सापेबगरकी कलावती


सापेबगरकी कलावती 

सुसन मास्के


सिलगढी सिलङ्गो डाली
सिल्देवी तलितर्क
जयाकोट बस्याकि छु
खाध्य घर मलतिर्ख ....

  लोक कलाकार कलावती 

सापेबगरकी स्थानीय  लोकगायिका कलावतीको जीवनको बहत्तरवटा  बसन्तहरु फुलिसकेको छ ।   उमेरको यो अस्ताचलमा पुगेकी कलावतीसित  मिसावट  रहित चोखो लोकलयको विशाल रत्नहरुको भण्डार समेटिएको छ  । तर  उनको प्रतिभासित सारा दुनिया बेखवर छ ।  उनको वरिपरी कुनै स्रोता छैन न त उनको कलाको कदर गरिदिने कुनै  पारखी  । उनकोलागि न  कहिले  कुनै मन्च सजिएको छ  नत उनको भागमा परेको नै छ उनको प्रशंसकहरुको  तालीको गुन्जनहरु । 

तर सूदुर पश्चिमेली मधुर भाखाहरुको महानदीमा सुसेली हाल्दै  चल्तिका  डेउडा  ,घासे ,ठाडो
भाका  , न्याउले भाका हरुमा जब उनी गाउन शुरु गर्छिन् , यस्तो लाग्छ सारा प्रकृति उनको स्रोता हुन ।  जो निस्तब्ध सुधबुध बिर्सेर हर मौसम उनलाई सधैँ सुनिबस्छ ।

कलादेवीको स्रोताहरु 

उनको बस्तीको वरिपरि उभिएको हरियो पाखा पखेरोहरु ,  उनको सानो आगनमा  ठीङ्ग  उभिएका एउटा आँपको  बोट  र कागतीको झयाङ्ग , उनले   देउतालाई चढाउन भनेर रोपेको सुन्दर चोखा  फुल पातपतकरहरु यिनै उनको दैनिकी स्रोताहरु हुन  । उनको अन्य स्रोताहरु हुन् , उनैको ढुङ्गे  घरको आगनमा  उफ्रि रहेका बाख्र्राका पाठा , छरछिमेकबाट चलखेलगर्दै उनको आँगन  बेरोकटोक आइपुगेका आएका कुखुरा र चल्लाहरु साथै गोठमा उग्र्राइरहेको  भैसी र छुनुमनु उफ्रिरहेका उनका साना दुइवटा पाडाहरु पनि ।

त्यो बिहान  सख्खारै सिमसिमे पानीमा रुझिरहेको कलावतीको  सानो जीर्ण ढुङ्गे घर अगाडि  यो पंक्तिकार पुगेको थियो । “यतातिरको  पुरानो स्थानीय लोकगीत गाइदिनु न त  आमा ” मेरो आग्रह भुइमा खस्न पनि नपाउदै उनको सुरीलो कण्ठ पश्चिमान्चलका लोकभाखाहरु गुन्जाउन थाल्छ ।  त्यस दिन कलावतीलाई  मन खोलेर गीत सुनाउन मौसमले पनि साथ दिएको थियो । अलि परको पहाड, डाडा र थुम्कोतिर बर्षिरहेका वर्षासित ठोक्किएर चिसोभएर बग्ने मन्द बतासहरुसित कलावतीको स्वरलहरी मिसिएर झन प्राकृत र मीठो सुनिएको थियो ।

 बेनामी  प्रतिभा  

“कहिलेदेखि गाउन थाल्नु भएको  ? कसरी रच्नु हुन्छ यति मीठो  गीतहरु ? ” उनी खितखित हास्छिन “खै बाबा संझना आउदैन जतिबेला संझन्छु गीत गायाकै गायाकै छु । कसरी भनु खै कताबाट आउछ ? सुरु सुरु खुरु खुरु आउछ । ”

यतातिरका मान्छेहरु भन्छन् उनलाई गीत गाउन सधैं जागर चल्छ रे  । विवाह, पास्नीतिर पूजाकर्म , कुनै अवसरहरु पनि उनी छोडन चाहदिनन् । उनी अरु महिलाहरुलाई  पनि गाउन प्रेरित गर्छिन । गाउँका महिलाहरुले गीतगाउन लजाउदा उनी यस्ता महिलालाई सल्लाह दिन पछि पर्दिनन “ गाउन लाज र धक नमान  स्वरहरु भित्र भित्र दबिन्छ ।”

गीतहरु गाउने जागरमात्र होइन उनीसित गीत तत्कालै रचिदिने आशुकवित्व प्रतिभा पनि छ । लेख्न पढन जान्दिनन् कलावती । तर मनमा भने हरक्षण गीतहरु मर्मस्पर्शी  बोल बनेर फुरिरहन्छ । त्यसैले होला उनीभित्रको  आशुकविलाई  अरुको शब्द सापटी लिएर  गाउन त्यति मनपर्दैन । आफुले गाउने गीत आफैले कथ्न मनपर्छ रे  । उनी मसित सोध्छिन“ कस्तो गीत सुन्ने हो नेपालमा  संविधान नबनेको गीत सुन्ने होे कि ? छाउपडीको गीत सुनाम ?”।

उनको श्रीमान बितेको पाँचवर्ष भएको छ  । काडमाण्ठौमा बस्ने नातीले उनलाई हरिद्धार लगिदिने भनेको छ रे । उनको पनि अब यही ठहर छ “अब इश्वर तेता लाग्ने हो” भनेर ।

 हरिद्धार जाने  प्रतिक्षामा काटिरहेकोे  वृद्धअवस्थाको  यस एकाकी जीवनको सबभन्दा भरपर्दो साथी अब उनको भाकाहरु बनेका छन  । उनलाई सुन्दा यस्तो लाग्छ उनको हृदयभित्र पुस्तौदेखि धरोहरको रुपमा सहजेर राखेको आछामी पश्चिमी लोकलयहरुको विशाल रत्न भण्डार  समेटिएको छ । जो उनको यस वृद्धअवस्थाको  हर क्षणमा हर खालको मनस्थितीको साथी बनेका छन् । पुर्खाका सुमुधुर भाकाहरुमा आफ्नो हर भावनाहरुलाई उनेर उनी गीतहरुमा  अभिव्यक्ति दिइरहन्छिन्  । आछामी  मनोरम लोकलयहरुमा उनी मनको सारा  हर्ष ,पीडा ,अनि चाहनाहरु पोखिरहन्छिन् । तारसप्तक सम्म पुगेका उनको स्वर लहरीहरुले बुढेसकाल र एकाकीपन बिर्साएर  मानौ गीतहरुसित मात्र उनलाई एकाकार  गरिदिएको छ , आत्मसात गरिदिसकेको छ ।

म उनलाई अझै  ताजा परिक्षण गर्न खोज्छु र भन्छु “ अब तपाई त जाने रे अब हरिधाम वास गर्न । गीतैमा भन्नु न त ।“ अब  क्या भनुम ता नी ” उनी आफैलाई सोधेको जस्तो गर्छिन । उनको आँखा हल्का फरफर गर्छ । सोचमा परेका आँखाको नानी निमेषभरकोलागि साँघुरो पर्छ तर मनमा फुरेको  ताजा गीतकोबोल भने  आछामी ठाडो भाखामा  तत्कालै  कण्ठबाट सललल पोखिन्छिन् ।


खादैन भनेको दिन
पाकी पकवान
हरिद्धार मर्न है जाउ
रक्षा भगवान

निरक्षर कलावतीसित मनको सबै खाले बहको ताला खोल्न शब्दको साँचो छ जो पुराना मधुर सुदुर पश्चिमी भाखामा छताछुल्ल भएर पोखिन आतुर  छन् ।  गायनसितको यो लामो अनुराग  र कलासितको यो एकल आराधनाको शक्तिले उनलाई साच्चैको कलावती बनाएको छ । लोकगीत र लोकलयको विशाल भण्डार बनेका उनको  उमेरको  यो सन्ध्या , उनलाई पत्तै नदिइ सुनौलो भएको छ । तर कहालीलाग्दो कुरा  कलाको यो विशाल भण्डार अब उनीसितै अस्ताउने तर्खरमा पनि छ ।

स्रोेताहरुको खोजमा कलावती

"पाए त गाउदी हु नी रेडियामा पनि ।" उनको भित्र रहेको कलाकार शायद अझै स्रोेताहरुको खोजमा छ उनलाई आछाममा घन्किने स्थानीय एफ. एम. स्टेशनहरु बारे पनि थाह छ र आफुले गाएको  गीत रेडियाबाट सुन्न पाए कस्तो हुदो हो भन्ने निर्दोष कल्पनाहरुमा रम्न पनि मन पर्छ । तर उनलाई खोज्दै कोही पनि उनको आँगनमा आइपुगेका छैनन्। 

हाम्रो दुर्गम बस्ती र अँध्यारो आँगनहरुमै यस्ता धेरै बेनामी कलावतीहरु छन् जसकोे प्रतिभा गुमनाम छन्  उनीहरुसितको यो सम्पदा अब उनीहरुसितै बिलाउने तरखरमा छ ।


“आजभोलि त कता बालन खेल्ने कताको रत्यौडि खेल्ने , विवाह उत्सवतिर गिदाउडीहरु भएर गाउने हो र अब त ?  पुराना गीतहरु भन्दा क्यासेटमा  गीतहरु बजाएर नाच्ने चलन पो चल्न थालेको छ गाउँघरतिर । मेरो छोरी यस्तो भाकामा गीत गाउन समेत लाज मान्छे । के गाएको होला भनेर दिक्क पो मान्छे ।” सापे बगरकी अर्की स्थानीय लोकगायिका केटी विश्वकर्मा चिन्ता पोख्छिन् ।



साँच्चै यी लोकलयहरु भाकाहरु अर्को पुस्तामा नसरे के हुने होला ? धरोधरको रुपमा एक पुस्ताबाट अर्को पुुस्तामा अनि  आमाबाट छोरीहरुमा सरेर जाने भाकाहरुको ,नेपाली माटोको मौलिकपनमा हुर्केर आएको नेपाली लोकलयहरुको अस्तित्व के हुने होला ? संग्लो  नेपाली माटोको मौलिकपन बोकेका यी भाकाहरु बनावटी मिसावटी हुदै  आफ्ना सारा पहिचान गुमाउदै  बिस्तारै विस्मृतिको गर्भमा विलिन होलान त ? के पुर्खाका यस मौलिक भाकाहरुको अमूल्य सम्पदाले यस पीढीकाहरुसम्मको मात्र आयु राख्लान त ?  हाम्रो लोकलयका सम्पदा को सुरक्षा गर्न यस्ता बेनामी कलावतीहरुको खोजी के समयमा गरिनु पर्दैन ?

Comments

  1. Susanji, Loved your article. Very well written and thought provoking. Thank you for sharing your appreciation and concern about the disappearing oral tradition in art and culture.

    ReplyDelete

Post a Comment