तीन पुस्ता – भाग ७ – आमा र परिवारका महिलाहरु
ॐ
आमा छोरी– तीन पुस्ता
पहिलो पुस्ता– भाग ७
सुसन मास्के
आमा र परिवारका महिलाहरु
आमाको समयमा महिलाहरुकालागि समाज खुला थिएन । सोच खुला थिएन । चलन चल्तीमा चलेको पितृसत्तात्मक मूल्य र मान्यताहरुसित महिलाहरुले तालमेल मिलाउन सके ,जीवन सहज र सन्तुलित हुन सक्थ्यो र यो तालमेलको लागि शील स्वभाव, संयम, सहनशिलता, धैय, लज्जा, चरित्र, शीप आदीे गुणहरु जति धेरै मात्रामा धारण गर्न सक्यो महिलाको हकमा त्यती असल हुन्छ भन्ने आम सोच थियो । र यसै मान्यतामा आमाको जीवन धारा पनि प्रवाहित थियो ।
![]() |
| आमा आफ्नो बैनीहरु र नन्दहरुसित |
आमाले जमाउनु भएको विराटनगरको यो परिवारमा महिलाहरुको संख्या उल्लेखनिय रुपमा बढी थियो । केटाकेटीके उमेरदेखि किशोरी र युवा अवस्थामा टेकिसकेका छोरीहरु, नन्दहरु ,बैनी ,भतिजी, भदैनीहरुलाई आमाले नारी धर्मको नीति नियममा हुर्काउन खोज्नु भएको देखिन्छ । नारी सुलभ मर्यादी शील, स्वभाव ,हस्तकला, पाककलामा दक्षता र कडा अनुशासन, निगरानीमा परिवारको चेलीबेटीहरुको सामाजिकरण र हुर्काइ बढाई गर्न आमा केन्द्रित हुनु भएको देखिन्छ । तर एउटा फरक कुरा के थियो भने यो आमाले आफ्नो नारी धर्मसित शिक्षाको उज्यालो थपेर परिवारको महिलाहरुलाई हुर्काउनु भएको थियो । शिक्षाको अवसरबाट बन्चित भएको आमाले जीवनमा धेरै गोता खाएर के बुझ्नु भएको थियो भने ,महिलाहरुले आफ्नो खुट्टामा उभिन सकेसम्म पढ्न जरुरी छ । आमाका यही सोचले परिवारका महिलाहरुका व्यक्तित्व विकासका लागि छनौटको अरु ढोकाहरु पनि उघार्न थालेको थियो ।
माइली मुखिनीको रुपमा आमाको आमा अथार्त हाम्रो अजिको गाउँमा विशेष सम्मान र धाक थियो रे । माइली मुखिनीको कुरा गाउँलेहरु पनि खान्थ्ये रे । सहयोगि तर हक्की स्वभावको हाम्रो अजि भने ‘गोरु कुट्ने र स्वास्नी कुट्ने ’लाई फुटेको आँखाले पनि हेर्न सक्नु हुन्थेन रे । त्यसैले गाउँका स्वास्नी कुटुवाहरु हाम्रो अजिसित त्रसित थिए रे । छोरा पाएन भनेर स्वास्नी कुटुवा लोग्नेहरुलाई “आफूले रोप्ने गहुँ अनि खोज्ने मकैको घोघा ” भन्दै थर्काउन पुग्नु हुन्थ्यो रे ।
![]() |
| आमाको पनि आमा हाम्रो श्रद्धेय अजि |
कुनै जमानामा आफ्नो छोरीलाई सौता ल्याएर दुःख दिएको देख्न नसकेर “लौ ज्वाइँ साब ! मेरो धर्म मै भुट्छु अब मेरो छोरीलाई पारपाचुके गरिदिनु पर्यो ” भनेर अजिले हाम्रो बुवाको सक्ने जति हुर्मत लिएर छुुटानामको प्रस्ताव समेत राख्न सक्नु , त्यो बेलाको समाजकोलागि चानचुने कुरा थिएन । तर यति धेरै आधुनकि विचार राख्ने हाम्रो अजिलाई नारी शिक्षा प्रति भने घोर उदासिनता रहेछ । “अर्काको भित्तो लिप्ने जातले ” के पढ्नु पर्यो भन्ने उहाँको मान्यता रहेछ । त्यसैले अजिले आफ्नो छोरीहरुलाई अर्काको घर गरिखान मात्र लायक बनाउन ढिकी ,जाँतो ,कुटो कोदालो ,पानी पधेँरो र भान्सा घरधन्दामा दक्ष पार्दै ,शास्त्र सम्मत नारी धर्मको पालनमा जोड दिदै हुर्काइ बढाई गर्नु भएको रहेछ ।
तर आमाको कान्छी बैनी सूर्य आण्टिलाई भने सानोदेखि पढ्न असाध्यै मन लाग्थ्यो रे । छोरीलाई पढाउनु हुदैन भन्नै अजिको मान्यता विपरित उहाँले भने पढ्न बल गर्नु भएको देखिन्छ । तर यासोक काफ्ले्पानी गाउँमा स्कूल थिएन रे । त्यसैले घरबाट तीन घण्टा हिडेर उहाँ मेलबोटेको स्कूलमा पढ्न जानु हुन्थ्यो रे । अनि फेरि तीन घण्टा लाग्थ्योे रे घर फर्किन । यसरी सात कक्षासम्म मात्र पढाइ हुने त्यो स्कूलको पढाइ सकेर अब के गर्ने भनेर हताश हुन थाल्नु भएको थियो रे । “धेरै पढे बौलाउछ ” भन्दै अजिले भने आफ्नो कान्छी छोरीलाई अगाडि नपढाउने निर्णय साफ साफ सुनाइदिनु भएको थियो रे । अनि यस्तो बेला “हामीसित विराटनगर बसेर बालिका स्कूलमा पढ्न आउनु ” भन्ने दिदी भेनाको निम्तो पाएपछि पढ्न हुरुक्क हुने आमाको कान्छी बैनीलाई “ ढुङ्गा खोज्दा देउता पाए ” जस्तो भएछ रे ।
र पढ्न नै भनेर बुवाको साहिली बहिनी पार्वती निनी पनि जलजले पहाडबाट विराटनगर झर्नु भएको थियो । केही वर्षको अन्तरालपछि बुवाको कान्छी बैनी गायत्री निनी पनि विराटनगर बसेर पढ्न आउनु भएको देखिन्छ ।
यसरी आमाको पाला भन्दा आमाको बैनी, नन्दको पालासम्ममा शिक्षाको उज्यालोमा समाज पनि एक पाइला अघि सुस्तरी आफ्नो चालमा हिडेको थियो । नारी धर्मले कजाएर महिलालाई शिक्षाको उज्यालोसित बन्चित राखेको समाजमा आएको यो परिवर्तन सानोतिनो थिएन् । झन महिलाले भोट खसाल्ने अधिकारको प्राप्तीले गर्दा पुरुष सरह नेपाली महिलाले पनि नागरिक हुनुको समान मान्यता पाएका थिए । अनि बिस्तारै जुगानजुगदेखि दबिएका शोषणमा परेका महिलाहरु राजनीति र समाजिक र कलाको क्षेत्रमा पनि फाटफुट देखा पर्न थालेका थिए ।
कुरा काट्ने समाज थियो तर पनि आमाले परिवारका महिलाहरुलाई स्टेजमा उत्रिएर नाच्न गाउन स्वतन्त्रता दिनु भएको थियो रे । आमाको कान्छी बहिनी सूर्य मीठो लोकगीत गाउनु हुन्थ्यो अनि सानैदेखि नाच्न अति सिपालु आमाको जेठी छोरी चन्द्रासित नृत्य प्रतिभा थियो । तिनताक घर नजिकैको संसारी थान छेउ, कलाकार चतुर्भुज आशाबादीले भानु मोरङ्ग सांस्कृतिक संस्थाको स्थापना गरेका थिए । उनी विराटनगरका स्थानीय प्रतिभाहरुलाई तालिम दिएर नेपालका विभिन्न जनजाति र संस्कृतिमा चलेका लोकनृत्य र लोकगीतहरुलाई स्टेजमा प्रदर्शन गर्ने गर्थे । एकपटक यो संस्थाले देशव्यापी रुपमा सांस्कृतिक कार्यक्रमको आयोजना राखेको रहेछ । बुटवल, पाल्पा र काठमाण्डौसम्म पुगेको यो सांस्कृतिक टोलीमा आमाले आफ्नो कान्छी बैनी र ठूलीछोरीलाई सहभागि भएर जान अनुमति दिनु भएको थियो रे । तर काठमाण्डौ लगायत नेपालको केही भूभागहरुमा पुग्न त्यो समय पहिला इण्डिया छिर्नु पर्थ्यो रे । विराटनगरको सिमानामा टासिएको भारतीय सिमाना जोगबनी नजिक फारबिस गंजबाट रेल चढेर कटिहार ,दरभंगा रक्सौल हुदै रेल्वे लाइन नेपालको अमलेख गन्जमा जोडिन्थ्यो रे । यसरी अमलेख गन्ज पुगेर चिसापानी भञ्ज्याङको उकालो उकालै कच्ची बाटोमा ट्रकमा चढेर काठमाण्डौ पुगेको संझिनु हुन्छ मेरो ठूली दिदी चन्द्रा । कला प्रदर्शनकालागि यसरी हिडेको टोलीमा घरका छोरी चेलीलाई जान अनुमति दिनु अहिले सोच्दा भने , त्यो समयको समाजमा आमाले लिनु भएको यो ठूलै सहासिक कदम हुनु पर्छ । बालकलाकारको रुपमा नृत्यमा ख्याती र धेरै शिल्डहरु कमाउनु भएको मेरा ठुलीदिदी चन्द्रा संझन हुन्छ “आमाले मेरोलागि एउटा रातो फ्रिलै फ्रिल डिजाइन भएको स्पेनीश डान्सरले लगाउने जस्तो लुगा पनि सिलाइदिनु भएको थियो ।”
| सफलताको उचाइहरुमा चढदै आमाकी कान्छी बैनी सूर्य कुमारी प्रधान |
![]() |
| परिवारका हुर्किदै गरेका छोरिचेलिहरु |
कलाको क्षेत्रमा बाहेक आमाका घरका महिलालाई विधार्थी आन्दोलनमा सक्रिय हुने अवसर पनि दिइएको थियो रे । घरका महिलाका व्यक्तित्व विकासका लागि फराकिलो सोच राखेको देखिन्छ आमाले। तर अर्कातिर , छोरी चेलीहरु हमेशा अभिभावक आमाको कडा निगरानीमा हुने गर्थ्ये रे ।
सूर्य आण्टि ती दिनहरुलाई यसरी संझनु हुन्छ “ कल्पनामा उड्ने उमेर थियो हाम्रो ,त्यसैले हामीलाई संरक्षण गर्न केटाहरुसित पिकनिक, सिनेमा हेर्न जान नदिने , कम्बाईण्ड अध्ययन गर्न दिनु हुन्न थियो तताले ।” कतै जानु परे निर्देशित र तोकिएको समयमा छोरी चेलीले घर फर्किनु पर्ने आमाको अनुशासनको अंकुसहरु पनि थियो रे ।
यसरी हेर्दा आमाको परिवारमा महिलाहरु आफ्नो जीवनको लागि स्व निर्णय लिन अझै स्वतन्त्र थिएनन् । जातभात, उचनिच, सम्पन्नता सबै मापदण्ड मिलाएर घरका हुर्किएका छोरी चेलीकोलागि विवाहकोलागि केटा छान्ने र आफूले रोजिदिएर बिहे गरिदिनमा आमाको नै एकछत्र शासन चलेको देखिन्छ ।
आफ्नो साहिली नन्द पावर्तीको विवहा भने आमाहरुले बडो अपर्झट अवस्थामा उतार्नु परेको थियो रे । भएको के थियो रे भने , मास्के परिवारको एक चेलिको बिहे हुन ठीकठाक भइरहेको बेला जन्त आउन अघि उनी आफूलाई मनपरेको केटासित अलप भईछिन रे । अनि साह्रै असजिलोमा परेको मास्के समाजले बेहुला भएर आएका केटोसित विनम्रतासाथ प्रस्ताव राखेछन ।
![]() |
| आमाको नन्द पावर्ती निनीको विवहा समारोह |
“हाम्रो मास्के समाजमा एकसय एक विवाह योग्य अरु सुन्दर ,गुणवती छोरी चेलीहरु छन । यिनीहरु मध्ये जसलाई छान्नु हुन्छ
उसै संग तपाईको विवहा सम्पन्न गराउने छौ ”भनेर कबुलेछन रे । अनि विराटनगरका यी पत्रकार बेहुलाले चाहिँ मनै मनमा भने धेरै अघि देखि मनपराएकोे हाम्रो पावर्ती निनीलाई छानेछन् रे । सारा मास्के समाजको लाज अब आमाको यो सुन्दरी साहिली नन्दको पोल्टामा आएको थियो । अनि उहाँले पनि अभिभावकहरुको मर्यादा र आदेशलाई शिरोपर गर्दै यी सुदर्शन पत्रकार कुमार बहादुर श्रेष्ठको बधु बन्न स्वीकार गर्नु भएछ रे ।
आमाको माहिली बहिनीलाई भने अजा अजिले आसाममा बिहे गरिदिएर अन्भाउनु भएको रहेछ । अनि बहिनी भेट्न आसाम जादा आमाले विवाह योग्य कान्छी बैनी र भतिजीलागि भनेर दुई आसामी केटाहरु रोजेर फर्किनु भएको रहेछ । तर बिहा गरेर घरजम गर्न भन्दा निरन्तर अगाडि पढ्ने चासो राख्ने र यतिबेला सम्म मोरङ्ग कलेज जान थालिसकेकी कान्छी बैनी सूर्य आण्टिले भने यहाँ आमाको प्रस्तावलाई ठाडै अस्विाकर गरिदिनु भएको देखिन्छ । तर भतिजी इन्दिरा दिदीको बिहा भने बेहुलीको राजीखुशिले आमाले छानिदिएको आसामी केटासित धुमधामसित सम्पन्न भएको रहेछ ।
बिहेवारीको यस्तै प्रसंगमा सुजातादिदी जो हाम्रो सरल र सोझी माइली दिदी हुनुहुन्थ्यो । अति कम बोलेको सुनिने उहाँको बानी देख्दा जो कसैलाई पनि शुरुमा उहाँको जिब्रो पनि छैन कि जस्तो शंका लाग्न सक्थ्यो । आमाको टुहरी भदैनी यो माइलीदिदीको काँधमा आमाको आधा गृहस्थी अडेको थियो भन्दा अतियुक्ति हुदैन होला । किशोरी अवस्थामा आमासित बस्न आउनु भएकोले माइलीदिदीकोलागि स्कूलको औपचारिक शिक्षाको व्यवस्था भएको देखिदैन । प्राथमिक स्कूल जाने उहाँको उमेर कटेकोले उहाँ घरमै लेखपढ गर्नु हुन्थ्यो । उनै माइलीदिदीसित जोडिएको मेरो बालमनको स्मृतिको गाढा कुहिरोभित्र लुकेको यो कुनै असफल मौन प्रेम कथा जस्तो केही छ जसलाई अहिले म यही हो भनेर भन्न सकिरहेको छुइन ? अहिले उहाँलाई पक्कै सोध्ने थिए होला । तर उहाँ केही वर्ष अघि बित्नु भएछ र आमाको स्मृति आलेखमा शायद यो लेख्न पर्ने हो कि नपर्ने हो यही अन्यौलसित लेख्न थालेको छु ।
घरमा ताजा फुलहरुको गुच्छा लिएर एक गहुँगोरो वर्णको व्यक्ति आउन थालेका थिए । हामीहरु उनलाई मालीदाई भन्थ्यौ । उनी आमाको माइली बहिनीको गाउँ आसमबाट बसाई झरेर विराटनगर आइपुगेका थिए । अरुलाई सकेको सहयोग गर्ने बानीले सम्भवत आमाले यी मालीदाईलाई पनि केही भौतिक सहयोग गर्नु भएको थियो होला । उनी हप्तादिन जसोमा चहक चटक रंगका सुन्दर र बास्ना आउने फुलहरुले सजाएको गुच्छालिएर, विनम्र मुस्कानको साथ हाम्रो ढोका अगाडि उभिएका हुन्थ्ये । विराटनगर बजार भन्दा भित्रको केही खुला जग्गालाई भाडामा लिएर उनले त्यहाँ फुलहरुको बगैँचा लगाएका थिए । आमासित हामी केटाकेटीहरु एकाध पटक उनको निम्तोमा उनको बगैँचा हेर्न पनि गएका थियौ । बगैँचा छेउ उनको सानो झुप्रो थियो जहाँ मालिदाई आफ्नो एक किशोर छोरा र एक छोरीसित बस्थे । उनी हामीलाई सक्दो मानमनितो गर्थे । मीठो चिया र नास्ता पानी खुवाउथे । उनले दिएको सानो सिल्भरको झाझरीले फुलको बोटमा पानी हालेर म खुब रमाउथे । उनको त्यो नर्सरीका बास्नादार चहकिला रंगका कोमल फुलहरुलाई म अझै पनि संझन सक्छु । फुलसित मेरो यो आसक्तिको शुरुवात पक्कै पनि त्यही दिनहरुबाट भएको हुनुपर्छ । अनि हामी घर फर्किन लाग्दा हाम्रो फुलबारीमा रोप्न भनेर मालीदाईले हामीलाई थरीथरीका फुलका बेर्ना र ताजा बास्ना आउने गुलाफहरुको गुच्छाहरु दिएर बिदा गर्थे ।
मालीदाई घरमा फुल लिएर आएको मलाई खुब मन पर्थ्यो । अझ मालीदाई कहिले आउने होला भनेर बाटो कुर्न थालेको थिए म । अनि बिस्तारै मालिदाईको साटो उनको त्यो किशोर छोरा फुलको गुच्छा लिएर हाम्रो घर आउन थालेको थियो । र उ यो फुल माइलीदिदीको हातमा राखिदिएर चुपचाप फर्केर जान्थ्यो । अनि म र माइलीदिदी भएर गमलामा पानी भरेर ती फुलहरुले सजाउथ्यौँ । ती फुललाई सजाउदाको माइलीदिदीको त्यो अव्यक्त खुशिहरुलाई म अहिले पनि अनुभुति गर्न सक्छु । तर एकदिन अनायस फुलहरु लिएर आउने त्यो सिलसिला बन्द भयो । भएको के थियो रहिछ भने , हाम्रो माइलीदिदीलाई पुत्रवधु बनाउने अभिलाषा राखेका रहेछन मालीदाईले । अनि एकदिन हिम्मत गरेर हाम्रो आमासित प्रस्ताव पनि राखेछन् । गरीबीमा जुधिँरहेका मालीदाईको हालतसित आमा परिचित हुुनुहुन्थ्यो शायद उहाँ भने आफ्नो भदैनीको जीवन अभावग्रस्त देख्न चाहनु हुन्थेन होला । त्यसैले आमाले यो प्रस्तावको कडा शब्दमा साफ साफ इन्कार गरिदिनु भएछ । मलाई थाह हुन सकेन आमाले यो भदैनीको मनको थाह लिने चेष्टा गर्न भयो वा भएन ? तर यदी त्यो अहिले लेखिरहदा मैले सोचे जस्तो दुई ह्रदयको मौन प्रेमको साटासाट थियो भने त्यो फुल ओइलाएको थियो , सधैँको लागि । र आमा यसको एउटा कारण बन्नु भएको थियो ।
यसको केही समयपछि माइलीदिदीलाई आफ्नो सम्पन्न र पढेको सिक्किमे देवरकोलागि माग्न भनेर एक महिला सिक्किमबाट आइछिन रे । अनि हाम्रो सोझी माइली दिदीको बिहे सिक्किमे युवकसित सम्पन्न भएको थियो । माइलीदिदीको यो बैवाहिक जीवन “ह्यापीली एभर आफ्टर ” भयो भएन मलाई कहिले थाह भएन । तर अरुबाट सुनेको उहाँको जीवन सुखमय थियो रे ।
परिवारमा महिलासित जोडिएका आमाले गर्ने रमाइला र अनौठो धन्दाहरुलाई केलाउन बस्दा मेरो बालमनमा बेलसित बिहे र गुफा राखिदिएको अनि स्वस्थानी ब्रत कथा र पंचमी स्नानको संझनाहरु पनि अटाएको रहेछ । जुन अहिले लेख्दालेख्दै संझनाहरुको सतहमा तैरिदै आएको छ र आमाको यो स्मृति आलेखमा छानेर राख्न उसले मसित कचकच गरिरहेको छ ।
कुरा शुरु गरौ स्वस्थानी ब्रत कथाबाट “ कुमारजी आज्ञा गर्नुहुन्छ , हे ! अगस्त मुनी त्यहाँ उप्रान्तबाट .....” शुरु हुने स्वस्थानीमा सन्निहित कथाहरु एक पछि अर्को गर्दै अनौठा, रमाइला ,भयानक र रहस्यमय बनेर किताबको पानाहरुमा खुल्दै जान्थ्यो । घरका सबै सदस्यहरु झुम्मिएर बसेको स्रोता माझ एक जना कथा वाचक छानिन्थ्यो र यसरी भट्याइने कथाहरुले तिलस्मीको संसारमा तानेर लैजान्थ्यो मलाई । मधु कैटभ राक्षस, शीव गण , सात बर्षकी गोमा ब्राम्हणीको अस्सी बर्षको छद्म भेष धारेका शिवसितको बिहे ,चन्द्रावतीको शापयुक्त कहाली लाग्दो अवस्थाले सबै खालको संबेदनासित भिजाएर कल्पनाहरुको अर्कै संसारमा डोर्याएर लैजान्थ्यो मलाई । माघ महिना भरी स्वस्थानीका यो कथा वाचन निष्ठाका साथ प्रत्येक रात ओच्छानमा घुस्रिन अघि चल्थ्यो ।आमाले स्याउ वा सुन्तला ,अनार ,उखु आदि प्रसाद ठीक पारेपछि , घरमा हामी केटाकेटीहरुमा स्वस्थानी भट्याउने मानौ एककिसिमको होडबाजी नै चल्ने गर्थ्यो। अनि सबैको भट्याउने पालो आउदा भने एकैदिनमा धेरै अध्यायहरु झटपट सकिन्थे । आमाको यो सगोल परिवारमा वाचकहरु घेरै भएर होला , स्वस्थानी कथा तीन तीन पटकसम्म दोहरिन्थ्यो । महिना दिनपछि स्वस्थानीको पाठ समापन कार्य साङ्गे गर्न भनेर आमा बजारबाट सुपाडी , नरिवल ,ल्वाग ,सुकमेल, किसमिस ,छोडा, नरिवलका बदाम आदि मसला किनेर ल्याउनु हुन्थ्यो । अनि यसलाई सरौतीले ससाना कुड्कामा काटेर एकसय आठ गन्तिमा पारेको मसलाको पोका तैयार गर्नु हुन्थ्यो । अनि यी पोकाहरु चाहिँ घरका महिलाहरुले ब्रत बसेपछि प्रसादका रुपमा घरको पुरुष सदस्यलाई दिने गर्दथे ।
बाल्यकालमा रमाइलो लागेको भएपनि पछि बालिग भएपछि चाल पाए, नेपालीहरुको घर घरमा श्रद्धापूर्वक पाठ गरिने स्वस्थानीको कथाहरुले बालविवहा ,अनमेल विवहा, विधवाको कठोर वैधव्य धर्म पालनको औचित्यतालाई नै बल पुर्याएको रहेछ । नारीबाट शास्त्र सम्मत मान्यताहरुको पालना नभए शापित चन्द्रावती झै बन्न पर्ने मानसिक त्रासमा महिलालाई खसाएको रहेछ । र धर्मभीरु बनाएर रुढी र कुसंस्कारमा अल्झिरहन नै सधाएको रहेछ । अनि जमानामा अस्मिता पत्रिकामा स्वस्थानीमाथि एउटा लामो आलोचनात्मक आलेख लेखेर आफ्नो जीवनबाट सदाकोलागि स्वस्थानीको साङ्गे गरिदिएको थिए मैले चाही ।
उपत्यका नेवार समाजमा ‘इही’ भनिने तर पर्वते नेवारमा चाही ‘बेलसित बिहे’ भनेर चिनिने संस्कार आमाले मेरो लागि गरिदिन भ्याउनु भएको रहेछ । अनि बेलसितको मेरो यस विवहालाई भने मेरो बाल संझनाहरुले विस्तृतताको साथ सहजेको रहेछ । त्यो दिन एकबिहानै बडो तैयारी र रमझम थियो हाम्रो गोलापरासीको कामतको सानो बस्तीमा । दुई तीन दिन अघि मात्र आँगन माझ उखु र केराको थामो काटेर बनाएको र सजाएको जग्गेमा माइलीदिदीको बिहे सिक्किमे केटासित सुसम्पन्न भएको थियो । अनि बेउली अन्भाएर केहीदिन सुनसान र उराठलाग्दो देखिको जग्गेमा त्यो दिन फेरि चहलपहल देखिन थालेको थियो । गाउँलेहरुले जिस्काएर भन्दै थिए मलाई, “आज तिम्रो बिहे गरिदिने हो” भनेर । के रे बिहे ? मैले इन्दिरा दिदी र माइली दिदीको बिहे भएको देखेको हो । आफ्नो गुडिया र पुतलीको बिहे पनि गरिदिएकी हो । बिहेमा कस्तो रमाइलो हुन्छ जन्त आउछन । भोजभतेर हुन्छ । स्वयम्बर हुन्छ तर बिहे पछि सदाकोलागि बेहुलीलाई बेहुलाले लैजान्छ । मैले बुझेको कुरा यही थियो । आमाको नौ वर्षको उमेरमा बिहे भएको किस्सा मलाई थाह थियो । तर सात आठ वर्षको हुदा नहुदै मेरो बिहे हुने रे आज ? मेरो रुन्चे मनोदशा देखेर मुसुमुसु हाँस्दै आमाले संझाउनु भएको थियो “धन्दा नमान सुक्कु ! तेरो बिहे कुनै केटासित गर्न लागेको होइन । बेलसित गर्न लागेको । ” तर बेल त यो एक किसिमको फल हो मेरो हैरानीको कुनै सीमा थिएन, सर्वत नखाएर किन बेलसित बिहा गर्नु पर्यो ह ?
आमाले मलाई बुझाए पछि मैले बुझेको कुराको सार केही यस्तो थियो । उहिले आमाको पुस्ता भन्दा अलिक पहिले पहिलेका पुस्ताहरुमा, कुनै स्त्रीको लोग्ने मरेपछि उनलाई लोग्नेको लाशसित जल्न पठाइन्थ्यो रे । समाजमा चलेको यो नियमको पालना गर्नु पर्ने वाध्यताले पिरोलिएका केही संबेदनशिल माइतीतिरका मनलाई भने , यो क्रुर सती प्रथाबाट आफ्ना छोरी चेलीलाई जोगाउन ,बेलसित बिहा गरिदिने जुक्ति फुरेको रहेछ । पहिला नै बेलसित बिहा भएको बेल मौजुद भएसम्म , पछि बिहे भएको मानव दुल्हाको कथनकथाचित मृत्यु भइहाले पनि लोग्नेको लाशसितै जलेर सती जानु पर्ने वाध्यता नआउने रहेछ । यसरी बेलसितको विवहा गरिदिने चलन नेवारी समाजमा चलेको रहेछ र धेरै छोरी चेली जिउँदैं आगोमा पोलिनबाट जोगिएका रहेछन । तर बेल नै किन ? यो त उनीहरुले धेरै सोचेर र चलाकीसित बेललार्ई बेहुलाको रुपमा छानेका रहेछन । कारण अरु फलहरु जस्तो बेल कुहिदैन ,कडा टोउकाको जस्तो आकारको बलियो बेलको टक्करमा अरु फल दुल्हा हुननसक्ने ठहरमा त्यो उपाय सोच्नेको दिमागमा फुर्यो होला ।
अनि मैले आफ्नो यो अनौठो र रमाइलो विवाहमा राजी खुशि मन ,बचन र कर्मले समर्पित हुने निधो गरे । मलाई बेहुलीलाई जस्तै सजाएर जग्गेमा राखियो र सजाएको रातो झोलामा बेल राखेर विवाहाको त्यो सबै सिन्दुर पोते आदिका कर्मकाण्डहरु सम्मपन्न गरियो । पण्डितको आदेश अनुसार दनदनी बलरिहहेको अग्नीलाई साक्षी राखेको जग्गेमा म आफ्नो दुल्हा बेललाई बोकेर फनफन सातचोटी घुमेको थिए । आफन्तहरुले दिएको उपहार पाएर रमाउने अरु थप कुराहरु पनि थिए मेरोलागि । बेल दुल्हा घर जुवाइँ बनेर माइतीमा रहने ,मलाई कुनै वरघर जानु नपर्ने, अनि जीवितै जलेर सती जाने वाध्यताबाट आफू उम्की सकेको यो सोचले पनि त्यसबेला मेरो बालमनलाई राहत दिएको हुनुपर्छ ।
मेरो बालपनको आमासित जोडिएको यो स्मृतिसित म अहिले उदास भएर सोच्न थालेछु । त्यो पनि कुनै समय थियो ,जब महिलाहरुले बाँच्न विधवा धर्मको कठोरताबाट आफूलाई बचाउन जाबो एक फलसित विवहा गर्ने रीतको सहारा लिनु पर्यो । तर गहिरिएर सोच्दा भने यो बडो प्रतिकात्मक रुपमा महिलाको हितमा सोचिएको गुणकारी र जीवनदान दिने प्रथा रहेछ । भलै आज यसको कुनै औचित्य छैन । तर सती प्रथा लगभग डेढसय वर्ष अधि सम्म नेपाली समाजमा चलेकै प्रथा थियो । धेरै जसो आर्थिक कारणहरुले हिन्दु विधवा महिलालाई निर्ममतासाथ लोग्नेको लाशसित जलेर भस्म हुनु पर्थ्यो।शास्त्रहरुमा वर्णित सतीको महिमा र स्वर्ग र मोक्ष मिल्ने प्रलोभनमा परेर कतिपय महिला स्वेच्छाले मरेको लोग्नेसित आगोमा होमिन्थ्ये । तर घेरैलाई भने करकापले चितामा जलाएर मारिन्थ्यो । हुन त नेपालको पहिलो राणा प्रधानमन्त्री जंगबहादुरले सती प्रथा बन्द गर्न केही प्रयत्न गरे पनि यसको धेरै पछि चन्द्र शम्सेरले वि.स १९२० मा कानुन बनाएर सती प्रथाको नेपालबाट वैधानिक उन्मूलन गरेका थिए ।
तर नेपालमा सती प्रथा रोकिए भए पनि समाजमा भने विधवा धर्मको नाममा अनेक थरिका कष्टकर नीति नियम बन्न थालेको थियो । तर नेवार छोरी चेलिको हकमा भने बेलसित विवहाको यो रीतले , कठोर विधवा धर्मको पालनलाई केही खकुलो पार्न मदत पुर्याएको रहेछ । नेपाली महिलालाई पितृसत्ताको यो चरम उत्कर्ष बोकेको सतीदाह र वैध्यव्यको कठोरता झेल्नबाट उम्काउन सहयोगी भएको बेल विवहाको परम्पराको निरन्तरतामा यसरी म पनि हिस्सा बनेको रहेछु । जसमा मेरोे कुनै आपत्ति छैन । बरु यो संस्कार प्रति म भित्र गहिरो सम्मान पलाएको महसुस गरेको छु ।
म आठ नौ वर्ष पुग्दा , आमाले आफ्नो जीवनको छोटो अवधिमा मेरोलागि हतारिएर भ्याउनु भएको अर्को संस्कार‘गुफा’ पनि थियो । मामाको कान्छी छोरी मथुरादिदीसित धरानको मामली घरमा मेरो गुफा राख्ने काम सम्पन्न भएको थियो । मामाघरमा चाडपर्व र अरु बिदाहरुको रमाइलोहरु भन्दा यो नितान्त फरक खालको बसाई थियो मेरो । गुफाको अवधि भरि घरका र बाहिरका लोग्नेमान्छेले हामीलाई देख्न नपाओस भन्ने कुरामा सतर्कता लिइएको थियो । यहाँ सम्म कि घामलाई समेत कोठामा छिर्न बर्जित थियो । सूर्यको किरण नछिरुन भनेर झ्याल ढोका थुनेर अँध्यारो कोठा भित्र रातदिन यस्तो हाम्रो एकान्त गुफा बास थियो । खानपिन कोठामा गर्नु पर्थ्यो। यहाँ सम्म कि देखि शुशु, आचि आए कोप्रामा कोठा भित्र नै गर्नु पर्ने उर्दी थियो हामीलाई ।
![]() |
| आमाको एक मात्र भाउजु हाम्रो स्नेही छत्र माइजु |
छत्र माइजुले हामी गोरी राम्री हुनु भनेर “ ल तिमीहरु यो बुकवा मुखमा दल्नु ” भनेर दुनामा के के रेसिपीहरु मिसाएर बनाएको लसाइलो पीठो जस्तो दिनु हुन्थ्यो । शायद आजको भाषामा भन्न पर्दा त्यो घरेलु फेस मास्क थियो होला । माइजुले सेतो रुवाले एउटा ख्याकको पुतला बनाउनु भएको थियो । यो सेतो ख्याकलाई खानेकुरा चढाएपछि मात्र खाना खानु, ख्याकलाई सकभर खुशि पार्नु भन्ने निर्देशन पनि हामीले उहाँबाट पाएका थियौँ । खाना चढाएपछि गीत गाउन सिपालु र अति नै मीठो स्वरको धनी मथुरादिदीसित म पनि गीत गाएर सेतो ख्याकलाई खुशि बनाउन खोज्थ्यौ । अन्तत १२ दिनपछि हामी माथि लगाइएको अनेकौ बार र बन्देजहरु पार गर्दै यो पट्यारलाग्दो गुफा बसाईबाट बाहिर आएका थियौँ ।
छोरीलाई लोग्नेमान्छेहरुबाट टाडा लुकाएर घामको किरण सम्म छिर्न बर्जना गरिएको १२ दिनकोे अँध्यारो गुफा राख्नुको औचित्य के हुन सक्छ ? रजस्वला हुन अघि गुफा राख्नु पर्ने यो नेवारी चलन के छोरी जातको पूर्व किशोरी अवस्थाको मानसिक तैयारी हो ? समाजशास्त्रीहरुको मान्यतामा गुफाको प्रतिकात्मक कुराहरुको संकेत छोरीलाई आदर्श आमा ,आर्दश पत्नी बनाउने पूर्व तैयारी हो भन्नेमा छ । हुर्किन लागेको छोरीहरु अरु पराया लोग्नेमान्छेको पहूँचमा आउनु हुन्न भन्ने सीमा कोरिएको संकेत हुन सक्छ । अनि बुकुवा दलेर राम्री हुनु , सेतो ख्याकलाई खुशि बनाउनु , खानपिनको हेरचाह गर्नु आदि गुफा बसाईमा समेटिएका कुरा चाहि भविष्यमा छोरी चेलीले भावी लोग्नेप्रति राख्नु पर्ने पारम्परिक धारणाहरुको सांकेतिक अभिव्यक्ति हुन सक्छ । छोरीलाई स्वतन्त्रताको उडान भर्न उज्यालो र खुला फाँट र फराकिलो आकाशको साटो अँध्यारो गुफा रोजिदिने संस्कार यदी आमाको समाजको आवश्यता थियो भने अहिले मलाई भन्नु केही छैन । तर आजको यो समय र समाजमा पनि छोरीलाई गुफा राख्ने संस्कारको निरन्तरता छ, यो भने उदेक लाग्दो छ ।
आमाको परिवारको महिलाकोलागि अनिवार्य आउने अर्को पर्व थियो पंचमी स्नानको । तर यो पर्व भने केवल स्त्री जात त्यो पनि रजस्वला भएका किशोरी र बयस्क महिलाकोलागि मात्र आएको हुन्थ्यो । चिर्मा, निनीहरु र दिदीहरु भएको आमाको सगोल परिवारमा महिलाहरुको जमात धेरै थियो । त्यसैले यस पर्वको तैयारीमा आमा हप्तौ अघि लागि पर्न हुन्थ्यो । यसबेला थरी थरीका माटो र खास खास चीजविजहरु चाहिएको हुन्थ्यो रे आमालाई । हात्तीको पाइतालाले कुल्चिएको माटो, तुलसा बिरुवाको जराको माटो, अमलाको रुख मुनीको माटो । यसपछि चाहिएको हुन्थ्यो ,एक किसिमको आख्लै आख्लाले बनेको लामो दतिउनको झार । र कर्कलोको पातहरु । अनि एउटा ठूलो साइजको चाल्नी ।
आफ्नो आमा भन्दा हाम्रो आमासित जीवनको बढी समय बिताउनु पाउनु भएको आमाको कान्छी बहिनी सूर्य आण्टि अनुसार यो सबै सामलतुमल जुटाएर आमाको परिवारका महिला सदस्यहरुले पहिला पहिला घरको आँगनमा नै पंचमी स्नान सम्पन्न गर्ने गर्थे रे । तर मेरो बालमनले भने झिसमिसेमा महिलाहरुले झुण्ड झुण्ड बनेर ,अलि कुहिरो लागेको कुनै नदीको तीरमा स्नान सकेर बालुवाको सानो थुप्रो वरिपरी फन्फनी घुमेर नाचेको गाएको संझनाहरु सहजेको रहेछ ।
अहिले मेरो ठूलीदिदी चन्द्राबाट पुष्टि भएको छ , मेरो संझनामा अटाएको आमाको त्यो पंचमी स्नान विराटनगरको सिङ्याइ खोला कि केसलीया नदीको तीरमा हुनुपर्छ । नदीको किनारमा पुगेर आमाको नेतृत्वमा परिवारका महिला सदस्यहरु बडो होसियार साथ जीउको हरेक भागमा माटोहरुको लेप लगाए गन्ति शुरु गर्थ्ये। एक ..दुइ.. तीन.. चार यो संख्या बढ्दै बढ्दै तीनसय पैसठी पुगेपछि सकिन्थ्यो । तर उहाँहरुको पंचमी स्नानको प्रक्रिया भने यति छिटै सकिन्न थियो । कारण शरीरको अङ्ग प्रत्यङ्ग ,नखशिख सबैतिर छुट्टा छुट्टै माटोहरु दल्दै र मल्दै र छुवाउदै हरेक पटक तीनसय पैसठ पटक गनेर यो स्नानलाई सम्पन्न गर्नु पर्ने हुन्थ्यो । केही गरि भुलचुक भए फेरि एकबाट गन्ती शुरु हुुन्थ्यो ।
तीनसय पैसठ पटक किन ह ? मैले बुझे अनुसार बर्ष दिनमा तीनसय पैसठी दिन हुन्छ । अनि नछुने भएको अवस्थामा भुलचुकले छोइछिटो भएर पाप कमाएको भए पंचमीको दिन शरीरको हरेक भागमा यो पवित्र माटो छुवाएर दलेर नुहाउन सके पाप पखाल्न सकिन्छ भन्ने त्यसबेला चलेको मान्यता थियो रे ।
आमाको पुस्ताकालागि पाप धुन पंचमी स्नान, हरेक वर्ष मानौ सुवर्ण अवसर जस्तो बनेर आउने गर्थ्यो । सानोमा पुच्छर बनेर म आमाको सदा साथ थिए । अनि वयस्क महिलाहरुका यो झुण्डमा सामेल भएर म पनि पंचमीको रमिता हेर्न पाउथे । ती सबै गतिविधिलाई गहिरिएर हेरी रहेको हुनुपर्छ मैले । कसरी आमाले जुटाइदिनु भएको सामानहरुको होसियार साथ गन्ती गर्दै जीउको हरेक भागमा छुवाउन यो वखत आमासिहत चिर्मा ,निनीहरु, दिदीहरु व्यस्त हुन्थ्ये । कसरी गिन्ती पुग्न पर्थ्यो , तीनसय पैसठीमा संख्यामा । न कम न ज्यादा । अनि कसरी नदीको पानी उघ्याएर चाल्नीमाथीबाट , टाउकोमा तीनसय पैसठी पटक खन्याएर गरेको सहस्रधार स्नान पछि यो पंचमी स्नान टुंगिने गर्थ्यो। र अन्त्यमा बालुवाको शिवलिङ्ग बनाएर यसको परिक्रमा गर्दै महिलाहरुसित आमाले मधुरो स्वरमा गाएको संगिनी हावामा तैरिएर मेरो कानमा गुन्जिन थाल्थ्यो ।
कोशिको किनारमा के फुल फुल्यो
फुलेर फुल्यो यो सयपत्री
किनारै उज्यालो...
दई थुंगा टिपी गौरीलाई चढाउ
दुई थुंगा टिपी शिवजीलाई चढाउ
मन्दिरै उज्यालो....
अनि पंचमी पाइला गन्दै सुस्तरी सुस्तरी हिँडदै, आमाको परिवारका महिलाहरुको यो झुण्ड घर फर्किन्थ्यो । छोइछिटोको पाप अझ बाँकी छ जस्तो गरेर सिँधे नुन र घिउमा पकाएको कर्कलो खाएर त्यो दिनभरी उपवास बस्थ्यो ।
मोटामोटी ऋषि पंचमीको स्नानको यो सबै तामझामको चुरो थियो , रजस्वला हुँदा जानेर अन्जानमा भएको महिलाहरुको पापहरु पखाल्ने ? अहिले सोच्दैछु तिनसय पैसठ् दतिवनहरुले तीनसय पैसठ् पटक दाँत मोल्दा त्यो दिन दाँत पक्कै उज्यालो र स्वस्थ भएको हुनु पर्छ । आमाको जमानाको स्वच्छ नदीमा नुहाएर जीउ स्वच्छ भएको अलिकता सार्थकता पनि देख्छु । अनि भोरमा गुन्जिरहेको आमाको सुमधुर संगिनीको भाखा यति मात्र मलाई मन परेको कुरा हो ।
तर पाप पखाल्न ? कस्तो पाप ? यहाँ आएर फेरि मेरो आमासित पक्कै ठूलै लड्डी पर्थ्यो होला । महिलाको शरीर धर्मको यो सबभन्दा सुन्दर र सिर्जनशिल प्रक्रियालाई पाप मानेर यस्तो रुढी मान्न म त ज्यान गए पनि तैयार हुन्न थिए होला । रज्वसलाको चारदिन महिलालाई अछुत बनाएर पुराण, स्मृति र शास्त्रलाई भने महिलाको मयार्दालाई तल खसाल्न किन चासो लागेको होला ? अनि हाम्रा त्यती धेरै ज्ञानी ध्यानी ऋषिमुनिहरुले चाहिँ आमा बन्ने महिला जातीलाई आमा बनाउन क्षमता दिने यो मासिक धर्म प्रकियालाई मान र गरिमाले महिमा मण्डित गर्नुको साटो पापको दर्जा किन दिएका होलान ? अझ पापमोचनको यस्तो अजिबोगरिब उपायहरु पनि सिकाएर रुढीको विकृतिहरुमा महिलालाई अल्झाइ राख्न किन यस्तो जालझेल रचेको होलान ?अनि नेपाली संस्कृतिमा गहिरो जरो गाडेर पंचमी स्नानले अझैसम्म किन यसरी नेपाली समाजमा निरन्तरता पाइरहेको होला ?
तर ढुक्क र दुःखका साथ भन्न के सकिन्छ भने आमाको कालखण्ड भन्दा कति पुस्ता अघिदेखि र अहिलेसम्म र थाह छैन अझै कति पुस्तापछिसम्म पनि रजवती हुँदाको तथाकदित पाप पखाल्न पंचमी स्नानलाई कुरेर बस्ने नेपाली महिलाहरुको ठूलै जमात थियो ,छ र रहनेछ ।
अहिले आमा हुनुभएको भए आमाको ब्रेन वाश गर्ने प्रयत्न भने म अवश्य पनि गर्ने थिए । यस्तो किन भएको होला भनेर सबैको उत्तरहरु पितृसत्ता भित्रै खोजेर आमालाई भन्न मलाई कति चासो लाग्थ्यो होला । आमाले मानेर आएको नारी धर्म र संस्कार, रुढी परम्परासित म ठूलो भएपछि ठोक्किएर पर्ने यस्तो जम्काभेटहरुमा के म आमालाई नारी धर्म र नारी मुक्ति को फरक आयामको विचार तलमा पुर्याएर मसित सहमत पार्न सफल हुन्थ्ये ? कि “ अ त खुब जान्ने भईस पण्डितनी” भन्दै आमाको झपार पो खान्थे कि , के थाह अहिले ? हाम्रो आमाले तीज मनाउनु भएको चाहिँ भने मेरो बाल संझनामा सामेल छैन । शायद उहाँलाई यो छेत्री बाहुनको चाडलागेको हुनुपर्छ । राम्रै भयो, धन्न हाम्रो आमाले तीजको पर्व मान्ने र ब्रत राख्नु हुन्न थियो नत्र त तीजको लागि पनि आमासित मेरो ठूलै मुठभेड पर्ने अटल सम्भावना थियो ।
क्रमश ........





Comments
Post a Comment