चरैवेति ...चरैवेति ....

 ॐ 

चरैवेति ...चरैवेति .... 




                                                                                                                                            सुसन मास्के



यस्तो लाग्दैछ , अस्मिता पत्रिकाको मूल मन्त्र हो, चरैवेति ...चरैवेति .... एउटा यस्तो कहिल्यै नसमाप्त हुने यात्रामा हिडिरहनु ...हिडिरहनु ..... 

सात वर्षको निकै लामो समय सुस्ताएर लिएको विश्रान्ति पछि अस्मिता पत्रिकाले फेरि आफ्नो यात्राको पूर्नथालनी गर्दैछ । यो त्यही यात्राको निरन्तरता हो जुन आजभन्दा ३५ वर्ष अघि शुरु भइसकेको थियो । नेपाली महिलाका मर्यादास्तर र गौरवपूर्ण अस्तित्वको खोजको उद्घोषगर्दै अस्मिता पत्रिकाले २०४५ साल बैशाख महिनामा आफ्नो यात्रा थालेको थियो । 

पितृसत्तात्मक समाजमा दोस्रो दर्जामा खसालिएका नेपाली महिलाहरुको अधिकार समानता र हकहितको सवालमा दवाब सृजना गर्न ,अस्मिता पत्रिकामा उतिबेला उठाएका जल्दाबल्दा नारीवादी सवालहरु यी थिए । पैतृक सम्पतिमा समान अधिकार,परिवार भित्र र राज्यसत्तामा पितृसत्ताको समाप्ती, आरक्षण, समान ज्याला, असमान कानुन र सामाजिक कुप्रथाको अन्त्य,गर्भपतनको अधिकार,बलत्कार चेलिबेटी बेचविखन रोक,नारी शरीरलाई बस्तु ठान्ने परम्पराको अन्त्य,अश्लिल सामाग्री प्रकाशन र प्रसारणमाथि बन्देज आदि आदि । 

महिला अधिकार विषयमाथि केन्द्रित रहेर स्तर र व्यवसायिकतालाई पनि कायम राख्दै नेपाली महिलाहरुको व्यक्तिगत मर्यादा अनि गौरवपूर्ण अस्तित्वको खोज्ने जुन यात्राबाट अस्मिता पत्रिका गुज्रियो,त्यो त्यस युगका महिला सक्रियता, सहास र जुझारुपनको नकेवल साक्षी बन्यो,आफै पनि पितृसत्ताको विरोधमा चुनौतिपूर्ण महिला समानताको लडाई लड्दै नेपाली महिला आन्दोलनको एउटा कालखण्डको कोसेढुङ्गा बन्यो । 

अन्जु र सुसन 

लगभग चालिस दशक अघि यसरी शुरु भएको अस्मिता पत्रिकाको यात्राले फेरि निरन्तरता पाउनु हामी द्धय सुसन ,अन्जु (अस्मिता पत्रिकाको संस्थापक, प्रकाशक ,सम्पादक ) 

लगायत उतिबेला अस्मिता पत्रिकामा तनमनले संलग्न र योगदान दिनेहरु सबैलाई अत्यन्त खुशि,आत्मसन्तोष र गर्वको कुरा भएको छ । जबसम्म आधी शक्ति, आधा आकाश र आधा धर्ति ढाक्ने महिलाको अस्तित्व छ अस्मिताको पनि अस्तित्व छ । हाम्रो कामना छ अस्मिताको यात्रा निरन्तरता एउटा रीले दौडजस्तै बनोस । जब पुराना खेलाडी थाक्छन तर खेलको अन्त्य नभइ बागडोर सक्षम नवपुस्तामा हस्तान्तरण होस । यसरी अस्मिताको यो अनन्त यात्रा यसरी नै जारी रहोस । अस्मिता पत्रिकालाई पूर्नजीवन दिन अहोरात्र भगिरथ प्रयत्नमा लागि पर्ने सबै उर्जाशील नव अस्मिता परिवारलाई हाम्रो स्नेहशिक्त शुभकामनाहरु र अनन्त आभारहरु सहित अस्मिता पत्रिकालाई पुस्ता हस्तान्तरण गर्दछौ... 

चरैवेति ...चरैवेति ...

 सुसन , अन्जु 

Comments