तीन पुस्ता - पहिलो भाग - तस्वीरहरुमा आमा

आमा छोरी तीन पुस्ता

पहिलो पुस्ताः भाग १


सुसन मास्के


तीन पुस्ता  । तर तीन किन ? यो भन्दा धेरै वा कम किन नहुने ? हुन सक्ला तर अहिले मेरो पहुँच यति सेरोफेरो भित्र छ र मेरो रुची पनि । तीन पुस्ताको पहिलो कडी मेरो आमा, दोस्रो पुस्ताकी प्रतिनीधि म आफै अनि तेस्रो पुस्ता कि पात्र मेरी छोरी । सबै मिलाउदा भएका छौ  ,आमाछोरीका तीन पुस्ता ।

बेग्ला बेग्लै कालखण्ड ,परिवेश र जीवनभूमीका यी तीन पात्रहरुले भोगेका सुख दुःख र चुनौति र संघर्षहरुको झिनो मसिनो कुराहरुको हो यो आलेख । तीन पुस्ताका यी  महिला पात्रहरु उभिएको बेग्लाबेग्लै कालखण्ड छ र बाँचेको नितान्त  फरक जीवनशैली पनि तर एउटा समानता छ । त्यो हो सम्बन्धको । सम्बन्ध हो आमा छोरीको । साइनो छ ,रगतको । निशर्त माया र स्नेहहरुको । सम्बन्घ छ महिला हुनुको ,आधा आकाश ढाक्ने महिला जातको  ।

 पहिलो पुस्ता 

जीवन शुरु हुन्छ आमाबाट । र शुरु गरौ आमाबाटै । म आमा हु तर मेरो पनि आमा हुनुहुन्थ्यो । धेरै वर्ष अघिदेखि मलाई उहाँलाई चिन्न मनलागेको थियो । आमा हुनुहुन्थ्यो मेरो । तर धेरै कुराहरु उहाँको अपरिचत जस्तो थियो । उहाँले जन्माउनु भएको चार सन्तानहरुमा सबभन्दा सानी हूँ म । युवाअवस्थामै परलोक हुनुभएको आमाको बाल्यकालको स्मृतिहरु मात्र छ मसित । आमासित जोडिएको बाल्यकालको यिनै  स्मृतिहरुलाई मैले साह्रै माया, आदर र जतन गरेर सहजेर राखेको थिए । तर बाल्यकालको स्मृतिहरुले मात्र पुगेको थिएन मलाई । नौ दश वर्षकी बालिकाको स्मृतिमा अटाएको संझनाहरुको भरमा तयार गरेको आमा कुनै अधूरो तस्वीर जस्तै हुनुहुन्थ्यो । यो अधूरो चित्र मलाई पुरा गर्नु थियो । तर वर्षौ बितेरे गइरहेका थिए । आमाको तस्वीर अधूरो नै थियो ।

 तस्वीरहरुमा आमा  

 


त्यसो त मसित उहाँको एउटा तस्वीर छ । म जहाँ जहाँ जान्छु यो तस्वीर पनि म संगसंगै हुन्छ । पहिला पहिला होस्टेलहरुको टेबलमा हुन्थ्यो । अनि मेरो जीवन यात्राहरुमा म जताजता लागे, मेरो मन परेको कुनामा यो तस्वीरको बास हुन्छ । सधैँँ लाग्छ यो तस्वीरले मलाई हेरेर मैले नपाएको उहाँका सारा स्नेह वर्षाइरहेको छ । त्यसो त पुराना एल्बम पल्टाउदा आमाको अरु पनि धेरै तस्वीरहरु देखा पर्छन । यस अर्थमा आमा फोटो खिच्न सौखिन हुनु पर्छ । त्यो आमाको जमानामा क्यामरा आफूसित राख्ने परिवार विरलै थिए होलान् । फोटो खिच्न कि फोटो स्टुडियो जान पर्थ्यो  कि त फोटोग्राफरलाई हायर गरेर घरमा बोलाउनु पर्थ्यो  ।

तर खोजी पसे हामी सबै उहाँको बच्चाकुच्चाहरुको पास्निदेखिको जन्मदिनहरुको फोटोहरु पुराना ,एल्बमहरुमा पाईन्छ । घरको सबभन्दा राम्रो कुना छानेर आकर्षक पहिरनमा आफ्ना भान्टाङ्ग  भुन्टुङ्गसित मुस्कुराएको पोजमा आमाको तस्वीरहरुलाई मैले देखेको छु । आमाको यो फोटोहरु प्रतिको आशक्ति वा शौक आज मेरो लागि कति गुनकारी भएको छ । मानौ उहाँलाई आभास थियो, आफ्नो छोटो नश्वर जीवनको । अनि अमिट याद बनाएर ती सारा तस्वीरहरुमा आफुलाई सहजेर पहिले नै राखिदिएको जस्तै ।

आमाको बाल्यकालको तस्वीरहरु देखिन मैले । त्यस अर्थमा मसित भएको आमाको यो सबभन्दा पुरानो तस्वीर हुनु पर्छ ।  हेर्दा हेदै यो सुन्दर तस्वीरलाई भन्न थालेको थिए , “मामु अब म तिमी भन्दा धेरै बुढो देखिन थालेको छु । छोरी भन्दा आमा बुढो देखिनु पर्ने होइन र ? ” अनि यो गुनासो गर्दै चित्त नबुझेर धेरैे पटक भनि भ्याएको छु “ कस्तो हतार लागेको ह हामीलाई छोडेर जान तपाईलाई ?”

साँच्ची कुन उमेरमा यो तस्वीर खिचिएको थियो होला ? अन्दाज गरे यस्तै सोर सत्र वर्ष तिर हो कि त ? पूर्वी पहाड पाँचथर कि किशोरी आमाको यो श्याम स्वेत ब्ल्याक एण्ड व्हाइट तस्वीर पहाडको त्यो सानो स्टुडियोमा कालो कपडाले बेरिएको एनलोग क्यामराले त्यो कुन फोटोग्राफरले खिचेको थियो होला ? कालो फुलबुट्टे चोली र साडीमा सजिएको उहाँको फराकिलो निधारको गोलो टीका, भरिलो ओठ र  गहिरो कालो पारदर्शी आँखा । अलि अलि नेप्टो नेप्टो नाक , अनि  कपाल चाही कस्तो घुमारेर मिलाएको नी । पहिला पहिलाका राणा मेमसाबहरुले जस्तो ? अचम्ममा पर्छु  र धेरै पटक सोची भ्याएको छु । पहाडको मध्यमवर्गीय परिवार तर ठाँट हेर्दा त्यतीबेलाका खान्दानी राणा परिवारको सभ्रान्त महिलाहरुले जस्तो रुप पार्न भियाएको हकी आमाले पनि । त्यतिबेला अहिले जस्तो कपाल सिधा गर्ने स्ट्रेट्नर वा घुमार्ने कर्लरको कताबाट आविष्कार भएको हुनु नी  ? तर पनि फेशन गर्न त्यो समयका युवा युवतिलाई छेकेको थिएन रहेछ । सुनेको थिए बाँसको चिम्टालाई तताएर कपालमा डामेर घुँगुरिलो बनाउन सकिन्थ्यो रे । कि त पहाड पाखामा पनि घरेलु प्रविधीले सुन्दर हुन सघाइदिने  सिपालु अज्ञात ब्यूटिसियनहरु पो  थिए कि ? कि आमा आफैले सजाउनु भएको थियो आफूलाई यसरी ? आमाको कपाल सिधा थियो तर पक्कै यस्तै केही प्रविधि अपनाएको हुनु पर्छ ,भर्खरको कलकलाउदो लालुपाते फुल जस्तो मेरो आमाले पनि । तर यो तस्वीरमा उहाँको पारदर्शी आँखा र ओठमा एउटा लुकेको उदासी प्रष्ट दखिन सकिन्छ । उहाँलाई म सोधु, के पीरले तपाईको त्यो सुन्दर अधर र आँखालाई मुस्कुराउन नदिएको ?

“तलाई के थाह मेरो बाबा ! यति बेला त हो तेरो बुवाले मेरोलागि सौता ल्याइदिएको ... ” अहिले यो तस्वीर बोल्ने भए यही जवाफ सुन्थ्ये होला मैले । तर आज मसित पनि आमालाई दिने जवाफ छ । होइन आमा ! मलाई तपाईको सबै कुरा थाह छ । तपाईको छोटो जीवनको हरेक पानालाई टुक्रा टुक्रामा जोडेर मैले पढेको छु । तपाईसितको मेरो त्यही अधूरो चिनारीलाई पुरा गर्न तपाईका नजिकका सारा नाता गोता, इष्ट मित्र र आफन्तहरुसित वर्षौ अघि तपाईको बारे सोधखोज गर्न गरिभ्याइसकेकि
छु । टुक्रा टुक्रामा छरिएको यही जानकारीहरुलाई जोडेर तपाईको जीवनको खुला दस्ताबेज आज मेरो सामु छ ।

 अब मेरो मनको क्यानभसमा तपाइको तस्वीर अधूरो छैन । असल पत्नी ,ममतामयी आमा र कुशल गृहिणीको सुन्दर रंगहरुले तपाई सजिनु भएको मात्र छैन ,ओझलमा रहेका तपाईको जीवट अस्मिताको त्यो पाटो पनि तानिएर आएको छ । जसले जीवनको टेढो मेढो संधर्षमा थाक्न जानेन , सदा कर्म योगि बनिरह्यो । जो घरको ढोकामा आएका असाहय दीनदुःखी गरीबहरुको संधै सहारा बन्यो । जोे । जसको ज्ञान ,विवेक ,धैर्य  र संधर्षहरु हाम्रो पहिलो पाठशाला बनेर  हाम्रो जीवनको जग हाल्यो । जसको जीवन भित्र अनि बाहिर पनि सत्य ,शीव अनि सुन्दर बनेर रह्यो ।

  ल हेर ..तपाईको यो अधूरो चित्र कसरी सुन्दर भएर पुरा भएको छ मेरो मानसमा । तर यस सित जोडिएको म अर्को पाटो झन सशक्त देख्दै छु र त्यो हो तपाईको जीवन कथाले त्यो समयका नेपाली महिलाहरुको अवस्थालाई मेरो अघि पारदर्शी बनाएको छ । मलाई किन लागिरहेको छ आजभन्दा अस्सी वर्ष अधिका महिलाहरुका मर्यादास्तर खुलाउने तपाईको जीवन ओझलमा राख्न नमिल्ने कुनै बहुमुल्य दस्तावेज बनेको छ । सामान्ति त्यो युगको प्रतिनिधि गर्ने त्यो कलाखण्डमा तपाई जस्ता अनगिन्ति नेपाली महिलाहरुले भोगेको कथा बोलेको छ तपाईको जीवनको हरेक अध्यायहरुले ।  त्योे छोटो कालखण्डमा अटाएको तपाईको ती सारा संघर्षहरु र दुःख सुखलाई नमन गदै म आज बाँड्न गइरकेको छु तपाईको जीवनको कथा आधा धर्ती आकाश ढाकेका सारा आमा छोरी जातलाई ।अनी बाँड्दै छु, आमाको कोखबाट जन्मने पुरुष जातलाई पनि ।

कृष्णा हो उहाँको नाम । १९९० सालमा पाँचथर यासोकको काफ्लेपानी भन्ने गाउँमा जन्मिनु भएको थियो रे हाम्रो आमा । अजा र अजीको लगातार चारभाइ छोराहरु जन्मेपछि पाँचौ सन्तान छोरी होस भनेर अनेक तीर्थ ,ब्रत र भाकल, पूराण सप्ताह, गरिएको थियो रे । यसरी छोरीको बडो रहर र चाह गरेर जन्मिएको हाम्रो आमालाई ९ वर्षको उमेर पुग्दा नपुग्दै धर्म कमाउन भनेर बिहे गराइदिइएको थिए रे ,तेरथुम जलजले याङ्सिला बस्ने मेरो १२ वर्षको नाबालक बुवा कृष्णकुमार मास्केसित । बालविवहाको जगजगीको त्यो समाजमा पुतलीको बिहा खेल जस्तै रचिएको थियो कृष्ण र कृष्णाको त्यो विवाह । धर्म कमाउने निहुँमा आमा तर्फकालाई छोरी रजश्वला नहुँदै कन्यादान गरिदिए पुण्य मिल्ने लोभ लागेको थियो । अनि केटा तर्फकाहरुको चासो भने मृत्यु सैयामा पुगेको परिवारको शिर्षस्थ पद्मसिहं मास्के बाजेलाई नातीको विवाह हेरेर मर्ने धोको पुर्यादिनु थियो ।

उहाँहरुको बालविहेको किस्सा कम करुण र कहालीलाग्दो छैन । आमालाई तेरो  दाजुको विवहा हुदै छ भनेर
ढाँटिएको थियो रे । खुबै फुर्किएर छुनुमुनु गर्दै बिहाको कामकाजमा सघाउ पघाउ गरिरहेको आमालाई तर कसैले भनि पठाएछ “आज तेरो जन्त आउदै छ , तेरो पो बिहे हो त । ” दाजुको बिहे भनेर खुशिले भुइँमा खुट्टा नपरिरहेको आमा आत्तिएर हातको काम त्यसै अधूरै छोडेर अँध्यारो मुखलागएर रुदै एकातिर हिडनु भयो रे ।
जग्गे ,जन्त ,भोज भतेरको व्यस्ततामा आमा  कतै बेपत्ता भएको कसैले चाल पाएन छन् । पछि जग्गेमा राख्न बेहुली चाहिए पछि बेहुली नै छैन । फसादमा परेर चारदिशामा कुदेर धुइँपत्ताल बेहुलीलाई खोजेर रित्तो हात फर्किए पछि केही सीप नलागेर माइतीतिर र जन्तहरु आमाकी माइली बहिनीलाई बिहाको जग्गेमा राख्ने सहमतीमा पुगेछन् । यही होहल्ला र हल्लीखल्लिमा परेवाको खोर तल बेहुली खोजेर हैरान भएर बसेका जन्तहरुमा माथि अनायस पानी चुहिन थालेछ । बेहुली कतै यो परेवाको खोर भित्र त छैन भन्ने शंका लागेर हेर्दा त परेवाको खोरभित्र हाम्रो आमा मस्त निदाइरहनु भएको  थियो रे । प्यास लाग्ला भनेर करुवामा पानी बोकेर कतिबेला उहाँ लुसुक्क परेवाको खोरको लिस्नो चढेर लुक्न भ्याइसक्नु भएको रहेछ ।अनि यसरी परेवा खोरभित्र लुकेर शरण लिइरहनु  भएको उहाँलाई  झपक्क निद्रालागि पठाएछ अनि निद्राको बेहोशिमै बालिका वधुको गोडालागेर करुवाको पानी ढालेको रहेछ ।

जग्गेमा बस्दिन भनेर कोलहाल गर्दै साह्रै रुनु भएको थियो रे हाम्रो आमा । आमाको मुखबाट अनि पछि अरुबाट पनि मैेले यो किस्सा सुनेको हुँ । जतिपल्ट सुन्दा गुन्दा पनि म छक्क पर्छु । मनभित्र कस्तो कस्तो पीडाहरु अटेसमटेस भएर आउँछ । आम नेपाली महिलाहरुको एउटा वेदनामय तस्वीर मेरो अगाडि पसारिन्छ । आश्चर्य लाग्छ म भन्दा एक पुस्ता अघिमात्र यो कस्तो फरक दशा र नियति उनीहरुले तय गरेका थिए ?

क्रमश...........

Comments