सङ्गीतको मेरो आराध्य, मेरो अम्बर सर ( भाग ४ )
ॐ
प्रस्तुत लेखको पूर्वका तीनवटा श्रृंखलाहरु लगातार लेखिए त्यसको एउटै कारण थियो । जीवनधारामा बग्दै भुगोलको पल्लो कुनाको दुर मुलुकमा पुगेकी एक शिष्याले अम्बर सरको संगतमा बिताएको अतितका पन्नाहरुलाई सरले चाख दिएर पढनु हुनेछ ।
![]() |
| In his creative zone, Amber Gurung |
सरले मेरो आलेख पढ्नु भएको छैन । कम्प्युटरको पर्दामा पढ्न गाह्रो भएको बुझाइले म ठूलो फन्टमा लेख प्रिन्ट गरेर सरलाई दिन्छु । तर प्रतिक्रिया भने यो विरानो मुलुक क्यानाडा फर्किएपछि मात्र सरसित भएको फोनको कुराकानीमा पाउछु । “ सुसन तिमीले हाम्रो बारे लेखेको लेख मैले पढे । आएम भेरी प्राउड टु बी योर टिचर ।” मैले भरिएको कण्ठले यति मात्र भन्न सके “सर यो आलेख अझै अधुरो छ । शायद यो लेखेर कहिले सकिने पनि छैन ।”
यही सर आज भारतको हरियाणा स्थित मेदान्त अस्पतालको बेडमा गम्भिर रोगसित लड्दै जीवन र मृत्युसितको सङ्घर्ष गरिरहनु भएको छ । भएको सानो टुक्रा जमिन बेचेर उपचारकोलागि लैजाने छोरा, छोरी परिवार बाहेक सरको अरु कुनै भरपर्दो सहाराहरु छैन । जसले यो देशको माटोलाई अनवरत रुपमा सृजनाका सुन्दर कृतिहरुले सजायो उनै सङ्गीतका प्रखर शिल्पी अम्बर गुरुङलाई आज नेपाल सरकार अनि सबै नेपालीको सहयोग, सद्भाव, चाहिएको छ ।यो आलेख लेखिरहदा आजको दिन सरको ७८ वर्षको जन्मदिन हो । अस्पतालको शैयामा जन्मदिन मनाइरहनु भएको सरको सुस्वास्थ र दीर्घायुको बन्दना चढाउदै विस्थापित पत्रकारको यो डायरीको पानाहरु फेरि उनै श्रद्धेय सरलाई समर्पण ....
जीवनको कठिन घुम्तीहरु...
डाक्टरी भाषामा यतिबेला म डिप्रेशनबाट गुज्रिरहेको हुनु पर्छ । जीवनमा आएको मेरो त्यो उदास र कठिन घुम्तिलाई सम्झिदा मलाई मेरो माया र अत्यास दुबै लागेर आउछ । यस्तो लाग्छ मलाई बनाउने विधाताले संवेदनशिलता अनि भावुकता मेरो भागमा प्रसस्त पारेका छन । यसबाट म कहिले काही अनियन्त्रित प्रवल प्रवाहमा फ़न्फ़न्ति भुमरी जस्तै गरी बग्ने गर्छु केही नसोची केही नबुझि । मेरो यस प्रवृतिलाई बुझने अनि नियन्त्रणमा राख्ने दुइ आत्मीयहरुसित यस घडि म बिछोडिएको अवस्थामा थिए । घरेलु जीवनमा मेरो भावुकताहरुलाई सन्तुलनमा राख्ने मेरो श्रीमान् हरी परदेशिएका थिए । अनि व्यवसायिक जीवनमा मेरो होस ठेकानमा राखिरहन साथ दिने मेरो छाया जस्तो अभिन्न साथी अन्जुकोे साथ पनि अस्मितासितै पछाडि छुटेको थियो । यी दुबै आत्मीयहरुको सानिध्यबाट टाढिएको म, किनारको सीमा भत्काएर अनियन्त्रित खहरे खोली जस्तो बनेको थिए । भावनाहरुमा भौतारिन मलाई यो धर्ती, आकाश यो ब्रम्हाण्डले पनि पुगेको थिएन ।
जीवनको कठीन घुम्तीमा छु सारा बाटो हराएको छु र सबै कुराबाट भाग्न नै सजिलो भएको छ । पलायन रोजेको छु र भागिरहेको छु तर थाह छैन कता ? धेरै कुराहरुको धागो टुटे छुटेको छ तर जीवनलाई अलि बाधेर थामेर राखेको छ भने केवल सङ्गीतको साधनाले ।
मेरो यो अवस्था मेरो पुरानो मित्र शरद पौडेलबाट छुपेको छैन । शरद प्रगतिशील धारका जनप्रतिबद्ध प्रतिभाशाली कवि हुन ।
विधार्थीकालखण्डमा जङ्गल ,बस्ती र देशदेशान्तरमा पंचायती व्यवस्थाको विरोधमा सचेतनताको गीत गाउदै कुनै समय हामी साथ साथ हिडेका थियौ । पंचायती व्यवस्था ढलेपछि म सङ्गीतमा भन्दा पत्रकारीता पेशामा अनि शरद समाजको तल्लो तप्काका दलित समुदायका लागि संचालित एन.जी.ओ. आत्मनिर्भर संस्थासित व्यस्त थिए । शरदको निम्तोमा म केही समय अघि आत्मनिर्भर विकास मन्चले पर्बतको कुस्मामा आयोजित गरेको दलितहरुको एक विशाल भेलामा सहभागि हुन पुगेको थिए । त्यहाँ सहभागिभएका दलित महिलाहरुसितको कुराकानी पछि महिला हुनु र समाजमा अछुत हुनुको दोहोरो मारमा परेका दलित महिलाहरुबारे अस्मितामा मुख्य आलेख लेख्ने अभिलाषा मनमा विजारोपण नभएको होइन तर यो सोच पनि मेरो अवस्थासित बिथोलिएको थियोे । मेरो पुरानो सखा शरद मैले सिर्जीरहेको एकाकी र जटिल मौहालबाट मलाई निकाल्न प्रयत्नशील छन् । उनी भन्छन “दलित महिला र बालबालिकालाई केन्द्रमा राखेर तिम्रो अस्मिताको अनुभवको आधारमा ५ बर्षकोलागि एउटा पायलट प्रोजेक्ट बनाउन आत्मनिर्भर विकास मन्चलाई सहयोग गर ।”
![]() |
| Poet, Sharad Poudel |
शरदको त्यो अनुरोध टाल्न भरमग्दुर प्रयत्न गरेर भनेथे “ शरद मेरो भर नगर मलाई जे हुन पनि सक्छ । यति ठूलो जिम्मेवारीको काम म गर्न नसकुला । ” शरदले मलाई सुन्दै सुनेनन । उनीहरुको संस्था आत्मनिर्भर मन्चकालागि यस परियोजनाका दाता एक्सन एडसितको विभिन्न चरणमा भएको भेटघाट र मिटिङ्गहरुमा मलाई कर गर्दै लग्छन शरद । पहिलो चरणमा अनुसन्धानको काम थालिन्छ पर्वतका विभिन्न दुर्गम दलित गाँउ र बस्तीहरुमा म शरद सित हिडछु । दलितहरुको सामाजिक तल्लो मर्यादास्तर भेदभाव, शोषण, गरिवी प्रकट रुपमा अनुभुत गर्न पाउछु । अस्मितामा कागजीरुपमा उठाएको महिला अधिकार , मर्यादा एवं सशक्तिकरणका कुुराहरुलाई यहा आएर प्रत्यक्ष र व्यवहारमा उतार्ने कुरामा म सहमत हुन थालेको छु ।
फेरी अर्को आयाम
सार्थक जीवनको अनुभूति फेरि हुन थालेको छ । केही लक्ष्य केही उद्धेश्य जीवनको देखिन थालेको छ । बाँच्नुको
जीवनले फेरि एकपटक अर्थ पाउन थालेको छ । मेरो भावनाको ज्वार अर्को फरक मोडमा प्रवाह हुन थालेकोछ । मन अलि थीर, उज्यालो र सकारात्मक र हलुका भएको छ ।
दलितहरुको बस्तीहरुमा सचेतताका गीतहरु फेरि गाएर हिडन थालेको छु शरदको धुन र शब्दका ।
दलितहरुको बस्तीहरुमा सचेतताका गीतहरु फेरि गाएर हिडन थालेको छु शरदको धुन र शब्दका ।
रगत चल्छ श्रम चल्छ सिप चल्दछ
तर पनि किन हाम्रो पानी चल्दैन....
यस्तो लाग्छ विधार्थी जीवनको मसित विछोडमा परेको मैले धेरै मनपराएको आफुलाई फेरि पाएको छु । खुशि भएको छु फेरि आफुलाई पाएर । म दलित समूहमा मिसिएर हिडन थालेको छु , यदाकदा अम्बरसरबाट पाएको सरगमको ज्ञान पनि मसित हिडने कार्यकताहरुको टोलीमा बाडन थालेको छु । गरीबि र सामाजिक,भेदभावको मारमा परेका पंचमवर्णको पीडा गीतमा ढालेर गाउन थालेको छु । दलितहरुको बस्तीमा महिलाहरुमाथि भएका पितृसत्तात्मक भेदभाव सामाजिक अत्याचारको र जातिय मारको दोहरो अभिशाप भोगिरहेका महिलाहरुको अवस्थामा केही परिवर्तन ल्याउने प्रयास गर्न सक्छु भन्ने अठोट जाग्न थालेको छ । म सहमत छु यस कुरासित दलितहरुको यो भूमी मेरो अनुभवको प्रयोगशाला हुनेछ । अहिलेसम्म मैले सिकेको अस्मिताको सैदान्तिक ज्ञानलाई व्यवहारमा उतार्ने मेरो कर्म थलो बन्ने छ । अनि यसको साथ मैले पाएको थिए मेरो पहिलो प्रेम सचेतनताको गीतहरुसितको मेरो पुरानो प्रेम । मेरो आन्तरिक दुःखहरुको घाउ भरिन थालेकोे छ । यही समय अमेरिका अध्ययनमा गएका मेरो श्रीमान् हरीको क्यानाडाका इमिग्रेसन स्वीकृत भएको छ र हामी आमा छोरी केही दिन टोरोन्टो घुमेर सपरिवार नेपाल फर्किएका छौ यस सहमतिमा आस्था र म नेपालमा नै बस्ने ,हरी केही समय क्यानाडा बसेर नेपाल फर्किने ।
यही ताका दीपशिखा , सुनसंगिनी एलबमहरुको लागि शरदले रचेका सचेतनताका गीतहरुको पनि मेरो स्वरमा रेर्कडिग हुन थाल्छ ।
स्वरको श्रद्धान्जली
![]() |
| Progressive Writer, Parijat |
विधार्थी जीवनमा प्रगतिशील धाराको गायीका बनेर मैले दिदीले रच्नु भएका धेरै जसो गीतहरु स्टेजमा गाइसकेको थिए । तर म खोजमा थिए फेमिनिष्ट गीतहरु पनि , मदन पुरस्कार लाइब्रेरी धाउछु पुरानो शारदा पत्रिकामा छापा मार्छु । अनि भेटिएका छन् दिदी दार्जिलिङ हुँदा छापिएका दिदीका प्रेम विरहका गीतहरु । दिदी नेपाल आएपछि मदन मेमोरियल कन्या स्कूलमा शिक्षिका भएर स्कूलका बालिकाहरुको लागि रचिदिनु भएको सरस्वति बन्दना ,सुप्रसिद्ध साहित्यकार कमलमणि दीक्षित ज्यूको सहयोगमा संकलन गरि भ्याउछु । अनि फेला पारेकोछु ,दिदी रोगसित लडिरहनु भएको समयमा रच्नु भएको निराशामा भिजेको गीतहरु रामेश दाजुले दिदीको संझनामा लेख्नु भएको संस्मरणमा । यस बाहेक दिदीको राल्फाकालिन गीत त्यसपछिको प्रगतीशिल गीत कविताहरु मसित जम्मा भएका छन् ।
![]() |
| Requested documents (Parijat Smriti Kendra) |
दिदीको सिङ्गो व्यक्तित्व विभिन्न चरणबाट गुज्रिएको छ ती सबैलाई समेटिएमात्र दिदीको प्रगतिशील व्यक्तित्वको पूर्णता देखिने छ र मलाई दिदीको गीतहरु यसरी नै गाउने अनुमति दिनु पर्छ भन्ने विचार सित अडान लिइरहन्छु । पारिजात स्मृति केन्द्रका सदस्यहरु मेरो विचारसित सहमत छन् ,कोही छैनन् अन्तत यस विचारसित सबैको सहमत गराउन विशिष्ट भूमिका खेलिदिने राल्फाका सैदान्तिक विचारक एवं प्रगतिशील फाटका निनु चापागाई ,डा महेश मास्केको प्रयत्नले मेरो यो अभिष्टिले पुरा हुने मौका पाउछ । एलबमबाट आउने सबै रकम पारिजातदिदीले स्थापना गर्नुभएको बन्दिहरुको केटाकेटीहरुको लागि खोलिएको बचेरा बासलाई जाने मेरो अनुरोध पनि केन्द्रलाई स्वीकृत हुन्छ ।
![]() |
| Ralfa progressive singer/songwriters - Rayan and Raamesh |
गीत गाउन मात्र आउने म भने जीवनमा पहिलो पटक सङ्गीतमा पनि फुट्न थालेको छु । दिदीको अति नै कारुणिक भाव “मर्न मनलाग्छ मायालु ...” शब्दहरुले मलाई यति छोएको छ दिदीको यो शब्दलाई म कल्याण रागमा पोखिदिन्छु । सेमी क्लासिकल बनेको छ । अम्बर सर मेरो यस परियोजनामा प्रशस्त रुचि लिनु हुन्छ । सरसल्लाह मार्ग दर्शन दिनु हुन्छ ।सरको निर्देशनमा सरको छोरा शरद गुरङ्गको अथक परिश्रममा सङ्गीत संयोजन सिघ्र अन्तिम तैयारीमा पुगेको छ । पाटनको लिटल स्टार रेर्कडिङ्ग स्टुडियोमा स्वर श्रद्धान्जली एलबमको रेर्कडिङ्ग धमाधम हुन थालेको छ । पारिजात दिदीलाई श्रद्धा पोखेर समर्पण गरिने मेरो यो पहिलो सिडी एलबम सर र पारिजात दिदीको बहिनी सुकन्यादिदीको हातबाट विमोचन गराउने मेरो मनले योजना बुनिरहेको छ ।
तर सरलाई तिनताक विमोचन गर्ने कार्यहरुमा अभिरुचि हुन छाडेको थियो । विमोचन गराइदिनु भनेर सरलाई दुःख दिनेहरुसित सर विमुख हुन थाल्नु भएको थियो । मेरो अनुरोधमा सरले भन्नु भयो“ तिम्रो सिडीको विमोचन मैले गरे भने यो सिलसिला रोकिने होइन अरु बढ्ने छ ।” सरको भवानालाई बुझेर मैले भने “हुन्छ सर म पारिजात दिदीको बहिनी सुकन्या वाइवाको हातबाट सिडीको विमोचन गराउने छु तर सर भने यो समारोहको मुख्य अतिथि बनि दिनुहोस न त ।” मेरो आग्रहलाई केही नभनी सरले सुन्नु भयो । निर्धारित दिन रसियन कल्चर सेन्टरमा पारिजात ,स्वर श्रद्धान्जली समारोहमा स्रोताहरु भेला भइसकेका छन् तर मुख्य अतिथि सरको भने कुनै अत्तो पत्तो छैन । फोनबाट सरको खोजखवर लिदा बिना म्यामले आत्तिएर भनेको सुन्छु “सुसन ! सर त अघिनै हिडिसक्नु भयो त ”तर अह सर आउनु भएन । मन्चमा सरको कुर्सि खालि रह्यो । पारिजात स्वर श्रद्धान्जलीको सरविना लोकापर्ण भयो ।भारी मन लिएर घर फर्किए अनि बेस्सरी रुन मनलाग्यो । केही दिन पछि भएको सरसित भेटमा सर मलाई जानकारी दिनु हुन्छ “तिमीलाई दुःख लाग्यो होला म आएन भनेर । तर त्यसदिन धेरै बेर यताउता भौतरिएर घुमेर म तिम्रो एलबमको विमोचन समारोहमा आएको थिए । तिमी सेतो साडीमा सुन्दर देखिएको थियौ । तर मन्चमा बोल्ने वक्ताहरुले तिम्रो बारेमा कम, धेरै राजनीति बोलेको सुने । त्यो तिम्रो दिन थियो तिम्रो बारेमा तिम्रो प्रतिभा बारेमा बोलिनु पथ्र्यो ।”![]() |
| Dedicated to Parijaat |
क्रमश:...






Comments
Post a Comment