अर्चनाका फूलहरु

अर्चनाका फूलहरु



सुसन मास्के






अम्बर सर अनन्तमा बिलिन हुनु भएकको आज यो उहाँको पहिलो पुण्यतीथि, अनि आज म फेरी सरकोबारे लेख्न कम्यूटरको पर्दा अगाडि बसेको छु । तर खाली पर्दाहरुले टोलाएर मलाई सोधिरहेको जस्तो मात्र लागिरहेको छ । खै त्यो खास पाठक ? अनि त्यो खास उद्धेश्य नि ? जस्को लागि म लेख्थे । बर्षन नसकेको भारी बादलजस्तो मन भइरहेको छ।

 म सोचिरहेको छु सरले ‘कहाँ गए ती दिनहरु’मा कवि अगमसिहं बारे लेख्नु भएको संस्मरणलाई । कलाकार मरिसकेपछि गोहीको आँसु चुहाउनेहरुदेखि आजित भएका कवि अगमले एक फेरा सरको सम्मानमा गरिएको सङ्गीत समारोहमा भनेका रहेछन “कलाकार बाँचुन्जेल कसैले उसको वास्ता गर्दैनन , मरिसकेपछि उसको चिहानमा गएर आँसु चुहाउँछ ,श्रद्धान्जली अर्पण गर्छ । यो जस्तो ठूलो आडम्बर र कप्ट्याइँ अरु के हुन सक्छ ? ”

यीनै नेपाली जातिय अस्तित्वका लडाइ लडने कवि अगमको मानसिक भोक र कुण्ठित विसङ्गतिको हाहाकारमा निधन भएपछि सरले एउट साहै मार्मिक भावपूर्ण संस्मरण लेख्दै भन्नु भएको छ “ उनको बारेका यो सम्झना छपाएर मैले पनि विडम्बनाको अर्को खास्टो ओढें कि ? उनी जीवित रहेको बेला मैले लेख्न सक्नु पथ्र्यो ,त्यो मेरो उनीप्रति सच्चा अर्चनाको फूल हुन्थ्यो ।” आफूलाई आत्मीयता , जातित्व र कलाकरिताको पाठ पढाउने आफ्नो प्यारो गिरी दाईप्रति समय रहदै मनको श्रद्धा भाव व्यक्त  गर्न चुक्नु भएको सरको यो सन्तापले मलाई भने गहिरो चेत दिएको थियो । मेरो मनभित्र भित्रै यदाकदा कोही हतारिन थालेको थियो । चढाउन अर्चनाका फूलहरु ......

जीवनधारामा बहदै सरको सानिध्यबाट चुडिएर दुर भुगोलको पल्लो कुनामा पछारिन आइपुगेकी सरको यस शिष्यासित सरलाई आफु नजिक पाउने सबभन्दा गतिलो र पावन ठाँउ सरको सानिध्यमा बिताएको संझनाहरुमा मात्र थियो । अनि त के थियो र मनभित्र संचित यीनै संझनाहरुका तहखानाहरुबाट सरको सामिप्यमा बिताएका दुर्लभ क्षणहरु शब्दचित्रहरुमा खुरुखुरु ढालिन थालेका थिए ,केही वर्षहरुदेखि ‘सङ्गीतको मेरो आराध्य मेरो अम्बर सर’ शिर्षकको संस्मरणहरुमा ।

तर यी संस्मरणहरु एउटा पाठककोलागि सोचिएर मात्र लेखिएको थियो । र त्यो पाठक हुनुहुन्थ्यो ,अम्बर सर ! अनि संस्मरण लेख्नुको उद्धेश्य थियो , सरको संगतमा मैले बिताएको अतितको पन्नाहरुलाई सरले चाखदिएर पढनु हुनेछ र एउटी शिष्याको नजरबाट आफुलाई हेर्नु हुनेछ । तर साँचो अर्थमा मैले यी संस्मरणहरु लेखेर सरलाई सरको जीवन छदै सच्चा अर्चनाको फूल चढाउन चाहेको थिए ।

यी संस्मरणहरुकको तेस्रो भागसम्म पढेपछि फोनबाट सरले मलाई स्नेहले भन्नु भएको थियो “सुसन तिमीले हाम्रो बारेमा लेखेको लेखहरु पढे । आइएम भेरी प्राउड अफ टु वि योर टिचर ।” मैले मेरो खास पाठकको प्रतिक्रिया पाएको थिए । मेरो अर्चनाको फूलहरु स्वीकृत भएको थियो । र यति गहकिलो पाठक प्रतिक्रिया पाएर मैले भरिएको कण्ठले यति मात्र भन्न सके “ सर यो आलेख अझै अधुरो छ । शायद यो लेखेर कहिले पनि सकिने छैन । ।” यस पछिको चौथो भागको सरसितको संस्मरण लेखिरहदा सर हरियाणा स्थित मेदान्त अस्पतालमा क्यानसरसित लडिरहनु भएको थियो । अनि अल्का जीले फोनमा मलाई आश्वासन दिनु भएको थियो “सुसन जी ! बाबाकोलागि लेख्नु भएको तपाईको ब्लगको लिन्क पाए ,बाबा अलि जाति हुनु भएपछि बाबा र म भएर पढ्ने छौ ल ।” र त्यही मैले सरलाई चढाएको अर्चनाको अन्तिम फूल थियो । आज फेरि यस संस्मरण लेख्न बस्दा लागिरको छ अहिले मानौ म एउटा मात्र औपचारिकता मात्र पुरा गर्दैछु । किनभने मलाई थाह छ यसपटक मेरो यो संस्मरण पढने मेरो त्यो खास पाठक नै छैन । मैले चढाएको शब्दहरुको सच्चा अर्चनाको फूल स्वीकृत गर्ने मेरो आराध्य मेरो अम्बर सर हुनुहुन्न ।

गयौ तिमी कहाँ ?
नछोडी कुनै ठरठेगाना
भेटु म तिमीलाई कहाँ ?

कुहिरो जस्तो,हो त्यो कुन
यस्तो अन्जान बस्ती
अथाह सधैँ ,छ त्यो अज्ञात

खोजु म तिमीलाई कहाँ?

पुग्न छ सबैले त्यहाँ
तर हिड्दैन साथ कोही
बन्नु छ सबैले एक्लै
त्यो अज्ञात यात्राको यात्री

पछ्याउ तिमीलाई भन अब म कहाँ ?
.................................................

‘सङ्गीतको मेरो आराध्य मेरो अम्बर सरका चार भागमा प्रकाशित संस्मरणहरुको संकलन अम्बरसरको अम्बरपनलाई चिन्न मनपराउने पाठकहरुमा सादर सर्मपण । 




सरस्वती पूजाको पावन अवसरमा अम्बरसरको चरणमा समर्पित विस्थापित पत्रकारको यो डायरीको पानाहरु...

सङ्गीतको मेरो अराध्य,मेरो अम्बर सर !


Legendary Musician of Nepal -  Amber Gurung, my Guru.

म त्यतीबेला केही खोजीरहेकोथिए मानौ तिर्खाएको काकालकुकुलले पानी खोजेको जस्तै तर भन्छन पानीखोज्दै जब खोला नजिक पुग्छ,खोलाको पानी रगत बन्छ रे अनि पानी खान नसकि काकालकुकुल हाहाकार चित्कार गर्दै त्यसै प्यासैफर्किन्छ रे आजन्म यसरी पानीको खोजमा तिर्खाएर केवल भौतारिमात्र रहन्छ रे ...सानो छदा आमाको मुखबाट यो कथा सुन्दा मेरो रगतमा चिसो पानी जस्तो केही बग्ने गर्थ्योव्याकुल भएर सोच्थे कठै कस्तो शापित काकालकुकुल ?

जीवनको एउटा कालखण्डमा  पनि काकालकुकुल जस्तै बनेको थिए  सङ्गीतकोे प्यासो काकालकुकुल तर भाग्यवश  शापित थिइन यही जन्म कि  पूर्वजन्मको कुनै राम्रो कर्म थियो मसित त्यसैले   सङ्गीतको यस्तो निर्मल मानसरोवर छेउ पुगे सङ्गीतको प्यासो मेरो मनको काकालकुकुलको लागि त्यहाँ बिना शर्त सङ्गीतको निश्छल पवित्र लहर   शितल छहरा  छागो बगेको थियो बडो जतनस्नेह  अनुग्रहले  जन्म र जन्मान्तरकोलागि तृप्त हुने गरी सङ्गीतको  सहस्र धारा बगाइदिएर मेरो मनको सङ्गीतकोे प्यासो  
काकालकुकुलमाथि कसले यतिठूलो उपकार  गर्यो ? कसको हो यो अनुग्रह ? कसको हो यो आषिश ?

सरगम  रागरागिनीहरुको सहस्र भुलभुल कुलकुल खोलीहरु मेरो  मनको बन्जर  बाझो छातिमा बगाइदिने 
सङ्गीतको महान साधक हुन मेरो सर  मेरो श्रद्धेय सर  मेरो गुरु  मेरो प्यारो अम्बर सर  

 ढुङ्गा खोज्दा देउता
  

सुसन बैनी   अम्बर दाई भएर सङ्गीत स्कूल खोलेको छौ तिमीलाई शास्त्रिय सङ्गीत सिक्ने रुचि  भने आउनु ’ त्यो दिन रायन दाजु आउनु भएको थियो मेरोलागि यस्तो अनमोल निम्तो लिएर बागबजारको अस्मिताको अफिसमा 


रायनप्रगतीशिल धारको एक बेजोड हस्ताक्षर राल्फा यूगका एक राल्फा नायक  मेरो विधार्थी जीवनको प्रगतिशिल फाँटको साङ्गीत धाराका मेरो आदरणिय गुरु मेरो मनले चिनेको अति स्नेही दाजु अनि पद्म कन्याक्याम्पसको छात्राबासको रजिष्टरमा दर्जित मेरो अभिभावक रायन 

रायन दाजुको यस निम्तोलाई मान्न दुइहजार चवन्न साल भदौ तेइस गते सोमबार त्यो दिन अति उत्साह लिएर हिडिरहेको थिए एउटा यस्तो स्वप्न यात्रामा जुन  केही दुरीमा साकार हुन मलाई पर्खिरहेको थियो बागबजारको अस्मिताको अफिसबाट पुतली सडक क्रस  गर्ने साथ डिल्लीबजारको उकालोमा पर्ने दाहिनेतिरकोघर  युनिवर्सल ल्याङ्गवेज इन्सिटिच्यूट  त्यहाँ साढे चार बजे पुग्नु पर्ने निर्देशन थियो रायन दाजुको भित्र पस्ने बितिकै देखिने काउन्टरमा दुइसय पैसठी रुपिया चवन्न पैसा बुझाएर  रसिद लिए   अन्तराष्ट्रिय
भाषाहरु सिकाउने यस  इन्सिटिच्यूटमा भर्खर खुलेको एउटा हाँगा ,सङ्गीतको विधार्थीको रुपमा वैधानिक दर्ता पाएको अनुभुतिमा मख्ख पर्दै  काउन्टरबाट यसो के फर्किए  मैले अम्बर सरलाई पहिलो 
पटक  देखे  मलाई नै पर्खनुभएको हो कि जस्तोगरी कुर्सिमा  बसेर अम्बर सर  रायन दाजु  मलाई हेरेर
हल्का मुस्कुराइ रहनु भएकोथियो  आदरले मेरो टाउको स्वत झुक्यो  हात श्रद्धाले जोडियो  अन्तसमा मौन
कोही बोल्यो यही तेरो शरण हो  भित्रको त्यो प्यासो काकालकुकल अन्तत सरोवर छेउ पुगेको थियो 

 सरगम.. स्वर साधनाको यात्रा 

अम्बर सरबाट पाएको शास्त्रिय सङ्गीत ज्ञानले भरिएको  मेरो अमुल्य निधी

त्यो साँझ  बजेर पैतालिस मिनेटमा पहिलो कक्षा शुरु भयो  कक्षामा पन्द्र बिस जाना विधार्थीहरु थिए  धेरै
जसोलाई पहिला चिनीराखेका प्रगतीशिल फाँटका सांस्कृतिक कर्मीहरु 

सरले पहिलो दिन सिकाउनु भएको थियो   स्वर साधना गर्ने सातवटा नियमहरु लगायत षडज साधना गर्ने विधि   भने धमाधम  सरले भन्नु भइरहेको कुराको नोट लिइरहेको थिए 

त्यो दिन अभ्यासको लागि भनेर सरले दिनु भएको पाठ थियो
आरोह  ( स्वर माथि चढाउने)  सा रे     नि सां
अवरोह  (स्वर तल झार्ने )     सां नि     रे सा  

पहिलो पाठ 

षडज साधना  बिहानपख गरे राम्रो अनि  पहिलो दिन पाँच मिनेट  पछि बढाउदै दश अनि पन्द्र मिनेट अभ्यास गर्ने  सरको निर्देशन थियो 

 अर्को होमवर्क पनि थियो आफुलाई मनपर्ने बारवटा गीतहरुको सूचि बनाएर ल्याउने अनि सरले सोध्नु भएको थियो तिमीसित हार्मोनियम  ?

सा रे     नि सां

बर्षौ अगाडि अस्मिताको महिला पत्रकारको एउटा सेमिनारमा दिल्ली  जादा पालिका बजारबाट हार्मोनियम किनेर ल्याएको थिए 

त्यो साँझ  खाटमुनी थन्केको हार्मोनियममा जमेको धुलोसुलो झारेर बिहानको अभ्यासको लागी ठीक्क पारे बिहान पाँच बजेको घडीमा अलार्म लगाए 

बिहान अबेलासम्म निदाउन मनलाग्ने मलाई सरगमको अभ्यासको यात्रामा ढिलो होला भन्ने यस्तो पीर परेको थियो कि मेरो चेतनले बिहान घडीको टिरररलेभन्दा अगाडिनै कैयो पटक मलाई जगाइसकेको थियो अरु दिन भन्दा अब निसन्देह फरक हुन गइरहेको थियो मेरो दिनहरु 

मीठो धूप बालेर बिहानीपखको सुनसानमा हार्मोनियमको पर्दाहरुमा सात स्वरको षडज साधना  सा रे  ..को अभ्यास आरम्भ भयो  मस्त निदाइरहेका लाजिम्पाटका मेरो घरपरिवारकोमेरो छरछिमेकको
बिहान   मीठो निद्राको अह मैले कसैको वास्ता गरिन । सरगमको अभ्यास  भयो 

अब सरले दिनु भएको अर्को होमवर्क थियो बारवटा एकदम मनपर्ने गीतहरुको चयन यो होमवर्क बास्तवमा  
गारो थियो  खाली पेजमा मनपर्ने गीतहरुको तछाड मछाड गरेर वैरिन पो थाल्यो मनपर्ने गीतहरु  कति कति हजारौको संख्यामा पो रहेछन अब तिनीहरुलाई बार वटा गीतहरुको सूचिमा झार्नु असम्भव जस्तो भयो मलाई



दिन भरी जसो घोरिएर कुन गीत हटाउने कुनलाई राख्ने  कुन नम्वर वन कुन फाइव  कुनलाई बारौ स्थानमा 

राख्ने  दिमागले चक्कर खाइरहयो  केरमेट चलिरह्यो सारा दिन मेरो  सरले अझ भन्नु भएको थियो हिन्दी
गीतको पनिराख्नु  अह कुनै  मलाई सफलता मिलेन बल्ल तल्ल बनाएको थिए यस्तो सूचि मनपर्ने गीतहरुको मेरो 

  1. पोहरसाल खुशि फाट्यो जतन गरि मनले टाले ......
  2. केही मीठो बात गर रात त्यसैै ......
  3. रातो  चन्द्र सूर्य .......
  4. गाँउ गाँउबाट उठ यो देशको मुहार
  5. चौतारीमा बसेर रुन पाउ......
  6.  अम्बर हू तिमी धर्ती.......
  7. अल्लाह तेरो नाम इशवर तेरो नाम ......
  8. यो जिन्दगीको के कुरा .......
  9. देशले रगत मागे मलाई बलि चढाउनु .....
  10. आशु होइन यी आँखाबाट अक्ष्यर पोखिएछ
  11. लगजा गलेसे
  12. दुनिया जिसे कहते है ......

दोस्रो दिन सरगमको पाठ सरलाई  बुझाए अनि  आफुसित असन्तुष्ट भए जस्तो गरेर मनपरेको गीतको सूचि सरलाई थमाएको थिए 



‘ यो लिस्टमा मन परेको छुटेको गीतहरु धेरै छन् सर   लिस्टलाई कोटको खल्तिमा राख्दै सरले मेरो यो हल्का गुनासोलाई सुन्नु भएको थियो  सरले मलाई ढडास दिदै भन्नु भएको थियो ‘तिम्रो गीतको चयन कस्तो कस्तो  खालको रहेछ भनेर हेर्न खोजेको हो  ’  

सरगमको मेरो यात्रा शुरु भएको थियो  एकदम नियमित भएर हरेक कक्षामा समयमा हाजिर हुन्थ्ये  बडो निष्ठाले सरको  हरेक कुरा सिक्न चाहन्थे  हल्का गुनासो केही विधार्थीको सुनिन थालेको थियो कक्षा बडो
बेसिक भयो  यही  खोजिरहकेको थिए मैले  एकदम बेसिक सङ्गीतको     बाट  

बालापनदेखि गीतहरु प्रसस्त गाएको हो  स्कूल हुदै  क्याम्पस  युनिवरसिटीमा  स्टेजअफिसकिचेन,कोठा बाथरुम चाहे बगैचा जाउ या मोटरसाइकल ड्राइभ गरेर हिडुगीत अधरमा झुण्डिरहेको पाउथे तर अब गाउन मात्र होइन सङ्गीत कला यो शास्त्रलाई बुझन आत्मसात गर्न चाहन्थे  अनि शुरुवात     बाट हुनुपर्छ    बडो खुशि  सन्तुष्ट थिए 

दङ्ग परेको थिए सरको औला समातेर सरगमको यस यात्रामा  टुकुटुकु हिड्न सिक्दैछु  सर हरेक कक्षाको  शुरुवात सङ्गीतको सैदान्तिक ज्ञानबाट गर्नु हुन्थ्यो अनि नयाँ दिनुभएको पाठको  अभ्यासहरु कक्षामा राखिएको हार्मोनियममा आफैले गरेर सिकाउनु हुन्थयो हरेक नयाँ पाठ पुरानो पाठ राम्ररी बुझाए पछि मात्र थप्नु हुन्थयोे  पाठ बुझाउन नसके  त्यही अभ्यास दोहरिन्थ्यो 

स्वर बिस्तारआलाप , स्वर चिन्ने अभ्यास , इयर ट्रेनिङ्ग शुद्ध सुनवाइस्वरको शुद्धताजरफ,स्वरलाई लिदा फाल्दा सहजता ल्याउने अभ्यास, ..सरले सिकाइरहनु भएको  हरेक कुराले मलाई चकित पारेको जस्तो हुन्थ्यो मलाई कति कुरा थाहै थिएन  लोकगीत , आधुनिक सङ्गीत  शास्त्रिय सङ्गीतको भेद जानेर   छक्कै परे 
सरबाट यो थाह पाएर लोकगीतमा  वटा मात्र स्वर हुन्छ  तर आधुनिक गीतमा  शास्त्रिय सङ्गीतमा  वटा र 
विकृत  वटा गरी जम्मा १२ वटा स्वरहरुको उपयोग गरिएको हुन्छ  सर सधैं हामीलाई डुबेर, एकचित्त भएर रीयाज गर्नु  भनेर जोड गर्नु हुन्छ ।  

छतको सबभन्दा माथिल्लो खुला कुना छानेको हुन्छु रीयाज गर्न अनि परतिर इण्डियन एमबेसीको घना जङ्गल पर्छ हाम्रो लाजिम्पाट घरको साँधमा । तर त्यतीबेला मलाई एउटा असाध्य व्यथाले पिरोलेको हुन्छ । छिटो चिसोले समात्छ मलाई  । आँखा पीरो हुन्छ ,आँशु आउछ अनि नाक ठप्पै बन्द हुन्छ । यति क्रोनिक कि ‘म ’ र ‘न’ वर्णको समेत उच्चारण गर्न सक्दिन थिए । पत्रकारिता व्यवसायमा लागेको मेरो व्यस्त दिन रातहरुलाई यो व्यथाले असर गरिरहेको थियो  र मेरो सबभन्दा प्रिय कुरा गीत गाउनुबाट मलाई टाढा लग्दै थियो । कहिलेकाही त मरिदिउ जस्तो हताश अवस्थामा पुग्थे  ।  राती सुत्न नसकेर सिरानीमा अडेस लगाएर निदाउन कोशिश गर्थे । झुपुक्क निदाइ हाले  एमबुलेन्समा राखेर कसैले मलाई अक्सिजन मास्क लगाएको सपना  देख्थ्ये अनि सास फेर्न नसकेर छटपटाएर बिउझिन्थ्ये । डाक्टरहरुको एन्टिबायोटिक र औषधिहरु, वैधको नाकमा लिने नस , चाइनिज अकुपन्चर , योगाचार्यहरुको माटो लेपन र तातोपानीको उपचार देखि नाकमा पानी ,रबर धागोको रेति हाल्ने , होमोप्याथी जडीबुटी सबै चाहरीसकेको थिए । केहीले निको पार्न सकेको थिएन  मलाई । डाक्टरहरु मलाई कोल्ड एलर्जी भएको भन्छन । मेरो नाकको अप्रेसन गर्न सल्लाह दिन्छन । मेरो दैनिकी उनीहरुले दिएको नोजल ड्रपले चल्ने गरेको हुन्छ । जसलाई दिनको तीनपटक लगाउन सकिन्छ । जसले चार पाँच घण्टा काम गर्छ ।  मेरो यो समस्या सरसित राख्छु । सर भन्नु हुन्छ ‘औषधिमा भन्दा रीयाजमा जोड गर । डटेर रीयाज गर ।’ सरको यो आदेश म सीरउपर लिन्छु । 

बिहानीको ताजा हावा , सरगमहरुको साधनामा मेरो नियमित स्वासको प्रणायाम हुनथालेर हो कि केही सातामै मेरो क्रोनिक अवस्था फरक देखिन थाल्छ । नोजल ड्रपमाथि भर पर्ने  अवस्थामा सुधार आउदै छ महिना दुइ महिनको रीयाज पछि त सजिलोसित निदाउन सक्ने भएको छु  । मनपरेको गीतहरु गाउन सक्ने भएको छु ।
नयाँ जीवन पाएको छ मेरो जीवनले । यो पहिलो अनुग्रह थियो मेरो अम्बर सरको ममाथि एकदिन सरले सोध्नु भयो , मेरो क्यासेट ‘कहिले लहर कहिले तरङ्ग’ सुनेको छौ ?  सरको क्यासेट ?‘ छैन सर ’ भनेर म मेरो अनभिज्ञतासित लजाउछु । सरले मेरोलागि क्यासेट ल्याइदिनु हुन्छ । पहिलो पटक फेरि दोहराएर तेहराएर सुन्छु तर मन अधाउदैन राति पनि सुन्दै निदाउछु बिहान उठेर फेरि सुन्छु । यो सुने पछि म सरको झन ठूलो भक्त बन्छु । शब्द ,स्वर र सङ्गीतको कस्तोे गहिरो मिलन , कती भाव र
 संबेदनाहरु ? उकाली चढदा पसिना पुस्ने, तिमी भूलमा पर्यौ,फेरि आशुले, कहिले लहर यो मनमा चल्छ ...म दूर भएर के भो ...सरको यो क्यासेटको सबै जसो गीतहरु अब मेरो मन र अधरमा सरिसक्छ  । गुन्गुनाउन थालेको छु सरलाई र अति खुशि छु  जीवन फेरि कस्तो सङ्गीतमय हुदैछ ।

हरेक एक दिन बिराएर हुने सङ्गीतको कक्षा भदौ देखि दशै तिहार सकाउदै  मङ्गसिरसम्म नियमित जस्तो चल्यो  काठमाण्डौमा जाडो बढन थालेको थियो सर पानीपोखरीबाट टेम्पो चढेर आउनु हुन्छ रे भनेको सु्नेकोथिए टेम्पोका हुलमुल  चिसो थेग्दै सर बिरामी जस्तो पर्नु हुन्छ त्यसैले सरको उपस्थिती बिस्तारै कक्षामा घटन थाल्छ  रायन दाजुसित सरले दिएको पूर्व अभ्यासहरु दोहराएर विधार्थी सरलाई कुरेर फर्किन्छन नियमित चल्ने सङ्गीत कक्षा स्थगन हुन थाल्छ   कहिले रायनदाजु मलाई फोन गरेर कक्षा नहुने जानकारी
दिनु हुन्छ  मन खसरक्क पर्छ फेरि फोन आउछ सर आउने रे क्लास लिनलाई अनि  अस्मिताको कामसाम छाडेर कुद्धै दिल्ली बजारको उकालो लाग्छु  रायनदाजुलाई तल गेटमा सरलार्इृ पर्खिरहेको पाउछु 

सुसन अम्बर दाई क्वायर आयोजना गर्दै हुनुहुन्छ तिम्रो बारेका सोध्दै हुनुहुन्थयो तिम्रो रुचि  भने क्वायरमा भागलिने हो ?’

क्वायर कोरस संगानको स्वराञ्जली

सरले मलाई क्वायरको लागि छान्नु भयो खुशिले मेरो मन धकधक गर्छ   महिना भयो सङ्गीतको   
सिक्न थालेको  क्वायर गर्न सकुला   ? तर आफूमाथि कुन भर परेर हो ‘हुन्छभनिदिन्छु  तर मनको चोरले 
भने चैन लिन दिदैन ,चुनौति दिदै सोध्छ  नोटेशन पढ्न सक्छस ?’

पश्चिमाहरुको लोकप्रिय सङ्गीतको एउटा हाँगो क्वायर हो  जसलाई कोरस पनि भनिन्छ यस गायनमा एक देखि सयौंको संख्यामा गायक तथा गायिकाहरुले विभिन्न स्वरका भागहरु एकैपटक एकसाथउच्चारित गर्ने गर्छन  नेपालको लागि यो नितान्त नौलो सङ्गीत विधा हो पछि बुझे  सरले यसको नेपाली नामाकरण संगगान  ‘ भनेर  गर्नु भएको रहेछ सरबाट पाएको जानकारी अनुसार  यो क्यानटेटामाराओराटोर्ियो 
जस्ता अनेक प्रारुपमा पनि चिनिन्छन रे  नेपाली  सङ्गीतमा गहन कार्य गर्ने अभिप्रायले२०४९सालमा 
इन्द्रधनुषिय सन्ध्या’ भनेर पहिलो पटक नेपालमा क्वायरको सफल आयोजना  पछि सर यो दोस्रो  क्वायर गर्ने तयारीमा जुटनु भएको थियो 

पहिलो दिन भएको क्वायरको रिहर्सलमा भेट हुन्छ सरको खास चेला  चेलीहरु सरको दीक्षाले वर्षौ देखि खारिएका आभासजी , राजकुमारजी , विरेन्द्रभाई , गंगाजीशिशिरजीरीनाचन्दा देवानसूरजभाईहरु  सरको यी गुनी  अनुभवी शिष्य शिष्याहरुको माझ आफूलाई  पाउछु सरको एकदम कनिष्ठ  काचो शिष्याको 
रुपमा  सरको चेलाचेलीहरु बाहेक यस भीडमा  देख्छु हिट्सएफ एमकी एन्कर मन्दिरा ,  सुक्मीत गुरुङ्ग,
ज्ञानु राणा,पवित्र सुब्बाउदय सोताङ  धनुुषा सिंहसृजनालरेटो सिहं आदी नाम चलेको गायक  गायिकाहरुको सहभागिता पनि   

रेडियो सगरमाथा एवं बातावरण पत्रकार समूह कनकमणि दीक्षित,बसन्त थापा ,मोहन मैनालीआदी हस्तीहरुको व्यवस्थापनमा क्वायरको रिहर्सल जोर सोरले चल्छ  क्वायरको गानको नोटेशनको फोटोकपी मैले पनि 
पाइसके  मेरो भागमा  गाउने कुन हिस्सा हो  मैले कुन सुरमा कुन समूहसित मिसिएर गाउनु पर्छ बिस्तारै
बुझन थाल्छु  कतिपय अवस्थामा  संकट परेको बेला कतिपय ठाँउमा सङ्गीतको मेरो काचो अज्ञानतालाई 
सघाउने यस बखत सरको अति विनम्र  प्रतिभाशाली शिष्य सुरजको मलाई निकै ठूलो आडहुन्छन्   नबुझेको
धेरै कुरा उनलाई नै सोध्छु  अनि खुब मिहनेत गर्छु 



लय समातेर सुरको भरमा गाउने मैले भर्खर के बुझ्न थालेको थिए भने सङ्गीतलाई पढन सकिन्छ पढेर गाउन
सकिन्छ  

किबोर्ड  पियानोमा सरले  पहिला सरगममा खुव  रटाएर अभ्यास गराएपछि अनि बल्ल पछि मात्र शब्दमा 
गाउने रिहर्सल गराउनु  हुन्थयो 

क्वायरको रिहर्सल 

सरको शब्द रहेको माथी आकाश तल धरतीजहाँ जहाँ हरियाली  अनि गीतकार रत्न सम्सेर ज्यूको शब्द रचना मधुमास फूल , छरी रैछ बाबरीसपना,घटनायातनाविविध विषयमा रचिएका जम्मा  बटा गीतहरु प्रकृति  बातावरणमा फोकस गरिएका थिए क्वायर कन्डक्ट गर्न  रिहर्सलमा सरको सहयोगी हात बनेर  सरको दार्जिलिङ्गदेखिको शिष्य एवं साहित्यकार पिटर कार्थक ज्यूको आउनु हुन्छ सरको अनुशासित  महिनौकोरिहर्सलपछि क्वायर निकै शशक्त  सुनिन्छ  विविध स्केलहरुमा  स्वरको गुन्जन  संगमले क्वायर दिनदिनै झनझन बेजोडको सुनिन थाल्छ  

जहाँ जहाँ हरियाली त्यही मेरो बास 
पन्छि  हु  चिरेबिरे बुझ कुरा खास 
तिमी रुख काट्छौ हेर बास हाम्रो टुट्छ
पहिरोले तिम्रो पनि घरबारी लुट्छ..
हिजो आज प्रकृति यो धेरै नै निराश 
तिमी बुझ या नबुझ कुरा हेर खास 

कुकुकुकु कुकुकुकु कुकुकुकु

क्वायरको यस गीतको बीचमा पालैपालो कोयलीको भाखामा कुकु कुकु गर्न पर्ने एउटा पंति आउथ्यो अनि आफु अनायसै कोयली
 बनेको आभासमा संगानका सहभागी गायकगायिकाहरु रमाउथे ।अनि साँझबिहान घरमा अभ्यास गर्दा भने रमाइलो मान्दै सानी मेरो छोरी  आस्था मलाई सघाउथी कुकुकुकु ...कुकुकुकु....कोयली जस्तो मीठो स्वरकी  मेरो सानी आस्था मेरो कुहुकुहु ! 

क्वायरको रिहर्सलमा शिष्यशिष्याहरुको माझ कुरा भएको सुनेर  थाह पाए सरकहाँ सरस्वती पूजा मनाइयो रे हरेक साल सरस्वती पूजा सरकहाँ मनाउने चलन रहेछ ।  मन उदास भयो म त छुटेछु। तर थाह पाए फाल्गुन १४ गते सरको जन्मदिन हो रे अनि के थियो मलाई जायज बहाना मिलेको थियो 



सरलाई के उपहार मन पर्ला खुब सोचे । पुतली सडकको पसलहरु चहारे अनि बल्ल एउटा सिल्कको टाइसित म्याचिङ्ग रुमालको सेट मनपर्यो सो  किनेर फुलहरुको बुके लिएर पुगेको थिए पानी पोखरीमा बिहानै  डोरबेल बजाउन ।फुल र बगैचाले भरिएको यो सुन्दर घरमा म पहिला पनि आएको थिए । एन कुफमेन सरको अमेरिकन बुहारीसित अस्मिता पत्रिकाको केही प्रोजेक्टहरुको सिलसिलामा । सर हालसाल यहाँ बस्नु भएको कुरा थाह थियो तर ढोका भने सरको छोरा राजुदाईले खोल्नु भयो । सर मोर्निङ्ग वाकमा जानु भएको रहेछ । मेरो श्रद्धालाई पोख्ने फुल र भावनाको सानो उपहारलाई त्यही छोडेर म फर्केको थिए । अब मेरो सिक्रेट काम थियो सरले लगाउनु भएको हरेक टाइ र कोटको खल्तीमा राख्नु भएको रुमाललाई नियालेर हेर्ने । मैले दिएको टाइको सेट कहिले लाउनु हुन्छ होला भन्ने हरेक पटकको मेरो निजी चासो र ध्याउन्न ।
..

नेपाल प्रज्ञा प्रतिष्ठानमा २०५४ चैत्र १२ गते ‘अम्बरको अमर भाखा’ शिर्षकमा दुइ चरणमा छुट्याइएको त्यो अविस्मरणिय सङ्गीतक साँझ । प्रज्ञा भवनमा  स्व. गोपाल  योञ्जनको कला पारखी मिसेज रिन्जेन योञ्जनको दीपमालाले  सजिएको कलात्मक  स्टेजमा सरको आवाजको जादु फैलिन्छ । पहिलो चरणमा सरको एकल गायनले प्रज्ञा हलमा जम्मा भएका सङ्गीत प्रेमीहरुलाई मन्त्रमुग्ध बनाउछ । स्टेजको पर्दा पछाडि उभिएर म सुन्दै जान्छु मलाई मनपर्ने एकपछि अर्को सरको गीतहरु  । यी गीतहरुको गहिरो सम्मोहनमा  डुबेर मानौ म कुनै अर्कै लोकमा पुगेको छु ।



यो महान साधकको साधनाको सिद्धिले होला ,सरको स्वरमा पाइने एउटा खास पन छ जसले मलाई सधैँ जादुको जस्तो असर गर्छ  बाहिरी संसारबाट च्वाट्ै चुडाएर अन्तसभित्रको गहिरो र निर्मल अलौकिक अनुभूतिहरुमा एक्लै लगेर छोडिदिन्छ । यो जादुको असर त्यतिबेला झन घना भएको पाउछु जब सर लाइभ गाउनु हुन्छ । जीवनमा पहिलो पटक सरलाई लाइभ सुनिरहेको थिए । कत्रो अहो भाग्य मेरो ,सुन्न मात्र होइन अझ साथ गाउन पाइरहेको थिए ।
हरियो सारीमा अम्बर सरको छेउमा उभिएको म J
सेकेण्ड हाफको अन्तराल पछि अब उदधोषण भइसक्यो  दोस्रो चरणको क्वायर गानको लागि ।  गायिकाहरु हल्का गुलाफी र हरियो साडीको पहिरनमा अनि  सेता सर्ट कालो पाइन्ट र कालो बो टाईमा सुसज्जित गायकहरुको २४ जनाको जमात माझ सरको पियानोमा संगान शुरु हुन्छ । कहिले नभएको पृथक रअपरिचित अनुभूतिमा डुब्दै उत्रिदै स्रोताहरुलाई भावनाको संबेगमा बगाएर लैजान्छ ...


फागुन १४ गते  अम्बर सरको शुभ जन्मदिनको 
शुभ अवसरमा अम्बरसरको चरणमा वन्दना चढाउदै विस्थापित पत्रकारको यो डायरीको पानाहरु...

सङ्गीतको मेरो अराध्य,मेरो अम्बर सर ! भाग २  

क्वायर संगगानको स्वर लहरीमा ... 
क्वायर सकिएको छ , एउटा शून्यतालाई मेरो वरिपरी फैलाएर । रिर्हसलमा जाने हतारो छैन । तर क्वायरकोलागि स्थगन भएको हाम्रो सङ्गीत स्कूलको पढाइ कहिले शुरु हुन्छ भनेर मलाई ब्यग्र पर्खाइ छ । तर अम्बर सर भने क्वायरको लामै थकाइ मार्ने मूडमा हुनुहुन्छ । सरसित भेट भएको छैन तर मलाई सरसित भेट्नु छ ।अनि भेटने कुनै पनि मौका खेर फाल्दिन । अझ इमान्दार भएर भनु , सरलाई भेट्ने मौका क्रिएट गर्छु । अस्मिता पत्रिकाको कला, साहित्य, सङ्गीतको स्तम्भ छ जसलाई म हेर्ने गर्छु । अनि सरलाई फोन घुमाउछु र भन्छु सरको अन्तर्वार्ता लिनु छ अस्मिता पत्रिकाकोलागि । ‘ल आउन त यो. शनिबार’ सर मलाई बिहानको समय दिनु हुन्छ । 

अन्तरबार्ता को बहानामा
                                        
म सरकहा पुग्छु प्रश्नहरु लिएर । पानीपोखरीमा राजु दाईको घरको फुलैफुल फुलेको बगैचाको कुर्सिमा बसेर सर मलाई पर्खिरहनु भएको पाउछु । अनि बिना म्याडम हसिलो अनुहारले ममाथि स्नेहले मुस्कुराउदै भन्नु हुन्छ ‘चिया बिस्कुट खाउ सुसन ।’ यो पहिलो भेटमानै म्यामसित म एउटा अदृश्य मायाको डोरीले बाधिएको हुन्छु ।



‘स्वर साधना तानपुरामा गरेको सबै भन्दा राम्रो , हार्मोनियममा पनि राम्रो तर यी बाजाहरुको सुर बेला बेलामा टयून गरिरहनु पर्छ । नत्र गलत सुर लागेर स्वर बिग्रन सक्छ । त्यसैले इलोक्ट्रेनिक बाजा किबोर्डमा स्वर साधना गरेको राम्रो ।’ सरले म्युजिक क्लासमा भनेको कुरा सम्झिन्छु । अस्मिता प्रकाशन गृहले संचालन गरेको एउटा परियोजना अन्तरगत आइएनजीओ सेड्पाकोलागि सुरक्षित मातृत्व र ग्रामिण महिलाहरुको सशक्तिकरणकोलागि तीनवटा पुस्तिकाहरु लेखेवापतको बीसहजार पारिश्रमिक मेरो हातमा परेको छ । अनि एउटा गतिलो किबोर्ड किन्ने तर्खर गर्छु ।



रायन दाजुसित बेला मौकामा फोनबाट कुरा भइरहन्छ , दाजुलाई भन्छु ‘किबोर्ड किन्नु छ मलाई छान्न आउदैन । ’ ‘ल म अम्बरसरलाई लिएर आउला । ’ मलाई रायन दाजुबाट मेरो मनले खोजिरहेको आश्वसन मिल्छ । अनि भेटने दिन तोकिन्छ । त्यो एउटा दिउसो हामी विशाल बजार पुगेका छौ । तेस्रो तल्लाको म्यूजिक शो रुममा पसले विभिन्न ब्रान्डको किबोेर्ड देखाउन थाल्छ । सर एउटा पछि अर्को किबोर्डको पर्दाहरुमा कोर्ड बजाएर हेर्दै छाड्दै गर्नु हु्न्छ । एउटा किबोर्डमा सरको औलाहरु लामो समयसम्म कोर्ड बजाउन व्यस्त हुन्छ । ‘हुं , यो ठीक छ । ’ पाँच अक्टेभको यामाहा किबोर्डसित सन्तुष्ट जस्तो भएर सर आफ्नो निर्णय सुनाउनु हुन्छ । रायन दाजु मोलतोल गरिदिनु हुन्छ पच्चीस हजार भनेको मोलबाट पसले एक्काइस हजारमा झर्छ ।



सरलाई पानीपोखरीमा ड्रप गर्नुछ मलाई अनि सर भन्नु हुन्छ ‘सुसन कमलादी हुदै जाउ है’ थाह पाए सर हरेक मंगलबार गणेश थानको दर्शन गर्नु हुदो रहेछ । ट्याक्सीलाई पर्खाएर हामी गणेश मन्दिर भित्रियौ अनि एउटा दीयो आफुले लिएर अर्को मलाई दिएर सरले तीन पटक गणेशथानको परिक्रमा गर्नु हुन्छ । म पनि सरलाई पछि पछि पछ्याउछु । अनि त के थियो सिद्धिविनायक गणेशजीको सरको यो आध्यात्मिक सानो रीतलाई म नबिराईकन हरेक मंगलबार पछ्याउन थाल्छु ।



लाजिम्पाट घरमा किबोर्ड आइपुगेको छ । मेरो इन्जिनियर श्रीमान् हरि झटपट किबोर्डलाई फिटफाट गरिदिन्छन् । इण्डियन एम्बेसीको रुखै रुखहरु देखिने बैठक कोठाको झ्याल नेर । पाँच अक्टेभको किबोर्डमा झ्याङ्ग झ्याङ्ग कोर्ड बजाउन थाल्छु कुनै सुरमा कुनै बेसुरा । तर बिहान पख सस्टेन बटनमा थिचेर पियानो मोडमा मान्द्रको प, मध्यमको सा नोटमा लामो साधनामा डुब्छु ।



म मेरो किबोर्डलाई किबोर्ड भन्नु भन्दा पियानो भन्न रुचाउछु । बिराटनगरमा हिन्दी सिनेमाहरु हेरेर हुर्केको मेरो बाल्यकाल हिरोहिरोइनले पियानोको सेतो कालो पर्दामा औलाहरु सार्दै गीत गाउदा म हुरुक्कै हुन्थ्ये ।यो बाजाको आवाज र गज्जबको सौन्दर्य देखेर म मख्ख पर्थे । घरमा आएर धाकदिन्थे म ठूलो भएपछि पियानो किन्छु । यो सपनालाई बिहे भएपछि मैले मेरो श्रीमान्सित  पोखेको थिए । उनले एकदमै व्यवहारिक भएर भनिदिए ‘सानु हामी पियानो किन्न सक्दैनौ ।’ मनभित्रको यो सपनालाई कठोर यथार्थले चस्काएर दुखाएको थियो । कस्तो चित्त दुखेर रीस उठेको थियो , ल अहिले नसके पनि पछि किनैला भनिद्एिको भए हुन्थ्येन र  म कति दिनसम्म ठुस्केर बसे हरिसित । मेरो एउटा साह्रै आत्मीय र असल दाजु हुनुहुन्छ नगेन्द्र दाजु । उहाँसित पनि कुन प्रसङ्गमा भन्न भियाएको रहेछु पियानो किन्ने कुरा । दाजुले हास्दै भन्नु भएको थियो ‘सानु ! जीवनमा अरु आवश्यकताहले तिम्रो पियानो किन्ने चाहनामाथि रिप्लेस गर्दै जानेछ ।’कति साँचो, मेरो भविष्य नै देखेको जस्तो गरी गरिदिएको

भविष्यवाणि । साच्चै नै पियानो भन्दा जरुरी साना र ठूला आवश्यकताहरुले संधै प्राथमिकता पाई रह्यो । घडेरी जोडियो , घर बन्यो , स्कुटर आयो ,मोटरसाइकल, कार आयो तर पियानो किन आएन ह ? बालापनको पियानो किन्ने त्यो निर्दोष सपनालाई प्रौढ हुदै बुढेसकालतिर कोल्टे फेर्नथालेको जीवनमा पुगेर पनि पुरा गर्न नसकेकोमा आफैप्रति मेरो हृदयभित्र खेदपूर्ण र गहिरो खोप छ । मेरो छोरा ओजस्वी पियानो सिक्दै छ उ पनि अम्बर सरले किनीदिनु भएको किबोर्डमा पियानो लेसन अभ्यास गर्छ । उ भन्छ ‘मामु पियानो किनी दे । ’ र म पनि सोच्छु यो पाला त पक्कै यो बर्ष त पक्कै ।



पियानो प्रसङ्गमा बहकिएर गएको मेरो सोचहरुलाई फेरि अम्बरसरमाथि फोकस गर्दा म पाउछु त्यतिबेला हाम्रो 

सङ्गीत स्कूल फेरि शुरु हुने कुनै सुरसार र छाटकाट छैन । बरु अपर्झटको  कार्यक्रम बनाएर सर र म्याडम अमेरिकातिर जानु भएको सूचना पो पाउछु रायन दाजुबाट । तर मेरो सङ्गीत साधना जारी राखेको छु । नियमित सरगम र सरले दिनु भएको पाठहरुको तमन्य भएर साधना गर्छु । पुस्तक पसलहरु चाहरेर शास्त्रिय सङ्गीत सम्बन्धित किताबहरु बटुलेको छु र स्वअध्ययन जारी राखेको छु ।



घरमा किबोर्ड छ । श्रीमानले बजाउने गीतार अनि फ्लुटसितै अलि पर कुनामा थन्किएर बसेको छ एउटा भायलेन । पियानो पछि मलाई मनपर्ने बाजा भायलेन हो । केही छ यसको तारहरुको कम्पनमा ,साह्रै सोलफूल । मेरो अन्तसमा थाह छैन कसलाई स्पर्श गर्छ मेरो आत्मालाई शायद ? भायलेन बजाउन आओेस नआओस अस्मिताको एउटा सेमिनारमा फिलिपिन्स गएको बेला त्यहाँको प्रसिद्ध बजार बक्लारानबाट भायलेन किनेर ल्याएको थिए । साथमा किनेको थिए पियानो  र भायलेनको विगनर्स लेभलका दुइचारबटा किताबहरु । म मनमनै सानी आस्थालाई भायलेन सिकाउने सपना बुन्दै छु । अनि पियानो सिक्ने योजना आफ्नोलागि बुन्दैछु ।



यो दुबै सदकार्यकोलागि सरको खास शिष्य सुरज भन्दा उपयुक्त  अरु को होला त ? रिहर्सलमा मैले देखेको थिए उ सबै खालको बाजाहरु बजाउन पोख्त छ । सर रिहर्सलमा थाक्नु भए पछि ‘ल सुरज बजाउ त ’भनेर पियानो, किबोर्ड सुरजको भरमा छाडिदिनु हुन्थ्यो । सुरजलाई कहिले गीतार त कहिले भायलेन समेत समातेको देखेको थिए मैले । राजकुमार जी भायलेन बजाउने सरको सबभन्दा योग्य शिष्य । तर मेरो पहूँच यतिबेला सुरजसित मात्र थियो । सुरज क्वायरको समयदेखि मलाई भाइजस्तो आत्मीय लाग्न थालेको थियो । एकदिन मैले उनलाई चियाखान लाजिम्पाट घरमा डाके र आफ्नो मनको कुरा खोले । सुरजले मेरो अनुरोधलाई बडो हार्दिकतासाथ स्वीकारे र भने ‘ दिदी अहिले म नै सिकिरहेको छु तर जति आउछ म सिकाउने कोशिश गर्छु । ’

सानी आस्था सुरज सरसित भायलेन सिक्दै 
 अनि त के थियो सुरज भाई हामी आमा र छोरीको सुरज सर बनेर हप्ताको तीनदिन लाजिम्पाट घरमा भायलेन र किबोर्ड सिकाउन आउन थाले । नोटेशन माइनर मेजर जीसेभेन कोर्ड़का  कतिपय गहिरा कुराहरु मेरो टाउको माथि माथि भएर जान्छ । बडो धैर्यले गभ्मिरताले सिकाउन तल्लिन  सुरज मलाई किबोर्ड प्य्राक्टिस बढी गर्न जोड दिन्छन् । सानी आस्थाले भायलेन सिकिरहेको देखेर म मख्ख छु ।

पहिलो गुरुपूर्णिमा

केही महिना अमेरिका बसेर छोराछोरी भेटेर सर नेपाल फर्किनु भएको सुन्छु । मलाई सरलाई एकदम भेटन मन छ । अनि मौका पनि छिटै हात लागेको छ । सुरज मलाई सूचित गर्छन‘ दिदी गुरुपूर्णिमा आउदै छ सरकहाँ जानु पर्छ । गीतको तयारी गर्नुस है सरले गाउन पनि लगाउनु हुन्छ नी ।’ गुरुपूर्णिमाको बारे म एकदम अनभिज्ञ छु । जिज्ञासु भएर सुरजलाई केरकार गरिबस्छु । कस्तो हुन्छ गरुपूर्णिमा मनाउने रीत ? के व्यवस्था गर्नु पर्छ ? के लानु पर्छ ? फलफूल क्षमताले दिएको उपहारहरु जोडेर मोटरसाइकलमा सुरजलाई पछाडि राखेर म गुरुपूर्णिमा मनाउन सरकहाँ हिडिदिन्छु ।



सरको जेठा छोरा किशोरदाईकहाँ सरका शिष्य शिष्याहरु भेला भएका छन् । सर उज्यालो धपक्क बलेको मुहार लिएर तानपुरा समातेर बस्नु भएको छ । धूपबाति बलिरहेको सरस्वतीको प्रतिमा अगाडि रातो टीका र फूल पूजाको थाल छ । शिष्यशिष्याहरु एकएक गर्दै सरकोे समीप पुग्दछन । सर टीका लगाइदिनुु हुन्छ ,उनीहरु सरको चरण स्पर्श गर्छन र सर आशीर्वाद दिनु हुन्छ ।


गुरुपूर्णिमाको  आशिष 

मैले घरबाट फूलसित मिसिएको अक्षतालगेको छु , सरको चरणमा राखेर मौन वन्दना गर्छु ‘ यो चरण मेरो शरण हो ’ अनि मेरो निधारले पहिलो पटक सरको चरणलाई स्पर्श गरेको छ । निधारमा टीका लगाइदिएर सर आशीषको हात मेरो शिर उपर राखिदिनु हुन्छ । मानौ जग स्वीकृत गरिदिनु भएको छ तिमीलाई मेरो शिष्यत्वमा लिए ।



साजवाध समाउदै सरका प्रतिभाशाली गुरुभाइहरु सरका वरिपरि अनुशासित भइ बसेका छन् । तबला ,हार्मोनियम , किबोर्ड ,भायलेनको सुरमा सुर मिलाउदै टाङ्गटुङ्ग , ठाकठूक गर्न व्यस्त देखिन्छन ।


रागरागिनीहरुको तरङ्ग फैलाउदै अम्बर सर 

म भने पहिलो दिन स्कूल गएको बच्चा जस्तै संकोचले एउटा कुना छानेर बसेको छु । सास रोकेर हरेक गतिविधिहरुलाई अवलोकन गरिरहेको छु । म देख्छु तानपुराको तार कसेर सरले मुडमा स्वर आलाप लिन सुरु गर्नु भएको छ एक पछि अर्को रागरागिनीहरु तरङ्गित हुन थाल्छ बातावरणमा । ल ताल दादरामा देउ । एकै छिन पछि झपताल बजाउने निर्देशन पाउछन शिष्यहरु अनि ताल फेरि कहरवामा फेरिन थाल्छ । सरको शास्त्रीय तान, मुखडा बन्देजहरुलाई तबला ,हार्मोनियममा सरलाई पछ्याउन शिष्यहरुलाई हम्मे हम्मे परिरहेको छ । कस्तो झम्म भएको मलाई यस्तो शास्त्रयीय संगत त मेरो जीवनमा कहिले आएको थिएन । नशा जस्तो मात लागेको जस्तो रागरागिनीहरुको यो कस्तो जादुमा बेस्करी जकडिएको थिए म ? आँखा भरिन खोज्छ ,हातमा काँडा उम्रिन्छ अनि अर्को पल उर्लेर आउछ भेल जस्तो आनन्द मनभित्र ।



अनि अनायास चकमन्न फैलिएको छ र सरले भनेको सुन्छु ‘ ल अब तिमीहरु गाउनु । ’ सरका शिष्य शिष्या कस्सिएको छन् पालैपिलो सरको गीतहरु त कोही आफैले रचेको गीत सुनाउछन कोही सुनाउछन् आधुनिक नयाँ पुराना नेपाली गीतहरु त कुनै लता रफीका पुराना हिन्दी गीतहरु । म तमन्यतासित सुनिबस्छु ।



मतिर औल्याउदै सर आदेश दिनु हुन्छ ‘अब तिमी गाउ त ।’ सरको अगाडि पहिलो पटक गाउने निम्तोले मेरो मुटुको टेम्पो द्रुत गतिले ढुक ढुक गर्छ । ‘ केही मीठो बात गर ’ म नारायण गोपालको कालजेयी गीत गाउछु । सरको फेरि आदेश आउछ अर्को पनि गाउ कुनै हिन्दी । सरको फर्माइसमा खुशि भएर गाउछु लताको यो मलाइ साह्रै मनपर्ने गीत ‘अल्लाह तेरो नाम ई्श्वर तेरो नाम ।’


सुर छ ,सुरा छ ,आलुको कोफ्ताको व्यन्जन पनि छ । पूरी तरकारी ,गोलभेन्डा, आलुको पीरो अचार पनि छ । म तीन दङ्ग परेर घर फर्किन्छु । पहिलो गुरुपूर्णिमा मनाएको खुशियालीमा मलाई राम्ररी निदाउन समेत गारो पर्छ । ओछ्यानमा पल्टेर म पूर्णेको जुनलाई नियाली बस्छु यो रात कस्तो चकहिलो उज्यालो र नयाँ ह ?

निश्छल सरल  गहन अम्बरपन

गुरुपूर्णिमा पछि सुरजसित म एकदुइ चक्कर सरकहाँ लगाउछु तर सङ्गीत सिकाइ पून थालनी हुन सकिरहेको छैन । सरको अस्थायी बास छ । सर कहिले राजु दाइ कहाँ कहिले किशोर दाइ कहाँ बस्नु हुन्छ । बिना म्याम अमेरिकाबाट फिर्नु भएको छैन अनि एकदिन कुन हिम्मत गरेर म फोनबाटै सरलाई लाजिम्पाट घरमा खानखान निम्त्याउछु । तर मलाई पक्का विश्वास छ सरले मलाई टार्नु हुनेछ । तर मलाई तीन छक्क पार्दै सर‘ हुन्छ म साढे एघार बजे आउला ’पो भन्नु हुन्छ । दङ्ग परेर म तैयारीमा लाग्छु । तर कस्तो दुर्भाग्य त्यो  शनिवार नेपाल बन्द पर्छ । तर म भित्र भने आफूलाई आश्वसन दिन्छु पानीपोखरी राजुदाइको घर लाजिम्पाटबाट टाढा छैन सर पक्कै आउनु हुन्छ । हाम्रो घर अलि गल्लिहरु भित्र पर्छ अलमल नहोस भनेर म होटल सांग्रिला अगाडि सरलाई कुरेर बस्छु । नियत समयमा सरलाई परबाट हिडदै आउदै गरेको देख्छु । सर त त्यो दिन किशोरदाइको घरमा हुनुहुदो रहेछ र चक्रपथको गंगालाल हस्पिटलको दुरीबाट हिडदै आउनु भएको रहेछ । सरलाई हिडाएर यति धेरै दुःख दिएकोमा मनको एउटा कुनामा म दोषी अनुभव गरिरहेको थिए भने अर्कोतिर भक्तको घरमा भगवान आएको जस्तो गरी मेरो मन खुशीले गदगद पनि थियो । भुइमा खुट्टा थिएन मेरो ।

लाजिम्पाटको हाम्रो घर 
मेरो गृहस्थिमा भोजपुर पहाडबाट भर्खरै हामीसित बस्न आउनु भएको मेरो सासु ससुरा ज्यू , मेरी सानी आस्था , बिराटनगरबाट काठमाडौं पढन उक्लिएकि मेरी कान्छि बहिनी सुषमा अनि मलाई घरको कामकाज सघाउने बैनी बिमला सबैसित आत्मीयतासित भेटेर सरले सोध्नुभएको थियो ‘ज्वाई साहेव खै त ?’ दुइ वर्षकोलागि अध्ययनकोलागि भर्खरै कोलोराडो जानु भएको छ सर । ‘ए नियास्रो लागेको होला तिमीलाई ’ सर मलाई सहानुभूति पोख्नु हुन्छ । तर बिछोडहरुको म अभ्यस्त छु म सरलाई थाहा दिन्न कामको सिलसिलामा हामी एकअर्कासित कति बिछोडमा परिरहन्छौ भनेर ।



सरलाई के खाना मनपर्ला भनेर केही व्यन्जन बनाएको थिए केही ट्रेडिशनल त केही रेसिपी बुक हेरेर । अनि टेबलमा स्न्याक्सहरु । पापड, बादाम, चिकेन चिली, काजु, अनि ड्रिन्क्स के राख्ने होला ? कोक ,फेन्टा ,पानीको बोटल, अनि एउटा रेडवाइनसित टेबलमा शिशाको ग्लासहरु पनि सजाइदिएको थिए । सरलाई जे मनपर्ला । म संकोचले बसेको देखेर सरले रेडवानइनतिर औलाले देखाएर मलाई सजिलो बनाउदै अराउनु भयो ‘ यो खोल अनि गिलासमा राख । ’अनि भुटेको काजुको कचौरा तानेर कुपुकुपु काजु खाएको देखेर थाह पाए सरलाई काजु मनपर्दो रहेछ ।


‘तिम्रो हार्मोनियम देखाउ त ’ एकछिन बजाएपछि सर भन्नु हुन्छ‘ म कहाँ ल्याउनु हर्माेनियम माइलालाई बोलाएर यसलाई टयूनिङ्ग गर्न पर्छ । ’ त्यो अपरान्ह सर सबै भोजन मीठो मानेर खाइदिनु हुन्छ अनि मलाई एउटा भारतीय उस्तादसितको विभन्न अनुभवहरु सुनाउनु हुन्छ । सरको शास्त्रिय साङ्गितिक ज्ञान कुनै निश्चित स्कूलको पठनपाठनबाट नभएर सरले विभिन्न प्रयत्नहरुले एकत्रित गर्नु भएको ज्ञान रहेछ । शास्त्रिय सङ्गीत सिक्ने अभिलाषाले सर एकपटक दार्जिलिङ्गबाट कलकत्ताको एक भारतीय उस्ताद कहा जानु भएको रहेछ । उस्ताद भने सरलाई दिनभरी जस्तो कुराएर ‘कल फिर आना हा ’ भन्दै केही नसिकाइ फर्काएर पठाउदो रहेछ । एक मित्रको घरमा बस्नुभएको सरको साथ लगेको पैसा पनि सकिदै गएको थियो रे तर उस्ताद भने दिनदिनै ‘कल आना हा ’ भन्दै सरलाई रित्तो हात पठाउदो रहेछ । सरले मित्रसंग सल्लाह गरेर ‘भो अब दार्जिलिङ्ग फर्किन्छु केही सिकाएको हैन ’ भनेर दिक्क मान्दै त्यो दिन बिदा माग्न उस्तादकहा पुग्दा त ‘आइए अम्बरसाहेब हम आपके धैर्यको परख रहे थे शास्त्रिय सङ्गीत सिखनेके लिए बहुत धैर्य होना चाहिए ।’ अनि उसले सरलाई घेरै कुरा सिकायो रे । सरसितको मेरो त्यो अपरान्ह अविस्मरणिय भएर बित्दैछ अनि सर मलाई जादाजादै गहिरो कुरा भन्नु हुन्छ ‘अहिलेको जमानामा योग्य गुरु पाउन गारो हुन्छ तर योग्य शिष्य पाउन त्यो भन्दा पनि गारो हुन्छ ।’



त्यो दिन उस्तादसित सरको धैर्यले जवाफ दिइसकेको थियो भाग्यवस त्यो दिन धन्नले त्यो उस्तादको भने सरको परीक्षा लिने धैर्य सकिएकोे दिन परेछ । म मनमनै प्रण लिन्छु ‘सरले मसित जे परीक्षा लिन चाहानु भए म धैर्यले पुरा गर्न सकु म सरको योग्य नभए पनि विनीत शिष्य बन्न सकु ।’

गुरुकुल  मेरो माइतघर



हार्मोनियम लिएर सरकहा पुगेको छु । उपचार पाएर मेरो हार्मोनियम अरु मीठोसुरमा बज्न थालेको छ । जाडो बित्न थालेको छ अनि सरस्वति पूजा फेरि फर्केर आएको छ । 


सरस्वति पूजाको अवसरमा 
सरस्वति पूजाको दिन सर हामीलाई टीका र आशीर्वाद दिनु हुन्छ तर साजवाध छुनु हुदैन । सरको घरमा बर्षको एकदिन बाजाहरुले आराम पाउछन् । शिष्यहरुमा गानाबजाना पनि हुदैन । त्यो दिन फाटफुट शिष्यहरु आउदै जादै थिए साँझ झरेर रात पर्ने तर्खर गर्दा म पनि सरसित विदालिने सुरमा के थिए सरकहाँ एक परिचित र स्थापित पत्रकार आइपुगे । ‘अम्बरदाई बसौं आज जाडोे छ’ मैलै देखे उनले साथमा सुरा ल्याएका छन र मलाई ग्लास ल्याइदिने अनुरोध गरे । ग्लासहरु टेबलमा राखिदिएर झोला टिपेर बिदा पाउ भन्दै थिए उनले भने ‘बस्नोस न एक दुइ पेग तपाई पनि लिनोस । ’ झोला भिरेर ढोकामा म क्वारक्वारति उभिरहेको देखेर सर मेरो बचाव गर्दै मैदानमा ओर्लिनु हुन्छ । कुनै खास कुरा भन्नु पर्दा सरको एउटा खास अन्दाज छ हात उठाउने । यसो गर्दा देब्रे हातको हत्केला बिचमा फाटिन्छ माझि औला चोरी औला , साइली औला र कान्छि औला युगल भएर जोडिन्छन । सरले पत्रकारलाई भनिरहेको सुन्छु ‘ सुसन त मेरो चेली हो । मेरो चेलीबेटी जस्तो । ’



म लुसुक्क बाहिरिन्छु । मोटरसाइकल स्टार्ट गरेर फुररर्र उडछु । र बाटो भरि सरसित मुग्ध भइरहन्छु । सरले मलाइ आज कति ठुलो स्थानमा लगेर राखिदिनु भएको छ । चेलिबेटी बाबै । नेपाली शब्दकोशको यो शब्द मलाई साह्रै मनपर्छ । चेलिबेटीको आदरार्थी यो एउटा शब्दले महिलाजातलाई मानौ सारा स्नेह र अपनत्व र सम्मान खनाइदिएको जस्तो । यो दिनदेखि गुरुकुल मलाई माइत जस्तो लाग्न थाल्छ ।


सुरजभाइबाट जानकारी मिल्छ सर डेरा खोज्दै हुनुहुन्छ‘ दिदी एउटा ठीक्कको कोठा चाहिएको छ सरकोलागि । भाँडा त्यति महङ्गो होइन ।’ सुरजभाइलाई लिएर लाजिम्पाट र महाराजगन्जतिरका मेरो नातागोता छर छिमेकतिर पुग्छु ।  महाराजगंजको एउटा डेरा सरलाई अलि मनपरेको जस्तो हुन्छ ‘सानु यो घरपटिअलि किचकिचे छ है गानाबजाना गरेको  मन पराउदैन होला ’ दिदी भिनाजु मलाई खुसुक्क सूचित गर्नु हुन्छ । हरे शिव ! कस्तो अभागि मान्छे रहिछ गानाबजाना मननपर्ने म दिक्क भएर हिडछु ।

पुस्तक मेला - जर्मनी 
अस्मिता प्रकाशन गृहलाई जमर्नीमा पुस्तक प्रर्दशन मेलामा भागलिने निम्तो आएको छ । म अस्मिताको प्रतिनिधित्व गर्दै जर्मनी लाग्छु ।अनि तीनहप्तापछि नेपाल फर्किन्छु । सुरज भाइबाट सर बाँसघारीतिर सर्नु भएको थाह पाउछु । म डेरा खोज्दै पुग्छु । एउटा सिङ्गै एकतले घर बगैचा तीनबटा फराकिलो कोठा र किचन भएको घर मलाई मनपर्छ ।तर सर विरामी जस्तो देख्छु । ज्वरो आएको छ सरलाई । सूप ब्रेड फलफुल लग्छु फ्रिजमा राखेको बटरको सानो टुक्रामा सूप बनाएर सरको टेबलमा राखिदिन्छु अनि सरले सुपुसुपु सुप खाएको हेरिबस्छु । बिना म्याडम अमेरिकाबाट फर्किनु भएको छैन । ‘सर म कहा जाउ म रेखदेख सेवा गर्छु नि ’सर मुसुमुसु हासेर मलाई टारिदिनु हुन्छ । अस्मितामा भनिदिएको छु केही दिन अफिस आउदिन ‘गुरुको सेवा गर्नु छ सुसन दिदीलाई ’अस्मिताका साथीहरु मलाई छेड हान्छन् ।‘ गुरुको सेवा गर्न भाग्य चाहिन्छ ’ मेरो जवाफसित उनीहरु समहमत छन् ।



यो घरमा सर घरिघरि बिसन्चोमा परिराख्नु हुन्छ । छिमेककाले सर सुत्ने कोठामा घरपटिको किशोर छोरा झुण्डिएर मरेको कुरा सुनाए पछि यो घर नजिकैको अर्को घरमा तत्कालै सर डेरा सर्नु हुन्छ । सरको स्वास्थ राम्रो हुन थाले पछि यहाँ शनिवारहरुमा मेरो नियमित लेसनहरु पनि शुरु भएको छ । म्याडम पनि अमेरिकाबाट फर्किनु भएको छ ।



प्रज्ञा प्रतिष्ठानको कुलपति पदबाट हालै रीटायर्ड हुनुुभएको सर भावनात्मक र आर्थिक समस्याहरुसित जुधिरहनु भएको छ । तर सरको ढोकामा भने सबै कुरा निशुल्क छ । सर हामीसित केही माग्नु हुदैन खाली दिनु हुन्छ । जस्तो एउटा वृक्षले छाहारीको मोल खोज्दैन आफ्नो फलको मोल माग्दैन । जस्तो फुलले सुगन्धको कुनै मोल लगाउदैन । खोलाले तिर्खालुसित पानीको शुल्क खाज्दैन । सर दिन जान्नु हुन्छ लिन जान्नु हुदैन । त्यसो त सरलाई पैसा नचाहिने होइन । बाँच्न हरकोही मान्छेलाई पैसा चाहिन्छ । जीवनको बेसिक निडस सबैको हुन्छ कलाकारको जीवन यसको अपवाद छैन । व्यवहारिक जीवन ,परिवार सबैको जस्तो एउटा कलाकारको पनि हुन्छ । सरको पनि छ । तर अभाव र अस्थिरताहरुमा पनि सरमा सन्तोष गर्ने खुबी छ एउटा सन्तले जस्तो ।



यो बर्षको गुरुपूर्णिमा फेरी फर्केर आएको छ । म अलि छिटो पुगेको छु । म्याडमलाई सन्चो छैन, बेडमा पल्टिरहेको देख्छु । अनि किचनमा हेर्छु सरले किनेर ल्याउनु भएको चिउरा, आलु अनि प्याज प्लास्टिकको झोलामै छ । शिष्यहरु भेला हुने बेला भइसकेको छ पकाउने समय छैन । म हतारिएर चक्रपथको मिठाइपसलबाट जेरी, समोसा, निम्कि ,फुरनदाना अनि कागजको प्लेट ,प्लास्टिकको चम्चाहरु किनेर फर्किन्छु । अनि सबैको भाग बनाएर राखिदिन्छु ।

फर्किएर आएको गुरुपुर्णिमाको साँझ 



गुरुपुर्णिमाको साँझ फेरि उस्तै सङ्गीतमय भएर वातावरणभरी फैलिएको छ । सर मलाई सूचित गर्नु हुन्छ ‘ सुसन दीप आउँछन उसकोलागि पनि भाग राख्न नबिर्सिनु । ’ ‘छ सर किचनमा केही भागहरु अझै बाकि छ’ म सरलाई आश्वस्त पार्छु । दीप श्रेष्ठ सरलाई दादा भनेर सम्बोधन गर्छन उनी सरको प्रिय छन सर प्रज्ञा प्रतिष्ठानको कुलपति हुदादेखिको उनीसितको सम्बन्ध आत्मीय छ । उनी मेरो किशोर अवस्थादेखिको अति मनपर्ने गायक हुन अझै पनि उनको गीतहरु गाउदा म कुनै किशोरी जस्तै मख्ख पर्ने गर्छु ।


रागरागिनीहरुको भुलभूलु कुलकुल खोलीहरुमा बग्दै



भक्तपुरमा‘ अम्बर र शिष्यहरु ’ भनेर शोको तैयारी चलेको छ सर हामी शिष्यहरुलाई गीत गाउन सिकाइरेहनु भएको छ ।


भक्तपुर साँझको तयारीमा 
मेरोलागी सरले ‘देखे सपना साकार भयो भन्ने बोलको’ सेमी क्लासिकल गीत रचिदिनु भएको छ । अर्काे तर्फ नियमित रुपमा मेरो शास्त्रिय सङ्गीत लेसन जारी छ । शुद्ध स्वरको बिलावल राग सकाएर सरले अब यमन कल्याण राग सिकाउन थाल्नु भएको छ मलाई । पण्डित रवि शंकरले कण्ठ र बाध दुबैको निम्ति रचेको तान लगायत यमनको मुखडा बन्देजमा हामी गुरुशिष्या भुलिन थालेको छौ । 


शास्त्रिय  संगीत  ज्ञानको दर्शन 
अधिकांश सर हार्मोनियममा मलाई साथ दिनु हुन्छ अनि सर मलाई तालमा साथ दिन तबला बजाइदिनु हुन्छ । घरकोलागि अभ्यास गर्न भनेर सरले क्यासेटमा तबलाहरुको विभिन्न ताल रेर्कड गरिदिनु भएको छ । त्रिताल मात्रा १६ भाग ४ , दादरा ६ मात्रा , रुपक ७ मात्रा , दीपचन्दी १४ मात्रा, । कहरवा ८ मात्रा, । म हराउन थालेको छु यमन रागको मिठासमा । तिव्र मध्यम लाग्ने यो रागको जादु साँझ पख झन घना बन्छ, अनि सरको अभ्यास सकाए पछि म हराउन थालेको छु ‘ जब दीप जले आना ’ । रैना बित जाए । बिते ना बिताए रैना ...जस्ता कल्याण रागमा आधारित यशपाल र लता ,भुपेन्द्रको गीतहरुमा । धेरै पटक गाएका यी गीतहरुलाई अब चिनेर बुझेर गाउन थालेको छु । यमनको पाचँ छ महिनाको लगातार अभ्यासपछि काफी रागको अर्को खुडकिला चढेको छु । ग कोमल र नी कोमल लाग्ने राग काफी स्वर अलाप , बन्देज, गत ,मुखडा सर एकपछि अर्को लेसनहरुमा दिदै जानु हुन्छ । राग के हो थाट के हो कसरी बन्छन रागरागिनीहरु ? कुन प्रहरमा कुन राग गाउदा प्रभावशाली हुन्छ ?शास्त्रिय सङ्गीत  दर्शन शास्त्र मेरो सामु खोल्न सर प्रयत्नसिल हुनुहुन्छ । म भने आफनो क्षमताको सानो पात्र लिएर महासागरको अगाडि उभिएको छु । र आफनो सानो पात्रमा यो महान साधकको अथाह सङ्गीत ज्ञान समुन्द्रको पानी उघाउने प्रयत्नमा छु ।

सरले किनिदिनु भएको स्त्री स्वरको तानपुरा 
अब तानपुरामा स्वर अभ्यास गर्न सर मलाई सल्लाह दिन थाल्नु भएको छ । सरको ठूलो तानपुरा हल्का बजाउन सिक्दै छु तर सर भन्नु हुन्छ तानपुरा पुरुष र स्त्री स्वरको हुन्छ रे अनि मेरोलागि सरले स्पेशल अर्डर गरेर स्त्री स्वरको तानपुरा इण्डियाबाट मगाइदिनु हुन्छ । भैरव राग सिक्न अब शुरु भएको छ रे कोमल र ध कोमल । बिहान पख भोरको प्रहरमा म भैरवको साधनामा घण्टौ आफुलाई हराउन थालेको छु ।



सरको भनाइ अनुसार भोकल क्यापिटल  गायक गायिकाहरुसित हुन ज्यादै जरुरी छ यो क्यापिटल केवल स्वर साधना र अभ्यासबाट संचित हुन्छ । बैंकमा पैसा जम्मा गरेको जस्तो लेसनहरुको अभ्यास गर्दै यो कण्ठ धनलाई संचय गर्दै जाने कुरामा सर जोड दिनु हुन्छ । म सरको हरेक आदेश शिरोपर गर्छु । सर मलाई बेलाबखतमा भन्नु हुन्छ ‘ तिम्रो र मेरो भेट ढिलो भयो हगी ? तर पीर नगर उमेर भन्दा पनि सङ्गीत भावना , संबेदनशिलतासित बढी जोडिएको हुन्छ र तिमीसित यो प्रसस्त छ । अनि यो एक जन्मको मात्र साधना होइन यो साधना पुरागर्न पाँच जन्मलिनु पर्छ ।’ म मनमनै सोच्छु ढिलै सही जति साधना भ्याउछु सर यो जन्ममा गरी भ्याउछु अनि हरेक जन्म सरको नै शिष्या भएर जन्मिन्छु ।






अम्बर सरको सुस्वास्थ र दीर्घायुको कामना गर्दै विस्थापित पत्रकारको यो डायरीको पानाहरु...


सृजनात्मक सङ्गीतको महान साधक गुरु अम्बर गुरङ

मनको तहखानामा संचित स्मृतिहरुको भण्डार छेउ उभिएर मानौ म अलमलिरहेको छु ,कुनलाई टिपु कुनलाई छाडुको मनस्थितिमा । सरसितको संगतमा बिताएको हर घडिको हर संस्मरण मलाई अहिले उति नै प्रिय भइरहेको छ । यस्तो किन लाग्दैछ सरको बारे म सारा जुनीभरी लेखिरहन सक्छु । तर म अर्कोतिर हतारिएको पनि छु , लाग्दैछ समय छैन , सुन्नेसित पनि सुनाउनेसित पनि ? सरको शब्द उधारो लिएर भन्न पर्दा ‘जीवन हतारिएर संक्षेपमा भनेको कुनै कथा जस्तो रहेछ ।’ साच्चै म हतारिएको छु फुरररर्र छोटिदै गएको जीवनसित अब विस्तृतमा लामो कथा सुनाइ भियाउने समय नै छैन । साच्चै म हतारमा छु ,फेरि जीवन, भर गर्न सकिने कुरा पनि त होइन रहेछ ।

अब त शब्दहरुको भर पनि  लाग्न छोडदैछ  त्यतीबेला जब निगूढ मनको भाव शब्दमा ढल्नै सक्दैन र भनेजस्तो खोजेजस्तो गरी अभिव्यक्तिन सक्दैन । शायद त्यसैले ताओले पनि भनेका होलान ‘जे भनिन्छ त्यो सत्य रहदैन ।’ उसो भए म किन लेखिरहेको छु त ? आफैसित प्रश्न गर्न थालेको छु । सारा स्मृतिहरुलाई मनको तहखाना भित्रै  कैद गरे हुन्थेन र ? यसो गर्दा वेचैन हुन्छ कोही मभित्र । मभित्रको त्यो पत्रकार शायद अझै कतै मौजुद छ र  शिष्याको नजरले हेरेको अम्बसरको छविलाई शब्दचित्रमा ढाल्न व्यग्र छ ।

कलाकारको कलात्मक अस्तित्व

नजिकबाट त्यो शिष्याले सरको व्यक्तित्व  झनझन सुन्दर ,सरल र विराट देखिरहेको थियो । तर अम्बर सरमा कमी कम्जोरी पनि हुन सक्छ ,तर खै मैले त कहिले देखिन । कहिले काही म्याम मनको दुःखसुखको कुरा मलाई हल्का पोख्नु हुन्छ । हल्का गुनासो र व्यवहारका पीर बोकेको   म्यामलाई म उल्टै सरको पक्ष लिएर संझाउछु ।‘ सरलाई हामीले बुझिदिनु पर्छ म्याम, आम मान्छेलाई जस्तो सरलाई हेर्नै मिल्दैन ।’ कलाकारको मनको बनावट नै जटिल हुन्छ । घोर संबेदनशिल मन लिएर एउटा साचो कलाकारले बाँच्नु पर्छ यो विचित्रको संसारमा ।

स्रष्टा र सर्जक मात्र भएर उसले यो संसारमा बाँच्न कमै अवसर पाउछ । म अक्सर सोच्ने गर्छु कलाकारलाई केवल कलाको सर्जक भएर मात्र बाँच्न दिए यो संसार कति सुन्दर हुन्थ्यो होला ? उसको अरु कुनै काम नहोस रात दिन सृजनशिल भएर कलाको उपासना मात्र गरिबसोस ? तर यस्तो भएको छैन । सरको भनाई सापटी लिएर भन्नु पर्दा‘ किन उपयुक्त  मान्छेले , उपयुक्त कामकोलागि उपयुक्त  समयमा अवसर पाउदैन ?’  अनि यो प्रश्न मेरो मनमा आजभोलि झन बढी खेल्न थालेको छ । तर सच्चा कलाको साधक, जस्तो जोखिमलाई सहदै पनि कलाको साधना नै गरिबस्दो रहेछ । बरु दुःख र अस्थिरताले कलाकारलाई अरु खार्दो रहेछ , उसको सृजनालाई अरु गहिरो, धारिलो र दरिलो पनि पार्दो रहेछ । जस्तो स्थितीमा पनि कलाको उपासनामा रम्न सक्दो रहेछ सुखी हुन सक्दो रहेछ । के अम्बर सरको  जीवन यसको सुन्दर  उदाहरण होइन र ?

सर अक्सर  रोमा रोलाको  ३ वटा यो सुन्दर आश्वासन सुनाएर मलाई कला साधना गरिरहन प्रेरणा दिनु हुन्छ ।

१. तिमी आफ्नो कलात्मक विकासमा लागि बस, कुनै दिन तिम्रो जीत निश्चित छ ।
२. तिमी आफ्नो कलात्मक विकासमा लागि बस, जीवनमा तिम्रो जीत भएन भने पनि मृत्यु पछि तिम्रो पूजा हुनेछ ।
३. तिमी आफ्नो कलात्मक विकासमा लागि बस, जीवनभर र मृत्युपछि पनि तिम्रो जीत भएन भने, तिम्रो कलात्मक अस्तित्व नै सबैभन्दा ठूलो इनाम हो ।

यस अर्थमा कलाकार हुनुको  जीतै जीत रहेछ , हारमा पनि जीत नै रहेछ  । नत्र रोमाको यो तेस्रो आश्वसन
 ‘कलात्मक अस्तित्व’ लिएर बाचिरहन पाउनु जस्तो सुन्दर र  सबैभन्दा प्राकृत र निजी इनाम  कलाकारकोलागि अरु के होला ?

सङ्गीतमय मौसमहरु

सरको कान्छा छोरा शरद गुरुङ बोस्टन बर्कली कलेज अफ म्युजिक ग्य्राजुएट भएर नेपाल आफ्नो सानो परिवारसहित फर्किएका छन । सरको यो डेरा अब साँघुरो हुन थालेको छ अलि फराकिलो घर खोजेर सरको परिवार चंडोलमा डेरा सर्छ । अगाडि पछाडि  पर्याप्त ठाँउ भएको ठूलो दुइतले चिटिक्क परेको बंगला , अर्को  प्रतिभाको आगमनले अरु सङ्गीतमय भएको छ । माथिल्लो तलामा शरद भाइको अफिस छ । उनले बजाउने पियानोको मीठो तरङ्ग  घरमा जतिबेला पनि सुनिन थालेको छ । सरको घरको सबै परिवार मायालु छन् । म्याम लागायत परिवारमा थपिएको सरको बुहारी मीरा , सरको सानी नातिनी र्कीती पनि  । अनि अति मायाले सधै मसित लुटपुटिन आउने कुकुर भुकुल्ली सिन्ड्र्रु  । सरको घरमा आउने जाने मेरो कुनै टुङ्गो छैन आजभोलि मैले सरसित समय लिनु पर्दैन । म आफ्नो समय मिल्ने साथ कुदेर चन्डोल पुगिहाल्छु । अनि सुरज वर्षदिनकोलागि अनुबन्धित भएर सिंगापुरमा गएपछि सर सानी आस्थालाई भायलेनको केही लेसन दिनु हुन्छ ।

सानी आस्था सरको साथ


मेरो नियमित शास्त्रिय सङ्गीत सरसित सिक्ने अविरल गतिमा जारी छ । भैरव राग पछि भैरवी राग सिक्न थालेको छु । आरोह रे कोमल ग कोमल ध कोमल नि कोमल आवरोहमा पनि रे ,ग, ध कोमल लाग्ने यो रागको पहिचान हुन थाले पछि म हिन्दी सिनेमाहरुमा प्रयोगमा आउने धेरै पुराना गीतहरु विषेशगरि रोमान्टिक गीतहरु यस रागमा आधारित भएर रचेको आभास पाउछु  ।  रागहरुको अभ्यास गर्दा हामी गुरु शिष्यालाइृ तबलामा साथ दिनेको अभाव खट्किएको छ । सर जानकारीदिनु हुन्छ , तबलाको मात्रा रेर्कड भएको डिजीटल यन्त्र पाइन्छ रे सिलगुडीमा ।  गाडीको व्यवसायको कामले सिलगुडी  आउजाउ गरिरहनु पर्ने मेरो नगेन्द्र दाजुलाई संझिन्छु । मलाई भाइटिका ,रक्षाबन्धनमा बहिनीको मनको साइनो लगाउनु हुने यो दाजुलाई मेरो इच्छा पोख्नु के थियो सिलगुडीबाट यो यन्त्र तत्कालै ल्याइदिनु हुन्छ । अनि भन्नु हुन्छ, ‘सानु तिमीलाई केही दिन पाएको छैन यो तिम्रो सङ्गीत साधनामा काम लाग्ने कुरा दिन पाउदा धेरै  खुशि छु ।’ हामी  गुरु शिष्याको साधनामा अब यो अर्को उपयोगी यन्त्रको साथ थपिएको छ ।  सङ्गीतमय मौसम अरु घना भएको छ ।

सरको अनुमति लिएर अब म विहान पख सरले साधना गरिरहेको बेलामा पनि लुसुक्क पुग्न थालेको छु । बिना कुनै आवाज सास रोकेर,  सरलाई कुनै व्यावधान नहोस भनेर सचेत हुदै कुनामा चुपचाप  आँखा बन्द गरेर म सरले गरिरहनु भएको साधनामा डुब्न थालेको छु । अनि साधना सकेर कहिले गुरु शिष्या टुडालदेबीको दर्शन गर्न पुग्छौ ।

सरकहाँ एक अलि भिन्न पहिचान बनाएर आएको एक मान्छेको अनुहारसित म परिचित हुन थालेको छु । उनी सरको शिष्य होइनन् । पेशाले जयदेव जी  व्यापारी हुन तर कलाको पारखी अनि सरको नम्बर एकको फ्यान प्रसंसक त्यो भन्दा बढी ठूलो सहृदयी र सहयोगी । उनी कहिले सरको अभिनन्दन समारोहको आयोजना गर्छन त कहिले सर म्यामलाई केबुल कारमा चढाएर मनोकामनाको दर्शन गर्न लैजान्छन् । गुरुपूर्णिमा ,सरस्वती पूजा आदी हरेक अवसरमा उनी सामेल देखिन्छन् ।  केवल सृजनामा रमाउने सरलाई आफ्नो कृतिहरुको कुनै पर्वाह छैन । सरका पुराना रेडियोमा बज्ने कतिपय गीतहरु हराउन थालेका छन् ।  सरसित ईष्यालु भाव राख्नेहरुले रेडियो नेपालबाट सरको गीतहरु बजाउन नदिने मौहाल बनाएका छन् । सरको कतिपय रेकर्ड बिगार्ने भावले जानी जानी कोरिएका छन् ।  सरको क्यासेट ‘कहिले लहर कहिले तरङ्ग’ बजारमा पाइदैन । लोप हुने अवस्थामा रहेको सरको गीतहरु सहजने तदरुकता देखाउछन जयदेवजी । कहिले लहर कहिले तरङ्गलाई  सिडीको रुपमा बजारमा पुन ल्याउन प्रयत्नशिल छन् उनी । अनि रेडियो नेपालमा सरको पाइए जतिका पुराना गीतहरु साम ,दाम ,दण्ड ,भेद अपनाएर भए पनि संकलन गर्न सफल हुन्छन उनी  । सरको पुराना गीतहरु संकलनको एउटा कपी मैले पनि पाएको छु । नेपाली   सङ्गीत जगतलाई धनी बनाउने सरको सृजनाका यी अमुल्य रत्नहरु बटुली दिने जयदेव जीसित म हृदयदेखि कृतज्ञ हुन्छु । यति मात्र होइन ‘ अम्बर गुरुङ्ग सङ्गीत प्रबन्ध समिति ’बनाउने उनको योजना छ । उनी मलाई यो संस्थाको सचिव बन्ने अनुरोध गर्छन । म खुशिसित मलाई जिम्मादिने काम गर्ने बचन दिन्छु । यसै ताका सरको शोहरु प्रज्ञा भवन , राष्ट्रिय सभा गृहमा भटाभट आयोजना हुन्छन । सरको  नौलाखा तारा उदाए गीतमा हामीहरु सरलाई साथ दिन्छौ  । अनि सरको सरको कान्छा छोरा शरद, सरको काँधमा काँध मिलाएर यो  सङ्गीतमय मौसममा साथ साथै छन् ।

किन पिउछन कलाकार ?

सरलाई असल रक्सीहरु मनपर्छ मलाई थाह हुन थालेको छ । विदेशतिर अस्मिताको महिला सभा, सेमिनारहरुमा गइरहनु पर्ने मलाई अब एयरपोर्टको ड्यूटी फ्रिको स्टलहरुमा सजाइएका बोटलहरुले नजिक बोलाउन थालेको छ । सरकोलागि पहिलो पटक रेडलेभल लिएर आएको हुन्छु र मन भने मेरो दोषि र भारी छ । म्यामको अगाडि रक्सीको बोटल राख्दै म डराइ डराइ कन्फेसन गर्छु र भन्छु । ‘म्याम मैले नाकाम पो  गरे कि सरलाई यो कुरा उपहारमा ल्याउन हुन्नथियो कि ?’ म्याम मलाई स्नेहले हेर्दै भन्नु हुन्छ ‘सुुसन पीर नमान , सरलाई रक्सी पिउनै नदिने कुनै बन्देज लगाएको छुइन तर धेरै पिउन नदिन भने सचेत हुन्छु । ’ मेरो उपहार स्वीकृत हुन्छ । हाम्रो नेवारी संस्कृतिमा रक्सी ऐला सगुन  हुन्छ अत  अब म सरलाई  यस्तो उपहार बोकर आउदा हरेक पटक अनुरोध गर्न बिर्सिदिन ‘ सर एक दुइ पेग सगुन जस्तो गरेर मात्र पिउनु होला ।’

सर पिउनु हुन्छ धेरै पिउनु हुन्छ तर मैले सरलाई मातेको कहिले देखिन । साँझ ढलिसकेपछि सर पिउनु हुन्छ मानौ यो पनि कला उपासनाको कुनै विधि हो ।  ‘कहाँ गए ती दिनहरु ’ पुस्तकको एक संस्मरणमा सरले आफ्ना  अति प्रतिभाशालि पियक्कड गीतकार, समकालिन,साथी भाइ र दौतरीहरु अगमसिहं गिरी ,शंकर लामिछाने ,भूपी शेरचन , ईश्वरवल्लभ , पासाङ्ग वाङ्गबल आदि कलाका उपासकहरुको  पिउने बानीलाई संझिदै  यो प्रश्न गर्नु हुन्छ ‘ किन कलाकारहरु बढी पिउछन् ?’ र शायद आफैसित पनि प्रश्न गर्नु हुन्छ ? सरको यो जवाफ मलाई मार्मिक लाग्छ  ‘ अरुले खोजी गर्न नसकेको उसको दुःख रक्सीसित साटछ ..... पिएर आफै सिद्धिदै कविता लेख्न सकेकोले म नेपाली जगतमा आउने अनमोल देनलाई रोक्न सक्दिन ।’ के सर पनि अरुलाई थाहै नभएको सरको मनभित्र कसैले खोजी गर्न नसकेको  अथाह पीडाहरुलाई रक्सीसित साटनु हुन्छ ? रक्सीसित कलाको यो कुन उपासना गर्नु हुन्छ सर ? मैलै त जानिन । तर  एकदिन कुनै प्रसङ्गमा ‘ म सृजनशील हुन पिउछु ’ भनेर सरले स्वीकार्नु भएको संझना छ मलाई ।

गुरुकूलको स्नेह

हरेक जस्तो भेटहरुमा सरकोलागि मौसमी फलफूलहरु लग्छु । कोर्नफ्लेक्स, कहिले दिउसोको खाजा , कहिले खत्राक खुत्रुक सानो सानो कुराहरु । ‘सुसन केही पनि नल्याउ ’ एकदिन सर मलाई भन्नु हुन्छ ।‘ तर मलाई खुशि मिल्छ म सुनेको नुुसुनेको गरिदिन्छु ।  केही दिन पछि अर्को पटक सर फेरि भन्नु हुन्छ ,‘  केही पनि नल्याउ सुसन । ’  चित्त दुखेर आहत भएर सोध्छु ‘ किन र सर केही पनि नल्याउनु ’? शिशु जस्तै निर्दोष हासो छर्दै सर भन्नु हुन्छ ‘ अर्को पटक तिमी आउदा के ल्याउछौ भनेर सोेच्न थाल्छु ? ’ अब के भन्ने होला यस्तो सेन्स अफ ह्यूमर भएको मेरो सरलाई ?

‘सर शपिङ्ग गर्न जाउ । ’ ‘ अठ्सठ्ठीवटा सर्ट छ ,पचपन्नवटा पाइन्ट छ बहत्तर वटा टाइ छ , एक दर्जन सुट छ ।’ सर लुगाको संख्या गन्तिमा सुनाउनु हुन्छ । म जिद्दि गरेर भन्छु ‘ सरलाई एउटा ट्रयाक सुट चाहिएको छ र एउटा  ज्याकेट पनि । एउटा सेभिङ्ग क्रिम पनि अनि उतैबाट वैधको रुघा खोकीको औषधि र चवनप्रास ।’ म सरलाई चाहिएको कुरा गन्तिमा सुनाउछु । कर गर्दै पुतली सडक पुर्याउछु सर मेरो मन राखिदिनु हुन्छ । माइती घर बनेको मेरो यो गुरुकुल  अफिसको कामले बाटो त्यता पर्दा भोक लागेको छ भने पनि म चन्डोल पस्न थालेको छु । किचेनको डब्बा छामछुम गर्दै चिया खाजा बनाएर खान थालेको छु । दशैमा छोरीलाई लिएर  सर र म्यामको हातको टीका र आषिश  थाप्न पुग्न थालेको छु ।

आमा र छोरी सरको हातको दशैको टीका थाप्दै 


एकदिन सरकहा पुगेको हुन्छु  म , देख्छु सर हार्मोनियमको मर्मत  गर्दै हुनु हुन्छ , अनि  कपडाको एक पातलो लेयरलाई पटयाएर  हार्मोनियममा राख्दै सर मलाई भन्नु हुन्छ ‘यो हार्मोनियम पनि मजस्तै पुरानो भयो ।’ म केही नसोची भन्छु  ‘अर्को किनम न त सर । म किनीदिन्छु नि सरलाई अनि  यो हार्मोनिम मलाई दिनु सर । म सरको चिनो मानेर एकदम जतन गरेर, पूजा गरेर राख्छु नी ,’ म सरलाई प्रस्ताव राख्छु । सर मलाई केही जवाफ दिनु हुदैन । अर्को पटक जादा सर मलाई सरको पुरानो ठूलो किबोर्ड दिनु हुन्छ‘ यो मेरो तिमीलाई चिनो भयो ।’ म छक्क पर्छु बल्ल मलाई होस हुन्छ , मैले अन्जानमा सरसित सरको भावनात्मक लगाव राख्ने कति ठूलो कुरा खोस्न खोजेको रहेछु । सरले आफ्नो  पुरानो साथीलाई जस्तो स्नेह राख्ने सरको हार्मोनियमलाई मैले कति स्वार्थवस आँखा लगाएको रहेछु  ।  एउटा ग्लानीमा भिजेको दोषी कुना अझै मसित टासिएको छ ।

त्यो सालको नयाँ बर्ष, सरको आषिश लिएको छु अनि सर भैरवी त्रितालको  बन्देज मेरो साधना कापीमा लेखिदिनु हुन्छ ।

भैरवी रागको बन्देज सरको हस्तलिपी..

 भैरवीको यो बन्देजको अभ्यास सकिएको छ ।  अनि दिउसोको चिया पनि खाने बेला भएको छ । म चिया बनाउने तर्खरमा किचेनतिर लाग्न लाग्दा सर मलाई छक्क पार्दै भन्नु हुन्छ, ‘ आज म तिम्रो लागि चिया बनाउछु ।’ अरु दिनहरुमा  म चिया बनाउछु । मलाई कडक चिया मनपर्छ घेरै चिया पत्ति ,दूध  र चिनी हालेको । सरलाई सुगर छ , सेक्रिन हालेर दिने गर्छु  सरको खास स्टीलको  ग्लासमा । अनि आफ्नोलागि पछि चिनी थप्छु । मेरोलागि सरले बनाउनु भएको  चिया छ पातलो तर  चियामा एक किसिमको स्वाद छ   । यस्तो चिया त मैले कहिले खाएको थिइन । कसरी बनाउनु भएको पातलो भएर पनि सर यस्तो मीठो चिया । ‘चियामा कम्ति दूध हाल्नु पर्छ अनि चियापत्तिलाई ठीक्कले उमाल्नु पर्छ।’

हरे शीव ! यतिका दिन सरले मैले बनाएको बाक्लो चिया कसरी केही नभनि खाइरहनु भएको रहेछ अब म चिया बनाउदा कम्ति दूध हाल्न सचेत हुन थालेको छु । तर त्यो दिन खास स्नेहले मेरोलागि बनाउनु भएकोले चियाको स्वाद  आज पनि मेरो मनमा बसेको छ । यस्तो लाग्दैछ अहिले भर्खरै मैले त्यो चियाको स्वाद लिएको छु ।

पत्रकारिता र साङ्गित

अस्मिताले प्रगति गरिरहेको छ । बागबजारको अस्मिताको अफिस पनि  तुलसी प्लाजामा सरेको छ । पत्रिका प्रकाशन लगायत अरु प्रोजेक्टहरुमा व्यस्तताहरु बढिरहेको छ । बौद्धिक महिलाको लागि अस्मिता पत्रिका लगायत नवसाक्षर ग्रामिण महिलाकालागि  अर्को पत्रिका ‘सहचरी’ को प्रकाशन हुन थालेको छ । महिला अधिकारहरु  कार्यक्रमहरु बनाउने सोच छापा संचारमा सिमित अस्मिताले अब इलोक्ट्रेनिक माध्यमतिर पनि जाने सोच बनाएको छ  । रेडियो सगरमाथामा अस्मिता प्रकाशन गृहको महिला कार्यक्रम ‘शक्ति’ को प्रसारणको पूर्व तैयारीकोलागि हेमबहादुर विष्ट ज्यूबाट संचालित मिडिया हाउसबाट रेडियो संचार तालिम लिन  थालेको छु । महिलावादी  बैकल्पिक संचार सम्बन्धित ट्रेनिङ्गहरु संचालन गर्न पूर्वतिरका इलाम र पाल्पाका  केही गाँउ बस्तीहरुमा पुग्नु छ । पत्रकारिता व्यवसायसित मेरो साङ्गितिक यात्रा साथ साथ जारी राख्न  मेरो भगिरथ प्रयत्न  बुलन्द छ ।

 यसबिच जनसांस्कृतिक कर्मी मेरो पुरानो मित्र शरद पौड्यालको विकल्प क्यासेटमा  भर्खर रेकर्डिङ्ग भएको छ र मैले गाएको ‘ म त घाम बनेर आउछु ’ र ‘ आमाबाबु भुलेर ’ गीत रेडियो सगरमाथामा बज्न थालेको छ । मैले स्वर दिएको रायन दाजुबाट रचित  ‘सिम्मा’ गीति नाटकलाई रेडियो सगरमाथामा तत्कालिन  महाप्रबन्धक  हेमबाहादुर विष्ट ज्यू प्रयत्नशील हुनुहुन्छ तर सफलता मिलेको छैन । पत्रकारिताको हाम्रो गुरु हेमबहादुर विष्ट ज्यू एकदिन अनायस मलाई भन्नु हुन्छ ‘पत्रकारिता धैरेले गर्छन तर गीत सबैले गाउन सक्दैनन् ।’ उहाको कुराले भित्रबाट मलाई झस्काएको छ । ‘स्वर कुनै कारखानामा बन्दैन सुसन गाउन नछोड’ कुनै समय अस्मिताको दौडध्रूपमा अति व्यस्त भएर मैले चटकै गीत गाउन छोडेको देखेर चिन्तित हुनु भएको साहित्यकार स्व. पारिजात दिदीको यो मायालु आग्रहले पनि मलाई झस्काइ बस्छ ।

सङ्गीत सधै मेरो नीजि आराधना रह्यो । पंचायती व्यवस्था विरुद्धमा जनताको गीत गाउने कलाकार भएपछि सचेतता फैलाउने माध्यमको रुपमा मात्र मैले आफ्नो सङ्गीत ध्येय संझिएको थिए । पंचायती व्यवस्था ढलेपछि वाक स्वतन्त्रता र खुला अवस्थामा हाम्रो जस्तो अर्धभूमिगत जनचेतना फैलाउने सांस्कृतिक कलाकारको भूमिका र आवश्यकता गौण हुन थालेको थियो । अनि पत्रकारको पेशागत जीम्मेवारीमा डुब्न थाले पछि विधार्थी जीवनको त्यो कालखण्डको प्रगतिशिल गायिकाको लागि  सङ्गीत मनको आवश्यक्ता मात्र भएर रहेको थियो ।  अब म गम खान थालेको छु र सोच्छु  मेरो अबको सङ्गीत  यात्राको उद्धेश्य के हुन पर्ला त ? फेमिनिष्ट पत्रिकाको सम्पादक महिला अधिकार र हक र शशक्तिकरणका कुराहरुमा अहोरात्री लागिपरेको मेरो मनमा एउटा विचार फुर्छ, किन न म एउटा महिला अधिकार सम्बन्धित क्यासेट ननिकालु ?म सहमत हुन्छु आफ्नो विचार सित अनि फेमिनिष्ट अन्तराष्ट्रिय गीतहरु सुन्न अनि तिनको उल्थाहरु गर्न थाल्छु । तर चित्त बुझेको गीतहरु पाउदिन । पारिजात दिदी आफूलाई एक फेमिनिष्ट लेखिका भन्न रुचाउनु हुन्थ्यो । दिदीको नारीवादी भावनाहरुले प्रश्चय पाएको गीत र कविताहरु पक्कै छ होला । मेरो विधार्थी जीवनकालमा पारिजात दिदीसित मेरो एक सम्बेदनशील सम्बन्ध बनेको थियो दिदीले लेख्नु भएको ‘आशु होइन यी आँखाबाट अक्ष्यर पोखिएछ ’ जस्तो महिलाको मर्म  र बेदना प्रसस्त पोखिएको गीत मैलै  कैयौ पटक स्टेजहरुमा गाइसकेको थिए । राल्फाका लागी दिदीले प्रसस्त गीत लेख्नु भएको कुरा पनि मलाई थाह थियो । अनि म दिदीको गीत र कविता खोज तलाश गर्नतिर लाग्छु ।

 पारिजात दिदीको सारा कविता गीतहरु खोज्न मभित्रको खोजी पत्रकार तम्सिएको छ । पुरानो लाइब्रेरीहरु धाउछु शारदा पत्रिकामा दिदीले दार्जिलिङ्गबाट पठाउनु भएको प्रणयका रोमान्टिक गीत कविता , मदन मेमोरियल कन्या स्कुलमा दिदीले रच्नु भएको सरस्वती बन्दना, दिदी रोगग्रस्त हुनुभएपछि लेख्नु भएको अति मार्मिक र निराशाका  गीतहरु अनि राल्फाली आन्दोलनको शून्यवादी अजारकता बोध गराउने गीत हुदै दिदीको प्रगतीशिल धारको सचेतताका जनगीतहरु मसित जम्मा भएका छन् । र अब  म सोच्न थालेको छु मेरो सङ्गीत यात्राको यो पूनरथालनी दिदीलाई सांगेतिक श्रद्धान्जलीबाट शुरु हुनुपर्छ । पारिजात दिदीको त्यो मायालु  आग्रह  ‘स्वर कुनै कारखानामा बन्दैन, गीत गाउन  नछोड सुुसन ’ को सच्चा  अर्थ  बल्ल बुझ्न थालेको थिए । पारिजात स्मृति केन्द्रको अनुमति लिएर दिदीले रच्नु भएको गीत कविताहरु समेटेर म ‘स्वर श्रद्धान्जली’ एलबमको आयोजनाको तैयारीमा लाग्छु । सर मेरो यस परियोजनासित सहमत हुनुहुन्छ र मलाई प्रसस्त मार्ग दर्शन गर्नु हुन्छ । आशु होइन यी आँखाबाट दिदीको गीतको शब्दले. सरलाई पनि छोएको छ । सर भन्नु हुन्छ ‘कस्तो मार्मिक  भाव । चिया बगानको गरीवि र दुःखहरुलाई मैले पनि  नजिकबाट देखेको छु । ’

जीउमै रुझि जीउमै सुकि
जीउमै फाटने चोली
फेर्ने दिन नआउदैमा
यसै मर्ने हो कि ।

अर्को पटक जादा सरले  यो गीतमा लोकलयमा आधारित धून पनि भर्न भियाइसक्नु भएको रहेछ , मलाई सुनाउनु हुन्छ । मैले अफठ्यारो मानेर भने, सर यो गीत त रायन दाजुको धूनमा छ  । सरले कुनै माइन्ड नगरि सहजतासाथ भन्नु हुन्छ त्यसो भए रायनकै धुनमा गाउनु । सरले यस एलबमको अरेन्जमेन्टको जिम्मा आफ्नो कान्छा छोरा शरदलाई दिनु भएको छ । शरद सारा शीप यस एलबममा खन्याउन प्रयत्नशिल छन् ।

 सङ्गीत भर्सेस पत्रकारिता

‘तपाई गायिका कि पत्रकार ? ’ त्यतिबेला मलाई लिने अन्तर्वाताहरुमा अक्सर यो प्रश्न मलाई गरिने गरिन्थयो । म भनिदिन्थ्ये पत्रकारिता मेरो मस्तिष्ककोलागि सङ्गीत मेरो ह्रदयकोलागि हो मलाई दुबै चाहिन्छ ।  तर मेरो यो सन्तुलन लडखडाउन थालेको छ । म आफुभित्र प्रसस्त परिवर्तनहरु देख्न थालेको छु । मानौ मेरो जीवन अप्रत्याशित मोडमा आइपुगेको छ । शायद म गहिरो मिडल एज क्राइसिसमा छु । मन आध्यात्मिक हुन थालेको छ । अचम्म लाग्दो गरि एउटा अलौकिक अनुभूतिबाट गुज्रिएको छु । म सरलाई मेरो यो अनुभव सुनाउछु सर मेरो कुरा ध्यान दिएर सुन्नु हुन्छ यस्तो अनुभव अरुलाई नभन्ने सल्लाह दिनु हुन्छ । सरलाई पनि यस्तो अनुभव कहिलेकाही हुने गर्छ रे ।सर मलाई सुझाव दिनु हुन्छ ‘आध्यात्मिकताको बाटो जेलिएको छ यो बाटोमा  कमै मान्छे हिडने क्षमता राख्छन् ।’

‘ सङ्गीत आध्यात्मसित जोडने माध्यम हो ।’ सरले बेलामौकामा भनेको यो कुरा संझिन्छु । के मेरो सङ्गीत साधनाले मलाई आध्यात्मसित लगेर जोडदै छ ? एकदुई घटनाहरुले ममाथि साह्रै गहिरो असर गरेको छ । मेरो सारा लौकिक ,भौतिक सन्तुलन लडखडाएको  छ । पैसा , पद, महत्वाकाङ्क्षा , भौतिक उपलब्धिभन्दा पर मोक्ष ,निवार्ण ,इनलाइटमेन्टको कुराहरुमा म एकतमाशको रुचि लिदैछु । अस्मिताको कवर आर्टिकल लेख्न तर्खरमा छु विषय रोजेको छु  ‘जीवन र सन्यास ’ म यस बहानामा पशुपतिको जंगल चहार्न थालेको छु । मठ ,धर्मशाला र आस्रमतिर साधु सन्यासीहरुलाई नियालेर हेर्न खोजीरहेको छु । घण्टौ धुम्धुम्ति बसेर जलिरहेको शवहरुलाई हेर्न थालेको छु । जीवनको गहिरो निस्सारता बोध हुन थालेको छ ।

असारे झमझम रुझेको बिहानीमा मोटर साइकलमा रुझदैै सरकहा पुग्छु मेरो जन्मदिनको उपहार भनेर सरको आषिश अनि सरले लगाइरहनु हुने रुद्राक्षको माला लिएर फर्किन्छु । साँझ बिहान रुद्राक्षको माला लगाएर साधना र घरभित्र बाहिर गर्न थालेको छु । मेरो भौतिक कुराहरु पछाडि छुटिरहेको जस्तो लाग्छ । माछा,मासु खान छोडे । अस्मिता जान चट्टकै छोडिदिएको छु । साथीहरु अन्यौलमा छन के भएको हो ? सङ्गीत साधनाकोलागि ब्रेक लिएको अनुमानमा अस्मिताका साथीभाइहरु छन् ।

म सङ्गीत साधनामा अझै रमाउन थालेको छु । मीरा भजन सुनीबस्छु । मन वैराग्यमा पुगेको छ ।‘ भोेजन भवन भलो नाही लागे ।’ मीराका भावनासित आत्मसात हुन्छु । सारा लौकिक व्यस्तताहरुलाई कम गर्दै लगेको छु । धुम्धुम्ति कोठामै बसिराख्छु सरकहाँ बाहेक न कतै जानु न कतै आउनु छ मेरो । अनि चुडाउदै लगेको छु  सारा  व्यस्तता र गतिविधिहरुलाई ।  मानौ कोकिनमा बेरिदैछु  आफु भित्र भित्रै मार्दै र अर्को कोही बन्दैछु ।  सर मेरो सारा परिर्वतनहरुलाई नियालेर हेरिरहनु भएको छ । म सरको अगाडि रोइदिन सक्छु । सर मलाई मनलागेको जति रुन दिनु हुन्छ । मेरो सारा आशु रित्याउन दिनु हुन्छ । अनि अर्को पटक जादा मलाई गीत रचिदिनु भएको हुन्छ । गीत सिकाएर मलाई फकाउनु हुन्छ । मानौ सर मेरो नदेखिएको घाउहरुमा मल्हम लगाउनु खोज्दै हुनुहुन्छ ।

तिम्रो आशु सुक्छ सुक्छ एकदिन
नरोउ नरोउ मन दुखाई...

प्रसस्त रुन मनलाग्छ मलाई र  यो बेला अनि सानो सानो कुरामा पनि खुब खुशि भइदिन्छु । घामको सानो टुक्राले मेरो काँध पछाडि छोयो भने पनि कति बेरसम्म खुशिलागिरहन्छ मलाई । मेरो मन उदास र खुशि कुन बेला हुन्छ कुनै ठेकान छैन । एकैछिनमा जे पनि घटन सक्छ मलाई ।

‘तिमीले सासु ससुराको सेवा गरेको छौ, गुरुको सेवा गरेको छौं समाजको सेवा पनि गरेको छौ  । तिमीलाई प्रसिद्धिको चाह पनि देख्दिन । नामको मोह पनि देख्दिन ।’ सर मलाई स्नेही पिता, गुरु,अनि सखा भएर संझाउदै भन्नु हुन्छ ‘यो जीवनलाई तिमी जति अल्झाउछौ यो त्यतिनै अल्झिन्छ सुसन ।’

यही ताका सर मलाई एक अति नै सुन्दर स्प्रिच्यूएल गीत गाउन सिकाउनु हुन्छ ।

परम धाम
परम ब्रम्ह
अनन्त हरिओम
परम शक्ति  स्वर
परम ज्ञाता
करुणा सिन्धु
महादाता
सृजनकार
भव सागर
तारन हार

दया गर
करुणा गर
भय हर
लोभ क्रोध हर
अन्धकार हर
अज्ञान हर

परम धाम
परम पिता
ओम ओम ओम
अनन्त हरिओम

यो गीत म साधना अघि अनि पछि गर्न थालेको छु । जादुले जस्तो असर गरेको छ यो भजनले ममाथि  । असिम शान्तिको अनुभव गर्न थालेको छ , मनले मेरो ।




 प्रस्तुत लेखको पूर्वका तीनवटा श्रृंखलाहरु लगातार लेखिए त्यसको एउटै कारण थियो । जीवनधारामा बग्दै  भुगोलको पल्लो कुनाको दुर मुलुकमा पुगेकी एक शिष्याले अम्बर सरको संगतमा बिताएको अतितका  पन्नाहरुलाई सरले चाख दिएर पढनु हुनेछ ।

In his creative zone, Amber Gurung
सपनाका सानो पोकोपन्तरो पारेर गत वर्ष यो पंक्तिकार संसारभरीको सबभन्दा सुन्दर र पावन मातृभूमी नेपाल  पुगेको थियो । जहाँ सरको सानिध्यमा  दुर्लभ क्षणहरुले मात्र होइन , महाभुकम्पको अकल्पनीय त्रासद क्षणहरुले पनि साक्षी हुन मलाई पर्खिरहेको रहेछ । भुकम्पले सिर्जीदिएको महाविनाश, मृत्युको ताण्डव्य , हर क्षणसित उनिएको सन्त्रासको  विचित्र अनुभूतिहरु भित्र जीवनले नजानिदो पाठ पढ्यो । अर्कोतिर सरको समिप अति दुर्लभ समय बिताउने अवसर मात्र होइन, पार्किङ्सन रोगले विवश सरको माया लाग्दो अवस्थामा बितिरहेको  दिनचर्या मेरोलागि खुला पाठशाला बन्यो, जहाँ मैले  धेरै कुरा देखे र सिके । हिड्न ,बोल्न , खान , बस्न, सुत्न संघर्ष गरिरहनु भएको सरको लाचार अवस्था त्यसमाथि भुकम्पको हर क्षणहरुको त्रासमा मैले के पनि थाह पाए भने ,कलाको साधना गर्ने सच्चा साधकलाई केही कुराले पनि छेक्न सक्दैन रहेछ । सर बोलेको आधा कुरा  बुझिन्न थियो,  तर पनि हार्मोनियम खोजेर आलाप लिन ,गीत गाउन सरलाई व्याकुल देखे , सरको छोरी अल्का जी र मलाई नयाँ राग सिकाउन सरलाई व्यग्र देखे । हिड्दा हिड्दैै सर लडनु हुन्छ तर पनि भुकम्पले हल्लाइरहेको घरभित्र तानपुरा खोज्न घरको दुइतल्ला सिढी चढने हौसला छ सरसित  । भुकम्पबाट सुरक्षित हुन घर बाहिर  पाल टागेको आँगनमा  मुढामा बसेर पार्किङ्सनले ग्रस्त पारेको  कम्पीत  हातले गीत लेखिरहनु व्यस्त सरलाई देखे । आफ्नो सारा शारीरिक लाचारीहरुमा पनि सृजनाको संसारमा रमाइरहने यस  महान साधकलाई देखे ।

सरले मेरो आलेख पढ्नु भएको छैन । कम्प्युटरको पर्दामा पढ्न गाह्रो भएको बुझाइले म ठूलो फन्टमा लेख प्रिन्ट गरेर सरलाई दिन्छु । तर प्रतिक्रिया भने यो विरानो मुलुक क्यानाडा फर्किएपछि मात्र  सरसित भएको फोनको कुराकानीमा पाउछु । “ सुसन तिमीले हाम्रो बारे लेखेको लेख मैले पढे । आएम भेरी प्राउड टु बी योर टिचर ।”  मैले  भरिएको कण्ठले यति मात्र भन्न सके “सर यो आलेख अझै अधुरो छ । शायद यो लेखेर कहिले सकिने पनि छैन ।”

यही सर आज भारतको हरियाणा स्थित मेदान्त अस्पतालको बेडमा गम्भिर  रोगसित लड्दै जीवन र मृत्युसितको सङ्घर्ष गरिरहनु भएको छ । भएको सानो टुक्रा जमिन बेचेर उपचारकोलागि लैजाने छोरा, छोरी परिवार बाहेक सरको अरु कुनै भरपर्दो सहाराहरु छैन । जसले यो  देशको माटोलाई अनवरत रुपमा सृजनाका सुन्दर कृतिहरुले सजायो  उनै सङ्गीतका प्रखर शिल्पी अम्बर गुरुङलाई आज नेपाल सरकार अनि सबै नेपालीको सहयोग, सद्भाव, चाहिएको छ ।यो आलेख लेखिरहदा आजको दिन   सरको ७८ वर्षको जन्मदिन हो । अस्पतालको शैयामा जन्मदिन मनाइरहनु भएको सरको सुस्वास्थ र दीर्घायुको  बन्दना चढाउदै विस्थापित पत्रकारको यो डायरीको पानाहरु फेरि उनै श्रद्धेय सरलाई समर्पण .... 
   

 जीवनको कठिन घुम्तीहरु...


डाक्टरी भाषामा यतिबेला म डिप्रेशनबाट गुज्रिरहेको हुनु पर्छ । जीवनमा आएको मेरो त्यो उदास र कठिन घुम्तिलाई सम्झिदा मलाई मेरो माया र अत्यास दुबै लागेर आउछ । यस्तो लाग्छ मलाई बनाउने विधाताले संवेदनशिलता अनि भावुकता मेरो भागमा प्रसस्त पारेका छन । यसबाट म कहिले काही अनियन्त्रित प्रवल प्रवाहमा फ़न्फ़न्ति भुमरी जस्तै गरी बग्ने गर्छु केही नसोची केही नबुझि । मेरो यस प्रवृतिलाई बुझने अनि नियन्त्रणमा राख्ने दुइ आत्मीयहरुसित यस घडि म बिछोडिएको अवस्थामा थिए । घरेलु जीवनमा मेरो भावुकताहरुलाई सन्तुलनमा राख्ने मेरो श्रीमान् हरी परदेशिएका थिए । अनि व्यवसायिक जीवनमा मेरो होस ठेकानमा राखिरहन साथ दिने मेरो छाया जस्तो अभिन्न साथी अन्जुकोे साथ  पनि अस्मितासितै पछाडि छुटेको थियो । यी दुबै आत्मीयहरुको सानिध्यबाट टाढिएको म, किनारको सीमा भत्काएर अनियन्त्रित खहरे खोली जस्तो बनेको थिए । भावनाहरुमा भौतारिन मलाई यो धर्ती, आकाश यो ब्रम्हाण्डले पनि पुगेको थिएन । 

जीवनको कठीन घुम्तीमा छु सारा बाटो हराएको छु र सबै कुराबाट भाग्न  नै सजिलो भएको छ । पलायन रोजेको छु र भागिरहेको छु  तर थाह छैन कता ?  धेरै कुराहरुको धागो टुटे छुटेको छ तर जीवनलाई अलि बाधेर  थामेर राखेको छ भने केवल सङ्गीतको साधनाले  ।

मेरो यो अवस्था मेरो पुरानो मित्र शरद पौडेलबाट छुपेको छैन । शरद प्रगतिशील धारका जनप्रतिबद्ध प्रतिभाशाली कवि हुन ।
Poet, Sharad Poudel
विधार्थीकालखण्डमा  जङ्गल ,बस्ती र देशदेशान्तरमा  पंचायती व्यवस्थाको विरोधमा सचेतनताको गीत गाउदै कुनै समय हामी साथ साथ हिडेका थियौ । पंचायती व्यवस्था ढलेपछि म सङ्गीतमा भन्दा  पत्रकारीता पेशामा अनि शरद समाजको तल्लो तप्काका दलित समुदायका लागि संचालित एन.जी.ओ. आत्मनिर्भर संस्थासित व्यस्त थिए । शरदको निम्तोमा म  केही समय अघि आत्मनिर्भर विकास मन्चले पर्बतको कुस्मामा आयोजित गरेको दलितहरुको एक विशाल भेलामा सहभागि हुन पुगेको थिए । त्यहाँ सहभागिभएका दलित महिलाहरुसितको कुराकानी पछि महिला हुनु र समाजमा अछुत हुनुको दोहोरो मारमा परेका दलित महिलाहरुबारे अस्मितामा मुख्य आलेख लेख्ने अभिलाषा मनमा विजारोपण नभएको होइन तर यो सोच पनि  मेरो अवस्थासित बिथोलिएको थियोे ।  मेरो पुरानो सखा शरद मैले सिर्जीरहेको एकाकी र जटिल मौहालबाट मलाई  निकाल्न प्रयत्नशील छन् । उनी भन्छन “दलित महिला र बालबालिकालाई केन्द्रमा राखेर तिम्रो अस्मिताको अनुभवको आधारमा ५ बर्षकोलागि एउटा पायलट प्रोजेक्ट बनाउन आत्मनिर्भर विकास मन्चलाई सहयोग गर ।”  

शरदको त्यो अनुरोध टाल्न भरमग्दुर प्रयत्न गरेर भनेथे “ शरद मेरो भर नगर मलाई जे हुन पनि सक्छ । यति ठूलो जिम्मेवारीको काम म गर्न नसकुला । ” शरदले मलाई सुन्दै सुनेनन । उनीहरुको संस्था आत्मनिर्भर मन्चकालागि यस परियोजनाका  दाता  एक्सन एडसितको विभिन्न चरणमा भएको भेटघाट र मिटिङ्गहरुमा मलाई कर गर्दै लग्छन शरद । पहिलो चरणमा अनुसन्धानको काम थालिन्छ पर्वतका विभिन्न दुर्गम दलित गाँउ र बस्तीहरुमा म शरद सित हिडछु । दलितहरुको सामाजिक तल्लो मर्यादास्तर भेदभाव, शोषण, गरिवी प्रकट रुपमा अनुभुत गर्न पाउछु । अस्मितामा कागजीरुपमा उठाएको महिला अधिकार , मर्यादा एवं सशक्तिकरणका कुुराहरुलाई यहा आएर प्रत्यक्ष र  व्यवहारमा उतार्ने कुरामा म सहमत हुन थालेको छु ।  

फेरी अर्को आयाम 

सार्थक जीवनको अनुभूति फेरि हुन थालेको छ । केही लक्ष्य केही उद्धेश्य जीवनको देखिन थालेको छ । बाँच्नुको 
जीवनले फेरि एकपटक अर्थ पाउन थालेको छ । मेरो भावनाको ज्वार अर्को फरक मोडमा प्रवाह हुन थालेकोछ   । मन अलि थीर, उज्यालो र सकारात्मक र हलुका भएको छ ।

दलितहरुको बस्तीहरुमा सचेतताका गीतहरु फेरि गाएर हिडन थालेको छु शरदको धुन र शब्दका ।

रगत चल्छ श्रम चल्छ सिप चल्दछ 
तर पनि किन हाम्रो पानी चल्दैन....

यस्तो लाग्छ विधार्थी जीवनको मसित विछोडमा परेको मैले धेरै मनपराएको आफुलाई  फेरि पाएको छु । खुशि भएको छु फेरि आफुलाई पाएर । म दलित समूहमा मिसिएर हिडन थालेको छु , यदाकदा अम्बरसरबाट पाएको सरगमको ज्ञान पनि मसित हिडने कार्यकताहरुको टोलीमा बाडन थालेको छु । गरीबि र सामाजिक,भेदभावको मारमा परेका पंचमवर्णको पीडा गीतमा ढालेर गाउन थालेको छु ।  दलितहरुको बस्तीमा  महिलाहरुमाथि भएका पितृसत्तात्मक  भेदभाव सामाजिक अत्याचारको र जातिय मारको दोहरो अभिशाप भोगिरहेका महिलाहरुको अवस्थामा केही परिवर्तन ल्याउने प्रयास गर्न सक्छु भन्ने अठोट जाग्न थालेको छ । म सहमत छु यस कुरासित दलितहरुको  यो भूमी मेरो अनुभवको प्रयोगशाला हुनेछ । अहिलेसम्म मैले सिकेको अस्मिताको सैदान्तिक ज्ञानलाई व्यवहारमा उतार्ने मेरो कर्म थलो बन्ने छ । अनि यसको साथ मैले पाएको थिए मेरो पहिलो  प्रेम सचेतनताको गीतहरुसितको मेरो पुरानो प्रेम । मेरो आन्तरिक दुःखहरुको घाउ भरिन थालेकोे छ । यही समय  अमेरिका अध्ययनमा गएका मेरो श्रीमान् हरीको क्यानाडाका इमिग्रेसन स्वीकृत भएको छ र हामी आमा छोरी केही दिन टोरोन्टो घुमेर सपरिवार नेपाल फर्किएका छौ यस सहमतिमा आस्था र म नेपालमा नै बस्ने ,हरी केही समय क्यानाडा बसेर नेपाल फर्किने ।

यही ताका  दीपशिखा , सुनसंगिनी एलबमहरुको लागि  शरदले रचेका सचेतनताका गीतहरुको पनि मेरो स्वरमा रेर्कडिग हुन थाल्छ ।

स्वरको श्रद्धान्जली 


Progressive Writer, Parijat
म फेरि स्व.पारिजात दिदीले लेख्नु भएको गीतहरुको एलबम निकाल्ने कुरामा व्यस्त हुन थालेको छु । “स्वर कुनै कारखानामा बन्दैन सुसन तिमी गाउन नछोड” भनेर मलाई सदा अभिप्रेरित गरिरहने दिदी पारिजातलाई उहाँकै गीत र रचनाहरुद्वारा श्रद्धान्जली दिने मेरो भगिरथ यात्रा फेरि शुरु हुन्छ ।
विधार्थी जीवनमा प्रगतिशील धाराको गायीका बनेर मैले दिदीले रच्नु भएका  धेरै जसो गीतहरु स्टेजमा गाइसकेको थिए । तर म खोजमा थिए  फेमिनिष्ट गीतहरु पनि , मदन पुरस्कार लाइब्रेरी धाउछु पुरानो शारदा पत्रिकामा छापा मार्छु  । अनि भेटिएका छन् दिदी दार्जिलिङ हुँदा  छापिएका दिदीका प्रेम विरहका गीतहरु ।  दिदी नेपाल आएपछि मदन   मेमोरियल कन्या स्कूलमा शिक्षिका भएर स्कूलका बालिकाहरुको लागि रचिदिनु भएको सरस्वति बन्दना ,सुप्रसिद्ध साहित्यकार कमलमणि दीक्षित ज्यूको सहयोगमा संकलन गरि भ्याउछु । अनि फेला पारेकोछु ,दिदी रोगसित लडिरहनु भएको समयमा रच्नु भएको निराशामा  भिजेको गीतहरु  रामेश दाजुले दिदीको संझनामा लेख्नु भएको संस्मरणमा । यस बाहेक दिदीको राल्फाकालिन गीत त्यसपछिको प्रगतीशिल गीत कविताहरु मसित जम्मा भएका छन् ।

 म देख्न थालेको छु विविध रंगभूमिमा तय भएको पारिजात दिदीको जीवनको यात्रा । मेरो छनौटमा परेको गीतहरु दिदीको कुनै एउटा व्यक्तित्वको मात्र साक्षी छैन । विविध जीवन र रंगमा जीउनु भएकी पारिजातको जीवनको प्रतिबिम्व जस्तै लाग्ने उहाँका गीतहरु  छन् । र म दिदीलाई यसरी नै प्रस्तुत गर्न चाहन्थे ।  पारिजात दिदी कुन मोडहरु पार हुदै जनप्रतिबद्ध  साहित्यकार बन्न पुग्नु भयो । एक समय चरम निराशा र मृत्युको कामनाले घेरिएकी पारिजात कुन चरण पार गर्दै कसरी फेरिदै जानु भयो र कुन जीवन मूल्यलाइृ उहाँले सबै भन्दा सही ठान्नु पुग्नु भयो यो यात्रालाई उहाँ कै गीति रचनाहरुबाट अभिव्यक्ति दिन जरुरी थियो । तर यसको निम्ती मलाई धेरै चुनौतिहरुसित गुज्रिनु पर्छ ।  मेरो छनोेटमा परेको केही निराशा र प्रेमको गीत दिदीको पछिल्लो प्रगतिशील व्यतित्वसित मेल खादैन भनेर मेरो अनुरोधलाई पारिजात स्मृति केन्द्रले अस्विकृत गरिदिन्छ ।  

दिदीको सिङ्गो व्यक्तित्व विभिन्न चरणबाट गुज्रिएको छ ती सबैलाई समेटिएमात्र दिदीको प्रगतिशील व्यक्तित्वको पूर्णता देखिने छ र मलाई दिदीको गीतहरु  यसरी नै गाउने अनुमति दिनु पर्छ भन्ने विचार सित अडान लिइरहन्छु । पारिजात स्मृति केन्द्रका सदस्यहरु मेरो विचारसित सहमत छन् ,कोही छैनन्  अन्तत यस विचारसित सबैको सहमत गराउन विशिष्ट भूमिका खेलिदिने राल्फाका सैदान्तिक विचारक एवं प्रगतिशील फाटका निनु चापागाई ,डा महेश मास्केको प्रयत्नले मेरो यो अभिष्टिले पुरा हुने मौका पाउछ । एलबमबाट आउने सबै रकम पारिजातदिदीले स्थापना गर्नुभएको बन्दिहरुको केटाकेटीहरुको लागि खोलिएको बचेरा बासलाई जाने मेरो अनुरोध पनि केन्द्रलाई स्वीकृत हुन्छ ।

 दिदीको राल्फाकालिन गीत र कविताहरुमा राल्फा नायकहरु  रायन दाजु र रामेश दाजुले केहीमा पहिले नै सङ्गीत भरिसकिएको छ  ।  मैले कहिले नसुनेको पारिजात दिदीकोे अति नै मर्मस्पर्शी प्रेमगीती रचना  “ हाम्रा अंगालो बीच क्षितिज कहाँ मान्यो र बाँधिइन ... ”  रामेश दाजुले मेरो लाजिम्पाट घरमै आएर स्नेहसाथ मलाई गाउन सिकाइदिनु हुन्छ । “गीत राल्फा गीतहरु ..”रायन दाजुको यस गम्भिर र कालजेय मार्मिक सङ्गीत रचनालाई म रायन दाजुको म्हेपीस्थित घरमा गएर गाउन सिक्छु । “ आशु होइन यी आँखाबाट अक्ष्यर पोखिएछ  .. ”जस्तो महिला बेदना सुस्केरा र अठोट बोलेको गीत लगायत केही प्रगतिशील गीतहरु छन् जुन मैले विधार्थी जीवनमा स्टेजहरुमा प्रसस्त गाइसकेको छु । “ धेरै अघि एक साँझ ..”  तिमी मलाई सारंगीका केही धुनहरु देउ... ”  दिदीका ओजस्वी सुन्दर कविताहरु छन् जसलाई गीतको रुपमा ढाल्न शरद सहयोगी भएका छन् । शरदले नै सङ्गीत भरेको  दलित महिलाको व्यथा मिसिएको महिलावादी भाव समेटिएको “ जदौ हजुर ..मालिक अलि टाढै बस्नुस..” दिदीको जुठी दमिनी कविताले लगभग गीति नाटक जस्तो रुप लिएको छ । 
गीत गाउन मात्र आउने म भने जीवनमा पहिलो पटक सङ्गीतमा पनि फुट्न थालेको छु ।  दिदीको अति नै कारुणिक भाव “मर्न मनलाग्छ मायालु ...” शब्दहरुले मलाई यति छोएको छ दिदीको यो शब्दलाई म कल्याण रागमा पोखिदिन्छु । सेमी क्लासिकल बनेको छ । अम्बर सर मेरो यस परियोजनामा प्रशस्त रुचि लिनु हुन्छ । सरसल्लाह मार्ग दर्शन दिनु हुन्छ  ।सरको निर्देशनमा सरको छोरा शरद गुरङ्गको अथक परिश्रममा  सङ्गीत संयोजन सिघ्र अन्तिम तैयारीमा पुगेको छ । पाटनको लिटल स्टार रेर्कडिङ्ग स्टुडियोमा स्वर श्रद्धान्जली एलबमको  रेर्कडिङ्ग धमाधम हुन थालेको छ । पारिजात दिदीलाई श्रद्धा पोखेर  समर्पण  गरिने  मेरो यो  पहिलो सिडी एलबम सर र पारिजात दिदीको  बहिनी सुकन्यादिदीको हातबाट विमोचन गराउने मेरो मनले योजना बुनिरहेको छ ।


तर सरलाई तिनताक विमोचन गर्ने कार्यहरुमा अभिरुचि हुन छाडेको थियो । विमोचन गराइदिनु भनेर सरलाई दुःख दिनेहरुसित सर विमुख हुन थाल्नु भएको थियो । मेरो अनुरोधमा सरले भन्नु भयो“ तिम्रो सिडीको विमोचन मैले गरे भने यो सिलसिला रोकिने होइन अरु बढ्ने छ ।” सरको भवानालाई बुझेर मैले भने “हुन्छ सर म पारिजात दिदीको बहिनी सुकन्या वाइवाको हातबाट सिडीको विमोचन गराउने छु तर सर भने यो समारोहको मुख्य अतिथि बनि दिनुहोस न त ।” मेरो आग्रहलाई केही नभनी सरले सुन्नु भयो । निर्धारित दिन रसियन कल्चर सेन्टरमा  पारिजात ,स्वर श्रद्धान्जली समारोहमा स्रोताहरु भेला भइसकेका छन् तर मुख्य अतिथि सरको भने कुनै अत्तो पत्तो छैन । फोनबाट सरको खोजखवर लिदा बिना म्यामले आत्तिएर भनेको सुन्छु “सुसन ! सर त  अघिनै हिडिसक्नु भयो त ”तर  अह सर आउनु भएन । मन्चमा सरको कुर्सि खालि रह्यो । पारिजात स्वर श्रद्धान्जलीको सरविना लोकापर्ण भयो ।भारी मन लिएर घर फर्किए अनि बेस्सरी रुन मनलाग्यो । केही दिन पछि भएको सरसित भेटमा सर मलाई जानकारी दिनु हुन्छ “तिमीलाई दुःख लाग्यो होला म आएन भनेर । तर त्यसदिन धेरै बेर यताउता भौतरिएर घुमेर म तिम्रो एलबमको विमोचन समारोहमा आएको थिए । तिमी सेतो साडीमा सुन्दर देखिएको थियौ  । तर मन्चमा बोल्ने वक्ताहरुले तिम्रो बारेमा कम, धेरै राजनीति बोलेको सुने । त्यो तिम्रो दिन थियो तिम्रो बारेमा तिम्रो प्रतिभा बारेमा बोलिनु पथ्र्यो ।”

Dedicated to Parijaat
मेरो साङ्गीत यात्रा जहाँ अब अम्बर सरको अथाह ज्ञान र आषिश ,अनुग्रहको साथ छ तर जीवनले भने अर्को कोल्टे फेर्ने तर्खर गर्दैछ । आभास पनि हुन नदिइ चालमारेर आउने कुनै अज्ञात तर पहिला नै पूर्वनियोजित ‘हुनेहुनामी’ मानौ मेरो सारा जीवनलाई फेरफार गर्ने तैयारीमा छ । 

Comments