घर

ॐ 

घर  
सुसन मास्के

त्यो घर जहाँ 
मेरो मन रम्छ 
त्यो घर जहाँ 
मेरो मन बस्छ


जसको चार पर्खाल
मायाको अंगालो बन्छ
जसको न्यानो ओतमा
 हिउँद र वर्षा कट्छ 

त्यो घरले सहजेर राखिदिएको
संझनाहरुको तहखाना छ
जहाँ रुने मात्र होइन
मुस्कुराउने हजारौ कारण छ


छानेर बस्न मनपर्ने 
एउटा कुना छ 
जहाँ मलाई छुदै
ओहर दोहर गनेै
मेरो केशसित मनपरी
खेलवाड गर्ने 
अटेरी चुल्बुले हावा छ 
तर म उसलाई 
मनपराउछु भन्ने कुरा 
उसलाई थाहा छ 



साह्रै मन पर्ने 
त्यो घरको एउटा
मयूरपङ्खी झ्याल छ
जसको ओटबाट 
घामले चोठा कोठा
भुइँ र भित्ताभरी
सुनौलो धर्के  
चित्रकारी गर्छ 



भन्न झण्डै बिर्सिएको
त्यो घरको आँगनमा 
पहिलो झरिले भिजाएको
माटोको अनुभूति जन्य 
सुगन्ध छ
 सुख र दुःखको रहर लाग्दो
घाम र छाया छ 


अरु भनु ? त्यो घर 
जहाँ मेरो सुनौलो दिन
अनि चाँदी जस्तो रात छ

त्यो घर जहाँ मेरो मन बस्छ
त्यो घर जहाँ मेरो मन रम्छ

Comments