ॐ
कलाकार स्वयको अनुभूति गहिरो छैन भने त्यो सङ्गीत सृजनशील र जीवन्त हुन सक्दैन । — अम्बर गुरुङ
सुसन मास्के
आज भन्दा लगभग १८ बर्ष अघि यस पंक्तिकारले अस्मिता पत्रिकाकोलागि अम्बरसरसित लिएको अप्रकाशित अन्तरवार्ता हो यो । सरसित लिएको यो अन्तरवार्ता अस्मितामा मेरो पलायनको कारणले प्रकाशित भएन । हराइरहेको यस अन्तर्वाताको गुरुकपी हालै मेरो अधुरो लेखहरुको फाइलमा भेटिएपछि म स्तब्ध भए । सरले कतिपय ठाउँहरुमा आफ्नै हस्तलिपीमा सच्याएर मिलाएर यो अन्तर्वातालाई अरु पठनीय बनाउन मलाई सघाउनु भएको यस पाण्डुलिपी पढेपछि लाग्यो अब यो प्रकाशित हुनै पर्छ ।हालै उपचारको लागि भारतीय भुमीमा अनेक कठिनाइहरु सहेर रोगसित लडिरहनु भएको सरले पढनु पर्छ । नेपालको राष्ट्रगानको धुनका सर्जक अनवरत सङ्गीत साधक अम्बर गुरुङलाई आदर गर्ने सारा नेपालीहरु अनि गीत सङ्गीत मनपराउने कलाप्रेमी पुराना र नयाँ पुस्ताका पाठकहरुले पनि पढनु पर्छ । नेपालको सृजनशील सङ्गीतका यी महान साधकसित दसकौ अगाडि यस विस्थापित पत्रकारले सङ्गीतका बारे राखेको जिज्ञासाबारे उहाँको गहिरो मर्मस्पर्शी अवधारणाहरु आज पनि उति नै ताजा र सान्दर्भिक छन् ।
 |
| Amber Gurung |
सङ्गीत यात्राको चारदसक पार गरिसक्नु भएको छ , यस चार दसकलाई पछाडि फर्केर मूल्याङ्कन गर्नु पर्दा कसरी गर्नु हुन्छ ? यस यात्रामा के पाउनु , के गुमाउनु भएको छ ?
विगत चारदसको मेरो सङ्गीतको जुन यात्रा छ ,त्यसमा चारैदसकका मेरा सङ्गीतहरु सशक्त छन् भन्दिन । किनभने शुरुमा मैले आफूले पनि सिक्नु थियो र त्यसलाई प्रयोगमा ल्याउदै जानेक्रममा सङ्गीतका विभिन्न पद्धति तथा विधाहरुको चिन्तन मनन तथा साधना गर्न पर्यो । विशेष गरी विगत तीन दशक यताको मेरो सङ्गीतका सृजनाहरु मैले चिन्तन मनन गरेर केही गरु भन्ने प्रयासले गरेको हु । विभिन्न राष्ट्रका आ–आफ्नै पद्धति र आफ्नै प्रकारको गाउने शैली छ यस्तै गरी प्रान्तिय, आन्चलिक , जनजातिय सङ्गीतका पनि आफ्नै पना छ भने अर्को तर्फ भौगोलिक हिसाबले सिमानाले छुट्टिएका सङ्गीतहरु पनि छन् जुन एक राष्ट्रबाट अर्को राष्ट्रको संसर्गमा आइरहेका हुन्छन् । मैलै यिनै प्रचलित सङ्गीतहरुको विभिन्न पनाहरुलाई जान्ने बुझ्ने ,अध्ययन गर्ने प्रयास गरेको हु । यसमा कति सफल भएको छु भन्न सक्दिन ।
यस यात्रामा पाउनु भनेको स्रोताहरुको स्नेह सहानुभूति ,प्रंशसकहरुको प्रसंसा हो तर व्यवहारिक जीवनमा सङ्गीतपट्टिलाग्दा (यसलाई अध्ययन गर्दा यसलाई दिनु पर्ने समयले गर्दा ) मेरो भौतिक जीवन त्यति सम्पन्न र सुखमय हुन सकेन । मैले सारा जीवन धेरै भौतिक आर्जनका अवसरहरुलाई परित्याग गरेर पाएको कला हो यो सङ्गीत । यसलाई सिकेर प्रयोग गरेर , गाएर , सङ्गीत सृजना गरेर जुन अलौकिकताको अनुभूति गर्न पाएको छु , त्यसको तुलनामा भौतिक जीवन बिग्रिएकोमा विषेश पश्चताप पनि छैन् ।
सृजनशील सङ्गीतको कुरा गर्नु भएको छ यो के हो र यसको विकास नेपालमा कसरी होला ?
हरेक देशमा राम्रा सङ्गीत पनि हुन्छन् र नराम्रा सङ्गीत पनि हुन्छन्। नराम्रा भन्नाले सस्तो व्यापारिक ( व्यवसायिक उद्धेश्यले जस्तै कोकाकोला , वियर , चाउचाउआदि वस्तुका लागि रचिएको सङ्गीत) र अरुका नक्कल गरेको सङ्गीत पर्छन । अर्को तर्फ चलचित्रको सङ्गीतले पनि विशेष भ्रान्ति जनसाधरणमा पारेको छ । चलचित्रका गीतलाई वास्तविक सङ्गीत भनिन्दैन । अंग्रेजीमा यसलाई एकजुलरी म्यूजिक अथार्त सहायक सङ्गीत भनिन्छ । यस्तो सङ्गीत चलचित्रको कुनै दृश्यलाई बढी प्रभावकारी बनाउन सोचिएर कम्पोज गरिएको हुन्छ । जसमा मनोरन्जन र आकर्षण दिने उद्धे्श्य हुन्छ । यस्ता चलचित्रका गीतले स्रोताको सङ्गीत रुचिलाई वृद्धि गर्नु भन्दा पनि स्रोताको मनोरन्जन गरेर चलचित्र चलोस भन्ने कुरामा बढी ध्यान दिइएको हुन्छ । सृजनशील सङ्गीत भनेको कलाकारले आफ्नो जीवनमा भोगेका, सस्तो सङ्गीतको प्रभावबाट बचेको , र बर्षौ लगाएर आफ्ना साधनाद्वारा आफूले कुनै विषयवस्तुमा आधारित गरेको सङ्गीतलाई नै म सृजनशील सङ्गीत मान्दछु ।
सृजनशील सङ्गीतको जन्म हुन गाह्रो हुन्छ । सृजनशील सङ्गीत जन्माउने कलाकारमा बहुतै ठूलो साधना हुनु पर्छ । मानवीय भावना र जुन संवेदनशिलता हुनु पर्छ त्यो आउनलाई स्वय कलाकारले जानेको भोगेको अध्ययन र साधना गरेको हुनुपर्छ । कलाकार स्वयको अनुभूति गहिरो छैन भने त्यो सङ्गीत सृजनशील र जीवन्त हुन सक्दैन । नेपालमा सृजनशील सङ्गीत नभएको पनि होइन । राम्रा गीतकार, सङ्गीतकार , कवि , लेखक, गायक , गायिकाहरु नभएका होइनन् । तर जुन अनुपातमा योे खालको सङ्गीतको विकास भएको हुनुपर्थ्यो त्यतिको भएको छैन किनभने यस्तो सृजनशील कृतिलाई मानिसले त्यति बुझ्न सक्दैनन । अर्को तर्फ यस्ता कृतिहरुको प्रचारप्रसारमा छापा तथा विधुतीय छापाहरुको ध्यान त्यति जादैन ।संचारमाध्यमहरुमा बढी आर्कषण मनोरन्जन दिनेखालका सङ्गीतहरुप्रति झुकाव देखिन्छ । कलाकारहरुका भौतिक आवश्यकताहरु अनि प्रोत्साहनको कमी आदिले गर्दा सृजनशील सङ्गीत पछााडि परेको छ । सृजनशील सङ्गीत गर्ने कलाकार पछाडि परेको छन् ।
सङ्गीत कलामा लैङ्गिक भेदभाव कतिको देख्नु हुन्छ ?
 |
| Nadia Boulanger |
धेरै दशकहरुको मेरो सङ्गीत यात्राको बुझाइमा म कलामा लैङ्गिक भेदभाव देख्दिन । यो एउटा यस्तो क्षेत्र हो जहाँ महिला वा पुरुष भन्दा पनि तिनका कृतिको महत्व हुन्छ । कला भन्ने कुरा त प्रतिभासित जोडिएको हुन्छ । र प्रतिभा पुरुषसित पनि हुन्छ र महिलासित पनि। यसै सन्दर्भमा केही विश्वविख्यात नारी प्रतिभाहरुलाई सम्झिन सकिन्छ जसले सङ्गीतको क्षेत्रमा विशिष्ट योगदान दिएका छन् । उदाहरणकोलागि विश्वविख्यात नादिया बलोँजा नामकी
फ्रेन्च सङ्गीतकार महिलाको ठूलो नाम छ । उनको साङ्गीतक प्रतिभा ज्यादै प्रखर थियो । विश्वको ठूला ठूला सङ्गीत सर्जकहरुले पनि उनीबाट सङ्गीत सिकेका थिए । यस्तै पश्चिमका अन्य महान प्रतिभाहरुमा इगोर मार्केभीक , एरोनकोपल्याण्ड आदि हुन ।
 |
| Annapurna Devi |
यता पूर्विय सङ्गीतको फाँटमा सम्झिनु पर्दा एक फारसी महिला सङ्गीतकार सरस्वती देवीको ख्याति निकै देखिन्छ । उनका जीवन्त साङ्गीतक रचनाहरु बेजोडका छन् । अन्तिम मुगल सम्राट बहादुर शाह जफरले लेखेको ‘ लगता नही जी मेरा चमनमे ’ भन्ने गीतको बोलमा उनले रचेको यशस्वी सङ्गीत म आज पनि त्यतिनै तमन्यतापूर्वक सुन्ने गर्छु । यस्तै उस्ताद अलाउद्दिन खाँकी छोरी अन्नपूर्णा यस शताब्दीको अर्को महान कलकार हुन । शास्त्रिय सङ्गीतका महारथी उस्ताद अल्लाउद्धिन खाँले आफ्नी छोरी अन्नपूर्णालाई “ तिम्रो विवाह सङ्गीतसित गराइदिन्छु भनेर सङ्गीत दीक्षा दिएर सङ्गीतकलामा निपूर्ण पारेका थिए । पछि उनले प्रसिद्ध सितारबादक रवि शंकरसित विवाह गरिन । भनिन्छ उनी आफ्नो कलाको सार्वजनिक प्रर्दशन गर्दिन थिइन । मेरो भेट उनीसित भएको छैन तर उनलाई सुन्न पाउनेहरुले भन्छन् उनको सितारवादन पण्डित रवि शंकरभन्दा पनि उत्कृष्ट छ । हुनत फिल्मी सङ्गीतलाई उत्कृष्ट कलाको मर्यादा प्राप्त छैन तर पनि यसैै शताब्दीको प्रखर सङ्गीत प्रतिभा लता मङ्गेसकरलाई कसले चिन्दैन ? आफ्ना पिँढीका अरु सशक्त गायकहरु रफी , मुकेश ,तलत , किशोर आदि हुदाहुदै पनि किन लता , लता भईन् त ? त्यो लतामा रहेको प्रतिभा थियो जुन निरन्तर साधनाले अरुभन्दा चम्किलो प्रखर र टिकाउ बन्यो ।
 |
| Lata Mageshkar |
महिलाहरु राम्रा दर्जाका कलाकार बनेका छन् । तर संख्यात्मक रुपले पुरुषहरुको दाजोमा कम देखिन्छन् । यो प्रवृति पूर्व र पश्चिम जहाँ पनि छ । नेपालको सन्दर्भममा मेरो विचारमा महिला प्रतिभाहरु नभएका होइनन् । हाम्रा कतिपय मौसमी रीतु गीतहरु छन जो महिलाहरुले मात्र गाउछन् । तीज , सङगीनी , भैलो जस्ता परम्परागत सङ्गीतहरुमा भलै त्यो मौसमी रुपले कुनै खास समयमा मात्र किन नहोस महिलाहरु सक्रिय भएको देखिन्छ । दोहरी , जुवारी जस्ता तत्कालै मौलिक रुपमा शब्द कथ्ने र गाउने प्रतिस्पर्धामा महिलाहरुले पुरुषहरुलाई पनि सजिलै परास्त गरेको देख्न सकिन्छ । त्यसैले यस रुपमा महिलाहरु प्रतिभा नभएका होइनन तर नेपाली महिलाकालागि वातावरण अझै बनिसकेको छैन ।
हाम्रो धार्मिक सांस्कृतिक सामाजिक परम्पराहरुले महिलाहरुलाई सङ्गीतहरुको क्षेत्रमा पनि अगाडि आउन दिएको छैन । हाम्रो समाज संकिर्ण छ । मैले आफ्नो जीवनमा धेरै महिलाहरु देखे जो राम्रो गाउथे प्रतिभावान थिए तर तिनलाई घरपरिवारले गाउन प्रतिवन्ध लगाएको हुन्थयो जसले गर्दा तिनमा रहेको प्रतिभा फल्न फुल्न नपाई त्यसै नष्ट भएर गए । कतिपय मेरा शिष्याहरु आफ्ना घरेलु समस्याहरुले गर्दा सङ्गीतमा पूर्ण ध्यान, अध्ययन , चिन्तन, रीयाज गर्न असमर्थ हुन्छन् । अझ विवाह पश्चातत जिम्मेवारीले गर्दा तिनलाई सङ्गीतलाई निरन्तरता दिन गाह्रो भएको पाएको छु । अर्को तर्फ अर्केष्ट्रा वाधवाधन तर्फ पनि महिलाहरुको सहभागिता शुन्यको स्थिति छ । नेपालमा एकसय भन्दा बढी महिला सितार बादक छन् कि भन्ने मलाई लागेको छ महिलाले भ्वायलिन सिक्न सके राम्रो हुन्थ्यो । गायनको क्षेत्रमा केही महिला प्रतिभाहरु देखिए । मेरा केही गीतहरु तारादेवीले. गाइन । मालती मङ्गले गीति नाटक र अरु केही गीतहरु केही महिला गायीकाहरुहले पनि गाएका छन् । तर अन्य गायिकाहरु भन्दा अरुणालामाले मेरो धेरै गीतहरु गाएकी छन् । नौलाखा तारा उदायो भन्ने गीत पछि मैले ६ वटा गीत रेकर्डिङ गर्ने रेडियो नेपालबाट कोटा पाउदा अरुणाले नै मेरो संगीतको तीनवटा गीत घाम जुन, ए कान्छा मलाई सुनको तारा, र भुपी सेरचनको शब्दमा किन यौवन उदास भन्ने गीत गाएकी थिइन । मैले सङ्गीत भरेको अरुणाले गाएका केही गीत लोकप्रिय पनि बने यो लहरमा सबैले भन्थे लयालु फुल भइ,फेरी कलि फुलेर ,पोहरसाल खुशि फाट्दा र नारायण गोपालसित अरुणाले गाएको युगल गीतहरु...। केही समय अधि एउटा चलचित्रकोलागि अरुणा र मैले एक गीत गाएका थियो । तर दुर्भाग्यवश त्यो चलचित्र बनेन र गीत त्यसै हरायो ।
 |
| Aruna Lama |
अरुणाको स्वरमा प्राकृतिक मीठास थियो , रीयाज गरेर बनाएको स्वर थिएन अरुणाको । पोहरसाल खुशि फाटदा भन्ने गीत रेडियो टेपमात्र थियो रेकर्डिङ थिएन। रेकर्डिङ गर्दा भनेजस्तो बाजाहरु हाल्न सकिन्छ । समय पनि हुन्छ तर रेडियो मा रेडियो टेप गर्दा त्यहीको तोकेको निर्धारित समयमा जेजति सिमित बाजाहरु छन त्यसैबाट काम चलाउनु पर्छ । पोहर साल खुशि फाटयो गीत एउटा मेन्डोलिन , एउटा भ्वायलिन र तवलाको भरमा काम चलाएर रेकर्ड गरिएको थियो तर यही गीत लोकप्रिय र सदावहार पनि बन्यो । मेरो विचारमा गीत लोकप्रिय हुनु एउटा कुरा हो । सदावाहर (लास्टिङ )हुनु अर्को कुरा हो । यो कसरी हुन्छ म आफै पनि भन्न सक्दिन । तर मलाई लाग्छ जुन गीतमा कला छ गीतलाई थेग्ने ठोस कुरा छ कलाकृति छ भने त्यो पछिसम्म बाचिरहन्छ अन्यथा बाच्दैन । जे होस , प्राणि जगतमा नारी र पुरुष दुबै प्रकृति प्रदत्त जन्म उत्पादन हुन । र एक बिना अर्काको अस्तित्व छैन र हुदैन पनि । नारीत्वको जो कोमलता छ त्यो बिना पुरुषको पौरषताको केही महत्व छैन । यदि पुरुष बाहिरी तत्व हो भने नारी भित्री तत्व हो । भित्री तत्वको रक्षा बाहिरी तत्वले गर्छ भने भित्री तत्वले बाहिरी तत्वको संपोषण गर्छ । नारीको आफ्नो बिशिष्ट स्थान छ र कुन पुरुषले मातृत्वलाई इनकार गर्न सक्छ ? उदाहरणकोलागि नारी मात्र प्रेरणा भए त्यो पनि पर्याप्त छ नत्र यति विघ्न राम्रा गीत कविता चित्रकला तथा अन्य कलाहरु मानव मनोभावनाका र अन्तर अभिव्यतिका सभ्य प्रतिक हुने थिएनन ।
Comments
Post a Comment