बाग्गेयकारको पूण्यतिथिमा
ॐ
बाग्गेयकारको पूण्यतिथिमा
सुसन मास्के
एउटा नेपाली शब्द । कम्यूटरको पर्दामा टाइप भएको छ । रोमनमा । गुगल सर्च अनि इन्टर । मैले खोजेको त्यो रोमन नेपाली शब्द कम्यूटरको पर्दामा अनुवादित भएको छ । डेथ एनिभरसरी भनेर । डेथ एनिभरसरी अथार्त मरण वर्षउत्सव अथवा मृत्युको जन्मदिन ? कि मृत्यु उत्सव ...अनि यस्तै भावसित मिल्दो जुल्दो केही नेपाली शब्दहरु मेरो मनभित्र उल्था हुन थालेको छ ।
हाम्रो पूण्यतिथिलाई पश्चिमाहरुले डेथ एनिभरसरी भने पनि हाम्रो शब्दकोषको पूण्यतिथि कैयो अधिक ओजपूर्ण लाग्यो मलाई । मनुष्यले भौतिक शरीरलाई छाडेर गएको दिनलाई पूण्यतिथि भनिनु जस्तो अधिक सम्मानजन अनि अर्थपूर्ण अरु कुनै शब्द हुनै सक्दैन ।
अम्बर सर पनि अनन्तसत्तामा विलिन हुनुभएको आज ठीक चार वर्ष भएको छ । सरको भौतिक शरीर छैन तर उहाँको सृजनाहरु हाम्रो वरपर जीवन्त छन् । राष्टिय गीतको धुनमा सर हरेक नेपालीहरुको मनमा हर नेपालीहरुको गरिमामय अवसर र दिनचर्याहरुमा गुन्जिनु हुन्छ । हरेक खालका मनको भाव र अवस्थाहरुलाई स्पर्श गर्ने उहाँले छोडेर जानु भएका अनगन्ती कालजयी गीतहरु छन् ।
अम्बरसरको शिष्यत्वमा रहदा एकदिन एउटा साह्रै गहकिलो शब्द बाग्गेयकारसित सरले मलाई परिचय गराइदिनु भएको थियो । सरले यो शब्द र यसको अर्थ मेरो साधना कापीमा लेखिदिनु भएको थियो । नेपाली शब्दकोशमा यो शब्द खोज्दा मैले भेटिन तर अम्बर सरले मलाई यसरी अरथ्याउनु भएको थियो जो गीत गाउछ जसले गीत पनि लेख्छ अनि सङ्गीत पनि भर्छ उ बाग्गेयकार हुन्छ । अम्बर सर यस युगको यस्तो बाग्गेयकार हुनुहुन्थ्यो जोसित तीनवटा
प्रतिभाहरुले एक साथ हुन रोजेका थिए । यी प्रतिभाहरुको सरले आजिवन उपसाना गर्नु भएको छ यो उपासनाको सिद्घि अम्बर सरको हरेक कृतिहरुमा भेटिन्छ । गीतको गायनमा , गीतकोलेखनमा , गीतको धुनहरुमा सरको जुन उच्चकोटीको सृजनशिलता भेटिन्छ जसको वखान गर्न खोज्नु सूर्यलाई दीयो देखाउनु सरह हुनेछ ।
गायक , गीतकार अनि सङ्गीतकार अम्बर सरको पूण्यतिथिको संघारमा यो हरफहरु लेखिरहदा दसकौ अघि रफिले गाएको यो मधुर गीत मेरो मनको अन्तसमा गुन्जिरहेको छ ।
तिमी मलाई त्यसै बिर्सिन सक्ने छैनौ
जब जब सुन्ने छौ गीतहरु मेरो
संगसंगै तिमी पनि गुन्गुनाउने छौ ...
के यी महान सङ्गीत साधकले छोडेर गएको सृजना र कृतिहरुले तपाई हामीलाई यसो भनीरहेको जस्तो लाग्दैन ? तर यस गीतको भाव जस्तो अम्बरसरलाई गीत सुनेर मात्र संझिने साँघुरो ठाँउ छैन । यस युगका बाग्गेयकार अम्बरसरलाई संझिने घेरा त धेरै धेरै फराकिलो र विराट छ । सरले गाउनु भएको गीतहरुमा मात्र होइन सरले लेख्नु भएको गीतहरुमा अनि सरको सङ्गीतमा अरुले गाएको गीतमा पनि सरको अविरल स्मृतीहरुको आनन्दधारा बग्छ ।
तर समय परिवर्तनशिल छ नेपाली सङ्गीतको क्षेत्र पनि अपवाद छैन । पुराना गीतहरु कुन मौलिक स्वरुपमा थिए यसको निकै खोजीनीति गर्ने अवस्थामा पुगेको छ । कालान्तरमा सरको गीतहरु पनि मिसावट हुन सक्छ वा कपिराइटको अभावमा चोरीको शिकार हुन सक्ने सम्भावनाहरु पनि एकातिर छ । तसर्थ नेपाली माटोका महान सङ्गीत साधकले छोडेर गएको सृजना र कृतिहरुले एउटा सम्मानपूर्ण स्थान पाउनु पर्छ ।
अम्बर सरकोलागि एउटा यस्तो स्मृति घर बनोस जहाँ मौलिक र अम्बरपन खोज्नेहरुलाई सहज सुलभरुपमा सरका कृतिहरु उपलब्घ हुन सकोस । उहाँको स्मृतिमा एउटा यस्तो संगीतमय संग्राहलय बनोस जहाँ अम्बरपन बुझ्ने कुनै पनि स्वदेशी विदेशी नेपाली मौलिक सङ्गीतका जिज्ञासु र अनुसन्धानकर्तालाई कुनै सामाग्रीहरुको अभाव नहोस । जहाँ उहाँलाई आदर झल्काउने उहाँलाई दिइएका राष्ट्रिय र अन्तराष्ट्रिय सम्मानहरु , ताम्रपत्र ,एवार्ड तथा कदरपत्रहरु आदि सम्मानहरुको समुचित व्यवस्थासाथ संरक्षणमा राखिन सकियोस । जहाँ नेपाली महान सङ्गीत साधकको सृजनशील जीवनको आजीवनसाथी बनेका तानपुरा ,हार्मोनियम तवला अनि बाजागाजाहरुको माया ममता र सम्मानसाथ हेरचाह होस ।
नोटेशनहरुको रुपमा रहेका तर रेकर्ड हुन नसकेका गीतसङ्गीतहरुको संरक्षण ,सही कदर र स्थान दिन एउटा यस्तो अम्बर स्मृति घर बनोस जो अम्बर सरको कलाकारिताको प्रसंसकहरुको लागि तीर्थ जस्तो पावन स्थल बनोस । जहाँको सृजनशील उर्जाले आगामी पुस्ताका नेपाली सङ्गीत उपासकहरुका लागि मार्गदर्शक गरोस ।
मानिस कहाँबाट आउछ अनि कहाँ जान्छ ? यो सवालको शतप्रतिशत जवाफ सायद कसैसित नहोला । तर मान्न मनलाग्छ हामी एउटा यस्तो अनन्त यात्रामा छौ जहाँ हामी कतैबाट आउछौ अनि कतै जान्छौ । अन्तत हामी सबैको पूण्यतिथि हुन्छ र हुनेछ तर पूण्यतिथि कसैकसैको मात्र मनाइन्छ । जस्तो आज एउटा बाग्गेयकारको आजीवन कर्मको आधारमा पूण्यतिथि मनाइदै छ तर यो दिनलाई तबमात्र साँचो श्रद्धान्जली होला जब हामी संबेदनशील हुनेछौ र समय रहदै
संरक्षण गर्ने दायित्व बोघ गर्ने छौ ती सृजना र कृतिहरु प्रति जुन बाग्गेयकारको रुपमा अम्बरसरले हामीलाई छोडेर जानु भएको छ ।

Beautifully written and expressed. It was a pleasure to read it.
ReplyDelete