शुभ गुरुपूर्णिमा 🌷🌷🌷

 ॐ


 

शुभ गुरुपूर्णिमा 🌷🌷🌷

                                                                                                                                                    सुसन मास्के 





म त्यतीबेला केही खोजीरहेको थिए। मानौ तिर्खाएको काकालकुकुलले पानी खोजेको जस्तै ।तर भन्छन पानी खोज्दै जब उ खोला नजिक पुग्छ,खोलाको पानी रगत बन्छ रे ।अनि पानी खान नसकि काकालकुकुल हाहाकार चित्कार गर्दै त्यसै प्यासै फर्किन्छ रे ।आजन्म यसरी पानीको खोजमा तिर्खाएर केवल भौँतारिमात्र रहन्छ रे ...सानो छदा आमाको मुखबाट यो कथा सुन्दा मेरो रगतमा चिसो पानी जस्तो केही बग्ने गर्थ्यो।व्याकुल भएर सोच्थे कठै कस्तो शापित काकालकुकुल ?


जीवनको एउटा कालखण्डमा म पनि काकालकुकुल जस्तै बनेको थिए । सङ्गीतकोे प्यासो काकालकुकुल ।तर भाग्यवश म शापित थिइन ।यही जन्म कि  पूर्वजन्मको कुनै राम्रो कर्म थियो मसित त्यसैले त म सङ्गीतको यस्तो निर्मल मानसरोवर छेउ पुगे ।सङ्गीतको प्यासो मेरो मनको काकालकुकुलको लागि त्यहाँ बिना शर्त सङ्गीतको निश्छल पवित्र लहर  र शीतल छहरा र छाँगो बगेको थियो ।बडो जतन, स्नेह र अनुग्रहले  जन्म र जन्मान्तरकोलागि तृप्त हुने गरी सङ्गीतको  सहस्र धारा बगाइदिएर मेरो मनको सङ्गीतकोे प्यासो  काकालकुकुलमाथि कसले यतिठूलो उपकार  गर्यो ? कसको हो यो अनुग्रहरु कसको हो यो आषिशहरु ?


सरगम र रागरागिनीहरुको सहस्र भुलभुल कुलकुल खोलीहरु मेरो मनको बन्जर र बाझो छातिमा बगाइदिने सङ्गीतको महान साधक हुन मेरो सर । मेरो श्रद्धेय सर । मेरो गुरु । मेरो प्यारो अम्बर सर ।



त्यस्तै रहेन अब गुरुपूर्णिमाहरु

सरगम सुर हावामा तैरिने 

छहरा छाँगो बन्दै रागरागिनी झर्ने

तबला र तानपुराले झन्कृत 

साँझ सुरिलो सजिएको हुने

 

छैन त्यो चरण ,गुरुको त्यो शरण

माथ झुकाउदा कलाको उपासना हुने

छैन निधारमा रातो टीका

आषिश बन्दै सुहाउने

छैन शीर उपरको गुरुको हात,

वरदान सृजशीलताको वर्षाउने  


छैन आलुदम पीरो ,पुरी र अचार

उत्सव मीठो,गुरु शिष्य शिष्या माझ

गनु म के के अभावहरु यस गुरुपूर्णिमाको 

गुरु विनाको गुरुपूर्णिमाको ?


तर पनि गरिमामय छ, गुरु संझना

मात्रले पनि गुरुपूर्णिमाहरु 

भक्तिमा झन झन प्रज्वलित छ 

गुरु साक्षात परम व्रम्हको  

बन्दना अर्चना सदा सर्वदा र अनन्त छ...


 आज २०७८ सालको गुरुपूर्णिमाको यस पावन अवसरमा कहिले नटुट्ने भक्ति वन्दना, अर्चना, संझनाहरु अम्बर सरलाई अर्पण गर्दछु ....शुभ गुरुपूर्णिमा 🌷🌷🌷 

Comments