तीन पुस्ता– भाग ५ - फेरिएका दिनहरु

 ॐ


  

आमा छोरी  -  तीन पुस्ता 

पहिलो पुस्ता– भाग ५

सुसन मास्के 

फेरिएका दिनहरु



वैवाहिक जीवनको सौतासित लडाईलाई आमाले कुशलतासाथ जित्नु भएको थियो । बुवाको मनमा पनि आमाले आफ्नो लागि प्रेम र सम्मानको प्रसस्त ठाउँ बनाइसक्नु भएको थियो । दिनहरु फेरिएका थियो तर आर्थिक अवस्था भने धरमराउदो हालतमा नै थियो  ।

आमासंगै हाम्रो बुवा कृष्ण कुमार मास्केले पनि बालविवाहको एउटै नियति भोग्नु भएको थियो । तर छोरा मान्छे भएकोले नाताले भने उहाँले चाहिँ लेख पढ गर्ने अवसर पाउनु भएको रहेछ । त्यसबेलाको कुरालाई बुवा यसरी संझिनु हुन्छ “ हाम्रो जलजले याङ्सिला गाउँमा स्कूल थिएन । सेउलाको छारी हाली गाईबाध्ने गोठमा दिउँसो गाई गोरु चराउन लगेर गोठ खाली भए पछि गाउँका चारपाँचजना भुराहरु भेला गरेर एक गुरु बाजेले कखरा सिकाउथे । साथमा कलम कापी थिएन , तखताको पाटी बनाएर रातो माटोले पाटी पुछेर, बासको कलम बनाई लेख्ने गथ्र्यौ ।” यसरी अक्षर छिचोलेर स्कूल पढन भनी आठवर्षको उमेरमा बुवा धनकुटा झर्नु भएको थियो रे ।  एक रुपिया डेरा भाडा , एक रुपिया स्कूलको फिस  ,एक रुपिया तरकारी खर्च र एक रुपिया हात खर्च गरि जम्मा मैनाको चार रुपिया  र दाल, चामल जलजले घरबाटै भरियाले बोकेर धनकुटा ल्याइदिने व्यवस्था बुवाको लागि हजुरबुवाले गरिदिनु भएको थियो रे । 
धनकुटाको स्कूल पढाइ पछि दार्जिलिङ्मा पनि बुवाको शिक्षाले यसरी नै केही निरन्तरता पाएको देखिन्छ । डाक, हुलाकको केही व्यवस्था नभएको त्यो समयमा मान्छेहरुको हातबाट खर्च पठाउन कुर्नु  पर्थ्यो  रे ।तीनताक जलजले  गाउँबाट पाती पढने , दार्जिलिङ् आउने जाने गर्ने पुरोहित बाहुनबाजे थिए रे र तिन्का हातमा बुवालाई खर्च पठाइएको हुन्थ्यो रे । उनी समयमा नआए स्कूलको फिस तिर्न नसकी बुवालाई भोक भोकै पर्ने अवस्था पनि आउथ्यो रे । तर सानैदेखि भोग्नु परेको यस्तो दुःख सास्तीहरुले भने बुवालाई जीवनको उकाली ओरालीहरुमा संघर्ष गर्न सिकाउन थालिसकेको थियो । उहाँको  व्यक्तित्वलाई आटिलो र महत्वाकाङ्क्षी बनाउन थालेको थियो । 

आर्थिक अवस्था धरमराउदो भए पनि नातामा सम्पन्न आफ्नो नौ भाई मास्के दाजु भाई खलकहरुको समकक्ष र आर्थिक हैसियतमा पुग्ने बुवाको महत्वाकाङ्क्षा थियो । सम्पन्न मास्के दाजुभाईको बराबरीमा आउन र आफ्नो आर्थिक अवस्था उकास्न बुवा कुनैपनि मौकाहरु खेर फाल्नु हुन्न थियो । आमाको दरो साथ पाएर बुवाले विभिन्न कदमहरु चाल्न थालिसक्नु भएको थियो । ।
मास्के खलकका दाजुभाईहरुसित मिलेर विभिन्न व्यवसाय र कारोबारहरुमा बुवाको पनि सहभागिता र सक्रियता बढ्दै गएको थियो । यसैको कडी थियो हरैचामा मील, तथा  जलजला सिनेमा हलको स्थापना । लाइसेन्स बनाउने , फ्लिम हलमा देखाउनकोलागि रीलिज भएका हिन्दी सिनेमाहरुको रीलहरु ल्याउन कलकत्ता ,पटना भागदौड गर्ने कामका लागि मास्के नौभाई खलकको छनौटमा , युवक अनि पढेलेखेको चलाख , फुर्तिलो र आटिलो हाम्रो बुवा नै धेरै जसो पर्ने गर्नु हुथ्यो रे ।

आमाको पहिलो सन्तान दिदी  चन्द्रा

नौ सालतिर ५० जना शेयर होल्डर भएको जलजला सिनेमा हल भारतको जोगमनी सिमाना जोडिएको नजिकको गाउँ रानीमा स्थापना भएको थियो रे । बोराले बारेको भौतिक संरचनामा संचालित यो सिनेमा हलमा प्रोजेक्टरबाट सिनेमा देखाइन्थ्यो रे । भर्खर सौतेनी ग्रहबाट उम्केको हाम्रो आमालाई खुशि राख्न बुवाले हप्ता दिन जसोमा सिनेमा देखाउन लग्नु हुन्थ्यो रे । विराटजगर सिमानापारी भारतको जोगमनी, फारविस गन्ज रेल चढाएर मेला सर्कस देखाउन पनि लग्नु हुन्थ्यो रे ।
आमाको पहिलाका जस्तो धरमराएका दिनहरु थिएनन् । खुशी र मेलमिलापमा  आमाको गृहस्थी ठीकठाक चल्न थालेको थियो । दशसालमा आमाको प्रथम मातृत्वको खुशि बनेर चन्द्रादिदी जन्मनु भयो ।

नातामा काका पर्नेसित सजियामा घर किनेर आमाको परिवार बजैको डेराबाट सरेर संसारीमाईथान नजिक गएर बस्यो । तर सजियाको घरमा किचलो उठ्न थालेकोले मास्के दाजुभाइहरुले हरैचामा खोलेको मीलको देखभाल गर्ने जिम्मा बुवालाई दिएपछि   यो जोडा विराटनगरबाट हरैचा बसाई सरे रे । अब यी दुई दम्पतीको जीवन संधर्षको  अर्को पाटो साथसाथ मिलेर शुरु भएको देखिन्छ ।

गाडीको व्यवसाय छोड्दा यसबाट आएको छहजार रुपियाले तेलकुडेमा २० विधा जमिन  किन्न अनि हरैचामा सानो टुक्रा जमिनको जुगाड गर्न पुग्यो रे । यति बन्दोवस्त गरेर त्यती बेलाको कालापानी मानिने ठाउँमा खेतिकिसानीमा जीवन बृति खोज्दै जीवन संघर्षमा आमा पनि बुवाको साथ हेलिनु भयो । हरैचाको यो संघर्ष ज्यादै कष्टप्रद र चुनौति पूर्ण देखिन्छ । बस्नलाई  एउटा सानो झुप्रो खडा भएको थियो । बन्जर जाग्गामा खेतिकिसानी गर्ने , हरुवा परुवा चलाउने ,काठ चिर्ने , मील हेर्ने जस्ता काम थिए । तर कतैबाट पनि आयस्ताको बलियो र राम्रो स्रोत थिएन । तसर्थ  अतिरिक्त आर्जनकोलागि आमाले रक्सि पारेर बेच्नु हुन्थ्यो रे पान सिग्रेटको सानो दोकान पनि थियो रे ।

हरैचाको पद्म राइस मील मास्के खलकका छ दाजुभाईले शेयर होल्डर भएर आफ्नो पिताको नाममा खोलेका थिए ।  भक्तपुरको बंशावली अनुसार जलजलेका मास्केहरुका पुर्खा  भक्तपुरबाट भोजपुर हुदै जलजले यासोकमा बसाई सर्दै आइपुगेका हुन रे । हाम्रो बुवाको अजा बाजे दीर्घसिहंका छोराहरु मध्ये  रामकृष्णको  चारभाइ छोराहरुमा पद्मसिंह चाही माईला छोरा थिए । यिनै मास्के खलकका शिर्षस्थ पद्मसिंहसित जोडिएको हाम्रो बुवाको मुखबाट सुनेको एउटा लोभलाग्दो कथा छ ।

अजा  पुर्खा बाजे पद्मसिंह मास्के


मास्के परिवारका यी पुर्खाहरुको आर्थिक अवस्था पहिला ज्याद दयनिय थियो रे । बुवाको यी तीन भाइ अजाहरुसित माझमा फाटेको एउटा सिरक थियो रे । अनि पद्मसिहं माईला छोरा भएकोले माईला भाईले माझमा सुत्नुपर्छ भनेर राती दाजुभाइहरुले अजालाई बीचमा सुताउथे रे । अनि माझमा प्वाल परेको सिरक अजाको भागमा पर्थ्यो  र रात भरी जाडोले खुबै सताउथ्यो रे ।

सुरुवाल डोरीले बाधेर तुनो चाहिँ बाहिरैतिर झुण्डिरहने हुनाले पद्मसिंह बाजेको नाम गाउँलेहरुले तेन्द्रसिहं राखिदिएका थिए रे । बनीबुतो गरेर गरीबीमा जीवन गुजारा गर्न कठिनाइ परेकोले उहाँले एक धनी बुडाथोकीसित दस रुपिया रीन उधारो लिनु भएको रहेछ  । तर रीन चुक्ता गर्ने भाखा नाधेकोले पद्मसिंह बाजेलाई उक्त साहुकारले बाख्राको खोरमा थुनेछ । भोकै प्यासै तीनदिन बाख्राको खोरमा थुनिएको पद्मसिह बाजेको हालत देखेर साहूकारको पत्नीलाई दया लागेछ ।

 “ ए नेवार भागेर परदेश जा अनि कमाएर रीन तिर्नु ” भनेर उनले केही खानेकुरा दिएर हाम्रा यी बराजु बाजेलाई बाख्राको खोर खोलेर भगाइदिइछिन् । बाख्राको खोरबाट उम्केर बेतोडले भाग्दै तमोर नदी तरेर मुग्लान जादा जादै परदेशबाट धन कमाइ फर्के भने “ तमोर तिमीलाई दुई जोर बोकाले पूजा गर्छु ” भन्ने उहाँको भाकल थियो रे ।

पहाडबाट झरेर पद्मसिहं बाजे खर्साङ्गको गीद्धे पहाड खनेर बाटो बनाउने काममा लाग्नु भएछ । अनि केही समयमै राम्रो कमाइ गरेर घर फर्किनु भयो रे । “ कति कमाइ भएछ बुवा ? ”  मेरो यो प्रश्नको बुवाको जवाफ सुनेर एकक्षणकोलागि मेरो होश उडेको थियो  “ एक ढाकर भरी एक पीटे चाँदीका रुपियाहरु ”....“ होल्ड अन ...वेट ए मिनेट ।.....बाटो खन्ने मजदुरी गरेर कसैलाई यति छिटै यती धन कमाउनु कसरी सम्भव भयो ह ? ” मेरो प्रश्नको उत्तरमा बुवाको “ जवाफ थियो खै त के थाह अब ? ”

त्यसैले यहाँ मेरो कल्पनाहरु यो कुराको पुष्टिकोलागि अन्तैतिर यसरी सललल दौडिए ।  हाम्रो बराजु पुग्नु भएको त्यो मुग्लानमा कतै अंग्रेजहरुको जमानामा कुनै राजामहाराजाले खाल्टो खनेर लुकाएको  खजाना थियो कि त ?  हाम्रो बराजु बाजेलाई पक्कै यस्तै कुनै गाडघन हात लागेको हुनुर्पछ । एकदिन अचानक खन्दाखन्दै चाँदीहरुको सिक्काले भरिएको एक पेटी उहाँले पाउनु भयो । अनि अझ  कल्पनालाई तान्दै सोच्दा, चाँदीमात्र होइन त्यो पेटीमा सुनको सिक्काहरु र हीरामोति  पनि मिसिएका थिए होलान् । के मेरो यो कल्पना सत्य हुन सक्दैन र ? चिठ्ठा किनेर भाग्यले साथ दिए रातोरात धनी हुन सकिने आजको जस्तो त्यो जमाना पनि थिएन । खन्ने काम थियो उहाँको । एकदिन खन्दा खन्दै गाड्धन भेट्नु भयो ...बस दीनताहरुले भरिएको दिनहरुको खेल खतम ?

हाम्रो बुवाको अजाको प्रार्थना सुनेको तमोर नदीलाई जोर बोका चढाएर पूजा गर्ने काम सम्पन्न गरे पछि डोकोमा बोराभित्र एक पिटे चाँदीका रुपैयाहरुको भारी कसेर आफैले सो डोको बोकी हाम्रा बराजु पद्म सिंह बाजे जलजले फर्किनु भयो रे । अनि  बुढाथोकी साहूको दश रुपिया रीन ब्याजसहित चुक्ता गरेको राती उहाँलाई साह्रै मीठो निद्रा लागेको थियो रे । भन्नेलाई फुलको माला सुन्नेलाई सुनको माला ......


यही बाजेको नाममा खोलिएको पद्म राइस मीलमा बुवा भने यो मील चलाउने इन्चार्जको हैसियत मात्र राख्नु हुन्थ्यो । बुवाको कामकाजमा आमा आफ्नो आधा काँधले जहिले पनि सहयोगी रहेको देखिनु हुन्छ ।अतिरिक्त कामदारको खर्च कम गर्न आमा मील हेर्दैै आफै धान कुट्नु हुन्थ्यो रे । धान कुट्दा कुट्दै मील कहिलेकाही बिग्रियो भने ग्राहकहरुको धान आमाले ढिकीमा कुटेर पनि दिनु हुन्थ्यो रे ।भुसहरुबाट निफनेर जम्मा भएका कनिकाहरु पनि आमाको आयका थप स्रोत हुन्थे ।
जस्तो सुकै प्रतिकुल परिस्थितिहरुमा पनि संघर्षशील आमाको उर्जा भने एकसमान कहिले नथाकेको देखिन्छ । हरक्षण जागरिलो रहने बानीले सानो अवधिमै आमाको सानो कोठेबारी फर्सि काक्रा, सागपात ,फलफुलहरुले लटरम्म देखिन थालेको थियो रे । बिहान बेलुका खान तिहुनको खाँचो थिएन । छरछिमेकसितको मेलमिलाप र इष्टमित्रहरु सजिलै  कमाउन सक्ने खुबीले सबैको विश्वास र मायाको लायक बन्न आमालाई कहिले गारो भएको देखिदैन ।

सातसालको राजनैतिक परिवर्तनले प्रजातन्त्रको खुला बातवारण ल्याएको थियो । बिस्तारै बुवा पनि राजनीतिमा सक्रिय हुन थाल्नु भएको थियो रे । यसै उपक्रममा चुनाव प्रचार प्रसार प्रमुख बनाएर हरैचामा कांग्रेस उम्मदवारलाई जिताउन खटाएको बुवाको पर्चा पोस्टर गर्ने नारा बाजी गर्ने काममा सघाउन समेत आमाको उस्तै उत्साहपूर्ण सहभागिता थियो रे । तर  कांग्रेसी राजनीतिमा करियर बनाउने बुवाको यो सुरसार भने राजा महेन्द्रले एकदलिय पंचायती राज ल्याउन  नेताहरुलाई गरेको धरपकड र जेल सास्तीहरु देखेर यो राजनीतिको खरतनाक खेललाई  आमाले रुचाउनु भएन छ । र बुवाले  राजनीति गर्ने सोच छाडिदिनु भएछ ।
 तर  आमा र बुवाको यो जुझारु व्यक्तित्वलाई समुदायिक कार्यमा पनि प्रसस्त रुझान रहेको देखिन्छ । यसै प्रसंगमा एकपटक
स्कूल भए नभएको सोधपूछ गर्दै नेपाल सरकार शिक्षा विभागबाट टोलि खटिएर हरैचा आएको रहेछ । गाउँमा अलि टाठो बाठो मानिने बुवालाई कुरा गर्न समुदायले अगाडि सारेछन अनि हरैचामा स्कूल नभए पनि बुवाले चाहिँ चलाखीको साथ   “  गाउँका दश पन्द्रजना केटाकेटीहरु त्यो झोपडिमा पढछन तर मास्टर भने छुटिमा घर गएर अहिले स्कूल बन्द छ  ” भनेर जवाफ दिनु भएछ । तीन जना मास्टर र तिनलाई तलब दिन प्रत्येक महिना तीनसय रुपिया विराटनगर माल अड्डाबाट दिलाउने गरी  बुवाको जिम्मेवारीमा हरैचामा स्कूलमा प्राइमरी स्कूल खोल्ने स्वीकृती दिएर  निरक्षणमा आएको टोलि फिर्ता गएछ ।  तिनताक भने हरैचा नजिकका पचाम र  धोबियारे गाउँमा  ससाना झोपडीमा स्कूल संचालित भइरहेको रहेछ ।  बुवाको सक्रियतामा दुबै गाउँका समुदायसित छलफल र सहमतीमा  उक्त दुई स्कूल र शिक्षकहरुलाई संयुक्त मिलाएर पचाम, धोबियारे र हरैचाकाका केटाकेटीहरुकोलागि  हरैचाको गणेश प्राइमरी स्कूलको शिलन्यास भएको रहेछ ।

 हरैचाको यस बसाईमा उहाँहरुले समुदायलाई जुटाएर स्कुल लगायत हुलाकको स्थापना पुलिस चौकीलाई प्रहरी थानाको स्वीकृतीमा ल्याउने  र स्वास्थ चौकीको स्वीकृति लिने पुलपुलेसोहरु बनाउने आदि धेरै सामुदायिक कामहरु सक्रियता अग्रसरता देखाएको पाइन्छ ।   “  हरकुरामा दुरदर्शिता थियो चन्द्राको आमाको ...उसको सोचाईको घेरा सधैँ  फराकिलो थियो । ” आफ्नो पहिलो सन्तान जेठी छोरी चन्द्राको नाममा आजिवन हाम्रो आमालाई सम्बोधन गर्ने बुवाले मलाई सुनाउनु भएको एउटा प्रसंग धत लाग्दो छ ।
 आमाको पानी नाप्ने यन्त्र

बारसालतिर एकपटक एउटा पन्जाबी सरदार कुन्नी कताबाट हो हरैचा आइपुगेछ रे । यो परदेशीलाई आमाले सर्वतपानी दिएर टुटेफुटेको हिन्दीमा  कुरा गरेर उ आउनुको उद्धेश्य पनि पता लगाउनु भएछ । नेपाल सरकारको अनुरोधमा भारतबाट खटिएर आएको उ एक प्राविधिककोे रहेछ जसले यो विकट गाउँमा मौसममा पानी परेको हाल पत्ता लगाउने यन्त्र जडान गर्न चाहन्थ्ये रे ।

  आमाले पनि “  हुन्छ नी मेरो घरका आँगनमा जडान गरे हुन्छ नी ” भनेर पन्जाबी सरदारलाई भन्नु भएछ रे । आमाको चलाखपन देखेर उसले पनि आँगनको आपको बोट मुनी सेन्टिमिटर लिटर आदिको मात्रा र अंक लेखिएको शीशाको पाँचवटा बोतलहरुको लहरै गाडेछ अनि कसरी जाँच्ने भनेर आमालाई सिकाएछ ।

आकासे पानी परेको मात्रा काँचको शीशीमा जाँचेर प्रत्येक महिना दिनको रीपोर्ट विराटनगरको मौसम सम्बन्धित अड्डामा पठाए  पैसा पाउने पनि नियम रहेछ । हरैचा बसाईको केही वर्षहरुको अवधि भरी यो काम आमाले पुरा जिम्मेवारीसाथ गर्नु भयो रे । आमाको यो कामले तत्कालिक रुपमा मात्र होइन दीर्धकालिन फाईदा र निरन्तरता पाएछ । पुरातन प्रविधीबाट शुरु भएको मौसम नाप्ने यो स्टेशन आधुनिक प्राविधिक ढाँचामा फेरिएर आज सम्म पनि हरैचामा संचालित छ रे । एककिसिमले योे कामको महत्वको पहिचान थियो , जसलाई दुरदर्शी  आमाले त्यो समयमा पहिचान गर्न सक्नु भएकोे थियो ।

उन्नतीको कठिन बाटोहरु 


हरैचाको केही दुरीमा रहेको गोलापरासी झोडा तीनताक बडेमाका जंगल रहेछ । आर्थिक उन्नतीको बाटो खोजीरहने बानी परेको बुवाले सो जगंल फडानी गरेर हाल आवादी गर्न विचारमा पुग्नु भएछ । आमाका सहमतीमा यो हाल आवादी गर्ने योजना बनाउदा बुवाको नातामा काका पर्ने गंगा हजुरबुवाको सोचाइ मिलेछ । काका भतिज मिलेर हाल आवादी गर्ने र यसरी पाएको जग्गा आधा आधा बाँडेर लिने निर्णय भएछ । जस अनुसार बुवाले गोलपरासी झोडा फडानी गर्ने, कागजी कार्यवाही र दर्ता कार्यलयको काम भने विराटनगरमा गंगा हजुरबुवाले गर्ने दुबैको सहमती भएछ ।

हाल आवादीकोलागि एधार सालमा एक सिक्किमे नेवारको साथमा बन्दुक लिएर घोडामा चढेर बुवा हरैचाबाट गोलपरासी निस्किनु भएछ । यो सजिलो काम थिएन । कालापानी मानिने मलेरिया ,औलोको बाक्लो घनघोर यो जंगलमा बाघ भालुको पनि डर थियो । बाटोमा यत्रतत्र बाघको पाइला अनि जंगली बदेलहरुले उधिनेको माटोहरु देखेर  कुनै पनि समय उनीहरुसित जम्का भेट हुने डर लागे पनि तर उमेरको हिम्मत र जोशले बुवालाई साथ दिएको थियो । निकै कष्टहरु खेप्दै गोलापरासीको धाबीको पुच्छर हुदै हुदै घोडा कुदाएर कामतको पल्लो छेउमा आइपुग्दा ४० देखि ५० विधा जमिन भएको अन्दाज लागेछ । अनि यो सूचना विराटनगर पठाएपछि योजना अनुसार मालअड्डामा यसरी पाएको जग्गा आधा आधा बाडेर लिन जग्गाको दर्खास्त दिने काम पनि भएछ ।

काम सकिएको थिएन  । अब हालआवादी बाँझो जग्गाको  फडानी गरेर खेती योग्य बनाउने काम शुरु भएको थियो । पहाडबाट मजुरी गर्न झरेका जनहरु एकरुपिया चार आनामा पाइन्थ्यो रे । यिनीहरुलाई हायर गरेर भटाभट फडानीको काम पनि शुरु भयो । दिनभरी रुख काट्ने सोतर पार्ने काममा लागेका जनहरुलाई खाना खाजा ख्वाउने हरैचादेखि आमा दुई तीन किलोमिटर हिडेर आउने जाने गर्नु हुन्थ्यो रे । वर्ष दिन लागाएर यसरी आधा जग्गा जमीन फडानी भएपछि एक हलगोरु किनेर धान रोप्न ठीक पर्दा गोलापरासीका राजाटोलकाहरुले यो जमीन उनीहरुले विर्तामा पाएका हुन यसको हाल आवादी गर्न पाइदैन भनेर धान रोप्न दिएनन रे ।

तर यति समय चुपलागेर बसेको तर फडानी भएर जमिन जोत्न लायक बनाएर ठीक पारेपछि किचलो झिक्न थालेकाले दुबै पक्षमा  चर्का चर्की पर्न थाले छ । राजाटोलका पचामे थारुहरुले बीस पच्चिस हल गोरु लिएर खेत जोत्न थालेकोले बुवाले बन्दुक पडकाएर आफ्नो नोकरलाई “ लु खुकुरी भीर राई र सबैको हलो काट ” भन्नु हुँदा राईले पनि खुकुरीले नचाउदै मैदानमा ओर्लिदा “ ला पहाडे भुतले मार्यो ” भनेर पचामे थारुहरुमा भागाभाग परेछ । राजाटोल र त्यहाँका रैथाने थारुहरुले सर्जिवन गरेर जग्गा दिनु   हुँदैन भनेर विरोध गरेपनि मालअड्डामा जग्गाको नापी दर्ता भइसकेकोले फैशला बुवाहरुको पक्षमा गएछ ।

अहिलेलाई मात्र कल्पना गर्न सकिन्छ ,यस्तो ठाँउ जसमा कुनै मानिसको कहिले नपुगेको होस अनि कुनै साहसी मान्छे गएर जति जमिन उसको पाइताले स्पर्श गर्छ त्यो उसको स्वामित्वमा आउने रे । तर यो कल्पना जस्तो मात्र लाग्ने कुरा त्यतीबेलाको चलनचल्तीमा रहेको कुरा थियो  । मानव आवादीकोलागि यस्तो अक्षत र विहड बाँझो ठाँउहरु थिए ,जहाँ सितीमिती जाने हिम्मत हरकोहीसित हुन्न थियो । बाघ भालु हिस्रंक जन्तु र मलेरिया औलोको प्रकोपले कालापानी मानिने पूर्वि तराइको यो गोलापरासिको भेकको यो जमिन हाम्रो बुवा आमाको ठूलो  पराक्रम र साहस को आर्जन रहेछ । उहाँहरुलाई पनि बाघ ,भालु ,साप ,विक्षी र औलोको डर लाग्थ्यो होला । उसबेलाको कालापानीमा मानिने यो ठाउँमा हर क्षण मृत्युसितको संघर्ष थियो तर उहाँहरुको यो संघर्ष जीवनकोलागि थियो , जीउनको लागि थियो । र यो सुन्दर र मानवीय  थियो ।

 पूर्वको त्यो भेकमा औँलो,मलेरिया र हिंसक जीवजन्तु मात्र होइन ,डाकुहरुको पनि आतंक रहेछ । त्यो समय डाकुसित परेको मुठभेडको एउटा घट्नालाई एउटा बुवा संझना गर्नु हुन्छ । रातदिनको परिश्रम र खटाईहरुले आमाको स्वभाव चिढचिढो बन्न थालेको थियो रे रिसाउने झर्किने बानीले त्यो रात दुइै दम्पतिबिच झगडा परेको थियो रे । अनि यसै बेला भने एउटा हरुवाले बुवा आमाले पालिराखेको दस बार थान गाई र गोरु लिएर तेलकुडेबाट भागेको रहेछ । खानपानको सर्धै वास्ता राख्ने आमाले राती झगडा परेकोले त्यो बिहान खान केही सोघपुछ नगरेकोले बुवा पनि भौकै पेट लिएर गाई गोरु खोज्न हिड्नु भएछ । उहाँ बन्दुक बोकेर घोडा चढेर पूर्वै पूर्वतिर लाग्नु भएछ । त्यो हरुवाले भने त्यतिबेलाको मसहुर डाका भैरव कहाँ गाई गोरु लगेर थन्काएको रहेछ । बल्ल तल्ल  यसरी भेटिएको आफ्नो सबै गाईगोरु फिराएर बुवा त्यो राती लप्टन बलराज विष्टको घरमा बास बस्नु पुग्नु भएको रहेछ । खानपिन सकेर निदाउन लाग्दा मध्य राती बन्दुक बोकेका पाँच सात घोडचढी र दश पन्द्र लठैत दस्यूहरु आएर बलराज विष्टको कामत घेरामा पारेर   “यो फुच्चे नेवारलाई यही मारेर गाई गोरु फिराएर लैजान्छौ  ” भनेर गर्जिन थालेछ  । अनि बुवा पनि  “मलाई मारे मार तर म पनि यिनीहरुलाई ढालेरै मर्छु  ” भन्दै बन्दुक उज्याएर मर्न मार्न तम्तैयार हुन थाल्नु भएछ । यस्तो जोखिमको समयमा सहासपूर्वक लप्टन बलराज विष्ट घरबाट निस्केछन ,   “मेरो पाहुनालाई यस्तो घम्की दिन मिल्दैन  ” भन्दै  भैरव सित बडो चालकी साथ मध्यस्थकर्ता भै यो मुठभेड र खुनखराबाट बुवालाई धन्न जोगाएछन् । बुवालाई एकहल गोरुमात्र लिन दिइएछ र बुवा पनि   “ज्यान बचे लाख उपाय  ” भन्दै चित्त बुझाएर घर फिर्नु भएरको रहेछ ।

आमाको दोस्रो सन्तान , महेश दाजु दिदी चन्द्राको साथ

तेरह सालमा आमाले एघारदिन सम्म लामो र अति कष्टकर प्रसव वेदना सहेर महेश दाजुलाई जन्म दिनु थियो रे । त्यतीबेला हरैचामा स्वास्थचौकीकोे कुनै अत्तोपत्तो थिएन र खोलाबढेर प्रसव वेदनामा छटपटाइरहेको आमालाई विराटनगर अस्पतालमा लैजान सकिएको थिएन रे । यो दयनिय अवस्थामा सबैले आमालाई माया मारिसकेका थिए रे । बुवा त्यो घडीको वेदनालाई यसरी पोख्नु हुन्छ   “ बास्तवमा चन्द्राको आमाको स्वास्थको मैलै वास्तै नगरेको हूँ , के खान्थी खान्नथी कि.. कम्जोर आर्थिक अवस्थामा थियौ । म पनि तिनताक साह्रै कम्जोर र रोगाएको थिए । मेरो मुखबाट खुन जान्थ्यो । ”
रातदिनको जीवन संघर्षको धपेडीमा होमिएको यी दम्पतीको निरही दिनहरु जीवनको घाम छायाँ जस्तै साथसाथ थिए   ।

अन्तत आमाको यस लामो प्रसव बेदनालाई दोस्रो सन्तान छोराको उपहारले बिर्साएको थियो । सुत्केरीलाई चाहिने सामान तुमल जुटाएर आफूलाई टि.बी भएको शंकालागेर बुवा पनि उपचारको लागि दिल्ली जानु भएछ । अनेक जाँचपडताल पछि डाक्टरले बुवालाई टि.वी नभएको ठहर गरेर तागतको केही औषधि दिएर पठाएछ । गम्भिर रोग लागेर मर्ने शंकामा पुगिसकेको बुवाको मनभरी खुशि र उत्साह बोकेर हरैचा फर्किनु भएको थियो  रे । यही उमङ्गमा हात्तीमा चढेर  आमा र साना दुई सन्तानको साथ बराहाक्षेत्र दर्शन गरेर उतैबाट हावापानी फेर्न जलजले पहाडमा गएर केही समय बिताएको  संझना गर्नुहुन्छ बुवा ।  यो उहाँहरुको जीवनको  सुन्दर , सुखद र रमाइलो दिन थियो । पहाडको  स्वच्छ जलबायु परिवर्तनले बुवाको स्वास्थमा धेरै सुधार ल्याएको थियो रे । अनि निकै स्वस्थ भएर हरैचा फर्किएको संझनु हुन्छ बुवा । 

 हरैचामा झोपडीबाट उक्लिने सुर कसेर काठको घर बन्दै  थियो रे अनि  बुवाले तीहारको जुवामा जितेर पाएको ५०० रुपियामा टीन छाएर घर तैयार भएको थियो रे । तर आमाको भने भित्र इच्छा छोराछोरीलाई राम्ररी पढाउन लेखाउन विराटनगरमा घर बनाउने थियो । जसको निम्ति बुवालाई बेलाबेलामा आमा कचकच र गनगन गरिरहनु हुन्थ्यो । आमाको जिदी थियो रे विराटनगरमा बजैको जग्गा नै किन्नु पर्छ त्यो समय विराटनगरमा अलि भित्रका जग्गाहरु दुइतीनसय रुपियामा एककट्ठा घडेरी पाइन्थ्यो रे । तर बजैले भने बजारमा पर्ने आफ्नो एक कट्ठा जग्गाको मोल भने २५०० रुपिया राख्नु भएको थियो रे । जति झगडाहरु परे पनि आमाको कुरा मानेर बजैको जग्गा नै किनियो अनि आमाले भने यो रकम बिस्तारै बिस्तारै किस्ता बन्दिमा बजैलाई चुकाइ दिनु भएको थियो रे ।

क्रमश ...........

Comments

  1. बुवाको मुख हेर्ने दिन मा यो भन्दा राम्रो उपहार के हुन स क्छ?

    ReplyDelete

Post a Comment