डायरीका दुईवटा पानाहरु ....
ॐ
डायरीका दुईवटा पानाहरु...
सुसन मास्के
२०७२ असार १९ गते शनिबार
आज दिनभरी अम्बरसर र म्यामकहाँ गएर बिताए । परम्परागत महिलाहरुले गाउने लोकगीतको खोजमा सातादिन सुदुरपश्चिम नेपाल चहारेर काठमाडौं फर्किए पछि सरकहाँ जाने अवसर जुटन सकिरहेको थिएन । मेरो जन्म दिनमा सर र म्यामको आर्शिवाद लिन जाने इच्छा पनि मेरो अस्वस्थताले सम्भव भएको थिएन । सर र म्यामको आषिशलाई फोनबाट नै थापेर मन बुझाएको थिए । एलर्जीको रियाक्सनको त्यो असाध्य कष्टकर क्षणबाट आज अलि राहत मिलेकोले पुजाले कम्फोर्टहाउजिङ्ग लगेर मलाई छाडिदिई ।
घर नम्बर २७ को गेटमा हल्लाखल्ला गर्दै मलाई लिन आएको थिए ,मायाले पुल्पुलिएका सिन्द्रु र मोती । अनि अलि पर पुग्दा पुग्दै आँगनमै बिना म्यामसित भेट भयो । ममतामयी हातहरु मतिर पसारिए मानौ सारै हतारिएका छन मलाई मायाको अंगालोमा बाँधन । म लुसुकक म्यामको छातिमा टासिन्छु । मायालु स्पर्शका्े अनुभुतिमा भिजिरहन्छु । माथि सरको कोठामा हार्मोनियम बजेको सुनिदै थियो । म भने म्यामसित तलै बैठक कोठामा अड्डा जमाउछु । यसपाली म म्यामसित अरुबेसी झ्याम्मिएको छु । अलि बढी खुलेको छ हाम्रो मन मनसित । कुनै पनि कुराहरुको प्रसङ्ग कुनै पनि बेला चल्न सक्छ । कुराहरुमा कुन बेला खिततित हाँसो चल्छ कि अाँखा पो भरिरएर टलपल हुन्छ । केही ठेगान छैन, कुराको लहरो कता तानिन्छ कुराको बतास कता चल्छ चल्छ । हरेक संझनाहरु मायालु भएका छन अब म्यामको लागि चाहे सुखको होस वा दुःखको ।
“त्यतिबेला जमाना कस्तो थियो हगी सुसन” म्याम पुरानो संझनाको पोको पन्तेरो मेरो अधि फुकाउन थाल्नु हुन्छ । “हरेक वर्ष दार्जिलिङ्गमा गीतको कम्पिडिसन हुन्थ्यो अनि हरेक वर्ष सरको गीतले कम्पिडिसनमा जित्थ्यो । ९ वर्ष लागतार जित्यो । कम्पिडिसनमा जाने दिन सबैलाई कलाकारहरुलाई ख्वाइपियाइ गर्थे । अनि त आम्मामामा फुटबलको खेलाडीहरु जस्तै रिहर्सल सकाएर कलाकारहरु लहरै विदा हुन्थ्ये हाम्रो घरबाट । म सबभन्दा पछि निस्कन्थे तर मेरो लागि सबभन्दा अगाडिको सिट मिलाइको हुन्थ्यो । माइकले राम्ररी काम गरिरहेको छ कि छैन , तबला कम गर्ने कि सरको भ्वाइस घटाउने बढाउने यो सबै मैले इशाराले सरलाई जानकारी दिनु
पथ्र्यो ।”
म देख्छु म्यामको आँखाको कुना ओठसम्म मुस्कुराएको छ मानौ मनभित्र भित्रै कुनै रमाइलो संझना चलिरहेको होस । “ अनि मसितै रक्सीको एउटा झोला पनि हुन्थ्यो । शो को विचको ब्रेकहरुमा सरलाई पेगहरु चाहिन्थ्यो । जति धेरै ल्यायो उति छिटै खाएर सकाउने , म नखाउ नखाउ भन्थ्ये तर आफै किनेर ल्याउथे फेरि ।”
म्याममको संझनाको लहरा अरु झयाँगिएको छ “ सरको शोको लागि घरको ढोका ढोकामा गएर सर र म शो को टिकट बेच्थ्यौ । नौलाखा तारा उदाए गीतको रेकर्ड गरेर आएपछि सरले मलाई दिनु भएको पहिलो रेकर्ड देउता थानमा राखे अनि अरु बाजाहरुको दोकानमा लगेर बेच्यौ ,रेकर्ड भव्य चल्यो । कलकत्तामा सरको रेर्कडिग थियो ,पैसा कम्मरमा बाँधेको थिए । रेलमा कस्तो झपझप निद्रा लािगरको थियो । एकछिनमा हेर्छु त सुटकेश नै छैन । गीतको सबै नोटेशन थियो सुटकेशमा । पुलिसले एकमहिनापछि रीत्तो सुटकेश पाएको पो खवर गर्यो ।”
बैठक कोठामा मेरो लागि म्यामले दार्जिलिङ्गाका पुराना संझनाहरुलाई खुरुखुरु तानेर ल्याइदिनु भएको छ । स्मृतिहरु सजिब बनेर बैठक कोठा वरिपरी छरिएका छन् , म भने तिनलाई टिप्न व्यस्त बनेको छु । म्यामको शब्द मेरो कानमा पर्छ अनि मेरो मनको क्यानभसमा दृश्य भएर फेरिन्छन ,यसरी मानौ ती सबै अहिले मेरो अघि घटिरहेका छन् ।
अहिले बेपत्तासित हाँस उठेर आउँछ म्यामलाई ,सरसितको किशोरअवस्थाको लैला मजनु सरहको प्रेममा परेको क्षणहरुलाई संझेर । “मेरो दाजुको हार्मोनियम थियो अनि सर त्यही हार्मोनियम बजाउन हाम्रो घर आउनु हुन्थ्यो । अनि सर चाही हार्मोनियम बजाएको बजाए गर्ने म चाही कस्तो मलाई नहेरेको भनेर त्यो हर्मोनियमसित कम्ता रीस उठ्दैन थियो ।”
“ सुसन , फेरी भूइचालो आउनु नी हगी कति रमाइलो भएको थियो हामीलाई ” म्याम मेरो सहमतीको लागि मलाई हेर्नु हुन्छ म म्यामको आँखाको कुनामा झिलमिलाएर जस्तै कुनै रमाइलोपन उदाएको देख्छु । सानो बच्चाको रहर जस्तो । “आम्मामामा ...त्यो रात फेरी कस्तो पानी परेको, बतास चलेको ,कस्तो डरलाग्दो गरी बिजुली कड्केको अनि हाम्रो ओच्छान भिजेको । त्यो बेला कति कष्ट तर अहिले संझिदा भने रमाइलो लाग्छ ।”
म्यामलाई रमाइलो लगिरहेको थियो तर मेरो मन भने हर क्षण रुखको पातजस्तो थर थर कामीरहेको थियो । सर र म्यामलाई मेरो भरमा छोडेर अल्का जी भुकम्प पीडितहरुलाई राहत बाँड्न सिन्धुपाल्चोक जानु भएको थियो । अनि हामी चाहि बाहिर आँगनमा पाल टाँगेर बसेका थियौ । बाहिरै बस्थ्यौ ,सुत्थ्यौ । कुनै अमंगल नघटोस म हरकुरामा सचेतता अप्नाइरहेको थिए । म्याम र सरलाई केही भयो भने अल्का जीलाई मैले के जवाफ दिने ? त्यसैले हरेक ससानो कुरामा कफ्र्यू जस्तो लगाउथे । म भन्थे “ हुदैन हुदैन सर अहिले घर भित्र जान ।” सर मलाई नटेरी दुइ तल्ला माथि तानपुराको तार त कहिले गीतको कापी खोज्न जानु हुन्थ्यो , म सरलाई पछयाउथे यो सोच्दै के भो त म पनि सरसित पुरिन्छु घरलाई भुइचालोले भत्कायोे भने । “पूजा गरेर आइहाले सुसन” म्यामको घरभित्र जाने तर्खर । ल ल भुइचालो आयो अनि म्याम र सरको हात समातेर त्यो कुदाकुद बाहिर तिर । त्यतिबेलाको त्रास पनि अहिले म्यामले भनेको जस्तो रमाइलो भएछ संझनाहरुमा । म सहमतीले मुस्कुराइदिन्छु ।
म्यामको मायाको तलतल लागेपछि टासिन आइपुग्न पर्ने बानी लागेको घरका कुकुरहरु परिवारको सदस्य जस्तै भएका छन् । “ यिनीहरुलाई बाँधेर राख्न ,बाहिर राख्न सक्दिन म अरुले राखेको देखे भने मलाई कस्तो चित्त दुखेर आउछ ।” यत्रतत्र छरिएको उनीहरुको ससाना रौहरुलाई औलाले टिप्दै फाल्ने म्यामको त्यो पुरानो बानीले जसले जहिले मलाई आकर्षित गथ्र्यो । लगातार नथाकी मानौ यो म्यामको मनपर्ने कुनै प्रिय खेल हो । छक्क पर्छु आँखा कस्तो तेजिलो होला म्यामको । चश्माविना लुगामा टासिएका रौहरु टिप्न सक्नु हुन्छ । तीन वर्ष अघि ह्रदय आघात खपेको म्यामको शरिर देब्रे हातले चल्न अब गारो मान्छ । माया लाग्छ म पुलुपुलु हेर्छु म्यामलाई । उमेरले भन्दा पनि रोगले अशक्त बनाएको छ तर उहाँको स्मरण शक्ति, बुद्घिमत्ता ,करुणा ,विवेक र धैर्य उहाँको हरेक व्यवहार र कुराकानीबाट छछल्किन्छ ।
जीवनभरी साह्रै मुडी र प्रखर कलाउपास अम्बरसरको सहचरी बनेर म्यामले भोग्नु भएको सबै खालको सुख दुःखहरुसित अब त्यती अनभिज्ञ पनि छुइन । कलासाधकको जीवन धुरीमा घुमेको म्यामको जीवनले एउटा लामै त्याग तपस्याको कथा भन्छ । म्यामले अम्बरसरलाई सर जस्तो हुनुहुन्छ त्यस्तै हुन दिनु भयो, कलाउपासक मात्र भएर बाँच्न दिनु भयो । तर यस यात्रामा सरको यो जीवन संगिनीको भागमा भने अनिश्चिता ,अभाव प्रस्स्त पर्यो । यति मात्र होइन देखाउन नमिल्ने गरी मनले खाएका अरु धेरै चोटपटकहरु पर्दै गए । तर धर्ती जस्तो छातिलिएर करुणा, दया र क्षमाशील म्यामलाई भने मैले जीवनको उकाली ओराली अथाह धैर्य समझदारी र सम्झौताले तय गरिरहेको देखेको छु ,कर्तव्य पुरा गरिरहेको देखेको छु ।
मनको ओझल दुःख्ने कुनाहरु हल्का देखाउन थाल्नु भएको छ आजभोलि म्यामले मलाई । उहाँलाई सुनिदिन्छु यतिले मात्र पनि उहाँले अझै स्पष्ट देखाउन नसकेको कति घाउहरु सन्चो हुन्छ । एउटा महान प्रतिभावान सर्जक साधक को संगिनी हुन साच्चै त्यति सजिलो छैन । ती सबैको मूल्य तिर्नु पर्दो रहेछ केही केही आँसुुले केही अभावले कहिले केही टुटेफुटेको मनले । म्यामले त्यो सबै बेहोर्नु भयो । सरको व्यवहारिक जीवन म्यामको काँधमा टिकेको मात्र होइन सरको सिर्जनाको पहिलो स्रोता म्याम अनि भै परिआएको बेला गीतको समिक्षक अनि सरको सारोगारो क्षणहरुमा म्याम सरकोलागि सान्त्वना बन्नु भयो ।
“भगवानले जुराइदिएको रहेछ मलाई सरकोलागि । ईश्वरलाई थाह थियो ,यो मान्छे शौखिन छ भनेर त्यसैेले सहन सक्ने दुःख गर्न सक्छे भनेर मलाई छानेर भगवानले हाम्रो जोडा बनाइदिनु भएको रहेछ । ” यति लामो सरसितको दाम्पत्य जीवनको समिक्षाको सार हो यो शायद । जस्तै प्रतिकुलतामा पनि सरकोलागि म्यामको छाति साँधुरो भएन । “ सुसन ! सहनु गाह्रो हुन्छ तर सहेको सिद्घ हुन्छ ” मानौ मसित होइन आफुसित भनेजस्तो गरी म्यामले भनेको सुन्छु । मानौ यो उपदेश जस्तो लाग्ने बचनलाई म्यामले जीवनमा धेरै प्रयोग गरिसक्नु भएको छ र अब आएर शायद यो भनाईले आफ्नो सत्यता सिद्घ गरेको छ ।
म्याम निर्दोस हाँसोसित अर्को प्रसंग जोडनु हुन्छ । “ पत्रकारहरुले सोध्छन रे सरलाई “ धेरै गर्ल फ्रेण्ड थिए, विहा गरेर पछुताउनु भयो ?”अनि सरको जवाफ हुन्छ रे “यही म्याम ठीक छ मलाई ,दया माया पनि गर्छ बाटो पनि देखाउछ ।”
मेरो आजसम्मको अम्बरसरको शिषत्वमा बिताएको क्षणहरुलाई पछाडि फर्केर हेरे भने केही यस्ता क्षणहरु छन् जहाँ सरको म्यामसितको मायाहरुको साक्षी बनेको छु म । जब म्यामलाई घर फर्किन अबेला हुन्छ ,छटपटी र बेचैनीको भावमा फोनहरुबाट सोधखोज गर्न थाल्नु हुन्छ सर । बाहिर सरले केही मीठो मसिनो खानु भए म्यामलाई पनि लगौ है भनेर आफ्नै भागबाट खाना पोका पार्न हतारिनु हुन्छ सर । म्यामलाई बेला कुबेला जोक सुनाएर हसाउने मौका पर्खिरहनु हुन्छ सर । सरको एककिसिमको माया छ म्यामसित तर मैले बुझेको सरको निशर्त माया भने मात्र र केवल सङ्गीतसित छ ।
सरको केही कम्जोरीहरुबाट जानेर नजानेर म्यामको भागमा क्लेश ,दुःख र ठेसहरु परेका छन तर मलाई जहिले आश्चर्य लाग्छ मेरो अति संबेदनशील मन भएको सरलाई आफनै कम्जोरीहरुमाथि विवेचना गर्ने मन किन भएन ? सरको कम्जोरीहरु पनि एउटा क्रुर औजार जस्तो सरको कला उपासनाकोलागि अनिवार्य पो थियो कि भनेर सोच्न थाल्छु । सरको बायस छु ,पक्षपाती छु कलाको उपासना गर्ने विधि जस्तै भनेर जस्टीफाइ गर्न बाटो रोज्छु । मेरो अम्बर सरप्रतिको भक्तिमा एउटा यस्तो ठाउँ आउछ जहाँ सरको मात्र शीर्ष स्थान छ । तर आज भोलि यो भावसित म्यामको अस्मिता पनि घुलमिल्न थालेको छ । जती म्यामलाई चिन्न र बुझन सकेको छु उती उहाँको यो अस्मिताले विराट रुप लिन थालेको छ । र अब म भन्न सक्छु बिना म्याम विना अम्बर सरलाई अम्बर गुरुङ हुन सम्भव हुने थिएन ।
सर रीयाज सकाएर हामीसित गफिन थाल्नु भएको छ अल्का जी पनि म्याक बुक लिएर बैठक कोठामा पस्नु भएको छ । “कसले हो भर्खर यूटुबमा अपलोड गरेको रहेछ हेर्नु त । ” अल्का जी को कम्यूटर अधि हामी सबै झुम्मिन्छौ । दजर्नौको संख्यामा विदेशी कलाकारहरुले बडो सधेको हातले समातेका थरी थरीका बाजाहरुले सरको नोटेशन हेर्दै अकेष्ट्रा धून निकालीरहेका छन । समधुर नेपालको राष्ट्रगानलाई अकेष्ट्रामा बजाएकको धुनले विभोर हुदै बिना म्यामले बडो माया र गर्वले अम्बर सरलाई भनेको सुन्छु।
“ औ ..! तिमी त नेपालको विथोभिन भएछौ ”म्यामको खुशिले धप्प बलेको अनुहार हेर्दै म भने मन भित्र अर्को प्रश्नको उत्तर खोज्दैछु .....अनि बिना म्याम तपाई नि ?
२०७५ असार ३१ गते आइतबार
लगभग तीनबर्ष अधि लेखेको थिए डायरीको यो दैनिकीमा बिना म्यामलाई । आज म्यासेन्जरमा अल्काजीको मेरोलागि छोटो म्यासेज थियो “सुसन जी आमा हयाज लेफ्ट अस ” ।
दुइ महिना पनि राम्ररी बितेको छैन म्यामको अंगालोको न्यानोपन अझै मेरो शरीरमा छ । भर्खरै हामीले लाखबत्ती बुढानीलकण्ठको परिसरमा अम्बर सरको नाममा बालेको हैन ? म्यामको किचेनमा पसेर मीठोे मसिनो पकाएर खाएको हैन र पुराना कुराहरुलाई संझेर संगसंगै रोएर हासेको हैन ?
म्याम ! त्यो दिनको हाम्रो भेटमा तपाईले मलाई भन्नु भएको थियो “ सुसन ,सरको फोटो अधि धुप बाल्दा सरलाई सोध्छु , म ढिलो आउँदा छटपटिन्थ्यौ ,खोज्थ्यौ मलाई ? अहिले आफु कता गएको हौ ? तिमी कहाँ छौ ? किन मलाई खोज्दैनौ ? ” सरसितको विछोडकोे मनभित्रको तपाईको यो आलो घाउलाई देखेर मन भक्कानिएको थियो मेरो ।
गहिरै अन्दाज थियो तपाईले सरलाई कति मीस गर्नु हुन्छ भनेर ? तर हामीलाई छक्काएर सरको खोजीमा अनन्त यात्रामा आज तपाई यसरी हिडिदिनु हुन्छ यति अप्रत्यासित ? यसको अन्दाजा थिएन म्याम । यस्तो लागिरहेको छ आज दोस्रो पटक आमाविहिन भएको छु म । म्याम तपाईबाट मैले बाल्यकालमा गुमाएको आमाको त्यो ममत्व फेरि पाएको थिए । तपाईसित खाली मेरो मनको नाता थियो तर तपाईले सिद्घ गरिदिनु भयो रगतको नाताहरु भन्दा बलियो हुदो रहेछ मनको नाताहरु । तपाईको यो गरिमामयी मायाहरुको आभारी छु सदा सदकोलागि रीनी रहनेछु ।
तपाईमा निहित सहनसिलता, क्षमा ,धैर्य ,करुणा दया र दृढताहरु जस्तो गुणले गर्दा नै अम्बर सरले नेपाली सङ्गीत जगतमा यती उत्कृष्ट योगदान दिन सक्नु भयो, तपाईको यस अदृश्य देनहरुलाई मेरो नमन ।
अम्बर गुरुङको पत्नी र मेरो श्रद्घेय गुरुआमाको रुपमा मात्र होइन नेपाली सङ्गीत जगतलाई आफु ओझलमा परेर लगाउनु भएको सबै खाले तपाईको त्याग तपस्याको बेनामी योगदानहरुलाई मेरो सतसत प्रणाम र बन्दनाहरु ।
शुभयात्रा मेरो प्यारो प्यारो म्याम शुभयात्रा.....



Comments
Post a Comment