यात्मसित जोडने माध्यम हो ।’ सरले बेलामौकामा भनेको यो कुरा संझिन्छु । के मेरो सङ्गीत साधनाले मलाई आध्यात्मसित लगेर जोडदै छ ? एकदुई घटनाहरुले ममाथि साह्रै गहिरो असर गरेको छ । मेरो सारा लौकिक ,भौतिक सन्तुलन लडखडाएको  छ । पैसा , पद, महत्वाकाङ्क्षा , भौतिक उपलब्धिभन्दा पर मोक्ष ,निवार्ण ,इनलाइटमेन्टको कुराहरुमा म एकतमाशको रुचि लिदैछु । अस्मिताको कवर आर्टिकल लेख्न तर्खरमा छु विषय रोजेको छु  ‘जीवन र सन्यास ’ म यस बहानामा पशुपतिको जंगल चहार्न थालेको छु । मठ ,धर्मशाला र आस्रमतिर साधु सन्यासीहरुलाई नियालेर हेर्न खोजीरहेको छु । घण्टौ धुम्धुम्ति बसेर जलिरहेको शवहरुलाई हेर्न थालेको छु । जीवनको गहिरो निस्सारता बोध हुन थालेको छ ।

असारे झमझम रुझेको बिहानीमा मोटर साइकलमा रुझदैै सरकहा पुग्छु मेरो जन्मदिनको उपहार भनेर सरको आषिश अनि सरले लगाइरहनु हुने रुद्राक्षको माला लिएर फर्किन्छु । साँझ बिहान रुद्राक्षको माला लगाएर साधना र घरभित्र बाहिर गर्न थालेको छु । मेरो भौतिक कुराहरु पछाडि छुटिरहेको जस्तो लाग्छ । माछा,मासु खान छोडे । अस्मिता जान चट्टकै छोडिदिएको छु । साथीहरु अन्यौलमा छन के भएको हो ? सङ्गीत साधनाकोलागि ब्रेक लिएको अनुमानमा अस्मिताका साथीभाइहरु छन् ।

म सङ्गीत साधनामा अझै रमाउन थालेको छु । मीरा भजन सुनीबस्छु । मन वैराग्यमा पुगेको छ ।‘ भोेजन भवन भलो नाही लागे ।’ मीराका भावनासित आत्मसात हुन्छु । सारा लौकिक व्यस्तताहरुलाई कम गर्दै लगेको छु । धुम्धुम्ति कोठामै बसिराख्छु सरकहाँ बाहेक न कतै जानु न कतै आउनु छ मेरो । अनि चुडाउदै लगेको छु  सारा  व्यस्तता र गतिविधिहरुलाई ।  मानौ कोकिनमा बेरिदैछु  आफु भित्र भित्रै मार्दै र अर्को कोही बन्दैछु ।  सर मेरो सारा परिर्वतनहरुलाई नियालेर हेरिरहनु भएको छ । म सरको अगाडि रोइदिन सक्छु । सर मलाई मनलागेको जति रुन दिनु हुन्छ । मेरो सारा आशु रित्याउन दिनु हुन्छ । अनि अर्को पटक जादा मलाई गीत रचिदिनु भएको हुन्छ । गीत सिकाएर मलाई फकाउनु हुन्छ । मानौ सर मेरो नदेखिएको घाउहरुमा मल्हम लगाउनु खोज्दै हुनुहुन्छ ।

तिम्रो आशु सुक्छ सुक्छ एकदिन
नरोउ नरोउ मन दुखाई...

प्रसस्त रुन मनलाग्छ मलाई र  यो बेला अनि सानो सानो कुरामा पनि खुब खुशि भइदिन्छु । घामको सानो टुक्राले मेरो काँध पछाडि छोयो भने पनि कति बेरसम्म खुशिलागिरहन्छ मलाई । मेरो मन उदास र खुशि कुन बेला हुन्छ कुनै ठेकान छैन । एकैछिनमा जे पनि घटन सक्छ मलाई ।

‘तिमीले सासु ससुराको सेवा गरेको छौ, गुरुको सेवा गरेको छौं समाजको सेवा पनि गरेको छौ  । तिमीलाई प्रसिद्धिको चाह पनि देख्दिन । नामको मोह पनि देख्दिन ।’ सर मलाई स्नेही पिता, गुरु,अनि सखा भएर संझाउदै भन्नु हुन्छ ‘यो जीवनलाई तिमी जति अल्झाउछौ यो त्यतिनै अल्झिन्छ सुसन ।’

यही ताका सर मलाई एक अति नै सुन्दर स्प्रिच्यूएल गीत गाउन सिकाउनु हुन्छ ।

परम धाम
परम ब्रम्ह
अनन्त हरिओम
परम शक्ति  स्वर
परम ज्ञाता
करुणा सिन्धु
महादाता
सृजनकार
भव सागर
तारन हार

दया गर
करुणा गर
भय हर
लोभ क्रोध हर
अन्धकार हर
अज्ञान हर

परम धाम
परम पिता
ओम ओम ओम
अनन्त हरिओम

यो गीत म साधना अघि अनि पछि गर्न थालेको छु । जादुले जस्तो असर गरेको छ यो भजनले ममाथि  । असिम शान्तिको अनुभव गर्न थालेको छ , मनले मेरो ।

क्रमश.........


Comments