तीन पुस्ता - भाग ४ - धरमराएका तीन वर्षहरु

 ॐ



आमा छोरी  -  तीन पुस्ता 




पहिलो पुस्ता – भाग  



सुसन मास्के

कृष्ण र कृष्णा 

धरमराएका तीन वर्षहरु


पहाडको घरको आर्थिक अवस्था कम्जोर हुदै गएकोले जीविका उपार्जनको खोजमा आमालाई मैतालु फर्काएको दुइमहिना पछि नै हाम्रो किशोर बुवा मधेशतिर झर्नु भएको थियो रे । धनकुटा, तेह्रथुममा वैदारको जागिर र अनेक थरीका पेशाहरु अपनाउदै छोड्दै अन्तत मास्के परिवारबाट सन्चालित धरान विराटनगर र जोगमनी ओहर दोहर गर्ने बसमा अस्सी रुपियाको तलबमा टिकट काट्ने गार्डबाबु कन्डक्टरको जागिर लागेछ , योे जागिर खाए पछि हाम्रो किशोर बुवाको भुईमा खुट्टा थिएन् रे ।

पाँचसालतिरको यो कुरालाई संझिनु हुन्छ बुवा “त्यती बेलाको अस्सी रुपिया निकै हो ,प्रसस्त पुग्थ्यो । विराटनगरमा बजैको घर डेरा लिएको थिए । युवा जोशमा आफ्नै निजी बस किनेर चलाउने मेरो सपना थियो ।” यो सपना पुरा गर्न अस्सी रुपियाको तलबबाट अलिकति पैसा जम्मा गर्न पुग्थ्यो । कहिलेकाही पहाडमा खर्च कोसेलीपात लुगाफाटा पठाउन पनि पुग्थ्यो रे । तर ती आमाकोलागि भने थिएनन् । शहरी जीवनको यो रमझममा बुवाले पहाडको अनपढ् र गँवार हाम्रो आमालाई यति बेला बिर्सिएको अवस्थामा थियो । बालापनमा भएको आफ्नो बिहेको व्यवधानहरुले छोडेको नकारात्मक छापले आमाप्रति मनमा वितृष्णा पालेर “यो सित मेरो घरवार  हुदैँन  भन्ने निष्कर्षमा बुवाको मन शहरी युवतिमाथि डुल्न थालेको थियो ।”

उतातिर सातसालको क्रान्तिको लहरले सारा नेपाल आन्दोलित अवस्थामा थियो । पाँचथर, तेह्रथुम ,जलजले पूर्वी पहाड यसको अपवाद थिएन । सातसालको क्रान्ति राणाहरुको सामान्ती शासनको खिलाफमा भएको थियो । जलजले तेरथुममा राणा प्रसासनको लप्टन ,कर्नेल , सुब्बाहरुको ठूला पदहरु ओगटेर बसेका उति बेलाका ठूला जातहरु सरह मास्के परिवारहरु पनि सामान्त वर्गमै दरिएको थियो । सामान्त जीवन शैली ठाँटबाँट अपनाएका मास्के परिवारका जगजगीको समयबारे बुवा केटाकेटीको आफ्नो संझनाहरुलाई यसरी उतार्नु हुन्छ “ हाम्रा अजा पद्मसिहंको समयको राजसी ,सामन्ती ठाट मैले पनि देखेको हो । उहाँलाई धेरै मान्छेहरु भेटधाट गर्न आउँथे ,सभा ,कचहरी जस्तो लागिरहन्थ्यो । कतै बिहा भोज ,पूजाआजा, हाटबजार गर्नजान परे लहरै नौ वटा घोडामा सजिसजाउ आफ्नो नौ भाइ छोराहरुसित अजा पनि सुनको गरगहनाले सजिसजाउ भएर घोडामा लस्कर लाएर जाने चलन थियो । ”

ठूला जात र सामान्त जमीनदारका शोषण र हेपाइमा परेका किरात राई, लिम्बुआदी पूर्वी पहाडका जनजातिहरु  यिनै सामान्तीहरुको विरोधमा उठन थालेका थिए । गाउँमा लामोसमय देखि एकछत्र चलखेल गरेर बसेका उच्च जातका सम्पन्न क्षेत्री– बाहुन ,मास्केहरु लिम्बुवानको नाराले थर्किन थालेका थिए रे। सामान्तको विरोधमा यी विद्रोहीहरुले गाउँघरका धनाढ्यहरुका राङ्गा,  भैँसी ,खसी ,बोका कुखराआदि काटेर खाइदिने, तिनका बालीनाली खेतआलिबाट नै लुटपाट गर्न थालेका थिए । अन्नपात र सम्पतीहरु लुट्न सामान्तहरुको भकारी र घरहरु दिनदाहाडै फोडिन थालिएको थियो रे ।

लामो समयदेखि हैकम चलाएर चलखेल गरिरहेका यी सम्पन्न र ओहदावाला ठूला जात कहलिएकाहरु माझ  जनजातिहरुबाट चलेको यो विद्रोहले त्रसित भएर भागाम्भाग पर्न थाल्यो । हाम्रो पद्मसिह मास्के बाजेका नौ भाइ छोराहरु मध्ये सम्पन्न पद र ओहदावाल मास्के खलकहरु अधिकांश दाजुभाईहरु आआफ्ना परिवारहरु सहित जलजले पहाडबाट भागेर
धरान ,विराटनगर बसाई झरिसकेका थिए रे । लिम्बुवानको मागमा नारा लगाउदै दिनहु जुलुस उर्लिने लुटपाट मच्चिन थाले पछि मास्के परिववारको काइँलो र अन्तरे भाइहरुले पनि आफ्ना परिवारहरु सहित एकरात सुटुक्क गाउँबाट भाग्ने योजना बनाए् । काइँला र अन्तरे भाइहरु अन्य मास्के दाजु भाइहरुको तुलनामा त्यति  आर्थिक रुपमा सम्पन्न थिएनन् । तर गाउँमा बसिरहे ज्यान जाने वा छोरी चेलीको इज्जतमै खतरा आउने सम्भावनालाई महसुस गरेर जलजले छाड्ने  सहमतीमा  भाग्ने गुपचुप सारा तैयारी भयो ।

यसरी भाग्दाको संंझनाहरुलाई बृद्धअवस्थामा टेकिसक्नु भएको हजुरआमाले मेरो अगाडि यसरी राखिदिनु भएको थियो । जसअनुसार साँझपख घरको गाईगोरु सबै फुकाइएको थियो, अनि भर्खर भित्र्याएको तोरीलाई आँगन भरि छरेर लडाइदिएको थियो रे । त्यो राती जलजलेबाट आफूले बोक्न सक्ने पोका पन्तेरा बोकेर स्त्री ,पुुरुष र केटाकेटीहरु सबै हुलमा मिसिदैँ भागिरहेका थिए रे । पुरानो स्मृतिहरुबाट छानेर हजुरआमा मेरोलागि यो शब्दचित्र तानेर ल्याइदिनु हुन्छ  “तेरी आमा अनि मेरो ठूली छोरी एउटै उमेरका थिए । नन्द भाउजुमा साह्रै मेल थियो । यी दुईवटीले चाहिँ ठूलो काठको बाकस आआफ्नो टाउकोमा सकिनसकी बोकेका थिए ।” उत्सुकताले भरिएर अहिले म सोचिरहेको छु “ के थियो होला हाम्रो आमाले बोक्नु भएको त्यो काठको बाकस भित्र ?”  बोके पनि फेरि काठको बाकस किन छानेको नी ? काठको बाकस त खाली  पनि भारी नै हुन्छ । अझ त्यो बाकस त झन भारी भएको थियो होला । छोड्नै नमिल्ने छानी छानी राखेको समानहरुले  ।  ज्यान जोगाएर भाग्ने बेलामा बुद्धि नपुगेका यी काँचो उमेरका किशारीहरुलाई कसलै पनि किन केही टोकेसो नगरेको ?

भागिरहेको लस्कारमा आज हो की भोली सुत्केरी हुने अन्तरे भाइकी दोजिया पत्नी पनि सकिनसकी साथ लागेर हिँडिरहेकी थिइन रे । प्रेमबहादुर मास्के पद्धमसिह बाजेको काइँलो छोरा अथार्त हाम्रो बाघसित जुध्ने हजुरबुवाको नेतृत्वमा गाँउबाट भागिरहेको यो कबिला तमोर नदीको किनारसम्म ओडार मुनी बास बस्न पुग्यो रे ।

बाघसित  भिड्ने सुरबिर प्रेम बहादुर हजुरबुवा


हाम्रो हजुरबुवाको दाहिने हातको पाखुरामा बाघको पन्जाको डाम थियो । बाघको नङ्राले गहिरो गरी खोपेको उहाँ यो हातको बाघपन्जा दाग मेरो संझनामा पनि त्यसरी नै गहिरो छाप बनेर बसेको छ । म सानो छँदा हजुरबुवा हजुरआमाको मुखबाट सुनेको अनगिन्ती दन्त्य कथाहरु थिए । तर बाघसित जुधेको कथा चाहिँ मलाई अति नै र मनपरेको थियो । शायद यो सत्यकथा भएर होला ।

उहाँको र अरुको मुखबाट बराबर सुनेको यो लोमहर्षक कथामा एकजमानामा जलजलेका गाउँबस्तीलाई दुःख दिने गाईवस्तु अनि मान्छेलाई पनि खाने बाघ थियो रे । बाघले अति दुःख दिन थालेपछि , एकदिन सबै मिलेर टीन ,ढयाङ्ग्रो ठटउदै गाउँका मान्छेहरु सहित हजुरबुवाले बाघलाई लखेटदै खेद्दै जादा भीर अगाडि आएछ । अनि बाघले भाग्ने ठाँउ नदेखेपछि उल्टो फर्केर झम्टेर हजुरबुवाको गर्धनलाई गाजेछ रे । तर साथ दिन भनि हिँडेका मान्छेहरुमा भने हजुरबुवालाई बाघको मुखमा एक्लै छाडेर भागमभाग परेछ ।

अनि हाम्रो बलशाली युवा हजुरबुवा पनि के कम , त्यो बाघसित कुस्ती नै परेछ । हजुरबुवाको हातमा बाघले एउटा पन्जाले  थिचेर अनि र गर्धनमा  दाँत गाढेको थियो रे । अनि त हाम्रो हजुरबुवाको अर्को हातले दिएको मुक्का बाघले पनि दनादन खान थालेछ । अनि बज्रशाली मुक्काहरु खाएर रन्थनिएको बाघलाई भीरबाट हजुरबुवाले हुत्याइदिनु भयो रे । यसरी त्यो गाउँमा बाघको आतंक पनि पन्छेर गयो रे । सुन्नेलाई सुनको माला भन्नेलाई फुलको माला यो कथा बैकुण्ठ जाला भन्ने बेलामा खुरुखुरु आउला.....

सानो छदा मेरो कल्पनाशिलता तीव्र थियो , तर मलाई कहिले थाह हुन सकेन , त्यो बज्रशाली मुक्का खाएर भीरमा घचेटिएर बिचारा त्यो बाघ भीरबाट लडेर मर्यो कि ? कि अन्त्यै गाउँतिर भागेर गएर हो ? कि त हजुरबुवासित तर्सेर हो त्यो गाउँमा फेरि आउने साहास नगरेको हो ? मलाई यकिनको साथ कहिले थाह भएन । यती भने थाह छ हाम्रो बाघसित भिड्ने हजुरबुवा भने अधमरो अवस्थामा धेरै दिनसम्म बिरामी पर्नु भयो रे ।उहाँ मर्ने बाँच्ने थाह थिएन रे ।

मैले सानो छदा सुनेको यो लोमहर्षक कथा सत्यकथा थियो । तर कति प्रतिशत म भन्न सक्दिन तर मैले  देखेको हजुरबुवाको पाखुराको बाघको पन्जाको छाप र गर्धनको दागहरु यस कथाका सत्यताको साक्षी थिए । अहिले थकथकलाग्छ हजुरबुवाको जीवित छदै यो दागहरुको फोटो खिचेर किन राखिन मैले ? हजुरबुवासित सानोमा यो कथा सुन्ने म ठूलो भइसकेको थिए । पत्रकार भएको नाताले मेरो साथमा हरदम क्यामरा पनि थियो तर त्यो बाघ पन्जाको फोटो खिच्ने बुद्धि भने किन नपलाएको होला मेरो सोचेर अहिले दिक्क लाग्दैछ मलाई ? यो  पंक्ति लेखिरहदा मेरो छेउमा उभिएको नेपाली अलि कम बुझ्ने मेरो छोरोलाई मख्ख पर्दै भनि पठाएछु “यू नो योर ग्रेट ग्रयाण्ड फादर वाज सो ब्रेभ ”  अनि  मैलै सुनाएको यो प्रसंग सुनेर मेरो छोराले मुसुक्क हासेर मलाई भन्यो “ सिरियसली ममा ?”  म उसलाई कन्विन्स गर्न छाडेर चुपलागेर सोच्न थालेको थिए , मसित उसलाई अहिले पत्यारमा पार्ने कुनै खाटीको सबुत प्रमाण पनि त छैन ।

बाघसित भएको कुस्तीको प्रसंगबाट पन्छिएर जलजले गाउँबाट भागिरहेकाहरु माथि कलम फोकस गर्दा , हजुरबुवाको नेत्तृत्वमा गाउँबाट भाग्ने यो लस्करले भने तमोर नदी राती तर्न उचित देखेन । फेरि त्यतिनै बेला अन्तरे भाईको दोजिया पत्नीलाई बेथाले च्यापेकोले यो समूहले एउटा ओडारमा रात बिताउने निधोमा पुगेछ । खानपिन र बासको जोहो गरिरहेको बेला अन्तरे भाइ शेरबहादुर हजुरबुवाको बच्चा जन्मेर रुन थाल्दा थाल्देैे पर डाँडाबाट मसाल बोकेका लिम्बू जनजातिहरुको जयजयकारको नारा सुनिन थाल्यो रे । सातसालको क्रान्ती सोही दिन सकिएकोले जय जयकारको नारा लगाउदै एकसमूह तलतिर झदै आफू भएतिर कुद्दै आउन लागेको देखेर काइँलो र अन्तरे मास्के दाईभाईका परिवार  आत्तिएर “लौ अब यी विद्रोहीहरुले हामीलाई समातेर यही मार्ने भए आज ”  भनेर भागाभाग पर्न थालेछ । लुक्नेहरु ओढार भित्र भित्र गई लुक्न थालेछन । तर सोचेको भन्दा विपरित कुरा भई पठाएछ ।

“ गाउँ छाडेर नजाइदिनुहोस , तपाईहरु पनि जानु भयो भने यो गाउँ शून्य हुनेछ । हामीसितै फर्किनु होस । हामी रहेसम्म गाउँमा तपाईहरुलाई केही हुने छैन ,”  भन्न पो आएका रहेछन । उनीहरुको अनुरोधमा भागिरहेको यो समूह फेरी जलजले नै फर्किने निर्णयमा पुगेछ । जयजयकारको नारा लागिरहेको बेला जन्मिएको अन्तरे भाईको नवजात छोरीको नामकरण ‘जय ’ राखेर अन्तरे शेरबहादुर र काइला प्रेमबहादुर मुखिया भने हर्षित हुदै फेरि जलजले फिरेछन ।
तर यो भागाभाग र हल्लाखल्लाको बीचमा आमा भने ओडारमा लुकेको अवस्थामा छोडिनु भएको थियो रे । गुफाको ओढारमा ठूलो ढुङ्गाको ओट पछाडि लुकिरहेको आमाले थाह छैन कति समय यसरी एक्लै गुजार्नु पर्यो । तर मैले थाह पाएको जानकारी अनुसार पछि आमालाई समूहमा नदेखे पछि उहाँलाई खोज्न केही मानिसहरु खटाइएको थियो रे । अनि उनीहरुले सोही ओडारमा लुकिरहेको आमालाई फेला पारेर साथ लिई जलजले तिर फर्किएका थिए रे ।

डर र त्रासले सातो गएको हुनुपर्छ हाम्रो किशोरी आमाको । विद्रोहको आन्तरिक गडबडकीको अवस्थासम्म मास्के परिवारहरुलाई वफादार लिम्बुहरुको निगरानी र सुरक्षामा घरमा लुकाएर राखेका थिए रे । माइतीले छोरीको हालत सुनेर मर्महात हुदै आमालाई यो विपतको घडीमा माइत बोलाएर राखेको देखिन्छ । तर आमा भने आफ्नो घर गरेर खाने योजनामा दृढ देखिनु हुन्छ । सौता हाल्छ होला भन्ने कुराले आमालाई ज्यादै त्रासमा पारेको थियो त्यसैले जे जस्तो उपाय गरेर भए पनि यो समय आफ्नो उपेक्षा गर्ने श्रीमानसित बस्न प्रयत्नशिल देखिनु हुन्छ ।यसैले पहाडबाट झरेर आमा भने धरानमा  दाजु भाउजुको घरमा शरण लिएर बस्नु भएको थियो रे । विराटनगर बजैको घरमा डेरालिएर बसेको बुवाको डेरामा आमालाई घरीघरी ल्याएर छाडिदिने मामाको प्रयत्न हुन्थ्यो रे तर “सवारी भएछ अहिले  ,  भात खानु र तुरन्त उतै माइत फर्किनु ”  भन्ने बुवाको आदेशले आमालाई त्यहाँ बस्ने कुनै आधार दिदैँन थियो रे  ।

गाडीको व्यवसायले जम्मा भएको पैसाले आठसालतिर तराइको तेलकुडेमा बुवाले केही जमिन किनेर एउटा झुप्रो खडा गरेपछि सासु ससुरासितसाथ आमा पनि त्यही बस्न आउनु भयो रे । यही समय बुवाले भगाएर बिहे गरेको खवर फैलिन थालेपछि हाम्रो आमाको आमा अजीले “मैले गरेको धर्म मै भुट्छु तर अब मेरो छोरीलाई पारपाचुके गरिदिनोस  ज्वाईसाहेब ”  भनेर गरेको प्रस्तावलाई बुवाले नमानेको देखिन्छ साथै आमाले पनि ।
बुवासित सम्भवत आफूले उठाएको कदमकोलागि एउटा अपराध बोध थियो । उहाँ यसरी संझनु हुन्छ “ सासुले काच्चै खानु भएको थियो मलाई । मैले विनम्र भएर सासुलाई  समाज ,दाजुभाई सबैले तपाईको छोरीलाई नै रुचाउछन तर यो केटीलाई भने मैले मनपरेर ल्याएको हो तसर्थ दुबैलाई मिलाएर राख्छुु भने ।”

हाम्रो बुवाको यस कदमले आमा मर्महात हुनु भएको थियो तर आमासित भने आफूसितको विश्वास थियो । बुवाको यस अन्यायलाई चुनौतिको रुपमा उहाँले स्वीकानु भएको थियो । भित्र बिथोलिनु भए पनि यस समय संयम र धैर्य सुझबुझसित काम लिनु भएको देखिन्छ । एउटा जोतिषीको भविष्यवाणीको यो समय सारै भर थियो रे आमालाई । उसले भनेको थियो रे “नआतिनु सौताको भाग छ तर अन्त्यमा तिमीले जित्ने छौ ।”  आफ्नो माइतीतिरकालाई केही पनि अप्रिय बचन बुवालाई नभन्न नगर्न अनुरोध थियो रे उहाँको । यस अर्थमा मानौ यो लडाई आमाको मात्र हो र यसमा उहाँलाई जसरी भए पनि जित्नु छ ।

बुवाले चाही केटीलाई भगाएर बाजिगार भन्ने ठाँउमा लुकाएर राख्नु भएको थियो रे । खोजतलाशको स्थिति केही सम्हालिएपछि बुवाले   आफ्नो गाडिको ड्राइभरलाई बजैको घरको डेरामा नयाँ दुलहीलाई ल्याइदिनु भनेर अराउनु भएको रहेछ । आमाले धेरै अघि नै बुवाको यो ड्राइभरलाई स्नेह र माया दिएर भाईटिका गरेर दाजु बनाएर हातमा लिइसक्नु भएको रहेछ । “आज बाजिगरबाट कान्छिलाई ल्याउनु भनेको छ है ठूली नानी”  भनेर त्यो दिनको सुईको बुवाको ड्राइभरले आमालाई दिई पठाएछ । लोग्नेको उपेक्षा पाएर धरानमा दाजु भाउजुको घरमा बसेको आमाको त्यतीबेलाको अवस्थाको साक्षी माइजुले ,मसित कुराकानी यसरी फुकाउनु हुन्छ “हाम्रो ठूलीनन्दले ड्राइभरको यो सूचना पाएपछि त हतारिएर लुगा पोको पारेर लु भाउजु म गए है भनेर हिडिहाल्नु पो भयो ।”

अनि सौतासित गाडीमा संगसंगै बसी आमा बजैको डेरामा पुग्नु भयो रे । यो लोमहर्षक कहानी कुनै समय घटीरहेको थियो मेरो आमाको जीवनमा । लोग्नेले भगाए ल्याएको आमाको सौता भएर आएको नवनवेली दुलहीसित राजीखुशि साथ साथै एउटै मोटरमा चढेर आउन सक्ने आँट कुन विवाहित पत्नीसित हुन्छ त्यो मेरो सोचाइको परिधिमा कहिल्यै अटाउन नसक्ने कुरा हो ।

 डेरा लिएर बसेको बजैको घरको छिँडीमा “दाजु भाउजुको ओच्छान छुटै थियो , कान्छी भाउजु भित्र अनि ठूली भाउजु बाहिरको बरण्डाको काठको एउटा पुरानो आराम कुर्सीमा सुत्नु हुन्थ्यो ।”  आमाको कान्छा देवर नगेन्द्रकाकाले पहाडबाट बिराटनगर पढन आउदाको त्यो बसाईको चित्र मेरो अगाडि त्यसरी राखिदिनु भएको थियो । लोग्ने र सौताको बेवास्तामा परेको हाम्रो आमालाई भने यो समय  डेरावाल बजैको सहानुभुति  र ममताको  भर मिलेको थियो रे । आमाको यस नाजुक हालमा विराटनगर दिदी भेटन आएको आमाको कान्छी बैनी सूर्य आण्टि संझिनु हुन्छ “ दिदी भोकभोकै परेको बेला बजै कचौरामा अलिकता तरकारी र भात लुकाएर आमालाई खान दिने गर्नु हुन्थ्यो ।”

 यस्तो धरमराउदो बेलामा भने हिन्दी सिनेमाको त्यागमय पत्नीको भेष धर्नु भएको थियो हाम्रो आमाले । कान्छी सौतालाई बहिनीलाई जस्तै माया ममता देखाएर, पकाएर, खुवाउने पियाउने सबै व्यवहार कुशलतापूर्वक समाल्दै बुवालाई मीठो बोली बचन र मीठो मसिनो खुवाएर हातमा लिने प्रयत्न आमाको रहन्थ्यो । तर आमाको भागमा उपेक्षा र अपमानहरु बढी थिए । ।
कान्छी सौता भएको घरमा लोग्नेबाट हेला पाउने आमाको मानसिक कष्ट कति गहिरो थियो होला तर उफ पनि नगरि छातिमा टेकेर सौता भित्राएको लोग्नेलाई ईश्वरको आसनमा बसाएर सौतालाई स्नेह र सेवा दिने आमाको यस प्रवृती के नियोजीत थियो ? के यस अर्थमा आमा यसरी आफ्नो  युद्व लडिरहनु भएको थियो ? यदी यसो हो भने यी साम , दाम ,दण्ड र भेदको नीतिबाट आमाको चाल कुनै षडयन्त्रकारीभन्दा कम थिएन शायद । पासापल्टाउन केवल एउटा मौकाको पर्खाइ थियो आमालाई  । र त्यो मौका छिटै आमाको हात पनि आयो ।

पल्टिएको पासा


नयाँ दुलहीलाई आमाले  आफ्नो आफ्नो स्नेही व्यवहारले आफूले भनेको कुरा मान्ने बनाउनु भइसकेको थियो रे । सौतालाई साजसज्जा, घुमफिर र रमाइलो गर्न छुट दिएर उता आमा चाहिँ  चुल्हो चौको, इष्टमित्र पाहुनपासा ,व्यवहार राखनधरन फारोतिनो गर्नैकुशल गृहिणीको भूमिकामा बुवाको गृहस्थीमा जम्न थालिसक्नु भएको थियो । गृहिणीको मात्र होइन कारोवार र व्यवसायमा पनि उचित सरसल्लाह दिने उहाँको खुवीले गर्दा बुवाकोलागि आमा  बलियो आट र भरोसा बन्न थालिसक्नु भएको थियो  ।संघर्षशील र महत्वाकांक्षी बुवाकोलागि गँवार अशिक्षित ठानेको आमाको यो प्रभावशाली व्यक्तित्वको  पाटो नितान्त बेग्लै थियो ।

यही समय आठसालतिर मास्के परिवारका दाजुहरुसित मिलेर गरिरहेको गाडीको व्ययवसायको लागि दुईवटा गाडी किन्न बुवालाई कलकत्ता जानु पर्ने भयो । यही ताका विराटनगरको डेरामा पहाडबाट हाम्रो हजुरबुवा पनि बजैको डेरामा टुप्पुक्क आइपुग्नु भएको मौका परेको रहेछ । तेलकुडेमा सानो जमिन र बस्ने सानो झुप्रो घरको जुगाड भए पनि जलजले पहाडको बसाई पुरै छोडिएको थिएन । पहाडमा हजुरआमा,निनीहरु,काकाहरु सहितको बुवातिरको परिवारको अर्को लामो लहरा थियो ।
“यहाँ बसेर के गर्ने ताला चाबी लागाएर ससुराज्यूको साथलागेर हामी पनि पहाड घुम्न जाम् ।”  यो प्रस्तावसितै  पहाडको ताजा हावापानी र फलफुल, दुध ,दही ,मोही, ध्यू र  ताजा खानेकुराहरुको लोभलाग्दो तस्वीर अगाडि राखिदिएकोले सौता पनि खुशि खुशि पहाड जान राजी  भईछिन् ।
जलजले पहाडलाई दशैँको रमझमले छोपिसकेको थियो । दशैँ मानेर सौतालाई “माइतीको टीका थाप्न जान्छु है, तिमी यतै बस्तै गर ”  भनेर आमा यासोक आउनु भएछ । अनि माइतीको दशैँ को टीका थापेर एक्लै लुसुक्क धरान झरेर खुरुरु विराटनगर पुग्न भएछ । चलाखीकोसाथ पहाडमा सौतालाई छोडेर विराटनगर पुगेको आमालाई भने यो समय बुवालाई हातमा लिने पूर्ण अनुकुलता मिलेछ । अथक सेवा त थियो नै आमाको बुद्घि ,शीप सल्लाह मार्गदर्शनले आमातिर झुक्न बुवालाई कर लागिसकेको थियो । पासा पल्टिएको थियो  ।

उता पाँच छ महिना पहाडमा रोकिएकि बुवाको नयाँ दुलही ,काकाहरुको साथलागेर विराटनगर फर्किन रे । शहरको शौखिन केटीले पहाडमा गएर बुहारीको बुहार्तन र पानी पधेँरो ,घाँस दाउरा भारी र कुटो कोदालो गर्न पर्दाको सास्ती भोगेकोले उनको सातो गएको थियो रे । आमाले धोका दिएर पहाडमै छोडेर आएकोले आमासित उनको स्वभाविक रीस चर्कोसित उठेको थियो । आमाप्रति अब उनको मन प्रतिशोधले भरिएको थियो तर यता यो समय भने आमाले बुवालाई प्रसस्त हात लिइसक्नु भएको थियो ।
आमाको राखनधरन ,खानपान ,मीतव्यतिता ,पाहुनापासा , छरछिमेक, नातागोताहरुको सितको व्यववहार कुशलताको तुलनामा नयाँ दुलहीको गतिविधि बुवाको नजरमा पटक्कै प्रभावकारी रहेन । उनी ऋंगारपटार गरेर बाहिर केटासित हास्ने गफ गर्ने उनको मनमौजी र अल्छी स्वभावहरुले बुवाको मन उनी प्रति उचाटिन र झैझगडा पर्न  थालेछ । दुबैको पहिलाको प्रेमको नशा पातलो हुदै ओरालो लाग्न थालेकोले उनी पनि बुवासित भविष्य सुरक्षित नदेखि अर्के व्यक्तिसित जीवन शुरु गर्ने निधोमा पुगिछन् ।

यही निर्णयले एकरात उनले घर छोडेर हिडिन रे तर उनलाई  त्यो पूर्णियाको व्यक्ति ले कलकता लैजाने भनेर रेलमा  चढाएर उनले लगाएको सुनको सिक्री ,चुरा ,औठी गरहना लिएर बीचमै बेपत्ता भएछ । उनलाई अलपत्र अवस्थामा फेला पारेर जोगवनीका प्रहरीचौकीले बुवालाई   बुझ्न  आउन भनेछन । बुवाले जोगवनी गएर उनलाई साथमा लिई उनको माइतीतिरकालाई लगेर बुझाईदिनु भएछ । माइतीकाले तिमीले राख्नु पर्छ भन्दा मलाई छाडेर गइसकेकोलाई म कसरी स्वीकार गर्नु भनेर बुवाले उनलाई साथ लिन मान्नु भएन छ ।

यसरी  आमाको जीवनबाट सदाकोलागि यो सौतिनी ग्रह हटेर गएछ । तर दुःखको कुरा यो कथामा हाम्रो आमाको जीवनमा सौता बनेर आउने यो महिला पात्रको जीवन पनि बिथोलिएको देखिन्छ । यस घटनापछि यिनको के भयो यो प्रष्ट छैन तर मैले सुनको थिए उनले फेरि कतै बिहे गरेर घरजम गरेकी थिइन रे...।


पितृसत्ताको यो समाजमा दुई महिलाले भोगेको सास्तीका कथाहरु त्यतिबेलाको समाजका लागि अनौठो थिएन । तर यी  पंक्तिहरु  लेख्न बस्दा मनले निरन्तर सोधिरहेको छ किन  आमा ,बुवा र बुवाको नयाँ दुलहीको त्रिकोणको यस कथामा पुरुषबाट भएको यस खेलवाड गल्ती र अन्यायहरुको सजाय पाउने शुरु र अन्त तक महिलाहरु नै रहे । यस्तो गरी मानौ जेजस्तो असर भोगाइहरु हो केवल यी दुई स्त्रीहरुको मात्र हो । विवाहित  हुदा हुँदै  पनि बुवासित सौता माथि आउन राजी हुने ती महिला अनि  जस्तो सुकै उपायहरुले लोग्नेको मन फर्काउनका लागि आफ्नो अस्तित्वको लडाइ लड्नु परेको हाम्रो आमाको माझमा मात्र यो दुःखसुखको कर्महरुकोे भागबण्डा भएको देखिन्छ । तर यस कर्मको प्रमुख कारक पुरुषलाई भने किन कुनै आँच पनि आएन । शायद पुरुष हुनुको एकमात्र बलियो कवच बुवासित थियो जसलाई कुनै मानवीय सजायले छुन सकेन ।

पितृसत्ताको त्यो जगजगीमा आफ्नो बाजे पद्मसिहंको  तीनवटी श्रीमतीहरु देखेको नातीको मनमा अवचेतनमै सम्भवत बहुविवाह पनि स्वीकृत पो थियो कि ? तर त्यतीबेला आफूबाट भएको आमाको अनादर उपेक्षा र वितृष्णाप्रति बुवाले मसित गर्नु भएको कुराकानीको यो पश्चतापका शब्दहरु कन्फेशन भएर बोलेको छ “ मैले  तिमीहरुको आमालाई त्यतिबेला नै चिन्न पर्थ्यो तर चिन्न सकिन ।परख्ने र  मान्छेलाई चिन्ने  शक्ति म मा घेरै कम रहेछ । मेरो अहम भावले गर्दा म आफू पुरुष भएको घमण्ड, उमेरको जोशले जे पनि गर्न सक्छु भन्ने भावसित अहिले मलाई अफसोच लाग्छ । त्यतिबेलै चिन्न सकेको भए तीन वर्षभित्र जे घटनाहरु घटे त्यो हुने थिएनन् ।”

क्रमश ..... 

Comments