तीन पुस्ता भाग - ३ - इन्द्रधनुषमाथि उदाएको अधकल्चो कालो चन्द्रमा

आमा छोरी  -  तीन पुस्ता 

 पहिलो पुस्ता – भाग ३

सुसन मास्के

     

इन्द्रधनुषमाथि उदाएको अधकल्चो कालो चन्द्रमा


  पितृसत्तात्मक समाजले सबैखालको उत्पीडन हाम्रो आमाको भागमा प्रसस्त पारेको देखिन्छ र उहाँले पनि आफ्नै तरिकाबाट यी सबै समस्याहरुको सामना गर्नु भएको  देखिन्छ । यस अर्थमा हाम्रो आमा त्यस युगको समाजको शोषणमा परेको एक प्रतिनिधी पात्र हुनहुन्थ्यो ।

पत्नी धर्म पालन गर्दै , बिहानै लोग्नेको गोडाको पानी खाएर शुरु हुने हाम्रो आमाको   दिनचर्यासित बुहारी भएर गर्नु पर्ने दैनिक कामहरुको एकपछि अर्को लर्कोहरु थिए ।  मिरमिरेमा भालेबासेपछि आमाको अपरिहार्य घर धन्दाको चटारोहरु शुरु हुन्थ्यो ।
पहाडको मध्यमवर्गीय सगोल परिवार अनि सासु , ससुरा, नन्द र देवरहरु भएको घरमा काम धन्दाको कुनै कमी थिएन । घरकी ठूली बुहारी भएकी हाम्रो किशोरी आमाको कलिलो काँधमा घरका सबै खालका बुर्हातनहरु बिसाइएको थियो । गाईबस्तु , पानीपधेँरो , घाँस दाउरा, चुल्हो चौको , लिपपोत ,ढिकी जातो, कुटोकोदालो गर्दै आमाको कलिलो किशोर उमेरहरु बितिरहेका थिए ।

पढ्न असाध्यै मन गर्नु हुन्थ्यो रे तर उहाँलाई स्कूलजाने अवसर कहिले जुरेन ।  छोरीचेलीलाई पढाउने भन्दा घरधन्दामा निपूर्ण पार्न जोड गर्ने त्यो बेलाको समाज थियो । अर्काको घरजाने जात , छोरीले पढे भने बिग्रिन्छन भन्ने सोच राख्ने त्यो समाजमा छोरीले पढ्ने चलन नहुँदा नहुँदै पनि अजा अजीको घरमा मैतालु भएर बस्दा गाई वस्तु  चराउन जाँदा माटोमा कोरेर अक्ष्यरहरु फुटाउन सिक्नु भएको थियो रे आमाले ।  ।

अक्ष्यर सिकाइको उहाँको त्यो स्वप्रयत्न , रामयण ,महाभारत, वाचनको स्तरमा पुगेको थियो । उहाँले नित्य पाठ गर्ने रामायणको दोहाको मधुर वाचनहरुलाई म अझ पनि संझिन्छु । आमाको यी मन्त्र र दोहा ,श्लोकहरुको म ठूलो फ्यान थिए । सानो छँदा उहाँको सुन्दर पूजाघरमा रामायणका श्लोक र दोहाहरु पढ्दा पढ्दै भाव विह्रल भएर आमाको आँखाबाट झरझर आँसु बगेको देख्ने म धेरै पटकको साक्षी पनि हुँ ।

आफ्नो यो संबेदनशिल मनसित एकाकार हुन मनलागेको बेला आमा संगिनी गाउनु थाल्नु हुन्थ्यो । उहाँले गाउने यो संगिनी भाखा अहिले पनि मेरो कानमा गुन्जिने गर्छ । पूवी पहाडको उतीबेलाको चलन चल्तीको यो लोकभाखा । कुन त्यो अज्ञात चेलीले पोखेको मनको वह हो यो संगिनीको भाखा ? यसको लय यसका शब्द शब्द सबै कति मार्मिक  र कति नजिक भएर हाम्रो आमाको मर्मसित मिसिएर बोलेको छ । शायद हाम्रो आमा जस्तै मनस्थितीमा बाँचेकी हुनुपर्छ ,संगिनीमा रचेर पोखिने त्यो अज्ञात चेलीले पनि । कति गुनकारी उनको त्यो नीजि पीर, जसमा त्यतीबेला बाँच्ने अरु धेरै धेरै महिलाहरुले पनि आफ्नो मनको बह खोल्ने पाए ।


बाबा र ज्यूको धुरी है भरी
परेवा घुरुरु राजै परेवा घुरुरु

नौ डाडा काटी नी दिहाल्यो बाबा
मन रुन्छ धुरुरु
मेरो बाबा , मन रुन्छ धुरुरु

यो माइती गाँउलाई नी कुहिरोले ढाक्यो
देखिन्न कुनै छेउ
मेरो बाबा देखिन्न कुनै छेउ ....

पराया घर धान्न दशनङ्ग्रा खियाउदै रातदिनको बुहार्तन एक्लै चुपचाप सहदै गरेको आमाको धमिलो आकार यही संगिनी गीतको  पृष्ठभूमीमा मेरो मानसमा कहिलेकाही चुपचाप तैरिने गर्छ । सासुको खटनपटनमा चुइक्क नगरी  लुरुलुरु एकपछि अर्को काम पार लगाउन बल गर्ने हाम्रो किशोरी आमाकोलागि भोक, प्यास ,थकान र पीर पोख्ने कुनै साधन  थिएन होला ।
भान्सामा सबैलाई ख्वाएर बँचेखुचेको खानाबाट आधा पेट खाएर अनि आधा प्रहर सुतेर हर प्रकारको दैनिक कर्महरुमा जोतिने  हाम्रो आमा कि त सहनशिलताको जीउदो जाग्दो स्वरुप हुनुपर्छ कि त आमासित अरु विकल्पहरु नै थिएनन् । धेरै जसो त्यो कालखण्डका बुहारीहरुको यस्तो दयनीय अवस्थाको जिम्मेवार दोस्रो कारणलाई बढी  जान्छ । अशिक्षा, बालविवाह, दोस्रो दर्जाका मयार्दा स्तरमा झारेर गरिएको धार्मिक एंव सामाजिकारणले त्यो समयका महिलाकालागि सहनु बाहेक कुन अरु विकल्प छोडिदिएको थियो र ?

“पहाडमा अलि बढी काम त गर्नु पर्थ्यो । हामीले सासु भएर त गर्नु पर्थ्यो  अनि  बुहारी भए पछि काम गर्नु परिहाल्यो नी । तेरो आमाले नबिराइ खुट्टामा तेल लगाइदिने गर्थी मेरो । उसको मीठो मसिनो बनाएर खुवाइहाल्ने बानी अहिलेसम्म झल्लझल्ती संझनामा आउने गर्छ मलाई ।” हाम्रोे हजुरआमाको स्मृतिमा ताजै बसेको आमाप्रतिको  यो संझना र  प्रशंसाहरुमा भने मलाई त्यतीबेलाको महिलाको लागि भनेर छुट्याएर राखिदिएको परम्परागत मान्यताहरुकै गन्ध नै बढी आएको जस्तो लागेको थियो ।

“ दिदीले सासुको कडा बुहार्तन र उपेक्षाहरु सहनु भएको थियो । प्रसस्त अन्नपात भए पनि दिदीलाई भने कोदोको रोटी, मकैको भात , मोही खाएर गुजारा गर्नु पर्ने हुन्थ्यो । भोकभोकै परेर त्यसैले दिदी खानपिनमा साह्रै तलतल गर्नु  हुन्थ्यो ।  ठूलीको आँतै पुरिएन भनेर माइती आउदा खसी  काटेर विषेश गरेर दिदीको मनपर्ने परिकारहरु बन्ने गर्थ्यो ।
रमाइ रमाई माइती आउने दिदी, रुदैरुदै घर फर्किनु हुन्थ्यो । ” आमाको साइली बैनीको यो स्मृतिहरुले मेरो असाहय आमाको विवशताहरु पोख्छ । यसको साथै एक महिलाले महिलामाथि गरेको क्रुरताहरुको चित्र कोरिदिन्छ ।
त्यसो त जता पनि जुन पनि सभ्यताहरुमा सासु र बुहारीको सम्बन्ध द्धन्दात्वमक नै देखिन्छन । अझ उहिले उहिले संयुक्त  परिवारमा सासुले बुहारीलाई कजाउनै पर्छ भन्ने मान्यता स्थापित थियो । यो कजाउने प्रकृयामा थाहै नपाइ  एउटा स्त्री अर्को स्त्रीमाथि निर्दयी हुन पुग्दारहेछन् । तर जानेर होस चाहे अन्जानमा क्रुरताहरु घट्दो रहेछ ।

सासुको सत्ता रहदै सासुले बुहारीलाई छोरी बनाएर माया दिन सक्दैनन् र ? एकदिन त्यही बुहारीको सत्तामा सासुले बस्न पर्ने कुरालाई किन बिर्सिन पुग्छन ? बुहारीलाई छोरी बनाएर पाउने सहज माया, प्रेम र सम्मानलाई  रोब , ईर्ष्या , घृणा र दमनले बुहारीलाई कजाउनमा आफ्नो सारा शक्ति लागाए धेरै जसो सासुले व्यर्थमा त्यो अवसरलाई गुमाएका हुन्छन । अर्को तर्फ सासुसित ईख लिएर पालोको पैचो पर्खेका बुहारीहरुबाट यही भुल  हुन्छ ।  प्रकृतिले स्त्री जातलाई दुई पटक सुन्दर अवसर दिएका हुन्छन् , सासु भएपछि फेरि आमाबन्ने अवसर .. छोरीको रुपमा बुहारीको स्नेह मायाहरु पाउने अवसर । अनि बुहारीले पनि आमाको रुपमा सासुको ममत्वको छाहरी पाउने अवसर ।

तर यथार्तमा यस्तो मौका दुबै तर्फबाट गुमेको हुन्छ । यस्तो घेरै कम भेटिईन्छन जो यस सम्बन्धको सुन्दरतालाई निभाउन सक्षम  हुन्छन्  । गहिरिएर खोजी पस्ने हो भने दुई स्त्रीबीचको यो सम्बन्घको जटिलताको जरो भने पितृसत्ताभित्र जेलिएको छ  । सासु र बुहारीको सम्बन्ध पुरुषसित जोडिएर बनेको हुन्छ । पुरुषको सत्तामा निर्भर भएर पाएको यो शक्तिलाई महिलाहरुले एक अर्कामाथि आआफ्नो समयमा उपयोग दुरुपयोग गरेको देख्न सकिन्छ । आमाको कालखण्डमा निसन्देह यो कुरा बढी चलन चल्तीमा थियो । कारण त्यती बेलाका महिलाको अस्तित्व सम्पूर्णत पुरुषमाथि निर्भर थियो । आमाको मामिलामा त झन यो चर्को थियो । आमाप्रति मनमा वितृष्णा राखेको अल्लारे उमेरको लोग्नेको केही भर थेग थिएन यो समय आमालाई । बाल्य अवस्थामै बधु बन्न्नु परेको हाम्रो आमाको घरमा दासी सरहको मर्यादास्तर थियो । “ पाले पुण्य मारे पाप ” भनेर माइतीले अर्काको रहमकरममा आमालाई अज्ञात भाग्यको साहरा सुम्पी दिइ सकेको थियो ।

जलजले डाँडाको वारी पटि बादलुले छेकिदिएको माइती घर यासोकतिर फर्केर आँखा भिजाउने त्यो हाम्रो किशोरी आमालाई भोक लागेको हुनुपर्छ कि कसैले पक्कै  केही  प्याच्च भनेर मन दुखाइदिएको हुनु पर्छ कि त भुतुक्क थाकेर दाउराको भारी बोक्न नसकेर हो कि ? कि त जलजले पहाडको घरमा मैतालु किशोरीलाई थन्काएर परदेशिएको लाग्नेको संझनाले सताएर हो कि
त ? कस्तो मन दुखेर भलभल आँसु बगेको  हाम्रो आमाको । उही संगिनीमा पोखिएको चेलीको आँसु जस्त्तै हकी ?

 “ मन रुन्छ धुरुरु
मेरो बाबा , मन रुन्छ धुरुरु ..”

रातोदिन बुहार्तनमा यसरी आकण्ठ डुबेको आमाले इन्द्रधनु रंगले सजिएको किशोरी मनको के कति अनुभूति गर्न पाउनु भयो होला र  ? रहरलाग्दो सपनाहरु उमंग र रहरमा सजिएको सबभन्दा आकर्षक उमेरहरु आएका थिए आमा अघि पनि  । उमेरको यस इन्द्रधनुषका चहकिला रंगहरुले ओर्लेर आमाको मनलाई कति स्पर्श गरेको थियो कुन्नी ? मलाई जान्न सारै मन थियो । केही त छ होला निशानी । केही रमाइला पलहरु केही उटपटाङ काम आमाको , केही मस्ती ?
र संझना आएको छ मलाई  आमाको दाहिने हातको बुढी औला छेउ सानो अधुरो कालो चन्द्रमा को ।
‘गोदना भन्थ्ये हौ त्यतिबेला ’ धराने पूर्बेली बोलीको आमाको भाउजु अन्तरी माइजुसितको भइरहेको कुरामा मैले खोजिरहेको आमाको किशोरी दिनको सानो रहरलाग्दो त्यो एक मात्र क्षण टल्किरहेको देखेको थिए ।

त्यतिबेलाका युवा युवती माझ नीर वा कोइला हालेको पानीमा सीयो भिजाएर छालामा खोपेर शृङ्गारिक बुट्टा बनाउने प्रविधी चलेको  थियो रे पहाडमा पनि ।अनि हाम्रो आमालाई भने हातमा सानो चन्द्रमा बनाउने खुबै रहर रहेछ । तर यो रहर पुरा गर्न सजिलो थिएन रे । आमा माइत आएको बेला उमेरमा मिल्ने नन्द भाउजु मिलेर टाटु बनाउने कार्यक्रम तय भएछ । यो कार्य गोप्य रुपमा सम्पन्न हुनु थियो रे तर आमाको दाजुलाई  कताबाट हो यस कुराको भनक लागेछ ।

 “ चन्द्रमाको गोदना खोपिदै थियो नानीको हातमा , तर कताबाट तिम्रो मामा आएर त पछाडिबाट नानीको हातमा पानी  झयाम्मै खनाइ दिनु भयो । अनि हामी नन्द भाउजु त्यहाँबाट भाग्यौ । भाग्दै भाग्दै फेरि अर्कौ ठाँउमा पुगेर गोदनाको चन्द्रमालाई पुरागर्ने योजना थियो तर त्यहाँ फेरि हामीलाई लखेटदै लखेट्दै मामा पुगिहाल्नु भयो अनि त ठूलीको  हातभरी माटो छयापीदिनु भयो । ”

यसरी हाम्रो किशोरी आमाको हातको कालो चन्द्रमा अधकल्चै रहेको रहेछ आमाको  किशोरी उमेरहरुको सपना र रहरहरु जस्तै बनेर ।

क्रमश........................

Comments