सात सुरहरु रहेसम्म


सुसन मास्के

सात सुरहरु रहेसम्म 
रहेसम्म अन्जान रागरागिनीहरु
यो धरामा 
वर्षवर्षहरु युगौ सम्म बाँची रहने
अम्बरसरको  यो जन्मदिनको 
श्रद्धा संझनामा 

नटुट्ने, ननिभ्ने ,नसुक्ने 
भक्ति बन्दना र अर्चना 
🌹शुभ अजर अमर जन्म दिन मेरो आराध्य अम्बर सर ...🌹





फाल्गुन १४ गते २०७८ साल ,आज अम्बर सरको ८४ औं शुभ जन्मदिन हो । त्यसो भए सर ६० वर्षको हुनु हुन्थ्यो रहिछ जब मैले उहाँको जन्मदिन पहिलो पटक मनाउने सौभाग्य पाएको थिए । सरको यो जन्मदिन मैले कसरी मनाए भन्ने पनि एक रोचक कथा जस्तै नै छ तर त्यो जन्मदिनलाई म त्यो कोसेढुंगा मान्ने गर्छु जहाँबाट मेरो गुरु भक्तिको त्यो पावन यात्राको पनि शुरुवात भएको थियो । जुन अटुट रुपमा आजपर्यन्त जारी छ ।  अन्तिम स्वासमा पनि रहनेछ । 

यो २०५४ सालको कुरा हो, जब म भर्खरै सरको नयाँ नयाँ शिष्या बनेको थिए । यसै सालको चैत्र महिनमा  सरले प्रज्ञा प्रतिष्ठानमा आयोजना गर्न लाग्नु भएको “क्वायर”संगगान कोलागि म पनि छनौटमा परेको थिए । पश्चिमाहरुको लोकप्रिय सङ्गीतको एउटा हाँगो क्वायर हो ,जसलाई कोरस पनि भनिन्छ । यस गायनमा एक देखि सयौंको संख्यामा गायक तथा गायिकाहरुले विभिन्न स्वरका भागहरु एकैपटक एकसाथ उच्चारित गर्ने गर्छन । नेपालको लागि यो नितान्त नौलो सङ्गीत विधा हो । पछि बुझे ,सरले यसको नेपाली नामाकरण ‘संगगान’ भनेर गर्नु भएको रहेछ । सरबाट पाएको जानकारी अनुसार यो क्यानटेटा, मारा, ओराटोरियो जस्ता अनेक प्रारुपमा पनि चिनिन्छन रे । नेपाली सङ्गीतमा गहन कार्य गर्ने अभिप्रायले २०४९ सालमा ‘इन्द्रधनुषिय सन्ध्या’ भनेर पहिलो पटक नेपालमा क्वायरको सफल आयोजना पछि अम्बर सर यो दोस्रो क्वायर २०५४ सालको चैत्र महिनामा गर्ने तयारीमा जुटनु भएको थियो । अम्बर सरले मलाई क्वायरको लागि छान्नु भयो खुशिले मेरो मन धकधक गर्छ । तर ३ महिना  त भयो सरसित सङ्गीतको क,ख सिक्न थालेको । क्वायर गर्न सकुला त ? तर आफूमाथि कुन भर परेर हो, ‘हुन्छ’भनिदिन्छु । तर मनको चोरले भने चैन लिन दिदैन, चुनौति दिदै सोध्छ ‘नोटेशन पढ्न सक्छस ?’

पहिलो दिन भएको क्वायरको रिहर्सलमा भेट हुन्छ सरको खास चेला र चेलीहरु ।  सरको दीक्षाले वर्षौदेखि खारिएका आभासजी , राजकुमारजी , विरेन्द्रभाई , गंगाजी, शिशिरजी, रीना, चन्दा देवान, सूरजभाईहरु । सरको यी गुनी र अनुभवी शिष्यशिष्याहरुको माझ आफूलाई म पाउछु सरको एकदम कनिष्ठ र काँचो शिष्याको रुपमा । सरको चेलाचेलीहरु बाहेक यस भीडमा म देख्छु हिट्सएफ एमकी एन्कर मन्दिरा ढुङ्गेल ,

राजकुमार,सुरज,पवित्र,सुसन,मन्दिरा,विरेन्द्र


सुक्मीत गुरुङ्ग, ज्ञानु राणा, हीरादेवी राई , भारती उपाध्याय , पवित्र सुब्बा,उदय सोताङ ,धनुषा सिंह, सृजना, लरेटो सिहं आदी नाम चलेको गायक गायिकाहरुको सहभागिता पनि । 

क्वायरका आयोजक रेडियो सगरमाथा एवं बातावरण पत्रकार समूहमा आवद्ध पत्रकारहरु कनकमणि दीक्षित,बसन्त थापा ,मोहन मैनाली, आदी हस्तीहरुको व्यवस्थापनमा क्वायरको रिहर्सल जोर सोरले चल्छ । क्वायरको गानको नोटेशनको फोटोकपी मैले पनि पाइसके र मेरो भागमा गाउने कुन हिस्सा हो र मैले कुन सुरमा कुन समूहसित मिसिएर गाउनु पर्छ बिस्तारै बुझन थालेको छु । कतिपय अवस्थामा र संकट परेको बेला कतिपय ठाँउमा सङ्गीतको मेरो काँचोपनको अज्ञानतालाई सघाउने यस बखत सरको अति विनम्र र प्रतिभाशाली शिष्य सुरज थापाको मलाई निकै ठूलो आड हुन्छन्। । नबुझेको धेरै कुरा उनलाई नै सोध्छु अनि खुब मिहनेत गर्छु । लय समातेर सुरको भरमा गाउने मैले भर्खर के बुझ्न थालेको थिए भने सङ्गीतलाई पढ्न सकिन्छ ,पढेर गाउन सकिन्छ । किबोर्ड र पियानोमा पहिला सरगममा खुब रटाएर अभ्यास गराएपछि अनि बल्ल पछि मात्र सरले गीतका बोलमा पनि गाउने रिहर्सल शुरु गराउन थाल्नु भाछ ।

यसै क्वायरको रिहर्सलमा सरका शिष्य शिष्याहरुकोमाझ कुरा भएको सुनेर थाह पाए , हालै सरकहाँ सरस्वती पूजा मनाइयो रे । थाह पाए अम्बर सरको शिष्य शिष्या माझ हरेक साल सरस्वती पूजा सरकहाँ मनाउने चलन रहेछ । “सरको सरस्वती पूजामा म त छुटेछु ’”यो सोचले मन उदास भयो । तर उनीहरुले गरिरहेको कुराको अमूल्य सूचना मेरो कानमा चुहिएको थियो ,फाल्गुन १४ रागते सरको जन्मदिन हो रे  जुन अब केही दिन पछि आउदै थियो । अनि के थियो मलाई सरसित भेट गर्ने जायज बहाना मिलेको थियो ।


सरलाई जन्मदिनको के उपहार मन पर्ला ? खुब सोचे । पुतली सडकको पसल पसलहरु चहारे अनि बल्ल एउटा सिल्कको टाइसित म्याचिङ्ग रुमालको सेट मनपर्यो । सोही सेट किनेर फूलहरुको एउटा बुके लिएर पुगेको थिए,एकबिहानै मेरो लाजिम्पाट घर छेउ नै पर्ने पानी पोखरी स्थित सरको छोरा बुहारीको फूल र बगैचाले भरिएको घरको डोरबेल  बजाउन । अम्बर सरको अमेरिकन बुहारी एन कुफमेनसित अस्मिता पत्रिकाको केही प्रोजेक्टहरुको सिलसिलामा  काम परेर यो सुन्दर घरमा म पहिला पनि आएको थिए । । सर हालसाल यहाँ बस्नु भएको कुरा थाह थियो तर ढोका भने सरको छोरा राजुदाईले खोल्नु भयो । सर मोर्निङ्ग वाकमा जानु भएको रहेछ । मेरो श्रद्धालाई पोख्ने फूल र भावनाको सानो उपहारलाई त्यही छोडेर म फर्केको थिए । रिहर्सलमा अब मेरो सिक्रेट अर्को काम थियो ,सरले लगाउनु भएको हरेक टाइ र कोटको खल्तीमा राख्नु भएको रुमाललाई खुब नियालेर हेर्ने । जन्मदिनमा मैले दिएको उपहार त्यो रुमाल टाइ  सरले कहिले लाउनु हुन्छ होला भन्ने हरेक पटकको मेरो निजी चासो र ध्याउन्न थियो । 

नेपाल प्रज्ञा प्रतिष्ठानमा २०५४ चैत्र १२ गते ‘अम्बरको अमर भाखा’ शीर्षकमा दुइ चरणमा छुट्याइएको त्यो अविस्मरणिय साङ्गीतिक साँझ । प्रज्ञा भवनमा स्व. गोपाल योञ्जनको कला पारखी मिसेज रिन्जेन योञ्जनको दीपमालाले सजिएको कलात्मक स्टेजमा सरको आवाजको जादु फैलिन्छ । पहिलो चरणमा सरको एकल गायनले प्रज्ञा हलमा जम्मा भएका सङ्गीत प्रेमीहरुलाई मन्त्रमुग्ध बनाउछ । स्टेजको पर्दा पछाडि उभिएर म सुन्दै जान्छु ,मलाई मनपर्ने एकपछि अर्को सरको गीतहरु । र यस अघि कहिले नसुनेका सरका गीतहरु पनि सुन्न पाएर मख्ख हुन्छु । यी गीतहरुको गहिरो सम्मोहनमा डुबेर मानौ म कुनै अर्कै लोकमा पुगेको छु ।

यो महान साधकको साधनाको सिद्धिले होला ,सरको स्वरमा पाइने एउटा खास पन छ जसले मलाई सधैँ जादुको जस्तो असर गर्छ बाहिरी संसारबाट च्वाट्टै चुडाएर अन्तसभित्रको गहिरो र निर्मल अलौकिक अनुभूतिहरुमा एक्लै लगेर छोडिदिन्छ । यो जादुको असर त्यतिबेला झन घना भएको पाउछु जब सर लाइभ गाउनु हुन्छ । जीवनमा पहिलो पटक सरलाई लाइभ सुनिरहेको थिए । कत्रो अहो भाग्य मेरो ,सुन्न मात्र होइन अझ साथ गाउन पाइरहेको थिए । सेकेण्ड हाफको अन्तराल पछि अब उदधोषण भइसक्यो दोस्रो चरणको क्वायर गानको लागि । हामी गायिकाहरु हल्का गुलाफी र हरियो साडीको पहिरनमा अनि सेता सर्ट कालो पाइन्ट र कालो बो टाईमा सुसज्जित गायकहरुको २४ जनाको जमात माझ सरको पियानोमा संगान शुरु हुन्छ । कहिले नभएको पृथक रअपरिचित अनुभूतिमा डुब्दै उत्रिदै स्रोताहरुलाई भावनाको संबेगमा बगाएर लैजान्छ...



क्यायर पछि मलाई रुपान्तरित गरिसकोको थियो ,यस महान सङ्गीत साधक र सङ्गीत कला र र्सिजनाहरुले । म हृदयको गहिराइबाट म भक्त बन्दै थिए । र अम्बर सरको गुरुकुल मेरो मन्दिर बनेको थियो ।  अम्बरसरसितको शिष्यत्वमा गुरुकुल परम्पराबाट मैले पाएको तीन वटा खास दिनहरु छन र ती हुन सरस्वती पूजन, गुरुपूर्णिमा अनि सरको जन्मदिन । जो मेरोलागि सधैँ पावन उत्सव बनेर आए र गए । 

जीवन धारासित बहदै , सरको सानिध्यबाट चुडिएर सन् १००१ मा जब म दुर मुलक क्यानाडा भासिए ,यी उत्सव मेरालागि अझै महत्वशाली बने जसको निरन्तरतामा सहायक बने “मुन्चा हाउस डट कम ”, त कहिले “ठमेल डटकम” । सरको जन्मदिन फाल्नुग १४ गते निर्धारित दिनमा उनीहरुको सेल्समेन सरको ढोका ढक्ढकाउन पुगिसकेका हुन्थ्ये । सरलाई मेरो श्रद्धा भक्ति पोख्ने ससानो चिनोहरु , कहिले वाइन, केक , फूलको बुके , कहिले मसला फलफूलको बास्केट र पुस्तकहरु लिएर  । 

सन २००९ मा म किशोरी छोरी आस्था अनि सानो छोरा ओजस्वीलाई लिएर म नेपाल फर्किएको थिए । वन वे टीकट लिएर । क्यानडा फेरि नफर्किने सम्भवानाहरुलाई खोज्दै । म मेरो मातृभूमी फेरि स्थापित हुन सक्छु होला ? मेरो अस्तित्वको उखेलिएको जरोलाई फेरि नेपालको माटोमा रोप्न सक्छु होला ? मेरो अस्तित्वको एक हिस्सा “अस्मिता महिला प्रकाशन गृह ”अझै थियो तर मेरोलागि धेरै धेरै पछाडि छुटिसकेको थियो । तसर्थ रोजी रोटीकोलागि एक अन्तराष्ट्रिय संस्था “एफएचआइ”मा मिडिया कन्सल्टेन्टको जागिरे भएको थिए म । त्यो बेलाको भौतिक र मानसिक संधर्षको त्यो मेरो पाटो सहज थिएन । एक्लो  जिम्मेवारी र पारिवारिक तिक्तताहरुसित जुध्नु परेको थप चुनौती थिए मसित । 

यस्तो बेला मेरो खुशि खुशि जाने ठाउँ कतै थियो भने त्यो थियो अम्बर सर र बीना म्याम कहाँ । जहाँ संङ्गीतको निर्मलता र आत्मीय मनको सहचर्य थियो जहाँ मनको सारा सन्ताप र क्लेष धोइ पखाल्न सक्थ्ये म । तर व्यस्ताहरुमा अलमलिएर निकै समय भएको थियो सरकहाँ जान नपाएको । तर त्यो दिन बिहानैदेखि एकतमाशले मनले रटन थालेको थियो आज त जसरी भए पनि सरकहाँ पुग्न छ मलाई । र दिउसो मेरो कालो थोत्रो काइनेटिक मोटरसाइकल हल्ला गर्दै सरको गेटमा पुगेको थियो मलाई लिएर । तिनताक सर रीङ् रोड गंगालाल अस्पताल नजिक पर्ने उपभोक्ता मार्ग अवस्थित किशोर दाईको घरमा बस्नु हुन्थ्यो । माथि बार्दलीमा मलाई नै पर्खे जस्तो गरि सर र म्याम उभिनु भएको थियो । “ढोका खुल्लै छ माथि आउ सुुसन ”म्यामको मायालु निम्तो सुन्दै मलाई तलै लिन आएको मायाले पुल्पुलिएको कुकुर सिन्द्रुसितै सिँढी चढेर माथि बैकठ कोठामा पुगिसकेको थिए म । यता उताको गफ चल्न थालेको थियो हाम्रो । तर मैले देखे ,कुराकानीको बीचमा अम्बर सर र म्यामको आँखा जुध्थ्ये कुन्नी कस्तो विस्मयको जस्तो भावमा । यसरी एककाध धण्टा बितेपछि विदाइको अनुमति माग्दै म के उठेको थिए ,अब भने बीना म्यामले मन थाम्नै सक्नु भएन छ । हैरानीले भरिएको उहाँको स्वर सुने मैले “आज तिमी चिप्लियौ सुसन ! आज सरको जन्म दिन हो । पहिलो पल्ट देखे ,तिमीले सरको जन्मदिनलाई बिर्सियौ ”। 

म भित्र रगत बग्न छोडे जस्तो लाग्यो र मुटुले धड्किन ...म अवाक बने । मेरो हातमा खादा थिएन ,माला थिएन न त मेरो श्रद्धा पोख्ने कुनै उपहारहरु । यस्तो कसरी भयो ह ? अहिले सोच्दै छु के त्यो बेला मैले एक्लै जुधिरहेको मेरो मानसिक दशा र उद्धवेग  दोषि थिए कि त यसरी सरको जन्मदिन बिर्सिनमा ? यदि थिए भने पनि ती क्षमा योग्य थिएनन ।  तर अहिले मनलाई अलिकति भए पनि सन्तुष्टि दिनेको कुरा के भने कसरी कसरी ,यो दिन भने पुगेको थिए ,थाहै नपाई अज्ञात कुनै टेलिप्याथी जस्तो ,म भने घचेटिदै पुगेको थिए सरको समिपमा । मेरो यस्तो मर्मान्तक हालतमा सरले मुसुमुसु हाँसेको देखे । अनि सरको चरण स्पर्श गर्न झुक्दा मेरो आँखा आँसुले टिलपिलाएको थियो । 


आज पनि यस्तै गरि मेरो आँखा छछल्किएको छ सरको जन्मदिनमा हामी माझ नभएको अम्बर सरलाई संझेर । मलाई थाह छैन मीरा बाहेक कुनै भक्तले उसको ईश्वरलाई पायो होला तर मलाई थाह छ मेरो भक्तिले अम्बरसरलाई पाएको छ 

 

 


शुभ अजर अमर जन्म दिन मेरो आराध्य अम्बर सर ...🌹
























Comments