त्यो सम्बन्ध र सम्बोधनको स्वर श्रद्धान्जली

त्यो सम्बन्ध र सम्बोधन 

सुसन मास्के


पारिजातसित मेरा केही वैचारिक, धेर–थोर व्यवसायिक र नितान्त व्यक्तिगत  सम्बन्धहरु थिए।तर तीनैवटै
 सम्बन्धको विविधतामा एउटै रङ्ग थियो प्रगाढताको।


२०३६ सालमा विराटनगरबाट क्याम्पस पढ्न  काठमाडौँ उक्लिएपछि त्यही साल म्हेपीको सानो शान्त कोठामा सजावटी कलात्मक वस्तु ढुंगा, पुतली,पात–पतकर, किताब, पत्रपत्रिका ,चिठ्ठीपत्रका बिच दिदीसित मेरो पहिलो भेट भएको थियो। पलङ्ग अगाडिको सानो टेवलमा रोगग्रस्त देखिएको औलाले सिङ्गो चुरोटको खिलीलाई २ वटा टुक्रा पादैै राख्न व्यस्त दिदी मलाई देखेर मेरो दाजुसँग हासेर सोध्नु भएको थियो “ डा. महेश ! तपाईको बहिनी होइन ।”दिदीसितको यो पहिलो भेटमा म केही नर्वस, केही भावुक भएकी थिए ।
म काठमाडौ पढ्न आउदासम्म, दिदी राल्फा भएर सक्रिय भएको साँगीतिक समूह “ बेदना परिवार” र “संकल्प परिवार” भएर दुई समूहमा टुक्रिएको थियो।जसमध्ये पारिजात ,रायन ,निनुले नेतृत्व लिनु भएको“ बेदना परिवार” मा बिस्तारै म सक्रिय हुन थालेको थिए यसै पृष्ठभूमिमा पद्धमकन्या क्याम्पसमा सर्टिफिकेट लेभल पढ्दा पढदै “ बेदना परिवार” बाट रायन दाईले रचना गरेको “सिम्मा” गिती नाटकमा मैले मुख्य महिला पात्र सिम्माकोलागि पाश्र्व गायन गरेको थिए।पंचायती कालमा वाक स्वतन्त्रता त्यति थिएन तर स्कुल ,कलेज, राष्ट्रिय सभागृह स्टेजहरु विध्यार्थी चुनावहरुमा लगायत भूमिगत सभा सम्मेलनहरुमा जनवादी गीतहरु गाउथे।बिस्तारै भारतमा रहने नेपालीहरुबाट पनि “ बेदना परिवार” लाई निम्तो आउन थालेको थियो।भारतको दिल्ली, हिसार, गोरखपुर,राँची,जयपुर आदि ठाउँहरुमा“ बेदना परिवार” को टोली शोषण,अन्याय असमानतको विरुद्धमा आवाज उठाउने खालका जनचेतना मूलक सांस्कृतिक कार्यक्रमहरु लिएर गइरहने गर्थ्यो।यस्ता कार्यक्रमका आयोजकहरु भारतमा बस्ने “अखिल भारत नेपाली एकता समाज” र भूमीगत रुपमा रहेका कम्युनिष्ट पार्टी,अखिल भारतीय नेपाली विध्यार्थी संघ आदि हुने गर्थ्ये। उनीहरुको सभा सम्मेलन का लागि प्रस्तुत हुने यस्ता साँगीतिक यात्रामा मिसिएर दिदी पनि “ बेदना परिवार” सित संगसंगै हिड्नु हुन्थ्यो।अ.भा.ने.वि.संधको दिल्लीमा भएको सम्मेलन सकाएर जयपुरको “ पिङ्क सिटी ” हेर्दै पुराना राजस्थानी किल्लाहरु घुमेको दिदी संगको यात्रा मेरो संझनामा छ।यस लगायत सिम्मा गीती नाटकको विराटनगर अनि दार्जिलिङ्मा भएको प्रदर्शनमा पनि दिदी साथै जानु भएको थियो।

विधार्थी जीवनमा जनताको गीत गाउने सांस्कृतिक कर्मी बनेपछि दिदीसित प्रत्यक्ष र वैचारिक सम्बन्ध बन्न थाले । देशभित्र होस चाहे देशबाहिर भएका सांस्कृतिक आयोजनमा दिदी संयोजक, आलोचक, प्रसंसक सबै हुनुहुन्थयो । दिदी मलाई भन्ने गर्नु हुन्थ्यो –“ सुसन गाउन नछोड स्वर कुनै कारखानामा बन्दैन ।”

 दिदी गीत गाउन र सुन्न खुबै मनपराउनु हुन्थ्यो । एकदिन मुडमा दिदीले  मलाई केही पुराना हिन्दी गीतहरु सुनाउनु भएको थियो ।...ओ बसन्ती पवन पागल नाजा रे नाजा रोको कोई.. मैले पनि गीतमा दिदीलाई साथ दिएको थिए । कहिलेकाही दिदीको हस्तलिखित चिट लिएर बालाजुस्थित मेरो डेरामा कोही आइपुग्थ्यो । चिटमा लेखिएको हुन्थ्यो –“ सुसन पंकज उदास र जगजित चित्रा सिंहको नयाँ क्यासेट पठाउ है ।”

२०४१ सालमा म दुलही बनेको थिएँ । दिदी मेरो विवाहको पुरै समारोहमा उपस्थित हुनुहुन्थ्यो । सबैको अगाडि दिदीले खादा लगाएर आर्शिरवाद दिदै भन्नु भयो “सुसन मेरो छोरी अब ।”

सिम्मा गीति नाटकक कलाकारहरुको साथ पारिजात दिदी मेरो विवाहको समारोहमा 


तर शायद मैले नै दिदीले बनाउन खोज्नु भएको नयाँ नातालाई कायम राख्न सकिन । एकदुइ पल्ट  प्रयत्न नगरेको  चाहिँ होइन । विवाह पछि भएको पहिलो भेटमा दिदीलाई मैले नमस्तेको साटो ढोग दिए । तर ‘दिदी‘’ भनेर हजारौ पटकको सम्बोधनलाई दिदीले साटेको नयाँ सम्बन्धमा अभ्यस्त पार्न सकिन । दिदीलाई ‘आमा’ भनेर एकपटक पनि साइनो लागएर सम्बोधन गर्न सकिन । तर एक अर्कालाई आमा छोरी मानेर  हामीसित स्नेह दिने  र स्नेह लिने कैयौ गतिला बाहनाहरु थिए  । “ आफै पकाएर पस्केर पाख्रिन ज्वाई साहाव र तिमीलाई  खाना खान बोलाउँछु ।”

जाडोमा कठाङ्ग्र्रिएका दिदीका सुकुमार साना–साना खुट्टाका निम्ति उहाँलाई मनपर्ने हरियो रङ्गको ऊनबाट विशेष खालको जुत्ता बुनेर दिदीलाई उपहार दिनु मेरो प्रत्येक जाडो महिनाको विषेश काम थियो । दिदीलाई यो जुत्ता खुव मनपथ्र्यो । उहाँले जाडो महिना लाग्दा नलाग्दै भन्नु हुन्थ्यो “सुसन जुत्ता त फाट्यो नि ।” कहिले म सोध्थ्ये र दिदी भन्ने गर्नु हुन्थ्यो “छ छ ...कस्तो जतन गरेर लागउदै छु ।”

युनिभरसिटीको मेरो अध्ययन सकिएको थियो।अध्यापन पेशामा जान एक दुई अफर आउन पनि थालेको थियो । तर दश पाँच बजेको जागीरमा बाँधिने मन थिएन।अलि स्वतन्त्र र सृजनशिल भएर काम गर्ने मन थियो ।निकै सोच पछि दिमागमा “महिला पत्रिका” निकाल्ने विचार फुरेको थियो।स्नातोकत्तर उपाधि पाउनका लागि “नेपाली वाङमयमा महिला लेखिकाहरु” बारे मेरो शोध पत्र तैयार गर्दा, मदन पुस्तकालयमा मैले अत्यन्त पुराना महिला पत्रिकाहरु भेट्टाएका थिए।नेपाली महिलाले सम्पादन गरेको पत्रिकाहरुले मलाई अचम्ममा परेको मात्र होइन,किन अहिले भने, नेपालमा एउटा पनि यस्तो महिला पत्रिका ननस्किएको होला भन्ने सोचले सताउन पनि थालेको थियो।यसैको असरले महिला पत्रिका निकाल्ने चाह, मेरो मन भित्र पलाउन थालेको थियो महेश दाजुले मेरो यो सोचलाई निकै प्रोत्सहान गरेपछि,साथी अन्जु क्षेत्रीसित मनको कुरा मिल्यो र हामी पत्रकारीतातिर लाग्ने निधो गर्यौ ।

यो २०४४ सालको कुरा हो ,महिला पत्रिका दर्ता गर्न हामी कस्सिएका थियो।पत्रिका निकाल्ने निधो त भयो तर नाम के राख्ने यो कुराको भने निधो हुन सकिरहेको थिएन।मनमा अनेक थरीका नामहरु आउथे जान्थ्ये,जान्थ्ये आउथे।तर कुनै पनि जमिरहेको थिएन्। तिनताक बालाजुमा म बसेको डेरा दिदीको म्हेपी घरको छेउमा नै थियो।दिदी विष्णुमतिको वल्लो पार म पल्लो पार,केवल एक पुलको फर्लङ्भरको दुरीमा।अनि एकदुई दिन बिराएर दिदीसित मेरो भेटघाट भइरहन्थ्यो।महिला पत्रिका निकाल्ने यो तरखर दिदीलाई पनि थाह थियो।अनि यस कुराले दिदी उत्साही र खुशि हुनुभएको थियोे।अनि त्यो दिन म साथी अन्जुलाई लिएर पारिजात दिदीको छेउ पुगेको थिए “खै दिदी पत्रिकाको नाम के राख्ने होला ?” हाम्रो अनुरोध सुने पछि एकछिन घोरिएर पारिजात दिदीले भन्नु भयो “मलाई अस्मिता शब्द ज्यादै मनपर्छ।पत्रिकाको नाम “अस्मिता” राख्दा कसो होला ?”

अस्मिता शब्दको मिठासबाट रोमान्चित र उत्साहित हुदै हामीले सोध्यौँ “अस्मिताको खास अर्थ के हो दिदी ? ”“मयार्दा,अस्तित्व ।” पारिजात दिदीले अर्थ्याउनु भएको थियो ।उच्चारणमा मिठासमात्र होइन अर्थ पनि ज्यादै विशिष्ट बोकेको शब्दनीधि हाम्रो हात परेको थियो । यसरी हामीले निकाल्न लागेको महिला पत्रिकाको लागि नाम जुरेको थियो एक विशिष्ट हस्तीबाट एक विशिष्ट नाम

“ अस्मिता” ...

२०४५ सालको नयाँ वर्षको अवसर पारेर अस्मिता को पहिलो अंक निस्किएको थियो।र पहिलो अंकदेखि नै पारिजातको नामले नै लेख्न थाल्नु भएको स्तम्भ थियो “मेरो भागमा परेको अस्मिता ” यो स्तम्भको नाम पनि दिदी आफैले छान्नु भएको थियो र अस्मिताको पहिलो अकंको दिदीको पहिलो स्तम्भमा नयाँ वर्षका शुभकानाहरु दिदै उहाँ लेख्दै हुनुहुन्थ्यो...

“..... मेरो पनि शुभकामना नयाँ वर्षको सबै सबैलाई । मेरो मन पवित्र छ यसको प्रमाण म आफै हुँ । तर मेरो मन खण्डित छ जसरी असङ्ख्य महिलाहरुको अस्मिता खण्डित छ यस देशमा । मेरो आँखा भिजेका छन् जसरी असङ्ख्य महिलाहरुको आँखा भिजेका हुन्छन् । खण्डित मन र भिजेका आँखाहरुको अभिव्यक्ति लिएको मेरो शुभकामना सबै घाइते अस्मिताहरुलाई ।.....”

पत्रिकालाई लेखहरुको आवश्यक पर्ने बेला दिदीले अरु छद्म नामले पनि लेख्न हुन्थ्यो। जसमा किशोरी किशोरहरुलाई स्तरीय खुराक दिने“ प्रियंवदा ”अनि पाठकहरुलाई स्वादिलो पाककाला सिकाउने “भान्साघरे काइँली ”पनि हुनुहुन्थ्यो पारिजात दिदी।


 दिदीको कमजोरी र हठी स्वभावसित भने  म कमै परिचित छु । भनौ त्यस्तो मौकै पाइन । तर अस्मिता जस्तो
 विशिष्ट अर्थ बोकेको नाम जुराइदिने पारिजात दिदी  एकपटक अस्मितासित निकै रुष्ट हुनु भयो । दिदीको उपन्यास ‘परिभाषित आँखा’ माथिको अस्मिता पत्रिकाको तीक्ष्ण समिक्षा मनपराउनु भएन । र त्यसैले दिदीको कलम अस्मिताको दुइ अंकसम्म लगातार चलेन । तर धेरै दिनसम्म दिदी अस्मितासित तटस्थ रहनै सक्नु भएन । अस्मितासित दिदीको स्नवेह, शुभेच्छा र सहयोगको जग त्यती झिनो कहाँ थियो र ? दिदीको रोकिएको कलम अस्मितामा फेरि चल्यो ।

 विरअस्पतालको मृत्युसैयामा दिदी अस्मिता पत्रिकाको नयाँ ‘संचार अंक’लाई उल्टाउदै पल्टाउदै भन्दै हुनुहुन्थ्यो “सुसन म त छुटे नि यो पल्ट तर अर्को अंकमा त मेरो स्तम्भलाई अस्पतालबाट भए पनि लेख्छु ।” दिदीले अस्मिता पत्रिकाकोलागि चलाउने स्तम्भ ‘ मेरो भागमा परेको अस्मिता’ पाठकहरुका निम्ति सधै आर्कषणको  केन्द्र रह्यो ।

“म त हाइली पेड कलमिष्ट हुँ नी अस्मिताको” दिदी मलाई अरुका अगाडि त्यसो भन्दै जिस्काउनु हुन्थ्यो । स्त्री उत्पडिन विसङ्गति व्यथा र नारी मुक्तिको सशक्त लेखनीको यो स्तम्भबाट दिदीले महिला सामर्थ्यका कहिले नभत्किने गोरेटोहरु कोर्नु भएको छ । आज यी गोरेटोमा हिँड्ने असंख्य महिला सहयात्री छन् । पारिजात आफुलाई फेमनिष्ट भन्न रुचाउनु हुन्थ्यो । नारीवादी आन्दोलनका लागि पारिजात नै पहिलो घोषित ‘फेमनिष्ट ’  नेपाली लेखिका हुन भन्दा अतिशयोक्ति  नहोला । पारिजातको लेखनमा रहेको यी नारीवादी  चिन्तन पारिजातका बिर्सनै नहुने पक्ष हो । यसको विस्तृत मुलयाङ्कन हुनुपर्छ ।

पारिजात दिदीसित मैले संगै गरेको अर्को महत्वपूर्णकाम थियो नेपाली महिलाद्धारा लेखिएका र सम्पादन गरिएका पुस्तक पत्र पत्रिकहरुको प्रदर्शन । २०४३ सालकाको ८ मार्च महिला दिवसको मौका छोपेर  यो प्रदर्शन धेरै कम समयमा र धेरै मेहनतकासाथ आयोजन गरिएको थियो ।

प्रथम महिला पुस्तक प्रदर्शनीमा  पारिजात दिदी सित 
पारिजातको शुभकामना पत्र लिएर चन्दा संकलनकालागि  हामी महिला टोली खटिएका थिए । शुरु शुरुमा घेरै कठिनाइहरु झेल्नु परेपनि  नेपाली महिलाहरुको सृजनशिलताको उदाहरण प्रस्तुत गर्न पर्छ भनेर दिदी तम्सिनु भएको थियो । दिदीको यो सदकार्यमा सहयोग गर्न हामी रातदिन  जुटेका थियौ ।  सुकन्या वाइवा, इन्दिरा दली, विष्णु देवी श्रेष्ठ , शशी  श्रेष्ठ लगायत  प्रगतीशित फाँटका अन्य धेरै महिलाहरुको  परिश्रम र सहयोगमा यो प्रदर्शन सम्भव भएको  थियो । प्रत्येक लेखिकाहरुका पुस्तक पत्रपत्रिका र तिनको तस्वीर सहितको बायोडाटा सूचनमूलक  मात्र थिएन, दिदीको सुझावमा प्रदर्शित पुस्तक पत्रपत्रिकहरु राखिएको टेबलमा चेमेलीका बास अउने फुल, बलिरहे धुपहरुको सुगन्ध र कलात्मक मैनवत्तिका प्रकाशहरुले प्रदर्शनीमा काव्यात्मक सामज्यस्यता थपिदिएको थियो ।

 हाम्रो उक्त  प्रदर्शन पंचायतकालका प्रचारप्रसारको माध्यमबाट उपेक्षित भएपनि प्रर्दशनी हेर्नआउने दर्शकहरुको ओहिरो भने आश्चर्यपूर्ण थियो । प्रदर्शित सामाग्रीहरुमा  केही असाध्यै महत्वपूर्ण अमूल्य र प्राचिन पुस्तक पत्रपत्रिका तथा फोटोहरु पनि थिए । त्रिभुवन विश्वविधालय केन्द्रिय पुस्तकालबाट तत्कालिन लाइब्रेरियन इन्दिरा दलिले आफ्नो उत्तरदायित्व र जिम्मेवारीमा प्रदर्शनीकालागि ल्याउनु भएको थियो भने केही मदन पुरस्कार पुस्तकालयबाट मागेर ल्याइएको अमूल्य पुस्तक तथा पुराना पत्रपत्रिकाहरु पनि थिए । केही  भने व्यक्तिगत  संकलनमा रहेका महिलले प्रकाशित कृतिहरु र फोटोहरुलाई आयोजकहरुको अनुरोधमा संकलन गरिएर प्रर्दशनमा राखिएका थिए । त्यसैले यस्ता पुस्तक र पत्रपत्रिका फोटोहरु हराउलान भन्ने हामी आयोजकहरुलाइृ ठूलो डर थियो । भारतीय सांस्कृतिक केन्द्रमा ४ दिनकोलागि मात्र भनेर गरेको यो महिला लेखिकाहरुकाका कृतिहरुको यो प्रर्दशनी दर्शकहरुको अनुरोधमा सातदिनसम्म तानियो । प्रर्दशनीको अन्तिम दिन साँझ हतारहतार प्रदर्शित ( पुस्नक पत्रपत्रिका फोटोहरु )  सामानहरु समेट्दै हल खाली गरेर आ – आफ्ना घरतिर लाग्यौं । म्हेपीमा दुइदिन पछि भएको भेटमा दिदीले मलाइ जानकारी दिनु भयो “ त्यत्रो प्रदर्शनमा हेर एउटा सिङ्कोसम्म पनि हराएन  तर एउटा मेरै  फोटो चाहिँ हराएछ ।” दिदीको स्वरमा आफुप्रति झिनो गर्वको आभास र केही मुग्ध भाव थियो त्यो फोटो चोर माथि । मानौ त्यो  दुस्साहसी चोर दिदीको सबभन्दा ठूलो प्रंससक हो ।

त्यो समय म आफ्नो थेसिस तयार गर्दै थिए । नेपाली महिला लेखिकाहरुमाथि नै मेरो शोधग्रन्थ तयार भइरहेको हुनाले प्रदर्शनीकालागि संकलन गरिएका तर फिर्ता दिन नपर्ने लेखिकाहरुका पुसतक , पत्रपत्रिका , बायोडाटा लेखिएका चार्ट पेपरहरुको बण्डल दिदीले मलाई थमाइदिनु भयो ।

घरलिएर आएपछि आफूलाई कामलाग्ने सामाग्री छान्दै थिए , अचानक दिदीको  हराएको फोटो  त्यही पोकामा फेला पर्यो । मुढामा हसिलो मुहार लिएर बसिरहनु भएको दिदीको फोटोलाई निकै बेर हेरे र चुपचाप जतनसित आफूसितै राखे । तर दिदीलाई त्यो फोटो फिर्ता दिने हिम्मत कहिले जुटाउन सकिन । मैले चाहे दिदी यो भ्रम बनिरहोस् ...यत्रो प्रदर्शनीमा  अमूल्य र चोरिने बस्तु दिदीको फोटो मात्र थियो भनेर ।

दिदीको हराएको फोटो 
जब जब दिदीसित कुरा हुदा त्यो प्रदर्शन र फोटो चोरको प्रसङ्ग उठ्थ्यो  म केही नभनी मुसुमुुसु हास्थ्ये । तर मैले योे रहस्यको साथी ,पारिजात दिदीलार्ई  नजिकबाट चिन्ने  कलाकार  मोहन खड्कालाई मात्र बनाएको थिए र उनलाई अनुरोध गरेको थिए “दिदीलाई नभन्नु नी फेरि सायद दिदीको बारे कुनै संस्मरण लेख्नु पर्दा यो प्रसंग काम लाग्ला ।”

नभन्दै आज म भरिएको ह्रदय र आँखा लिएर दिदीमाथि  यो संस्मरण तयार गरिरहेको छु । र  जीवनभरी दिदीको अगाडि कहिले गर्न नसकेको सम्बोधन  पहिलो र अन्तिम पटक गर्दै अति आदर  र स्नेहको  श्रद्धान्जली अर्पण  गर्दैछु  मेरो दिदी ‘माँ’ लाई ।

प्रस्तुत लेखलाई पारिजात स्मृति ग्रन्थबाट केही संसोधनहरुको साथ साभार गरिएको हो ।




शब्द: पारिजात
स्वर: सुसन मास्के

१. मर्न मनलाग्छ मायालु  / संगीतकार: सुसन मास्के  / संगीत संयोजन: शरद गुरुङ 
२. हाम्रो अन्गालोबीच  / संगीतकार: रामेश / संगीत संयोजन: शरद गुरुङ 
३. जस्तो तिम्रो छितिज़ / संगीतकार: रायन / संगीत संयोजन: शरद गुरुङ 
४. तिमी मलाई सारंगीका / संगीतकार:  शरद पौडेल / संगीत संयोजन: शरद गुरुङ
५. जदौ हजुर "लघु गिती नाटक" / संगीतकार:  शरद पौडेल/ संगीत संयोजन: कुन्दन राई 
६. आँशु होइन  / संगीतकार: रायन / संगीत संयोजन: शरद गुरुङ 
७. धेरै अघि एक साँझ / संगीतकार:  शरद पौडेल / संगीत संयोजन: शरद गुरुङ



  

Comments