तीन पुस्ता – भाग ६ – हरैचाबाट विराटनगरमा
ॐ
आमा छोरी - तीन पुस्ता
पहिलो पुस्ता – भाग ६
हरैचाबाट विराटनगरमा
पक्का घर बनाउने, अनि केटाकेटीहरुलाई राम्रो स्कुलमा पढाउने सपनाहरु लिएर आमाको फेरि अर्को संघर्षको थालनी भएको थियो । संसारी माईथान नजिक गंगा हजुरबुवाको घरमा डेरा बसाएर बजैसित किनेको जग्गामा घर बनाउने काम शुरु भएको थियो ।
बजैको जग्गाको मोल किस्ताबन्दीमा चुकाएको जस्तो गरेर विराटनगरको घर पनि किस्ता किस्तामा बनेको थियो रे । झापाको लेटाङ्गमा आरावाल लगाएर काठ चिर्ने ठेक्काको कामबाट बुवालाई दशहजार जति नाफा भएको थियो । यसै पैसाले घरको जग हालेर तीनवटा कोठा र बरण्डा उठाइएको थियो । अनि पटुवा बेचेर घरको ढलान काम पनि सकिएको थियो । यसरी बिस्तारै बिस्तारै विराटनगरमा घर बनाउने आमाको सपनाले सकार रुप लिन थालेको थियो ।
पैसाले नपुगेर घरको झ्याल ढोका बनेको थिएन रे तर अब अरु पर्खने घैर्य आमासित थिएन । झ्याल र ढोका विहीन घरमा टीनको जस्तापाताले ढप्काएर भएर पनि सुत्ने भन्दै सर्न हतारिनु भएको थियो आमा। घरको भुइँ माटोको भएकोले रातभरी झ्याउँकीरी र मुसाहरुले उधिनेर माटोको रास लगाइदिन्थ्ये रे । अनि दिनभरी लगाएर सफा गरेको कोठा मुसा र झ्याउँकीरीहरुले रातभरि खटिएर विहानपख फेरि माटोको थुप्रोलाई जस्ताको तस्तै पारिदिन्थ्यो रे । जे जस्तो भए पनि सिन्का तिन्का जोडेर बनेको यो अधूरो घर, आफ्नो बालबचेरासित बस्ने आमाको त्यो सुन्दर र न्यानो गुँड थियो ।
दुखजिलो गर्दै पन्द्रसालमा घर बनाए पछिको केही वर्षहरु आमाको गृहस्थी विपन्नतामा र संघर्षहरुबाट गुज्रिएको देखिन्छ । बुवा ती दिनलाई यसरी संझिनु हुन्छ “बंगाली बाबुको घुम्तीमा किनेको अलिकता भुटुनले बडो किफायतीका साथ घरको तरकारी पाक्थ्यो । “ठूली ! भुटुन नै हाल्दिनौ कि क्या हो ? तिमीले पकाएको सागले च्याइँय गर्छ हाम्रो घरमा पकाएको सागले त झवाइँय पो गर्छ । ” जिस्किएर भने पनि पाहूना लागेका मास्के जेठाजु पर्नेको यस व्यंगले मुटु छेडेको थियो होला हाम्रो आमाको । तर आर्थिक विपन्नताहरुमा पनि आमा सहज र सन्तुलित देखिनु हुन्छ ।
विराटनगरको आमाबुवाले बनाएको यो गुँडमा उहाँहरुले जन्माएका सन्तानमात्र होइन बिस्तारै बिस्तारै गर्दै सासु ,ससुरा ,देवर ,दुई नन्दहरु लगायत माईला देवरको आमाविहीन दुईछोरीहरु पनि अटाएका थिए । आमाको असाहय टुहुरी भदैनी माईली दिदी पनि आमाको यो परिवारमा समेटिन आइपुगेकी थिइन् । तिनीहरु सबैलाई आमाले आफ्नो सेवा , ममत्व संरक्षणमा , भरण पोषण , शिक्षादीक्षा दिदै विहादान गरिदिन क्रियाशिल भएको देखिनु हुन्छ ।
आमाको कान्छी बहिनी सूर्य आण्टिले कक्षा आठ देखि वि.ए सम्मको पढाइ आमाको संरक्षणमा विराटनगर बसेर पुरा गर्नु भएको थियो रे । “ म पाँचथर जिल्ला भरिमा एस . एल . सी . अनि एम. ए. पास गर्ने पहिलो महिला हो । मैले यसरी विराटनगर बसेर पढने अवसर नपाएको भए समाजसेवाको क्षेत्र लगायत मेरो जीवन उपलब्धि मूलक भएर यति माथिसम्म उक्लिन सक्ने थिएन । ”
आमाको बारे सोधखोज गरिरहेको बेला मलाई सूर्य आण्टिले यी कुराहरु भन्नु भएको थियो , “ दिदीको त्यो ठूलो गृहस्थी पहिला नै धेरै सदस्यहरुले भरिएको थियो अनि यसमाथि म पनि पढ्न थपिएको थिए । यो ठूलो परिवारको भरणपोषण गर्ने भिनाजुको एक्लो कमाइबाट हुन्थ्यो । त्यसैले यो समय निकै अभाव र संघर्षपूर्ण थियो । यस्तो बेला सबैलाई संरक्षण गर्ने जिम्मेवारीलाई स्वेच्छाले उठाउनु, दिदी भिनजुको ठूलो महानता थियो ।”
तर आमालाई भने यो घर गृहस्थी चलाउन कान्छी बहिनीको उपस्थितीले भरथेग नै मिलेको थियो । बहिनीको नाममा खुर्सानीमा रहेको एक विधा जमिनको आयस्ताले घरको खाँचो गारो निकै टर्थ्यो । यसको साथै उहाँले लगाएर आएको दशतोला सुनको एकसरो गहनाहरुलाई पनि धेरै पटक बैंकमा धितो राखेर आमाले काम चलाउनु भएको थियो रे । एक पटक सूर्य आण्टि जाडोको विदामा पहाड जादा भरिया नआएकोले पहाड नगई विराटनगर नै फर्किनु भयो रे । यता भने बहिनी जाना साथ उहाँको चुरा ,सिक्रि गरहना बैंकमा धितो राख्न पुगिसकेको थियो । पक्कै पनि गहना माग्न फर्किएको होला अब कसरी दिने भनेर यसबेला आमा साह्रै आत्तिनु भएको थियो रे ।
यो समय बुवाले धेरै व्यवसायहरुमा हात हाल्नु भएको थियो । मास्के परिवारले खोलेको जलजला सिनेमा हलमा बुवाको जागिर थियो । भैँसी पालेर दूध बेच्ने , दाउरा बेच्ने, गोलापरासी झोडामा खेतीवाडी गर्ने , बाटो बनाउने ,अस्पतालमा राशन बाड्ने जस्तो बुवाको अनेक थरीका ठेक्का पट्टा कामहरु थिए । तर बुवाको हरेक कामहरुको वास्तविक प्रबन्धकर्ता भने आमा हुनुहुन्थ्यो । बुवाको काँधमा काँध मिलाएर हर परिस्थितीमा श्रमले, बुद्धि विवेक र सही सरसल्लाहले आर्थिक स्तर उकास्दै लग्न आमाले सदा साथ दिएको बुवाले खुला मनले स्वीकार्नु हुन्छ ।“ मैले गरेकको कमाई सबै चन्द्राको आमाको हातमा ल्याएर राखिदिन्थ्यो अनि घरको तालचाबी राखन्धरन सबै उसैसित हुन्थ्यो । हरेक दिन जसो पच्चिस पैसा पाकेट खर्च भनेर मलाई दिन्थ्यी ,यो पाकेट खर्चबाट कतै बसेर चिया खान्थ्ये ,दस पैसामा चिया बिस्कुट पाइन्थ्यो । पाँच पैसामा पान सुपाडी किन्थे कि थकाइ लाग्दा रीक्सा चढ्न पुग्थ्यो ।” मेरो अगाडि बुवाको सम्झनामा आमाको मायाको सुन्दर लहरो तानिएर आएको छ ।
सोरसालमा रमेश दाजु जन्मिएपछि यसको दुइवर्षको फरकमा म जन्मिएको थिए ।
उन्न्नाइस सालमा जलजले पहाडमा ठूलो सप्ताह पुराण लगाएको संझिनु हुन्छ बुवा । यस अवसरमा सामेल हुन उहाँहरु जलजले पहाड पुग्नु भएको थियो रे । धरानबाट सान्दाजु र मलाई भने डोकोमा राखेर भरियाहरुले धारापानीको उकालो हुदैँ जलजले पुुर्याएका थिए रे । बाटोमा थकाइ मार्न जाँड र खाजा खादै हिँडीरहेको यस लस्करमा आमाको देवर कान्छा काकाले भने सान्दाजु र मलाई पनि जाँड चखाउनु भएछ । अनि टुकुटुकु हिड्न भर्खर सिक्दै गरेको मेरो खुटालाई भने भाते जाँडको पनि मात लागेको थियो रे । अनि जाँडको मातलागेर सान्दाजु र म लबराउदै हिडेको देखेर त्यहाँ सबै परिवारको खुबै मनोरन्जन भएछ ।
पहाडको घरमा पुराण लगाएर आमाले लाखबति पनि बाल्नु भएको थियो रे । अनि आमाले बर्षौ अघि रोपेर ठूलो भएको बर र पीपलका बिहा रचाएर तिनका छाहारी मुनी बटुवाहरुका लागि चौतारो पनि बनाइदिनु भएको थियो रे । यसपछि बुवा आमा,आफ्नो पुर्ख्यौली थलो जलजले पहाडबाट औपचारिक रुपमा बिदावारी भएको देखिन्छ ।
पहाडको घरमा पुराण लगाएर आमाले लाखबति पनि बाल्नु भएको थियो रे । अनि आमाले बर्षौ अघि रोपेर ठूलो भएको बर र पीपलका बिहा रचाएर तिनका छाहारी मुनी बटुवाहरुका लागि चौतारो पनि बनाइदिनु भएको थियो रे । यसपछि बुवा आमा,आफ्नो पुर्ख्यौली थलो जलजले पहाडबाट औपचारिक रुपमा बिदावारी भएको देखिन्छ ।
अनि यसको एक वर्षपछिनै मेरो अर्को बहिनीको पनि जन्म भएको थियो , जसको छ महिना पुग्दा नपुग्दै मृत्यु भएको थियो रे । लगातार र कम दुरीको प्रजनन् तथा सम्हाल्नु पर्ने अरु व्यवहारिक जिम्मेवारी र उतरदायित्वहरुको बोझमा आमा आफूप्रति भने बेफुर्सदिलो हुदै जानु भएको थियो । यो समय आमा बुवाले सानो छोराको नाममा ‘रमेश टाइपिङ्ग इन्सटिच्यूट’ खोलेर व्यवसायी बन्न पनि कम्मर कस्नु भएको देखिन्छ । कलकता जादा बुवाले चार पाँचवटा टाइप राइटर किनेर खोलेको यस टाइपशालालाई देवर,नन्द र बैनीहरुको सहयोगमा केही वर्ष आमाले चलाएको देखिन्छ । तर पछि यो टाइपशालालाई साइली नन्द पार्वती निनीको बिहेको उपहारको रुपमा हस्तान्तरण गरिदिनु भएको थियो रे ।
यो समय आमालाई पहिलाको जस्तो मानसिक समस्या र पीडाहरु थिएनन् । तर भौतिक समस्याहरुसित जुध्न आमा निकै परिश्रम गर्नु हुन्थ्यो । पहाडबाट झरेर विराटनगरको घर बन्दा बन्दै आमासित बस्न आउनु भएको आमाको साइली नन्द पार्वती निनी यस संघर्षका दिनहरुको साक्षी हुनुहुन्थ्यो । मैले गरेको कुराकानीमा उहाँको मनको सदाशयताहरु आमाकोलागि यसरी खुलेर बोलेका थिए “रमेश भर्खर जन्मेको थियो , घरमा खानपनिको साह्रै अभाव थियो । त्यतिबेला निकै अभाव र दुःखहरु भाउजुले सहनु भएको थियो । तर पनि हामीलाई छोराछोरी जस्तै गरेर राख्नु भयो । पढाउनु ,लेखाउनु भयो । हाम्रो बिहेदान समेत गरिदिनु भयो । हाम्रो आमाबावुले गर्नु पर्ने काम कर्तब्य भाउजुले गर्न भयो ।”
![]() |
मास्के खलकका नौ दजुभाईहरु |
व्यवहारमा हक्की सहासी र मेहनती कुनै पनि काममा पछि नपर्ने आमासित यो स्वभाविक उर्जा सदा थियो । त्यसैले मास्के परिवार दाजुभाइ लगायत छरछिमेकामा हुने विवाह ,उत्सव ,चाडपर्व र भोजभतेर, श्राद्ध आदी कामहरु सम्पन्न गर्न पर्दा आमालाई विषेश रुपले संझिने गर्थे रे । नातेदार तथा छरछिमेक माझ चलेको विश्वास थियो, “यो कार्जे त कृष्णा कुमारीले मात्र पार लगाउन सक्छे ” र आमा उनीहरुको यो विश्वासमा सदा खरो उत्रिनु हुन्थ्यो ।
आफ्नो ढोकामा आशा गरेर आउनेहरुलाई आमाले निराश बनाएर कहिले खाली हात पठाउनु हुन्न थियो रे । “ कता लुकाएकी हुन्थ्यी कुन्नी ,खाँचो गारो परेर माग्न आएकाहरुलाई पैसा झिकेर दिन्थ्यी ।” बुवाको संझनामा आमाको यो खुला हातले दिने बानी अझै ताजै छ । आपत विपत परेर आउनेहरुलाई केही गरिदिऔँ भन्ने परोपकारको भाव राखेर अरुको मदत गर्न तम्सि हाल्ने सुन्दर बानी थियो रे उहाँको । अरुको दुःखमा विचलित बनेर आफूसित भएको लुगा, खानेकुरा ,पैसा जे छ , दिनु खोज्नु हुन्थ्यो रे ।
कसैले मागे भने लगाएको लुगासम्म फुकालेर दिन पनि उहाँलाई असहज लाग्दैन थियो रे । आमालाई एकपल्ट एक माग्ने महिलाले “एउटा फरिया दिनुस न हजुर !” भन्दा “ल त लगाउ” भन्दै लगाएको नयाँ साडी नै फुकालेर दिएर पेटिकोट मात्र लगाएर घरभित्र पस्नु भएको थियो रे ।
“कसैले त्यसै हात थाप्दैन ,यस्तोलाई दिएर कोही गरीब हुदैँन ” यो मान्यता हाम्रो आमाको जीवनभरी कायम थियो । त्यसैले ढोकामा सहयोग माग्न आउनेहरुको कमी थिएन । उहाँको उदारता र दयालुपन जग जाहेर थियो जसको फाइदा उठाउनेहरुको पनि कमी थिएन । आफू जति कम्जोर आर्थिक अवस्थामा भए पनि सम्पन्नताको साख र भान अरुलाई दिन सक्ने खुबी आमासित थियो । अझ त्यो भन्दा अरुको दुःखहरु देख्न नसक्ने कोमल, दयालु र उदार मन थियो उहाँसित ।
धेरैका ढोकाहरुमा उपेक्षाहरुको अनुभव संगालेका जोगी, भिखारी,माग्नेहरुलाई भने आमासित माग्न बडो सहज थियो । उहाँको ढोका तिनीहरुकालागि सधैँ खुला थियो । अरुबाट सुनेको आमाको यस रुपसित मेल खाने मेरो बाल संझनाहरुमा पनि केही स्मृतिहरु अटाएका छन् । त्यो हो सुट लगाएर माग्न आउने भिखारी अनि आमाको आँगनमा आउने त्यो लट्टे जोगी ।
सुट लगाएर माग्न आउने भारतीय मूलको जस्तो लाग्ने उ अग्लो राम्रो जीउडालको हसिलो माग्ने थियो । उ लङ्गडो थियो । उसको एउटा खुुट्टा थिएन । त्यसैले उ दुईवटा काखीमा काठको बैशाखी च्यापेर यसैको सहारामा उ घर घर माग्न हिडेको देखिन्थ्यो । ठक... ठक... ठक... काठको बैशाखीलाई भुइँमा बजारेर उ हाम्रो आँगनमा उभिन्थ्यो । विराटनगरमा यसरी माग्ने र दिने प्रकृयामा लागिपरेका कति खाल र तालका भिखारी र दाताहरु थिए । दाताहरुले राजीखुशीले त कसैले दिक्क मानेर ,उपेक्षा घृणाले दिएको भिक्षा सहित अल्छि ,कामचोरको बचनहरु पनि बटुल्दै एक घरबाट अर्को घर माग्न भौँतारिरहने भिखारीहरुको हुलमुलमा उ चाहिँ अलि फरक खालको थियो । माग्ने भनेर सितिमिति हेपीहाल्न नमिल्ने जस्तो । फरक पनि किन नहोस च्यातिएको, टालेको ,फोहरी लुगाफाटा लगाएर आउने माग्नेहरुको दाँजोमा उ सुट लगाएर माग्न आउथ्यो । अनुहारमा एक खालको भलादमीपन झल्काएर र यो भलादमीपन शायद उसको जन्मजात थियो । म उसलाई अहिले पनि राम्ररी संझन सक्छु । जीउमा चटक्क मिलेको खरानी रंगको सुट लगाएको त्यो लङ्गडे भलादमी माग्नेलाई ।
माग्नेले सुट लगाएर आउनको पछाडिको छुटेको कुराहरुको श्रृंखला चाहिँ केही यस्तो छ । एक दिन पुष ,माघको कड्कडाउदो जाडोमा खाकी रंगको हाफ पैन्ट लगाएर आमाको आँगनमा उ माग्न आएको रहेछ । गरीबीले उसको भलादमी अनुहारमा पोखिरहेको विवशता देखेर आमाको कमलो मन पग्लेछ । उसको एउटा सानो ठूटेखुट्टा बाहिर तुन्द्रुग झुण्डिएको देख्न नसकेर आमाले उसलाई एउटा पाइन्ट दिने विचार गर्नु भएछ । अनि जाडो भएकोले कोटसहित दिने बिचारमा पुग्नु भएछ । भित्र लुगा खोज्न जादा त बुवाको नयाँ सुट हात लागेछ , अनि त के थियो हल्का खरानी रंगको सुट आमाले त्यो माग्नेलाई दिनु भएछ । अनि दातासहित त्यो माग्ने पनि बडो खुशि भएछ । यसरी उ खरानी रंगको सुट लगाएर माग्न हिड्न थालेको रहेछ ।
लट्टे जोगीको किस्सा चाहिँ केही यस्तो छ
“अलख निरन्जन... शिव ओम शिव ओम ” को हुँकार भरेर त्यो जोगी कताबाट आमाको आँगनमा प्रकट हुन्थ्यो । पहेलो गेरु रंगको पहिरनमा र रुद्राक्षको माला लगाएर गोरो निधारमा खरानीे घसेको , मंगोल मोहडाको शान्त , उज्यालो अनुहार देखिने त्यो जोगीको लामो लट्टा परेको केश थियो । उसको लामो केशलाई टाउको माथि फन्फन्ती बेरिएको अग्लो जुरो बनेर पनि तल कम्मरसम्म लत्रिनलाई पुग्थ्यो । हातमा पितलको चम्किलो कमण्डलु लिएर आँगनमा उभिएको त्यो लट्टे जोगीको भिक्षा पात्रलाई आमा श्रद्धापूर्वक दाल चामल र दक्षिणा राखेर भरिदिने गर्न हुन्थ्यो । अनि आर्शिवादको मुद्रामा हात उठाए “शिव ओम शिव ओम ” भन्दै उ आफ्नो बाटो लाग्थ्यो । अनि महिनौ दिन बित्थ्यो उ फेरि आमाको आँगनमा फर्किएर आउनलाई । धेरै दिन जोगी फर्केर नआउदा आमालाई जोगीको पीर लाग्थ्यो , आफू घरमा नहुँदा पो जोगी आएको थियो कि त भनेर हामी केटाकेटीलाई सोध्नु हुन्थ्यो ‘आज जोगी आयो ? ’
त्यो दिन पनि उ उभिएको थियो आमाको आँगनमा त्यसरी नै “शिव ओम शिव ओम” भन्दै । बहिर खेलिरहेको म, आमालाई जोगी आएको सूचना दिन कुद्छु । आमा हतार हतार जोगीलाई दिने सीदा तैयार पार्नु हुन्छ । र आँगनमा आएर जोगिको भिक्षा पात्र कमण्डलुलाई भरि दिन खोज्नु हुन्छ । तर जोगी भने हात उठाएर आमालाई यसो गर्न रोक्छ , मानौ आज जोगीलाई लिनु होइन ,केही दिनु छ । अनि कमण्डलु भित्रबाट उसले एउटा शंख झिकेर आमालाई दिएको थियो ।
![]() |
आमाको दाहिने शंख |
अत्यन्त दुर्लभ उपहार लिएर आएको थियो उ आमाकोलागि , त्यो कत्थाई रंगका छिर्केबिर्के दाहिने शंख लिएर ...। अधिकाशं पाइने शंखहरुको पुच्छर देब्रेतिर घुम्रिएको हुन्छ रे तर यो शंखको भने दाहिने तिर घुमेको थियो । यस्तो दाहिने शंख हतपत पाइदैन रे ... लट्टे जोगीले दिएको लच्छिनको यो दाहिने शंख आमाको पूजा घरको शोभा बनेको थियो ।
क्रमश .......





Comments
Post a Comment