तीन पुस्ता भाग ११ –सुक्कु

 ॐ


आमा छोरी – तीन पुस्ता 

 


 पहिलो पुस्ता– भाग ११        

सुसन मास्के 


“सुक्कु ”


 आमाको कथा सकिएको छैन , तर के चाल पाउन थालेको छु भने उहाँको जीवनको विचोविच शुरु भइसकेको रहेछ मेरो कथा पनि । र आमाको कथासित नै गाँसिएको पात्र भएर त्यो कालखण्डको सानो हिस्सालाई मैले टेकेको रहिछु । गहिरिएर सोच्दा ,म जन्मिनु भन्दा अघिका घटना र कथाहरुको पनि एक हिस्सा रहेछु म । त्यसैले होला आमा, आमाको परिवार, समाज संस्कार र त्यो सिंगो युगको, मेरो जीवन यात्रामा दबेछिपेको पदचापहरु सुनिन्छ । कतै पुर्नरावृति बनेर दोहरिएको र कही निरन्तरता बनेर मलाई पच्छाएको भए पनि ,आमाको भन्दा मेरो कथाको आकाश पातल अलग छ  । सेतो कालो , दिन रात , घाम छाँया, उकालो ओरोलो, आँसु हासो,घृणा करुणा, सफलता विफलता जीवनको यी सारा द्वैत अनुभवहरुमा रुमलिदै, दोस्रो पुस्ताको कालखण्डमा विचरण गर्र्ने म त्यो पात्र हू जो पुल बनेर विगतलाई आगतसित जोडछ । हामी आमाछोरीको जन्मदिनको  (मेरो ६० औं वर्षको )अवसरमा तीन पुस्ताको  एधारौ भाग सादर सर्मपण गर्दै छु ....... 



सानोमा म कस्तो थिए ह ? यो मैले अक्सर आफूसित र मेरो आफन्तहरुसित धेरै सोधेको प्रश्न हो । अनि अरु चासोले कोट्याएर सोधेको हुन्छु  अनि भन्नु न,  म जन्मिदा के के भएको थियो ? कस्तो मौसम र कस्तो दिन हो कि रात थियो ? के जन्मिदा मैले आमालाई कष्ट दिए ? अनि आमा मलाई पाएर खुशि हुुनुहुन्थ्यो ? मेरो बस चल्दो हो त ,आमाको पेटमा, म छदादेखिको कुराहरुलाई जान्न मन थियो मलाई । “ त राती जन्मिएकी थिइस ।  छिमेकी बजैको मदतले अस्पतालमा होइन ,घरमै पाउनु भएको थियो, तताले तलाई ।” सूर्य आण्टिले यो सूचनाको पुच्छरमा थपेर भन्नु भएको थियो “असाध्यै गोरी जन्मेकी थिइस त ”। 

“हेर्न आउदा त झुलभित्र तेरो आमासित सुतिरहेकी थिइस । झुल नै झकमक्क उज्यालो देखिएको थियो ।” सानो छदा आमाको सासू पर्ने गंगा हजुरआमाले अक्सर मलाई देख्ता भन्ने कुरा हो यो । अहिले सोच्दैछु , पक्कै त्यो रात चन्द्रमाको उज्यालो कोठा भरी छिरेकोे थियो होला । अनि अरु के के भएको थियो होला ?अहिले थाह पाउनु दुर्लभ छैन, बस केही बेर आँखा बन्द गरेर बस्न पर्छ  । मेरो कल्पनाहरुले तिनै आफन्तहरुले सुनाएको तथ्यहरुसित घुलमिल भएर बाल्यकाललाई मेरो छेउ यसरी ल्याइदिने गरेको छ ।    


झरीले रुझेको साँझले कति राहत दिएको छ, विराटनगरको उखरमौलो गर्मीको यस मौसमलाई । गाईको गोठमा पुगेर भर्खर ब्याएको बछेडोलाई थुनमा छोडिदिएकी छिन् कृष्णाले । थुनमा मुख जोतेर बाछोले बडो स्वाद लिएर च्वासच्वास दुध चुस्न थालिसकेको छ । हातमा सानो टीनको दुध दुहने बाल्टि लिएर कृष्णा बडो मायालु आँखाले बाछोलाई नियाल्छिन् । बाछोको ओठको स्पर्श पाएर होला ,दुध बिस्तारै थुनमा पर्घेल्न थालेको छ । गाईको चारवटा थुन दुधले टनक्क भरिसकेको छ । दुई वटा थुनको दुध बाछोकोलागि अनि दुईवटा थुनको दुध कृष्णाको परिवारकोलागि । दुधको भागवण्डा यसरी लाग्ने गर्छ कृष्णाको घरमा । 

 

पानी दर्केको छैन तर सिमसिमे झरि एकनासले परिरहेको छ । दिनभरीको तातो घाममा  रन्किएको पराल, गोबर ,माटोले झरीमा भिजेर अनौठोको अनुभुतिजन्य गन्ध छोडन थालेको छ । कष्णालाई यो गन्ध मनपर्छ । कस्तो प्राकृत मोहक छ ,यो क्षण । गोठको जस्तापाताको छानो माथि अनि छेउको कोठेवारीको मकैको लामा सुरिला पातहरुमा परिरहेको असारे सिमसिमे एकनासे झरीको यो संगीतले प्रफुल्ल पारेको छ कृष्णाको मनलाई । तर बिहान देखि जीउ भारी छ कृष्णाको । उनको दोजिया शरीरले हल्का हुने दिन आज हो कि भोलि हो जस्तो भन्दैछ । 


कृष्णाको तीनवटा बच्चाबच्चीहरु छन । अनि अब एउटा आउने तैयारीमा छ ।  बिहानै असार १५ को दहि च्युरा सबै परिवारलाई खान दिएर ,दिनभरी एक पछि अर्को घरधन्दामा व्यस्त हुदै कति छिटो साँझ झरिसकेछ कृष्णाको आँगनमा । केही पूर्व आभास भए जस्तो कृष्णालाई आज छिटो छिटो काम सकाउनु छ । त्यसो त मदतको अरु हातहरु पनि छन् घरमा । तर यो गाई एकहाते छ ,कृष्णा बाहेक अरुले थुनमा हात लगाएको त्यती रुचाउदैन । गाई दुहेर सबै परिवारलाई रातीको खानपिन गराएर ओछ्यानमा यसो पल्टनु के थियो ,कृष्णालाई व्यथालाग्न सुरु भइहाल्यो । तीनवटा प्रसव वेदनाहरुलाई झेलिसकेको शरीरलाई यो बच्चा जन्माउन अनुभवको खाँचो थिएन । फेरि छिमेकको बज्यै कुशल सुडिनी थिइन । आमासरी माया ममता देखाउने यी बजैको कृष्णालाई साह्रै भर थियो ।  कृष्णालाई व्यथालागेको सन्देश के पुग्यो बज्यै कुदेर आइहालिन । रात भोर तिर पुग्दा नपुग्दै उनको रेखदेखमा  बच्चा सकुशल जन्मेर रुन थालेको थियो । “छोरी रहिछे यो मोरी ” बजैको स्वरमा स्नेह मिसिएको थियो । ।

 “त्यो सानी नरम नरम सिमलको भुवा जस्तो को हो त्यो ?” मलाई थप स्वीकृति चाहिएको थियो ।  

“ तिमी नभएर अरु को होला त ? ” अहिले कानमा आएर मेरो कल्पनाहरुले फुसफुसाएको छ मसित ।

असारे झरीमा रुझेर त्यो रातभरी बादल पछाडि लुकेको जुनले मिरमिरे उज्यलोसित विदा लिन अघि झ्याल सम्म आएर आमा र छोरीलाई नियाल्न भियाएको थियो  ।  

“ कति निरही म हकी ? आमाको त्यो अंगालो कति सुहाएको छ मलाई । थाकेको शरीर छ आमाको , तर मेरो माया पलाएर त होला, छातिमा दुध कति छिटै रसाएर आएको ? ओठ लपक्कै टासेर कति छिटै दुध चुस्न पनि जान्ने भइसकेको छु म त ।” आमाको पहिलो अंगालो र स्पर्शको अनुभुतिहरुले विभोर मेरो मनमा खेलिरहेको कुरा थाह पाए जस्तै गरि रमाएर मेरो कल्पनाहरुले मलाई सोधेको थियो  “अगिको बाछोले जस्तै तिमीले पनि आमाको थुनमा मुख जोतेर दुध च्वास च्वास चुसेको देख्यौ त । कस्तो लाग्यो ? ” 

आमाको अंगालोको त्यो न्यानो अनि स्तनबाट उर्लिएको दशधारा अमृतको खोजमा जोतिएको मेरो त्यो सानो अधर.. यस अनुभुतिलाई अभिव्यक्त गर्ने शब्द कतै छैन तर थाह हुदा हुदै पनि भनिदिए.. “असाध्यै रहर लाग्दो  .... ” 

बिहानको खलबल र टिका टिप्पणीहरु ..“.बाबु गोता गएकी रहिछे , छोरीको अनुहार कस्तो बाबु जस्तो ।” दाजु ,दिदी ,फुपु ,काका ,चिर्मा ,हजुरबुवा ,हजुरआमा हरेक खालको सम्बन्धहरुले भरिपूर्ण  संयुक्त परिवारको सबभन्दा कनिष्ठ सदस्यको नाम के राख्ने अब ? अंगेजी उपन्यास पढने लत लागेको आमाकी कान्छी बैनी सूर्यले भर्खरै पढेको उपन्यासको नायिकाको “सुसन” को प्रस्तावित नाम सबैलाई मन परेकोछ । तर यो छोरीकोलागि रोजिएको अंग्रेजी नामकरण “सुसन” भने उसका अग्रज दिदी र दाजु चन्द्रा, महेश ,रमेशको तुलनामा पक्कै विदेशिया र बेमेल जुरेको छ । 

“यो विदेशी नाम किन जुरेको ह मलाई ? दुखेको जस्तो केही भएको छ यो नामसित अहिले मलाई ..के भावीलाई  पनि थाह थियो मेरो आधा जीवन  विस्थापित परदेशी पश्चिमा भएर बित्ने छ भनेर ? तर मानौ सांत्वना दिदै फुसफुसाएको छ कोही म भित्र.. के भो त ? अर्को नाम पनि त छ आमाले दिनु भएको । “सुक्कु !”

 सुक्कु ! मायाले लतपताउन परे आमाले बोलाउने यो एउटा नाम थियो मेरो । तर रीस उठ्यो भने त अरु कति धेरै बोलाउने नामहरु थिए मेरो ...जुखुरी, अजीरनी ,  लतपते , बलढयाङ्ग्री , हाब्री । हो पनि त, आमाले दिनु भएको सबै नामहरुको सार्थकता कतै न कतै सिद्ध गरेकि थिए मैले । सपना जस्तो भएर मेरो छेउ आउने यो मेरा सबभन्दा पुरानो बाल्यकालको संझनाहरु हुनुपर्छ । जुन अहिले स्मृतिका बादलहरुबाट उड्दै मतिर झुम्मिएर यस आलेखमा बर्षन थालेका छन् ।

“चन्द्रा ,महेश,रमेश , सुसन भात खान आओ ..” भान्सा घरबाट दर्जनौ पटक माइली दिदीको गुहार आउँदा पनि घरका भुराभुरीले भने भान्साघरमा छिर्न सधैँको लसरघण्टि लगाउथे । तर आज सानी सुसनको चाला भने बग्लै छ । उसले बिहानदेखि कयौँ पटक भान्साघरमा आएर च्याउन भ्याइसकेकी छे । भोक लागेर होइन ,न त के पाक्दै छ भान्सामा भनेर पनि होइन । आज माइली दिदीसित खास काम छ क्या ,सानी सुसनको । बब्लुको बुवाको दर्जी दोकानमा सिलाएर उब्रिएको रंगीचंगी रहरलाग्दो टालाटुलीहरुको एक पोका जम्मा भएको छ । भान्साको काम सकेर पुतली बनाइदिने बाचा छ माइलीदिदीको । तर हरेक पटक आउदा भान्सामा माइलीदिदी ब्यस्त देखिन्छिन । दुई चुम्के माटोको चुल्हामा दनदनी दाउराको आगो बलेको छ । मुला र काक्राको अचार बनीसकेको छ । मासको दाललाई ध्यू ,लसुन र ज्वानोले झानिसकेर माइलीदिदी अब तरकारी पकाउने तर्खरमा धारिलो चुलेसीमा काउली र आलु काटन थालेकी छिन् । 


“कति काम होला यो माइलीदिदीको पनि  कहिले नसकिने ”, यो सोचमा दिक्क मानेर उल्टो खुट्टाले फर्किएकी उ अर्को पटक भान्सा घरमा आएर टोह लिदा ,फलामे कराइमा आलु काउलीको तरकारी पनि पाकिसकेको छ । माड काडेर चुल्हा बाहिर तानेको कोइला माथिको तपेसमा भात भर्सिराखेको छ । तर उसले माइली दिदीको उपस्थिती भने भान्सामा देखिन ।  आज सनिबार भएकोले खानपिनकालागि परिवार हतारमा देखिदैन । सानी सुसनको आमा कृष्णाले आँगनमा तामाको तीनवटा ठूलो फोसीमा दनदनी आगो बालेर रक्सि पार्न बान लगाएकी छिन् । यस्तो मौकामा एउटा तीरको तीनवटा सिकार हुन्छ । रक्सि बनाउने ,घरभरीका मैला तन्ना सिरक र सिरानीको खोलहरुलाई रक्सि बनाउने पानीमा भकभकी उमालेर धुने , र घरका भुराभुरीलाई त्यही रक्सि पार्ने बानको तातो पानीले नुहाइदिने । 


“आइज सुक्कु ! तातो पानीमा नुहाउन ।” भान्सा कोठाबाट माइलीदिदीको  खोजमा निस्किएकी सानी सुसनको हात टप्प समातेर कृष्णा उसलाई नुहाइदिने तर्खरमा लाग्छिन् । जाडोको मौसममा तातो पानीमा नुहाउने निम्तोको अस्विकार छैन उसलाई । तर कृष्णाको मर्चामा मिसाएको कोदो पकाएको पानीको एक किसिमको गन्ध छ । जुन उसलाई मनपर्दैन । नुहाएको दिन भरी यो गन्घ उसको कपाल र छालामा टासिएर बस्छ । 


यो गन्धबाट मन हटाउन ,रमाइलो यस्ता कल्पनाहरुलाई आफूसित तानेर ल्याएकी छे उसले , “बाबै ! माइली दिदीले पुतली बनाइदिनु भएपछि त इन्दिरादिदीको बिहे जस्तै गरी पुतलीको बिहे गरिदिनु पर्छ । जन्त आउछन भोजभतेर गर्न पर्छ , कस्तो रमाइलो हुन्छ । स्वीटी , सुधिरा , साधना ,सुमित्रा अनि अरु कसकसलाई निम्तो पठाउने होला ?” यस्तै कुरा मनमा खेलाएर घाममा सुकाएको डसनामा पल्टेर घाम ताप्दै उ भुसक्कै निदाइ । एक झप्को निदाएर उठ्दा पनि देख्छे परिवारको व्यस्तता अझै सकिएको छैन ।


निनी, दिदी ,सानीमा ,बाटामा लुगा मिच्न, कोही लुगा पखाल्न र सुकाउन व्यस्त बनेका छन् । अझ त्यो हुलमुलमा सघाउन माइलिदिदी पनि थपिएकी छिन । हरकोही व्यस्त छन् । आज त खै भातखान पनि कसैले बोलाएको हैन । भोक लागेर पेटमा मुसा कुदन थालेको छ । महेश ,रमेश दाजुहरु बेपता छन ,पक्कै सन्सारी माइथानमा गुच्चा खेल्न गएका होलान ,उ अड्कल लगाउछे । भोक लागेर हो कि के ले हो उसको गोडा यन्त्रवत भान्साघरतिर तानिन्छ । अगेनाको दाउरा निभिसकेको छ । के चकचक आएर उ फुत्रुक उफ्रेर सेलाइसकेको चुल्हामा चढ्छे अनि त उसको लतपते गोडाले पनि काउली र आलुको पकाएको कराइलाई भूइँभरी छताछुल्ल्ल पारेर पोखाउने एउटा अनौठोको सर्कस पनि देखाइहाल्छ । निमेष भरमा कसरी यस्तो भयो ह ? केही भेउ छैन न सानी सुसनलाई न त अहिले त्यो समयको फ्ल्यासब्याक हेरिरहेको मलाई नैे । 

जे छोयो त्यो खस्छ ,जे समात्यो त्यो पोखिन्छ उसित टासिएको यो खूबीसित घरकाहरु हरकोही राम्ररी जानकार छन् । सबलाई थाह छ बिगार्ने ,ढलाउने, पोखाउने ,फुटाउने सानी सुसनको दैनीकी हो । तर आजको घटना निकै गम्भिर थियो । घरभरीका जहानकालागि पकाएर राखेको तरकारीको कराइ नै घोप्टाएर पछि , ठूलै संकट आइलागेको जस्तो लागेको छ यो स्यानो ज्यानलाई । त्यसैले त होला उ बतास जस्तो हुर्रिएर भान्साघरबाट कुलेलाम भएकी छे । एकै सासमा कुद्दै संसारी माइथानको शरणमा पुगेपछि बल्ल उ आफूलाई सुरक्षित ठान्छे ।  खाना खाइवरी उसको उमेरका दौतरीहरु खेलहरु खेल्न संसारी थानमा भेला भइसकेका छन् । उनीहरुको लुकामारी , एम आइ राइट ? रन रन स्टाचु , डोरी र गट्टाका खेलहरु एकपछि चलिरहन्छ । तर खेलमा आज उसको मन छैन । मनभित्र डर त्रास र अनेकौ अड्कलबाजी चलिरहेको छ । लौ के भइरहेको होला उता घरमा ? अब त सबैलाई थाह भइसक्यो होला । कति गाली खाने होला आज ,गाली मात्र हो र ? गोदाई पनि । माइलीदिदीले फेरी तरकारी पकाउन पर्यो होला । हरे शिव ! घण्टौ बितेर जादै छ । भोकले गर्दा अब त साथीहरुसित खेल्न  शक्ति पनि छैन  ।

त्यसो त उसलाई घर लैजान बेला बेलामा परिवारकाहरु लिन नआएका होइनन । घर गएर भात खाइवरी संसारी थानमा फेरि गुच्चा खेल्न आएका दाजुहरुबाट “घर जारे ”भन्ने संदेश पनि उसले उहिले पाएकी हो । तर घर जाने हिम्मत नआएर उ यसै संसारी थानमै भौँतारीरही । संसारी थान र भानु स्कुललाई छुट्याएको पर्खालमाथि सन्तुलन मिलाएर हिडिरहेकी सानी सुसनले परबाट  निनी र चन्द्रा दिदीलाई आफूतिर आउदै गरेको देखेर पर्खालबाट हाम्फालेर भाग्न बल गर्दा गर्दै ,उसले चकड्केको स्वर सुन्छे “ एइ जुखुरी ! हिड् घर । हेर्न आज तलाई ... ।” तर नटेरी कतै नभागी ठीङ्ग उभिएको देखेर ,निनी र दिदी उसको पाखुरामा समातेर घिस्याएर लैजाने मतोमा पुग्छन । तर उनीहरुको यो जोरजबरजस्तीको प्रयासलाई सानी सुसनले तिनका हातमा  टोकिदिएर र उसले आफ्नो खुटटामा लगाएको जोरदार ब्रेकले गर्दा सफल हुन दिएन  । 

नत केही समय पछि “ घर हिड् सुसन ! भात खाएर अनि गुडिया बनाउनु पर्छ” नरम स्वभावकी माइली दिदीले आएर उसलाई फकाएर  लैजाने प्रयास नै सफल भएको छ । 

साँझ ढलेर आएको छ ,अझैसम्म भोक प्यासले झोक्राएर बसेकी सानी सुसनले परबाट आमालाई आएकी देख्छे । संसारी थानको सिँढीमा टुसक्क बसेकी आफ्नी यस लतपते ,जीद्धी र अजीरनी छोरीलाई केही नभनी कृष्णाले गम्लङ्ग अंगालोमा बेर्छिन् । उ सुक्क सुक्क गरेर आमाको छातिमा टाँसिएर बसिरहन्छे । केही बेरपछि कृष्णाको मधुरो मायाले भिजेको स्वर सुन्छे 

“सुक्कु ! हिड अब घर जाम...


आमाको आचलको सुरक्षा ममत्वको छाहरीमा सुक्कुको निश्छल र निश्चिन्त बाल्यकाल छ ।जसले गढेको छ ,अलमस्तपन जसमा असाध्यै स्वपन छ । जसलाई कुनै खालको हस्तक्षेप मन पर्दैन । स्वतन्त्र मन रमेको छ बाल्यकालको त्यो आफ्नै संसारमा । जहाँ अतित छैन जहाँ भविष्यको चासो छैन । छ त खाली वर्तमान मात्र । विराटनगरको लु चल्ने चर्को हावाको पर्वाहा छैन ,न त होस छ टन्टलापुर घामको ,कति रमाइला धन्दाहरु छन  सुक्कुको  ... ...

बलेसीबाट झरेको दर्के पानीमा “हरहर महादेव पानी देउ देउ यतिले पुगेन अरु थपिदेउ ” को नारा लगाउदै , आँगनभरी वरपर कुदन छ । घाटी घाटी पानीमा डुबेर ढ्वाङ्गमा पालिरखेको बडेमाको कछुवाको ढाडमाथि बुद्रक बुद्रक उफ्रिनु छ । कि त मझुवा पोखरीमा सान्दाजुको साथ लागेर केराको थाम खम्बाको साहारामा पौडी खेल्न जानु छ ।


शरद रीतु आएछ । कता हरायो ह ! उखरमाउलो गर्मी ? त्यो हिलो मुलो अनि मुसलधारे वर्षा ? घामको चकह कस्तो रमाइलो ,न तातो न चिसो , शरदी किरणको जालोमा बेरिएर रुख पात विरुवाहरुले कस्तो सुन्दर रुप धारेको छ । हावामा घोलिएको सयपत्रीको बास सबै कुरा मात लाग्दो छ । के चालपाउन थालेकी छे सानी सुसनले भने , यो मौसममा साँझ परेपछि ,अझ रात गहिरिन थालेपछि झ्यालबाट एउटा खास सुगन्ध ल्याउछ ,शरदको बतासले । उसको सुत्ने कोठामा । यो मनपर्ने सुगन्धको उदगम खोजी गर्ने निर्णयमा पुगेर उ भुसुक्क निदाउछे । भोलिपल्ट बिहानै मुख पनि नधोइ आँखा मिच्दै जुरुक्क उठेर कुदेकी छे उ ,यो बासनाको मेलो समाएर । यो बासनाले त बजैको घरमा पुर्याएको छ उसलाई । दुई तलेको माटोको टिनको छानाले छाएको ,बजैको यो सुन्दर घरको धुरी भरी परेवाहरु हुन्छन् । यी परेवाका डप्फाहरु एक बिहानै ,हजुरबुवाले छतमा छरेको एक मुठ्ठी कनिका र तोरीकोको दाना टिप्न आउछन । अनि चारो सकिएपछि फटाफट उडेर ,सुन्दरकाकाको घरको छानामा ,त्यहाँ छरेका मकैको दाना टिपेर फेरि काहिँली साहुनीको छतमा पाहुना हुन पुग्छन । सेतो कालो छिर्केबिर्के , खरानी रंगको परेवाहरुलाई ,मकरमकर  घुर्रर्ररको संगीत छदै भुर्र भुर्रर गर्दै दिनभरी समुह बनाएर यता उता उडिरहन मनपर्छ । तर किन होला यसरी दिनभरी छरछिमेकको छानामा भौँतारिए पनि, बास बस्न चाहि उनीहरुलाई बजैको घरमात्र मन पर्छ  । यसको अर्थ बल्ल खुल्दै छ । बजैले त परेवालाई लिस्नो भएको खोर बनाइदिनु भएको रहेछ । चिटिक्क परेको सानो प्वालहरुको ढोकाबाट भित्र बाहिर गर्दै ,स साना कोठाहरुमा गुँडबनाएर बस्न अनि परेवाहरुलाई किन मननपरोस । तर अलि मनमौजी र स्वतन्त्र मन भएका परेवाहरुलाई चाहिँ बास बस्न बजैको छाना र बुइँगलहरु मात्र मनपर्छ । 

बजैको घर सुनसान छ । आग्लो लागेको ढोकाको कापबाट चिहाउदा उसले देखि ,भित्र छिँडी गहिरो अँध्यारोमा डुबेको छ । यही त हो ,उहिले एक समय डेरा लिएर बस्न भएको सानी सुसनको बुवा आमाले । छिँडीले ह्वास्स चिसो बास्ना छर्यो । सपना जस्तै यो फ्ल्याब्याक हेरिरहेको अहिले मलाई थाह भएको छ ,यी चिसो निश्वासहरु पक्कै हाम्रो आमाको निरही दिनहरुका हुन भनेर ... 

बजैको घरमा ,आमा कृष्णाको हातसमातेर सानी सुसन कतिपटक आइसकेकी छे । तर आजको यो एडबेन्चर उसको निजी हो । पक्कै मनमौजी बजै ,बिहानै कुनै पसलमा चिया खान गएको हुनुपर्छ । उसले अड्कल काटी । बजैको लोग्ने स्वर्गे भइसके , एक किशोरी छोरी छिन बजैको । पवित्रा दिदी । यो पवित्रा दिदीको त कस्तो अचम्मको बानी छ भने ,जतिखेर पनि उनलाई हाँसमात्र उठिरहन्छ । सानो सानो कुरामा पनि भुतुक्क भएर पेट मिचि मिची हाँस्न पर्छ उनलाई । यति मात्र कहाँ हो र उनलाई हाँसिरहेको बेला उनको छेउ बस्नु हुदैन । यस्तो बेला उनी आफ्नो हात लम्काएर नजिक बस्नेको घुँडामा काउकुती लगाइदिन्छिन अनि छेउमा बस्नेहरुले पनि हाँस्नु पर्छ पवित्रादिदीसित । उनले मरीमरी हाँसेको देखेर सबैलाई पक्का लाग्छ यो पवित्रालाई त कुकुरको पुच्छर हल्लिएको देखे पनि हाँस उठछ । 

त्यसो त बजैलाई आफ्नो घरमा कोही आएको मन पर्दैन । खासगरी चकचके  केटाकेटीहरु । बजैको बारीमा कतिवटा अम्बा पाकेको छ ,काक्राको कस्तो चिचिलोहरु लागेको छ ? यसपाली भोगोटे र बिजु आप कति फल्ला ? यस कुराको चियोचर्चा चासोमा रहने छरछिमेकका भुराभुरीहरुसित बजै सर्तक हुनैपर्छ । त्यसैले यस्ता केटाकेटीलाई बजैले आफ्नो आँगनमा देखे लट्ठी लिएर लघारछिन् । तर जति सावधान रहे पनि बजैको बारी ,चौथी चोरको तारो बनिहाल्छ ।  ढुङ्गा बर्साउनेहरुको चेतावनी चौथीको साँझ झर्न नपाउदै बजैको छानामा गुड्किन थालिसकेको हुन्छ । तर जति रखवाली गरेपनि के हुन्छ के ,जागरामबसेको बजैकोे आँखा र कानलाई मध्यरातमा निद्रादेवीले लठ्ठ पारिदिइहाल्छिन र यही मौकामा बजैको बारी ,चौथी हान्नेले सोतर पारिदिइ हाल्छन । अनि बिहानपखदेखि धारे हात लगाएर चौथी चोरहरुलाई जोड जोडले सरापेको बजैको स्वरले दिनभरि टोलछिमेक थर्किरहन्छ । 


राम्रै भयो बजै आज आफ्नो घरमा छैनन ,यो एडबेन्चर बजैको रोकटोक बिना स्वतन्त्र रुपले सम्पन्न हुने कुराले सानी सुसन मुसुक्क हाँसी । उसको खोजी आँखाले देख्यो बजैको यही झुरम्म परेको हरियो भरियो बगैचाको छेउ लागेर आँगन नजिक एउटा होचो होचो कदको रुख ठीङ्ग उभिएको छ । 

उही परिचित बास्ना छर्दै भूइँभरी सुन्तले खिरिलो डाठमा शुभ्र पाते मसिनो फूलहरुको गलैचा बिछाएर । पक्कै रात भरी यी फूलहरु हाँगाबाट झरिरहेको हुनुपर्छ । अझै पनि खत्रयाक खुत्रुक फूल भूइँतिर झर्दै वर्षिदै छन । यो मोहक दृश्य र बास्नासितै सानी सुसनको मन पनि उसकोकल्पनासित र्भुररर उड्यो....आकासे सेतो सुनैला ताराहरु त रातभरी बजैको आँगनभरी झरेछ बाबै !

जामाको पोल्टा बनाएर भूइँबाट टिपेको फूललिएर उ आमाको पूजाकोठा अगाडि उभिएकि छे । “ आम्मै यसले त पारिजात पो टिपेर ल्याइछे ।”आमाको अनुहारमा छछल्केको खुशिलाई निहार्दै सानी सुसन मन मनमा यो फूलको नाम दोहराउछे “पारिजात”आफ्नो पूजा थाललाई पारिजातको फूलले सजाउन मग्न आमाले भनेको सुन्छे  उ ,“सुक्कु ! यो फूलको एउटा कथा छ ,भरै तलाई सुत्नेबेलामा भन्छु है । ” 

कथा भनेपछि हुरुक्क हुने सानी सुसनकोलागि बडो धैर्यले पर्खेर आएको छ त्यो रात । अनि उसले  आमासित ओछ्यानमा घुस्रेर सुनेको कथा यस्तो थियो । उहिले पारिजात यसरी धर्तीमा पाइन्दैन थियो रे । स्वर्गमा मात्र पाइन्थ्योे रे । एकदिन अर्जुन कार्यवश स्वर्गका राजा इन्द्रलाई भेटन गएको बेला, उनले इन्द्रको बगैचामा पारिजात फूलेको देखे रे । तत्क्षण फूलको सुन्दरता र बास्नासित मुग्ध भएर , अर्जुनले पूजामा चढाउने सुन्दर फूल हुन्छ भनेर आफ्नी आमा कुन्तिकोलागि पारिजातलाई धर्तिमा लैजाने निधोमा पुगे । तर इन्द्रसित नमागी अर्जुनले पारिजातको बोटलाई सुटुक्क चोरेर धर्तिमा ल्याए रे । यो कथा सुनेर धेरै बेर सुक्कुको मनमा कुरा खेलिरह्यो । चोर्नु त राम्रो कुरा होइन , अर्जुनले किन चोर्नु परेको होला ? इन्द्रसित मागेको भएर उनले दिदैन थिए त ? 

इन्द्र घमण्डि थिए । राम्रो कुरा जति आफूसित मात्र होस भन्ने सोचले स्वर्गबाट पारिजातलाई धर्तिमा लैजान अर्जुनलाई दिदैन थिए होला । राम्रै भयो धर्तिको कुना सजाउन अर्जुनको यो चोरी कुनै अपराध जस्तो लागेन , बरु पारिजात फूल विना धर्तीको यो सौन्दर्य अधुरो रहन्थ्यो होला । यो निष्कर्षसित सानी सुसन आमाको अंगालोमा भुसुक्क निदाई ।


शरदको यही मौसम छोप्दै आए छ दसैँ । दसैँको चहलपहलसित  मिसिएको उसको बालमनको रहरहरु  पनि छ जसलाई टिप्न आमाको सप्कोमा बाधिएको खुदुरा पैसाहरु चाहिन्छ  । थाह छैन कताबाट बाटोहरु अनायस यति लोभलाग्दो हुन्छ ,यो नौरथाको मौसम भरि । सडकको दायाँबायाँ एकहाते अग्ला टेबलहरुमा ,पुतलीका घर गृहस्थीकालागि चाहिने ससानो सिल्भरको ताप्के ,कित्ली ,तपेस , गीलास ,स्टोभ ,चिया खाने कप प्लेट ,काटा चम्चा आदी सामानहरुले सजिएका हुन्छन । हरेक माल चार आनामा ,मोलतोल गर्न सके कहिलेकही सेलमा अलि सस्तो पनि पाइन्छ । यो नौरथाको मौसमभरी पुच्छर लागेर मन्दिर जाने यस अध्यात्मिक कार्यसितै भौतिक लाभ पनि छ । मानै एउटा तीरको दुई सिकार जस्तो । कारण आफ्नो पुतली र भाँडाकुटी खेलकोलागि एक दुई सामान कचकच गरेर जोर्न मिली हाल्छ । कृष्णालाई कहिले राजी खुशिले कहिले त्रासले सुक्कुको कुरा मान्न कर लाग्छ । कुनबेला उ हाब्रो च्यात्दै थुचुक्क बाटोमा बस्ने हो ? यस्तो अवस्था कृष्णाकोलागि डरमर्दो अनि लाजमर्दो हुन्छ ,कारण हात खुट्टा फालेर भूइँमा बसे पछि अचम्म किसिमले सानी सुसनको शरीरको हाड जोर्नीहरुबाट जोडदारसंग कट्याक पट्याकको भयानक आवाजहरु निस्कन थाल्छन । मानौ यो त्यो ब्रम्ह अस्त्र हो जसको अगाडि सबै भयभित हुन्छन र उसले भनेको कुरा अरुले मानिदिनु पर्छ । नत्र.......

आज त बिहानै घाटीमा बाँधेको घण्टि टुन टुन बजाउदै झोडाबाट गोरुगाडा आएको छ । धान तोरी र आलुले भरिएको बोराहरु लिएर । हरैचा गोलापरासी कामतदेखि रातभरीको लामो हिडाइको श्रममा परेर बिहान झिसमिसे उज्यालोमा कृष्णाको आँगनमा आइपुग्ने हलगोरुको सत्कारमा पीनाले सानेको परालका कुटे, कनिका मिसिएको भुसको तात्तातो खोले तम्तयार छ । अनि गाडीवानकोलागि मीठो मसिनो खानेकुरा भान्सामा पाकिसकेको छ । भकारीमा मालताल थन्काएर पछि कृष्णाले ठीक पारिदिएको चारो खान थालेका छन भोका गोरुहरुले । तर यी गोरुहरु भने दानापानीलाई चपाउदा पनि नचपाइकन हतारिएर खुरु खुरु निल्दारहेछन । अनि पछि फुर्सदमा आरामले उग्राएउदैै र चपाउदै बल्ल खानाको मजा लिदारहेछन् । हलगोरुहरुले खाने यो चालामा अचम्म लाग्दो एक समानता देखेकी छे सानी सुसनले । त्यसैले लुसुक्क भान्सा घरमा छिरेर गाडीवानले खाना खाएको हेर्न पनि चुक्दिन उ । यो गाडीवान दाईको नाम त्यान्द्रे हो । उसको दाहिनेतिरको आँखा ,आँखी भौ सम्म मिल्ने गरी च्यातिएर तानिएको देखिन्छ । शायद त्यसैले होला सबैले उसलाई यस्तो नामले बोलाएको । यो त्यान्द्रे गाडीवान दाईले पनि भातको गाँसलाई मुखमा राखेपछि चपाएको नै देखिदैन खुरु खुरु निलेको मात्र देखिन्छ । सुक्कुलाई लागेको छ , यी हलगोरु र त्यान्द्रे दाईले खाने प्रकृयामा गजबको समानता छ । एउटा यकिन नभएको सोच बालमनमा फैलिन्छ र सोच्ने गर्छे ,“यो गाडीवानदाईले पनि फुर्सतमा गोरुले जस्तै गरी उग्राएर फेरि राम्ररी चपाएर निल्छन कि त ?”यो हेर्न बडो खुफिया तालले तान्द्रे दाईमाथि नजर राखेकी पनि हो । तर उसको यो सोच यकिनमा कहिले बदलिएन ।  


“अजीरनी छे है यो त ,कति फकाए ,लोभ लालच दिसके । बालकक्षामा भर्ना भइसक्यो तर स्कुल जान अझै मानेको छैन यसले ।” कृष्णालाई रीसमाथि पीर थपिएको छ ।“ स्कूल पुर्याउने पहिलो प्रयासलाई सानी सुसनले जोडदाररुपमा असफल पारे पनि स्कूल नगइ पनि त धरै थिएन । त्यसैले  कृष्णाको हात समातेर त्यसदिन डराइ डराइ भानु स्कूलको बालकक्षाको परिसरमा उभिएकी थिइ उ ।  बालकक्षामा पुगेपछि आमासितै घर फर्किन बल गरेकि पनि हो उसले । तर यो पाला भने केही जोर लागेको थिएन । कृष्णालाई स्कुल जान नमान्ने यस अजीरनी छोरीसित खपिनसक्नुको रीस उठेको थियो । दुई झापड कस्सिएर गालामा हान्दै, कपाल जगल्टयाएर त्यो दिन सुक्कुलाई बालकक्षामा रुँदै छोडेर कृष्णा भने फन्किएर हिडेकि थिइन ।  


ज्ञानको पहिलो दीयो बाल्ने भानु स्कुल


स्कूलको पहिलो दिन सबै कुराहरु उसकालागि विरानो र नरमाइलो थियो । स्कूलका बारेमा सुनेका भयानक कुराहरुले उसको मन ढुक् ढुक् गरिरहेको थियो । स्कूलमा मिस र सरहरुले हत्केलामा सुम्लो उठ्ने गरी लठ्ठीले हान्ने , कानको जरो नै उखेलिने गरि कान निमोठिदिने गर्छन रे । पेन्सिललाई दुई औलामा फसाएर माड्दै औलानै नीलो हुने सजाय हुन्छ रे । आमासित संसारी थान पूजा गर्न आउदा ,सजाय पाएर रगत्याम्ये भएको दुई घुँडाले घिस्रिदै संसारी माइथानको वरिपरि चक्कर काटिरहेका ,घाममा टाटीएर टाङ्ग मुनिबाट हात छिराएर कान समात्दै कुखराको आकारमा फेरिएका विधार्थीहरुलाई उसले आफ्नै आँखाले देखेकी पनि हो ।

यस्तै गती आफ्नो पनि हुने हो की भन्ने त्रासले पिरोलिएको सुक्कुले मिस सरलाई नटेर्न ,कक्षा कोठामा हल्ला गर्ने ,पाठ नबुझाउनेहरुको लागि मात्र यस्तो सजाय हुने रहेछ भन्ने कुरा बिस्तारै बुझन थालेकी छे । तर पनि यती निष्ठुर सजायहरु ?  ?

बानी नपरुन्ज्याल नरमाइलो लागेको भए पनि अब त आमाको सुक्कुलाई रमाइलो पो लाग्छ स्कूल जान । टिनीनीनीनीनी...टिङ्ग टिङ्ग.. गरेर पालेदाइले बजाएका स्कुलको घण्टी घरमै सुनेर पाटी खरी र कखराको किताबलाई झोलामा कोच्दै कुलेलाम ठोकेर कुद्यो भने एकै सासमा भानु स्कूल  पुग्न सकिन्छ । 

हेर्दा हेर्दै संसारी माइथानको परिशरमा पंक्तिबद्ध उभिएका केटाकेटीहरुको हुलमा मिसिएर उ पनि स्कूलको प्रार्थना र जयगान गाउन जान्ने भइसकेकेकी छे । 


गाउछ गीत नेपाली 

ज्योतीको पख उचाली 

जय जय जय नेपाल

सुन्दर शान्त विशाल ....


अग्ला पर्खालले छुट्याएको ठूला ठूला डेस्क र ब्रेन्च भएको धुलै धुलो उड्ने कक्षा कोठाहरुमा सबभन्दा पुछारको सानो कोठामा बालकक्षा चल्छ  । सर मीस कक्षामा आउन अबेर भए कक्षा कोठाको भूँइको धुलो कोट्याए एक किसिमको मोटो ताजा कीरा खोज्ने त छाडमछाड चल्छ सुक्कु र साथीहरु माझ । दुइतिरको छेउमा बसेको साथीको गर्धनलाई एक आपसमा दुईहातले बेर्दै बेन्चीमा लहरै  साथीहरुसित बसेर सर मिसले सिकाएको क का कि की , कखरा ,एक दुई तीन चार रट्ने काम पनि खेल खेलेको जस्तो लागेको छ सुक्कुलाई । जोशमा आएर जोड जोडले हल्लिने यो होडबाजीमा सन्तुलन नमिलेर बेन्चीबाट उल्टो तिर सबै जना पुर्लुङ्ग पल्टिएर लड्दा भूँइमा लडेर भुतुक्क दुखेको भए पनि मुखबाट भने रमाइलोको उत्तेजनाले हासोको फोहरा छुट्ने गर्छ बाल कक्षाको साथीहरुको माझमा ।  

अनि मौसम अनुसारको कक्षाहरु हुन्छ भानु स्कूलको । जाडोको मौसममा चाही संसारी माइथान अगाडिको चौरीमा घाम ताप्दै कक्षा चल्छ । अनि गर्मीको दिनहरुमा भने बरपिपलको छाहरी मुनी शीतल ताप्दै कक्षा चल्ने गर्छ । यसरी बाहिर चल्ने कक्षामा

 भानु स्कूलको कक्षा चल्ने वर पिपलको चौतारी

 रुखमाथिबाट बक्कुलाले छेरिदिन सक्छ कि त सुली कि उसको गुँडको अण्डा पनि झर्न सक्छ ।कतिखेर उसले खान ल्याएको माछा वा भ्यागुता कुन विधार्थीको टाउकोमा खस्ने हो यकिनको साथ केही भन्न सकिन्न । तर धेरै जसो किन हो कुन्नी ,बाबुचाको टाउकोमा नै झर्ने गरेको छ । यो संजोग हो की बकुल्लालाई बाबुचासित झोक चलेर हो , यकिनको साथ कहिले थाह भएन ।त्यसो त यसबारे धेरै पटक सुक्कुले अचम्म मानेर नसोचेको होइन । 


खरीले लेखेको पाटीलाई कलको पानीले घोइ पखाली गरेपछि बालकक्षाको साथीहरुसित सानी सुसनको सामुहिक गान पनि चल्छ 

“कलको पानी कलैमा जा 

मेरो पाटी सुकिजा ...”

सानी सुसनले थाह पाएदेखि उसको मनभित्रको गीतहरु अधरमा आउन मात्र हतारिन्छ । यो के भएको हो ? अब त सर र मीस साथीभाईहरुबाट पनि गीत गाउन भन्ने फर्माइस आउन थालेको छ । उ पनि मास्के परिवारबाट चलाइएको जलजला सिनेमामा फोकटमा हेरेर याद भएका सिनेमाका गीतहरु बडो फुर्केर गाइदिन्छे ,गुरु र गुरुआमाहरुको काखमा बसेर... 

तीतली उडी ,उड जो चली

फुलने कहा ,आजा मेरे पास

तीतली कही ,मै चली आकाश ...


..उनसे मिली नजर 

के मेरे होश उडगए...     


टिफिन छुट्टीमा कुदेर घर गएर खाजा खाएर फर्किन मिल्छ । कहिलेकाहीँ आमाले सप्कोमा बाँधेको पैसा फुकाएर दिएको तामाको दश पैसाले बंगाली बाबुको पसलको शिशीमा राखेको रातो गोल मिठाइ , खट्टी मीठी  त्रित्रीको अचार कि पापडभाजा खान पनि मिल्छ । अझ पच्चिस पैसाको ढ्याक पाएको दिन त झन पकौडा र मुरै राखेको एक किसिमको सुकेको पहेलो केराउको बाक्लो तरकारी जस्तो स्वादिलो तातो  झोल “घुघुुनी”पनि खान मिल्छ , एक चुट्की पाचक चाहिँ उसले फाउमा सित्तै दिन्छ ।  

कति छिटै बालकक्षा पछाडि छुटेछ अनि कक्षा एक हुदै उक्लेर दुई हुदै तीन कक्षा पुगेकी सानी सुसनलाई मोनिटर बनाएको छन सर र मीसहरुले । जिम्मेवारीको काम हो बाबै मोनिटरको काम भनेको । सर मिस कक्षामा आउन अघि अफिसबाट चक र डस्टर कक्षा कोठामा ल्याएर राखिदिने , ब्ल्याक बोर्डलाई पुछेर राखिदिने ,सर र मीस कक्षामा आउन ढिलो भए हल्ला गर्ने केटाकेटीहरुको नाम टिपेर राख्ने यो त सजिलो काम हो । तर उसलाई बदमासी गरेका पाठ नबुझाउने साथीहरुको कान निमोठने ,गाला चडकाइदिने जस्तो सर र मीसको यो निर्दयी काम आफूले गर्न चित बुझ्दैन । सर र मीसको आदेश माने जस्तो गर्न उ बदमासी गर्नेको हल्का कान तान्ने र हलुका हातले प्याट्ट पारेर गालामा छोइदिने गर्छे । तर सुक्कुले “राम्ररी कान ननिमोठेको र चड्कन पनि राम्ररी नहानेको”भन्ने बाबुचाको मीसलाई चुक्लि लागेपछि ,यो कामको सही तालिम दिन भनेर मिसले सुक्कुकै कान रातो हुनेगरि उखेलिदिएको , अनि “यसरी कस्सिएर गालामा झापड हान्नु पर्छ ”भनेर कनपटी झनझनउने गरि एक चड्कन खाएकी पनि हो । 

गर्मीको दुई महिने विदा हुन्छ भानु स्कूलमा ,यही मौका छोपेर संसारी माइथानको परिशरमा मेलाको रमझम पनि शुरु हुन्छ । आकर्षक रंगीन पाल ,जस्तापाता छाना ,बाँस अनि बोराले बारेका कति थरीका स्टलहरु धमाधम बनेर सजिन थाल्छ । बेतको वा फलामे गोलो रीङ्गमा फसाउन सके थाल ,कचौरा ,गीलास, रसिलो झोलले भरिएको भूई कटहरको डिब्बा पनि पर्न सक्छ । तर जति ताकेर हान्दा पनि जुद्ध सलाईको  वा आशा चुरोटको बट्टा प्राइजमा फस्ने गर्छ । यो स्टल अलि पर्तिर नै हातले घुमाएर फनफनी घुम्ने रोटेपिग छ । फेरि अर्को कुनामा दश पैसाको टिकट काटेर बोराको पर्दा उचालेर भित्र पसेपछि देख्न पाइन्छ , छ खुटे गाई , घाटीसम्म पुरिएको नाग कन्याको टुलुटुलु हेरिरहेका टाउको तर पुच्छर भने सर्पको । दुई टाउके मान्छे । बामपुडके जोकारहरु । अलि एडवेन्चर मनपर्ने दर्शकहरुको लागि भने जीउमा डरले काँडा उमार्ने गरि गोलो आकारको फलामे पिँजरा भित्र फन्फन घुम्दै फुल स्पीडमा एकसाथ तल माथि कुदिरहेका दुईवटा मोटरसाइकलको “मौतका कुवा”को खेल तमाशा पनि छ । 

“ आउनु होस भाग्य अजमाउनु होस”भनेर रातोदिन गाहकलाई कराएर डायस खेल्न बोलाउने त्यो किशोर केटाको स्टल अगाडि गएर उभिरहन मन लाग्छ सानी सुसनलाई । तर खेल खेल्नलाई होइन । मेला शुरु भएको केही दिनमा ,त्यो केटाको स्वरले जवाफ दिन थालेको हुन्छ । तर घाटीमा चुना लगाएर भए पनि उ भने गाहक बोलाउन उसै गरि तल्लिन हुन्छ । उसको त्यो सुकेको र भास्सिएको अजिब तर कस्तो सुनिरहु जस्तो स्वर ।अझ उसको यस्तो स्वरमा कुनै गीत पुरै गाएर सुन्न पाएत  झन कस्तो हुदोँ हो... ... सुक्कु यस्तो कल्पनामा बेलागाम बरालिन्छे । 

तर मेलाको खास आर्कषण भने रातो तुलले सजिएको प्रवेशद्धारमाथि चारै दिशामा फर्काइएको माइक हो । जसमा झमक्क साँझ पर्ना साथ लता ,रफी ,मुकेशले गाएका हिन्दी गीतहरुको रेकर्ड घन्किन थाल्छ । त्यसपछि पो शुरु हुन्छ त खास मेलाको रमझम । मेला नगए पनि संसारी थानको परिशरमा बजिरहेको गीत संगीत हावामा तैरिदै घरैमा तन्किएर आउछ । 

संसारी थानामा मेलाको रेकर्ड के बज्न थाल्छ यता कृष्णाको घरमा सानी सुसनको गला पनि । कहिले साँझ पर्ला भनेर अनि गीत गाउला भनेर दिउसैदेखि घरको छतमाथि टहलिदै अधिर भइरहेको मनलाई मेलामा बज्ने सारा हिन्दी गीतहरुमा स्वर मिलाउदै संगसंगै नगाएसम्म चित नै बुझदैन । 

घरको छतमाथि फालिएको फाल्तु कालो पोलिथिनको पाइप त बडो कामको रहेछ । खेल खेलाचि मै कति ठूलो कुरा चालपाएकी थिइ उसले । यो पोलिथिन पाइपबाट गाएको गीत पाइपको पुछारबाट निस्किदा ,स्वर त हदै मीठो पो सुनिदो रहेछ । अनि त के थियो ,यो सबै भन्दा जरुरी खेल बन्यो । सानी सुसनले गाएको गीत सुनिदिने स्रोता छन् भने राम्रो ,नत्र पाइपको पुच्छरलाई फनक्क आफ्नै कानमा लगाएर आफैले मात्र सुन्न पाए झनै रमाइलो ।  आफ्नोलागि गीत गाउदै र सुन्दै ,सारा सुधबुध र संसार बिर्सिरहेको सुक्कुको बालापनको यो फ्ल्यासब्याक हेर्दा थाह भएको छ , खुशि र आनन्दको निजी आराधना बनेर ,मेरो संगीतको जग यही बेला बसेको रहेछ  ।  

संसारी थानको यो मेला सकिएपछि सबभन्दा कमी हवामा तैरिएर घरसम्म आउने संगीत कै लाग्छ सानी सुसनलाई । त्यसो त हिमालय टाकिजमा मेटनी शो शुरु हुन अघि आघा धण्टा बज्ने हिन्दी गीतहरुलाई पनि घरको छतमा सुन्न सकिन्छ । अनि घरमा बुवाले एक लाहुरेसित किन्नु भएको पुरानो रेडियो पनि छ । जसमा घरका सदस्यहरुले आआफ्ना रुची अनुसार रेडियोको कान निमोठन पाए नेपालको समाचार , फौजी भाइको फर्माएसी गीत अनि बुघवार राती अमिन सयानीको बिनाका गीतमाला सुन्न पाइन्छ । कृष्णाको घरको तल्लो तलामा इन्स्योरेन्स अफिश खोलेका ठाकुर अंकलको रेकर्ड प्लेयर वरीपरि झिँगा भन्केको जस्तो गरी सुक्कुलाई देख्न सकिन्छ । रेकर्ड प्लेयर नजिक जान दाउ नपरे ,माथि झ्यालमै बसेर सुन्दा सुन्दा गीतको ग्याप म्युजिक सहित मुखडा, अन्तरा सब कण्ठस्त आउछ सुक्कुलाई ...  ...

ए दुनिया ए महफिल

मेरे कामके नही....

संसारी थानको साँधमा जोडिएको अलि पर्तिर भानुमोरङ्ग सांस्कृतिक संस्थान छ ,कलाकार चर्तुभुज आशाबादीको । उनी स्थानीय प्रतिभालाई खोजी खोजी सांस्कृतिक प्रर्दशनीहरुको आयोजना गर्ने गर्छन् । कृष्णाकै घरमा उनले दुई तीन कलाकारहरु खोजिसकेकेका छन । अनि कुन तरगंमा चतुर्भुज आशाबादीले एक दिन सानी सुसनलाई पनि टपक्क टिपेर नाचको रिर्हसल शुरु गराएका थिए ।

सेती खोला पारी बग्यो सलल 

माया मेरो कठै चुयो धरर ...

एक ताल दुइ ताल र बारबाम्वार रिर्हसलमा घोटिदा पनि उसमा नृत्य प्रतिभा देखिएन तर यो सही प्रतिभाको पारख भएको भने थिएन । आमाको सुक्कुलाई नाच्न होइन ,गीत गाउन मन लाग्छ र असाध्यै गाउन मनलाग्छ । 


क्रमश...

Comments