तीन पुस्ता - भाग २ - पितृसत्ताको जालोहरुमा

 ॐ

 पहिलो पुस्ता – भाग २

आमा छोरी तीन पुस्ता  

सुसन मास्के


पितृसत्ताको जालोहरुमा  


हाम्रो आमा र बुवाको  बालविवाहको यस्तो तनावपूर्ण समारोहमा थपिएको अर्को बज्रपात थियो, पद्मसिहं मास्के बाजेको निधन हुनु । बालविवाहको मुख्य आयोजक बाजेसित नातिको बेहुलीको मुख हेर्ने सम्म , समय रहेन छ । बेहुला अन्भाएर जन्त पाँचथर यासोक हिँडेपछि अर्कोतिर मलामीहरुले  शंखबजाउदै बाजेको अर्थी तमोर नदीको घाटतिर हिँडाएका थिए रे ।

साच्चै यो विवाह पक्कै पनि कसैले सोचेको जस्तो भएको थिएन । केही गरी परिवारमा मरिमराउ परे पनि सदकार्य नरोकियोस भनेर बेहुलाको “ नान्ने मुखी ”  गरिएको थियो रे , बाधा अड्चन फुकाउने आध्यात्मिक पूजा सम्पन्न गरेर जन्त हिँडाइएको थियो  । त्यसैले त्यो बालविवाह पनि रोकिएको थिएन् । जस्तो बाधाविघ्न आएर पनि भएरै छाडेको थियो । नाटक र चलिचित्रको परिदृश्य जस्तो लाग्ने घटनालाई जीवनमा भोग्ने प्रमुख पात्रहरु भने थिए हाम्रो नाबालक आमा र बुवा ।

विवाहको यस्तो बिखलबन्दमा परेको बुवाको बालमनमा “ यो संग मेरो घरबार हुँदैन ”  भनेर हाम्रो आमाप्रति रोष अनि वितृष्णालाई  जन्माएको थियो रे । अर्को तर्फ बेहुलीको दशा कम मार्मिक अनि त्रासदीपूर्ण र कहालीलाग्दो थिएन । माइतिकाहरुले बेहुली अन्भाइदिइ सकेका थिए  तर रोएर बेहाल भइरहेको सानी  बेहुलीलाई घरतिर लैजान भने जन्तलाई उतिकै धौँ धौँ  परिरहेको थियो  । डोलीबाटै हाम्फालेर माइत घरतिर भाग्न बल गरिरहने सानी बेहुलीदेखि घर्ती डोलेहरु हैरान भए पछि बेहुलीलाई बोकेर लैजाने निधोमा पुगे रे उनीहरु । तर यसरी बोकेर लैजान खोज्ने घर्ती डोलेहरुलाई आमाले काँधमा टोक्ने ,कपाल लुछने काम गर्न थालेपछि हैरान भएका जन्तहरुले पनि उहाँलाई चिमोटदै ,तान्दै  ठेल्दै , घिसार्दै जलजले पुर्याएका थिए  रे ।

जलजले घर सुनसान थियो । बेहुला बेहुलीको स्वागत सत्कारको त्यस्तो कुनै समारोह भएन । बुहारीको पहिलो पाइलो नै शुभ रहेन घरकाहरुकालागि । अनि उपेक्षा र हेला पहिलो दिनमै हाम्रो आमाको भागमा परिसकेको थियो । मराउपराउ परेकोले एक जना वृद्धालाई घर रुँगाएर हाम्रो बुवाको परिवारका सबै भर्खरै स्वर्गिय भएका पद्मसिहं बाजेको मूलघरतिर शोक मनाउन झरेका थिए रे ।

अनि बिहानै सख्खारै सानी बधुलाई माइती फर्काइएको थियो रे । अन्जान मानिसहरुको साथ जबरजस्ती घचेटिदै तानिदै कता हो कहाँ हो लागेर दुलहाको घरमा आइपुगेकी त्यो अबोध बालिका बधुलाई बिहानै माइतिबाट लिन आएका आफन्त देख्दा कस्तो ढडास मिलेको थियो होला हकी ? मानौ पुर्नजन्म पाए जस्तो । कि कुनै दुःस्वप्न देख्दा देख्दै बिउझिए जस्तो ?

रात जसो तसो काटेर मैतालु पठाइएको आमाले पाएको त्यो राहतको कल्पना म अहिले गर्न सक्छु । बिछोहमा परेको बाख्राको पाठाले जस्तै माऊलाई भेट्न आतुर उकाली ओराली लड्दैपड्दै छिटो छिटो हिडिरहेकी त्यो सानी हाम्रो आमाको खुशिहरु मेरो आँखामा अटेसमटेस आँसुहरु बनेर झिलमिलाउछ जब जब म यो परिदृश्यलाई मनको क्यानवसमा उतार्न खोज्छु । लिन आएका दाजुसित लुटपुटिदै माइत घर लागेपछि हाम्रो आमालाई तेह्र वर्षसम्मको उमेरसम्म वरघरको कुनै चासो भएन ।

चौध वर्षको बुवा जलजलेबाट दार्जिलिङ पढ्न झर्दा बाटोमा परेकोले ससुरालीमा एक रात बास बस्न पुग्नु भएको थियो रे । “ तेरो दुलहा आएको छ ”  भन्ने सुचना पाएर सानी बहिनीसित नासपातिको बोट मुनी भाँडाकुटी र पुतलीको बिहे खेलिरहेको आमाले , खेललाई बिचमानै छोडेर हिडनु भएको थियो रे ।अनि लुकेर बुवालाई आँखीझ्यालबाट हेर्नु भएको थियो रे । भोलिपल्ट बिहान लोग्नेको खुट्टाको पानी खाएर ढोग्न उहाँलाई पठाइएको थियो रे । आफ्नो दुलहा कस्तो होला भन्ने चासो के आमालाई हुन थालेको थियो ? यो निमेषभरको भेटमा मनमा उतारेको धमिलो तस्विर जस्तो केही आकार कोरिएको थियो होला जीवनसाथीको । यही आकृतिलाई मनमा बसाएको आमा तेरह वर्षमा टेक्नु भएपछि सत्र वर्षको बुवालाई आमाको माइतिको यस्तो सन्देशा आएको थियो , “ मैतालुलाई फिर्ता लैजान दुईवटा ढाकर र घोडा लिएर आउनु  । ”

आमाको माइती सम्पन्न थिए रे । जग्गा जमिन ,सुनचाँदी ,गरगहना रुपिया पैसा र  प्रसस्त फलफुलका बगैचाका धनी अजा र अजीसित भौतिक संसाधनको कुनै कमी थिएन रे । सानो छदा पाँचथर मामा घरमा केही समय बस्नु भएको मेरो ठूली दिदी चन्द्राको संझनालाई जस्ताको तस्तै यहाँ उतार्दा यस्तो शब्दचित्र तानिन्छ  “ हाम्रो चन्द्रबहादुर अजा एउटा ठूलो काठको बाकसमाथि ओछ्यान लगाएर सुत्नु हुन्थ्यो । त्यो रहस्यमी काठको बाकस एकदिन अजाले उघारिरहेको बेला खेल्दा खेल्दै म अजाको कोठामा पुगेछु । अनि मैले देखे त्यो बाकस भरि विटाका विटा भारु नेरु नोटहरु मिलाएर राखिएका थिए । यस्तै गरी पोकापोकामा सुनचाँदीका गरगहनाहरु , कम्पनी सिक्काहरु चाँदी र सुनका असर्फीहरु थिए ।”  हाहाहा.... दिदीको यो कुरा फोनबाट सुन्दै म चाहि पुरानो एउटा नेपाली लोकगीतलाई संझिरहेको थिए  “ उहिले उहिले बाजेको पालामा सुनचाँदी हुन्थ्ये रे डालामा ... ” यी लोकगीतहरु त्यसै बनेको होइन रहेछ नी ?

सुनचाँदीका सिक्काहरुसित बहकिएर गएको प्रसंगलाई फेरि जोडेर हेर्दा हाम्रो मैतालु आमालाई सम्पन्न माइतीले कुनै कमी हुन नदिइ , छोरीलाई ज्वाँइको हातमा ‘पाले पुण्य मारे पाप ’भन्दै विदाबारी दिइसकेको थियो ।माइतीसितको बिछोहमा मन भक्कानिरहेको  थियो , तर कर्म घरतिको यस यात्रालाई यसपटक आमाले सहजतासाथ लिनु भएको थियो रे । पहिलाको बिहामा आएको बाधाव्यवधानले गर्दा यसपाली मैतालु फर्काउने कार्य भने धुमधामले सम्मपन्न गरिएको थियो रे । बाजागाजासहित घोडामा चडाएर उकालो ओराल्हो  गर्दै हाम्रो मैतालु आमालाई साथ लिएर बुवा , जलजले याङ्गसिला घरतिर लाग्नु भएको थियो ।

उहिले उहिलेको दाम्पत्य जीवनमा कसरी असजिलो गरि बाधिएका थिए यो किशोर जोडी ? “ कता बोलचाल हुनु र । हामीलाई एकअर्कासित बोल्न पनि लाज लाग्थ्यो । फेरि त्यति बेलाको कस्तो चलन, मेरो खुट्टाको पानी नखाई तेरो आमाले केही खादिन थिइ ।”  विस्मृतिमा हराउन लागेको संझनालाई खोजेर मेरो अघि यो कुरा ल्याइदिनु हुन्छ बुवा। हुम्म...! बुवाको यो कुराले मेरो कल्पनाशिलतालाई ढकालेर त्यो युगको कालखण्डमा लगेर उभ्याइदिन्छ र म असाहय जस्तै हेरिबस्छु , मेरो किशोरी आमाको त्यो चालालाई । देख्छु ,उहाँलाई ,ढोकामा ढुकेर लोग्नेको खुट्टाको पानी खान पर्खेर बसेको । लोग्नेको खुट्टाको बुढी औलामा पानी आचमन गर्दै मुखमा पारेपछि मात्र केही खाने उहाँको यस रीतले कहिलेकाही दिनभरी पनि उहाँलाई भोकै प्यासै पार्थ्यो  रे । कारण उहाँको किशोर  लाग्ने चाही कहिले बिर्सिएर त कहिलेकाही हाम्रो दुलही आमालाई सताउन जानीजानी खुट्टाको पानी खान नदिइ कतै बेपत्ता हिडिदिने गर्ने बानीले  रे ।

हत्तेरीका कस्तो चलन ! कसैले पनि किन गरेको गर्नु पर्दैन , भनेर  किन नसिकाएको आमालाई । कताबाट सिक्नु भयो हाम्रो आमाले चाहिँ ? आमाको पनि आमा ,अजीले अजाको खुट्टाको पानी खाने गर्नु हुन्थ्यो होला अनि  उहाँको देखासिकीमा आमाले पनि गर्नु त्यस्तो भएको हो की ? दाहिने खुट्टालाई प्रयाग अनि देब्रे खुट्टालाई पुष्कर मानेर पतिको दुबै खुट्टाको पानी खादा दुई तीर्थका पुण्यलाभ हुन्छ भन्ने शास्त्र सम्मत धारणाहरुरसित त्यतिबेलाका धर्मभिरु महिलाहरु कति धेरै सहमत रहेछन हकि ? धर्मशास्त्रहरुले विवाहिता महिलाकालागि बनाएको यो रीति शायद आमाबाट नै छोरीमा हस्तारन्तर हुने जगस्वीकृत त्यतिबेलाको परम्परा थियो । चरण अमृत मानेर लोग्नेको खुट्टाको पानी खाने ,त्यो जुगका हिन्दु विवाहिता नारीको परम दायित्व किन बनेको होला ? एक क्षणकोलागि भए पनि यस्तो प्रश्न आमाको मनमा उठ्यो कि उठेन होला ?

आमाको त्यो कालखण्डमा नेपालको उत्तरी भेकका मङ्गोल  जनजाति बाहेक बाल्यकालदेखि नै नेपाली महिलाहरुलाई कठोर नारी धर्मको पालन गर्न लगाउन आवश्यक मानसिक तैयारीहरु चल्थ्यो ।  र यसकालागि रचिएका थिए अनेकौ स्मृति र शास्त्र र पुराणहरु । मान्छे मान्छेकोबीच र महिला पुरुषकोबीच बिभेदको पर्खाल उठाउन रचिएका मनुस्मृति , शास्त्र र पुराणहरु सुन्दा सुन्दै हुर्किएको आमाको त्यो पुस्ताका अनगिन्ती नेपाली महिलाहरु यसरी उम्कनै नसक्ने गरि पितृसत्ताको जालोमा  पर्थ्ये ।

अहिले मसित आमा हुनु भएको भए यसरी रचेका शास्त्रहरुलाई एक एक गरी कठ्घरामा ल्याएर उभ्याइदिन्थ्ये होला ।  अनि कुन कुन मनुहरुले कुन कुन समयमा लेखेका कुन कुन शास्त्रहरुमा पितृसत्ताको जग बलियो बनाउन धर्मको नाममा यस्ता अनेकौ रीतहरु महिलाकालागि बनाएर उनीहरुलाई दोस्रो दर्जामा बाँधेका थिए भनेर आमा अघि मेरो लामै व्याख्या जान्थ्यो होला । अनि भन्थे होला तपाईले पालन गर्नु हुने ती सब रीति रिवाज्  जसले  महिला जातलाई हेय बनाउछ म त कहिले पालन गर्दिन । मेरो  कुरा सुनेर आमाको प्रतिक्रिया के हुन्थ्यो होला ?  महिलाका मर्यादास्तर तल झार्ने यस्ता शास्त्रहरु माथि मैले बालिग भएर आमासित छलफल गर्ने अवसर नै कहाँ पाए र ? त्यती समय कहाँ दिनु भयो र आमाले मलाई ?

क्रमश...

Comments