तीन पुस्ता - भाग – १० - सगोल परिवार भित्र

 ॐ 


आमा छोरी – तीन पुस्ता 


पहिलो पुस्ता भाग – १०

सगोल परिवार भित्र  

सुसन मास्के




कोरोनाको कहरमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा हामी सबै पीडित छौ । कसैले परिवार प्रियजन गुमाएका छौ ,कसैले साथी संगी र आत्मीयहरु । यस्तो दुखान्त र त्रासदको घडीमा के यो “आमा छोरी तीन पुस्ता” ब्लगमा लेखिनु र फेशबुकमा सेयर गर्नुमा कुनै
औचित्य छ ? वा के यो सही कुरा हो ? मनले दुविधामा पर्दै केही समयदेखि मलाई सोध्न  थालेको थियो । आफ्नो सृजनाको यसरी विज्ञापन गर्न मनले नमान्दा नमान्दै , म भित्र अर्को पनि तर्क चल्न थालेको छ । र सोच्न बाध्य भएको छु शायद यो नै सही समय हो । 

सबैकोलागि भोलि अज्ञात भएको छ , खासगरी आजको बातावरणमा पर्खिन र पर्खाउने “लक्जरी”लाई हामीले गुमाएका छौ । समयले कसैलाई नपर्खिने कठोर चेतावनी दिइसकेको छ ।  त्यसैले आज २०७८ सालको बैशाख २७ गते परेको आमाको मुख हेर्ने दिनको साइत पार्दै धेरै पाठकहरुले प्रतिक्षा गरिरहनु भएको “तीन पुस्ता”को दसौँ भाग समर्पण गर्दैछु ,ती सबै आमाहरुलाई जो यस धर्तीमा थिए ..छन..र हुनेछन्.. । साथै ती सबैमा जो आमाको गर्भबाट जन्मिएर यस धर्तीमा थिए ..छन.. र आउने छन् .. 

आमाको मुख हेर्ने दिनको अनन्त शुभकामनाहरुको साथ  🥀🥀🥀







मेरो सम्झनाहरुको कुहिरो भित्र, ठूलो सगोल परिवार थियो आमाको । एककिसिमले जलजले पहाडको सगोल परिवारले नै आमाको गृहस्थिमा बिस्तारित रुप पाएको थियो । 


जलजले पहाडको सगोल परिवारसित


पितृसत्ताको जगमा नै उभिएको विराटनगरको गृहस्थी भए पनि, पहाडमा जस्तो आमाको मर्यादास्तर दासीको जस्तो थिएन । चलाखपन र परिश्रमको बलमा, घरमूलीको उच्च स्थानमा आफूलाई स्थापित गर्नु भएको थियो । बालविवाहको बन्धनमा बाँधिएर पहिला उपेक्षा र हेला पाएको आमा, अब बुवाको जीवनको धुरी बन्नु भएको थियो । बुवा अझै सम्झनु हुन्छ, आमाको भर सहयोग पाएर नै बुवाको बिजनेश फैलिदै र घरको आर्थिक अवस्था पनि सप्रिदै गएको थियो रे । पूर्व पश्चिम महेन्द्र राजमार्ग बनाउने भारतीय इन्जिनियरहरुको समूहलाई पुरानो घर भाडामा लगाएर छेउमा फेरि अर्को घर बनेको थियो । जलजला सिनेमा बाहेक बुवाको “अरुण सिनेमा” को साँझेदारी बिजनेस शुरु भएको थियो रे । उन्नतीको बाटो खोजिरहने बुवाले मोरङ्ग कलेजको घर बनाउने, सुनसरी सिचाई प्रोजेक्टका लागि क्वाटरहरु बनाउने,  तरहरा माछा पोखरी लगायत विराटनगरका धेरै मुख्य सडकहरु बनाउने ठेक्का पट्टा अनि फिल्म डिस्टिब्यूटर आदि अनैकौ काम र व्यवसायमा हात हाल्नु भएको थियो रे । 

यसरी यो ठूलो सगोल परिवारको भरण पोषण गर्न कमाएर ल्याउनु पर्ने, बुवालाई चाहिँ अहोरात्रीको व्यस्तता र कामका धपेडीहरु  पर्थ्यो  रे  र आमा बुवाको स्वास्थ खानपान प्रति खास सजगता राख्ने गर्नु हुन्थ्यो रे । तर खानेकुराहरु माथि मीनमेख निकाल्ने बुवाको बानीले गर्दा , खाना ख्वाउने पालोमा परेका भान्सेहरुको भने ज्यानको आफत नै थियो रे ।“म खान बस्दा भान्सेहरु डराउथे ।” उहिलेको आफ्नो त्यो कचकचे बानीलाई संझेर अहिले बुवालाई हाँस उठ्छ । थोरै तर मीठो मसिनो खानु पर्ने बुवाको यो बानीले गर्दा आमाले बुवाको लागि अलगै खाना पकाउनु हुन्थ्यो । र खानाको मेनु प्राय यस्तो हुने  गर्थ्यो , दुई टुक्रा भए पनि मासु ,मासु छैन भने अण्डा नत्र भुटेको आलु, अनि अनिवार्य रुपमा एक पेग रक्सि । तामाको घैलामा पुरानो बनाएर राखेको बासमती चामलको फुर्रफुराउदो भात ,सानो पित्तले भड्डुमा भर्सिएर बुवाको लागि पाकेको हुन्थ्यो । दिउसो बुवा खाना खान घर आइपुगे पछि म पनि लुसुक्क काठको पिरा ओछ्याएर बुवाको छेउमा बस्न थालेका थिए । आमाको एक हाते खानाको स्वादमा बुवा जस्तै म पनि पल्किएको थिए । 

बुवालाई यसरी छुट्टै र मीठो खुवाउने कुराको सगोल परिवारभित्र दबे छिपेको आलोचना नहुने होइन, जसको भने आमा कुनै मतलब राख्नु हुन्थेन । तर अरु कुरामा आमा सचेत हुनु भएको देखिन्छ । त्यो थियो ,आफ्नी खिनौटी र लुरी छोरी चन्द्रालाई तागतिलो खाना चाहिएको छ भनेर आमालाई थाह थियो । तर आफ्ना छोराछोरीलाई मात्र ख्वाउछे भन्ने अपजसबाट पनि जोगिन चाहनु हुन्थ्यो । पुरानो संझनाहरुको पोका फुकाउनु हुन्छ चन्द्रा दिदी “ आमाले सन्सारी थानको पूजारी बज्यैको घरमा दुध र रोटीको ठेक्का लगाईदिनु भएको रहेछ । त्यहाँ गएर खानै मन लाग्दैन थियो । तर आमा मलाई कर गरी गरी कुटी कुटी खान पठाउनु हुन्थ्यो ।” 

अहिले सोच्दैछु पक्कै पनि यस्तै मिल्दो जुल्दो व्यवस्था मेरा लागि पनि गरेको हुनु पर्छ आमाले । संसारी थान छेउको गंगा हजुरआमाको घर, डेरामा लिएर दार्जीलिङबाट बसाई सरेर आएको एक परिवार बस्थ्यो । परिवारको ठूली छोरी, छरछिमेकका केटाकेटीहरुलाई टयूशन पढाउने गर्थिन । अनि आमाले मलाई पनि हप्ताको केही दिन टयूशन पढ्न पठाउन थाल्नु भएको थियो । बिस्तारै के अचम्मलाग्दो कुरा हुन थालेको थियो भने, यो परिवारको बजैले मलाई मात्र भान्सामा खुसुक्क बोलाएर उसिनेको अण्डा, दुध खान दिन्थिन् । उनको दयालु मनले हो भने टयूशन पढ्न आउने अरु पनि केटाकेटीहरु थिए । फेरि उनीहरुको परिवार नै आर्थिक कठिनाइमा “ के खाउ” का हालतमा थियो । मलाई थाह भएन, सम्भवत आमा नै यस व्यवस्थाको पछाडि हुुनुहुन्थ्यो कि ? जे होस अहिले मलाई सताएको प्रश्न के हो भने, आमाको यस्तो गोप्य व्यवस्थाहरु सगोल परिवारमा हुने आलोचनाबाट बच्नको लागि हुन्थ्यो भने के अलि बढी माया र हेरचाह देखाएर आमा आफ्ना बच्चाहरुलाई माया पनि गर्न सक्नु हुन्थ्येन त ?तर पनि सन्तुलन खोज्दै आमा भने ‘साँप पनि मरोस लठ्ठी पनि नभाँचियोस’ भन्ने खालको जुक्तिहरु निकाल्नु  हुँदो रहेछ ।  

 यो परिवार सबै खालको सम्बन्ध र उमेरका सदस्यहरुले भरिएको थियो । मसिना केटाकेटी ,किशोर युवा अवस्थामा टेकेका देवरहरु ,नन्दहरु र बैनी र भदैनी, भतिजीहरु, देखि लिएर वृद्ध अवस्थातिर ढल्किदै गरेको सासू ससुरा सहितको यो सगोल परिवारको दैनिक प्रशासन चलाउने पक्कै पनि सजिलो काम थिएन होला आमाको । यो परिवारकालागि अथक स्नेह ,सेवा , मानमनितो ,समझदारीहरु बाहेक आमाको यदाकदा झर्किने ,रिसाउने, छवीहरुलाई पनि संगालेको रहेछ मेरो बालमनले चाहिँ । 

आमाले प्रयोग गरिरहने दुईवटा उखानहरु ,अहिले मेरो स्मृतिहरुमा बन्दै र मेटिदै छन् । “आगो बाल्न दाउरा पनि ठोस्नु पर्छ” “ नाङ्गलो  ठट्टाएर ठटाएर हात्ती तर्साउनु पर्छ ।” थाह भएन के कुरामा त्यो दिन भान्सा घरमा तनाव थियो । आमा खुबै रिसाएर माइली दिदीलाई गाली गरिरहनु भएको थियो । तर लक्ष्य भने खासमा आमाले परिवारमा मानमनितो गर्नु पर्ने कुनै सदस्यकोलागि थियो । बेकसुरमा गाली खानु परेको माइलीदिदीलाई भने पछि फकाउदै ,क्षमा मागेको भावमा आमाले भनेको सुनेको थिए मैले, “मन नदुखाउनु, मैले त नाङ्गलो ठटाएर हात्तीलाई तर्साएको हो ।” सगोल परिवारलाई सन्तुलनमा राख्ने ,यो उहाँले खोजेको उपाय हुन सक्छ । तर आमालाई अहिले सोध्न मन लागेको छ ,यदाकदा परिवारका हात्ती तर्साउन,आमाको नाङ्गलो बनीरहनु हुने हाम्रो सोझी माइली दिदीको हकमा भने के यो साफ साफ अन्याय भएको थिएन र ? 

सगोल परिवारको गुण धर्म छ ,अनि यसको धारिलोपन पनि । एक्लोपन ,दुःख सुख बाडेर लिन, सहयोग र भरको हातहरु पाइन्छ ,सगोल परिवारमा । साथै चाडपर्व, संस्कार, संस्कृति र भाषा रहनसहनको पुस्ता हस्तान्तरणको प्रकिया पनि बडो सहज खालले हुन्छ । तर अर्कोतिर सम्बन्धहरुको यही मीठासहरुसित लुकेको राग, द्धेष,  ईर्ष्याको धारिलोपनले थाहै नपाई,  आहत पनि गर्न सक्ने रहेछ । सगोल परिवार भनेको मानौ कुनै नटले डोरीमा हिड्ने सन्तुलन पनि हो । हाम्रो आमा यो सन्तुलन मिलाएर राख्ने त्यो सिपालु नट हुनुहुन्थ्यो । र भन्न सकिन्छ यति बेलासम्म आमाको यो सगोल परिवार भरिपूर्ण ,सुन्दर र आपसी समझदारीमा टिकेको थियो ।

“ बत्ती गयो.... ” उल्लासमा हर्षित भएर चिच्याउथ्यौँ  हामी केटाकेटीहरु । बत्ती जानको अर्थ थियो पढ्नबाट केही समयको छुट्कारा मिल्नु । यस्तो मौका छोपेर घरका सदस्यहरु झटपट दुई टोली बनेर प्रतिस्पर्धामा ओर्लिन्थ्ये । सुरिला स्वरका गवैयाहरुको कमी थिएन आमाको यो सगोल परिवारमा । अनि अँध्यारोमा अव्हान जस्तो बनेर कुनै कुनाबाट गुन्जिथ्यो । 


“यसै खाली के बस्ने अब, गरौ केही काम

शुरु गरौ अन्ताक्षरी, लिएर “हरी” को नाम ”


अनि “म” बाट शुरु भएको गीत हावामा तैरिन थाल्थ्यो

“मेरा नाम है चमेली 

आई हूँ अकेली बिकानेर से ....”


लगतै अर्को टोलीले “से” बाट शुरु हुने गीत अलाप्न थालिसकेको हुन्थ्यो

“सेती खोला पारी बग्यो सलल...”


 प्रतिस्पर्धा चुलिदै जान्थ्यो । अन्ताक्षरीका खप्पिस खेलाडीहरु अप्ठ्यारो अक्षरको अन्तमा लगेर गीतलाई छोडिदिन्थ्ये । यी दुई समूहसित आमा भने तटस्थ बस्न मनपराउनु हुन्थ्यो । तर कतै कुनै टोली, गीत नपाएर अडकियो भने खुसुक्क गीत संझाउन भने चुक्नु हुन्न थियो ।अधिकांश ड ,ट ,ठ ,झ,बाट शुरुहुने गीतहरु ..।

अन्ताक्षरी बाहेक रचनात्मक सोच बन्ने, तगडा दिमागी कसरत हुने गाँउ खानेकथा पनि उतिकै लोकप्रिय खेल थियो, हाम्रो सगोल परिवार माझ । उदाहरणकोलागि  “आकट वाकट दश वहा आँखा त टिल टिल मन्टो कहाँ ? ” यो पहेली, रीडल सोध्दा जवाफ न आए प्रश्न सोध्ने मान्छेले गाउँ खान माग्थे । मनले चाहेको गाउँ मागेर यो “गाउँको असल ,राम्रो ,सेरो फेरो जम्मै मेरो थोत्रे थाम्रे तेरो” भन्दै  लेग्रो तान्दै हरुवा टीमको खुबै खोइरो खन्नसम्म खन्थे । र अन्तमा फेरि सोध्थे “यो कथा नजानेको उत्तर के हो  ?” “गँगटा” भनेर उतर पहिला नै थाह भएर पनि बुझ पचाएर गाउँ खान दिएको भए फुर्केर गाउँ खाने मान्छेले थोत्रो डोको बोकेको मानिन्थ्यो र उसको जिल्ल्निे पालो आउथ्यो । त्यसैले बडो सुझबुझ होशसित यो खेल खेल्न जरुरी हुन्थ्यो । पुरानो सुनि सकेको भन्दा भरसक आफै रीडल बनाउन सके सुरक्षित हुन सकिन्थ्यो ।“कालो थालमा कनिका छरेको के हो ?” राती आकाशमा देखिने टलपले ताराहरुलाई हेर्दै कनीकुथी ब्राण्ड न्यू रीडल बनाउन खोज्थ्यो हामी केटाकेटीहरु । कल्पना ,तुलना, रहस्यहरुमा अल्झाउने गाउँ खाने कथासित बहकिन मलाई आज पनि खुब मनपर्छ र त्यतीबेला भने यिनीहरु नै हाम्रो सगोल परिवारको रमाइलो उर्जा र साझा खुशिहरु थिए ।


अहिले मलाई मर्ने गरि लाज लागेको भए पनि ,टाउकोमा जुम्रा पर्नु कुनै लज्जास्पद कुरा थिएन त्यो आमाको जमानामा । छर छिमेक गल्ली ,टोलमा  दिउसोतिरको फुर्सदिलो क्षणमा दुई चार जनाको झुण्ड बनेका महिलाहरु, जुम्राको शिकारमा व्यस्त देखिनु बडो सहजको कुरा थियो । अझ यो महिला महिला बिचमा अन्तरंगता बढाउने अवसर जस्तो हुन्थ्यो । कारण हल्का फुल्का कुरा देखि गम्भिर  मनको वह फुकाउने ,कुरा काट्ने , चियो चासो र गसिपिङ्गको मौका यस्तो जुम्रा हेरेको बेलामा जुर्न सक्थ्यो । हाम्रो परिवार पनि यसको अपवाद थिएन । फुर्सद पाएको बेला सिँढीको खुडकिलामा लहरै बसेर एक अर्काको टाउकोको जुम्रा हेर्दै ,गफसफको आनन्दमा भुलिनु आमाका सगोल परिवारका महिला माझ लोकप्रिय प्रकृया थियो । टाउकोमा जुम्रा छैन भने पनि दुई बुढि औलाको नङ जुधाँएर ,कपाल चिलाइ मार्ने  ठुँग मारि माग्नु ,अर्को आनन्ददाई कुरा थियो । लिखालाई कपालको जरादेखि तान्दै, कपालको चपरी चपरी केलाउदै ,कालो ढाडी र चम्किना खोज्ने लत लागेका यस्तो शिकारीहरुहरुको लागि घरमा म सबभन्दा सही पात्र थिए । मेरो टाउकोमा जुम्राको साम्राज्य थियो ।मेरो टाउकोको जुम्रा हेर्दै साथै हुने नाना भाँतिका गसिपिङ्ग सुन्दै ,एकठाउँमा बसिरहने नसक्नुको सकसले, म यस्तो बेला  भाग्ने बल गर्थे । कि त एउटा न एउटा बहानामा सुइकिन खोज्थ्ये । घरका अन्य सदस्यहरुको कपालमा बसाई सराइ गरिरहने जुम्राको लागि हजुरआमासित एउटा बाँसको काइयोमा बाक्लो धागोले बाँधेर लिखौटो लगाउने काइयो थियो । तर लिखौटो लाउने फुर्सदको दिन शनिवार भने म घरबाट बेपत्ता भइदिन्थ्ये । अनि एकदिन आमा आजित भएर मेरो सारा कपाल खौरिदिनु भएको थियो । 


र मेरोलागि एक मार्मिक गीत बनेको थियो 


“मुडली माउ मकै पोली खाउ

ऐना हेर्दै रातो टिका लाउ ... ”


घरका सदस्यहरुले मेरो छेउ आएर यो गीत गाउदा म रुँदै भूइँमा लडिबुडी गर्दै हाब्रो च्याति च्याति हात खुट्टाको हड्डी पट्काउदै ,भयकङ्करको कटाक पटाकको आवाज निकाल्थ्ये । 


सबैले उनलाई बैजन्तीमाला भनेर बोलाउथे । यो उनको असली नाम थिएन । तर उनको हिसी परेको अनुहार, सिनेमाको उतिबेलाको चल्ती हिरोइन बैजन्तीमालासित मिल्न खोज्थ्यो । उनी आमाको आँगनमा झाडू लगाउने, चर्पी सफा गरिदिने जम्दार्नी थिईन । लोग्ने चाहिँ काम धाम केही नगर्ने र पक्का रक्सिया थियो । तलब थाप्ने दिन भने उ हाम्रो आँगनमा कतै ढुकेर बसेको हुन्थ्यो । अनि आमाले दिनु भएको तलब थापेर बाहिर निस्किन नपाउदै ,स्वास्नीको हातमा झम्टेर महिना दिनको कमाई खोसेर लग्थ्यो । रुँदै सराप्दै लोग्नेको पछि पछि ,लाचार बैजन्तीमालालाई कुदेको देख्ते म । आमाले त्यो जम्दारलाई गाली गर्दा ,कति संझाउदा पनि केही सीप चलेको थिएन । 

एकपटक उनीहरु बस्ने बस्तीमा भयानक आगो लाग्यो । हाम्रो घरबाटै आगोको रातो मुस्लो र धूवाँ क्षितिजमा देखिन थालेको थियो । बस्ती सखाप पार्दै यो आगो सर्दै बजार अड्डासम्म आईपुगेको थियो ।बजार अड्डा र भानुटोलको दूरी त्यती नभएकोले संकटको सामना गर्ने तैयारीमा आमा लाग्नु भएको थियो । उहाँको योजना यस्तो थियो, बोक्न सक्ने जति मालताल लिएर आगोलागेको विपरित दिशातिर भाग्ने । सम्भवत उहिले सातसालको क्रान्तिको बेला गाउँबाट भागेको अनुभव यति बेला काममा आउन थालेको थियो होला हाम्रो आमाको । 

आमाको सगोल परिवारमा हल्लिखल्ली मच्चिएको थियो । के राख्ने के छोड्ने ? भाँडाकुँडादेखि सिरक,डसना र लुगाफाटाको, पोका पन्तेरो बन्न थालेको थियो । मेरो बालसंझनामा भने मैले जम्मा गर्न खोजेको घरको भित्तामा सजिएको फोटोहरु थियो । विराटनगरबाट भाग्दै कता पुग्छौ होला ? मैले सोच्न भ्याएको सीमा पारी भारतको जोगमनीसम्म मात्र थियो ? तर धन्न हाम्रो परिवारलाई भागेर भारत पुग्ने अवस्था आएन । हाम्रो घरमा आइपुग्नु भन्दा पहिला दमकलले आगोलाई नियन्त्रणमा लिएको थियो । तर डुम टोलमा भने एउटा छाप्रोको निशानसम्म बाँकी थिएन । भूइँसम्मै झोपडीहरु सबै जलेर खाक भएको थियो । हाम्रो बैजन्तिमाला यस आगलागिमा  झण्डै आधा जलेर बाँचेकी थिई । उनको सुन्दर अनुहार भने जल्नबाट बाचेको थियो । गर्धनसम्मको जलेको दागलाई साडीको आँचलले छोपेर केही महिना पछि झाडुबडारीको काममा फर्किएकी थिइन उनी । र एउटा फेरिएको कुरा बैजन्तिमालाको जीवनमा थियो, यो आगलागि पछि उनको लोग्ने सुघ्रिएको थियो । अब उ स्वास्नीले कमाएको तलब खोस्न होइन,काममा सघाउन आउन थालेको थियो । र दुबै हाँसीखुशि मिलेर आमाको आँगन स्वार्र स्वार्र बढार्न थालेका थिए ।

त्यो रातभरी दर्केर पानी परेको थियो । राम्रो फिनिसिङ्ग नगरेको हाम्रो छतको खाल्टा खुल्टी परेको ठाउँमा यसरी पानी पर्दा पोखरी जस्तै पानी जम्ने  गर्थ्यो। र आमा एकबिहानै छतमा जमेको पानी झाडूले बडार्न थाल्नु भएको थियो । यसरी बढार्दा बढार्दै, उहाँको नजर एक ठूटे कुचो माथि परेछ । एक हात जति मात्रको यो कुचो हातमा लिएर, निकै बेर नियालेर ,आमा के  निष्कर्षमा पुग्नु भएछ भने ‘यो कुचो त हाम्रो हुदै होइन , हो न हो पक्कै छिमेकी काहिँली साहूनीको हो ।’ ,आफ्नो घर गृहस्थीको समालतुमल ,आकार प्रकार सबको हिसाव किताब थियो आमासित । सम्भवत काहिँली साहूनीको यो कुचोलाई राती चलेको हावाहुरीले उडाएर ,हाम्रो छतमा खसालेको थियो होला । सबैसित हेलमेल मेलमिलाप राख्ने आमाको भने यो छिमेकी काहिँली साहुनीसित बेला मौकामा ठाकठूक परिरहन्थ्यो । साँधैमा उभिएको उनीहरुको हाम्रो भन्दा अग्लो र ठूलो तीन तल्ले घर थियो । काठमाडौंबाट विराटनगर झरेको नेवार काहिँला साहू, ठूला ठेकेदार थिए र ठेक्कापट्टाको  टेण्डर हाल्न बुवा र उनको बीच निकै प्रतिस्पर्घा चल्थ्यो ।बजैको जग्गा किनेर नै दुबै छिमेकीले आ आफ्ना घर बनाएका थिए । त्यसैले रीस उठेको बेला एक अर्कासित साँध मिचेको ,भन्ने आरोप प्रत्यारोपमा पाखुरा सुर्का सुर्की र बाझाबाझ पनि चल्ने गर्थ्यो । 

चिसो सम्बन्धको यस पृष्ठभूमीमा ,एकबिहानै काहिँली साहूनीको छतबाट खसेको यो “ एलिएन कुचो ”सित, आमालाई झनक्क रीस उठेछ । अनि आमाले पनि यो ठूटे कुचोलाई छिमेकी छत तिरै फिर्ता हुइक्याइदिनु भएछ । आमाले फालेको कुचो दनदनाएर, काहिँली साहुनीको ढाडलाई छुदै भ्यात्त उताको छतमा खसेछ । अनि त के थियो ,त्यो बिहान हाम्रो छतमाथि महाभारतको शुत्रपात भएको थियो । कुचो छतमा पुगेको गती भन्दा छिटो काहिँली साहूनी हाम्रो छतमाथि प्रकट भएकी थिइन । हातमा सोही रातभरी पानीमा भिजेको ठूटे कुचो लिएर । आमाको सबै सगोल परिवार एकातिर थिए र उनी एक्लै अर्कातिर । मानौ साँपले सुघेको थियो हामी सबैलाई । उनी ठूटे कुचोलाई आमाको परिवारको सबै ठूला साना सदस्यहरुको मुखमा लगेर नचाउदै , आधा नेवारी र आधा नेपालीमा गालीगालौज गरिरहेकी थिइन । नेवार भएर पनि नेवारी भाषा बोल्न र बुझ्न  नजान्ने, आमाको यो सागोल परिवारले भने काहिँली साहूनीको आधा गाली गलौज मात्र  बुझेका थियो । मनको भडास सबै पोखेपछि सो कुचोलाई हाम्रो छतमा बजारेर ,शानसित विजयी भावमा काहिँली साहुनी फर्केर गइन । तर उनको यो ठूटे कुचो हप्तौ सम्म हाम्रो मनोरन्जन गर्ने बस्तु बन्यो । मुखै नजिक लगेर कुचो नचाउदै ,ट ट म ट को नेवारी जिबरिस भाषामा काहिँली साहूनीको मिमीकिरी अनुकरण गर्ने यो “कुचो ड्रामा ”हाम्रो सगोल परिवारमा खुब चल्यो ।  


हाम्रो आमा

यो समयको अधिकाशं कुराहरुको संझना रहेछ मलाई । लेख्दा लेख्दै म उहाँको सानो टीनको मेकअपको बक्सालाई  सम्झिन पुगेको छु । जसमा आमाको केही सौन्दर्य प्रसाधनहरु थिए । जुरोको डल्ला ,काटा, पाउडर अनि रातो टीका । आमा बडो सधेको हातले, चिटिक्क परेको गोलो जुरो बनाउनु हुन्थ्यो । जसमा मौसम अनुसारको बारीमा फूल्ने एउटा फूल खोस्रिएको हुन्थ्यो । यो केस विन्यास पछि ,अनुहारमा क्रिम दलेर, हल्का पाउडरको पफ घुमाउदै, सिउँदोमा सिन्दूर र गोलो रातो टिका निधारमा लगाएर ,सुकिलो साडी फेरे पछि उहाँको साजसज्जा सकिन्थ्यो । यस्तो बेला मेरो काम चाहि आमाको लागि ऐना समातेर देखाउने थियो ।  “ सुक्कु ! कस्तो देखिए म आज ? तलको बसु आण्टि जतिको राम्री देखिए म ? ” यो हल्का मेकअपपछि तल भाडामा बस्ने इन्स्योरेन्स कम्पनी चलाउने ठाकुर अंकलको, दिनको तीनपटक महँगो सारी फेर्ने सुकुमारी राम्री पत्नी बसु आण्टिसित आमा आफूलाई  दाँज्नुहुन्थ्यो । आमाको सप्कोमा बाँधेको तामाको पच्चिस पैसाको सिक्का झार्नु पर्ने दिनमा लामो लेग्रो तानेर भनिदिन्थ्ये ... “बसु आण्टि भन्दा पनि राम्री ....” 

त्यसो भए हाम्रो आमा आफ्नो फेमिनेटी स्त्रियोचित प्रवृति प्रति सजग हुनु हुदोरहेछ । सधैँ भागदौडको व्यस्तताहरुमा, साजसज्जाको यो निर्धारित सानो समयको टुक्रालाई भने उहाँले केवल आफ्नो लागि छुट्याउनु भएको थियो । पहाडी पाखामा जन्मेको हाम्रो आमासित स्त्रैणप्रतिको यो सजग चेत त उहाँको पुराना फोटोले पनि झल्काउछ । थप सिनेमाको शौखिन आमालाई,हिरोइनहरुको पनि असर परेको हुन सक्छ । आमाले बनाउने जुरो हिन्दी सिनेमाको भाउजु र आमाको रोलमा खुबै जम्ने निरुपरायसित मिल्थ्यो । अनि पियानो बजाएर गाउने ‘अनुपमा’ सिनेमाको त्यो हिरोइनको जस्तै भावमा आमाले गुन्गुनाएको संझन्छु म आज पनि ।

“धिरे धिरे मचल ए दिले बेकरार... ” 

त्यसै पनि यो साठी सत्तरीको दशक क्लासिक सौन्दर्यको दशक थियो । एक पटकको कुरा हो बुवाले कलकताबाट , हिन्दी सिनेमाको हिरोइन बविताले बोक्ने लेटेस्ट फेशनमा चलेको एउटा हैण्डब्याग आमालाई उपहारमा ल्याइदिनु भएको थियो । यो गाढा सुन्तले रंगको थियो । फोम लाइनिङ राखेर बनाएको यो च्याप्टो हेण्ड ब्याग काँधमा होइन, हातमा झुण्ड्याएर कि पाखुरासम्म घुसाएर बोक्न पर्थ्यो। आमा यो ब्याग बोकेर हिड्न लजाउनु हुन्थ्यो । तर सगोल परिवारका हुर्किएका चेलिहरुको प्रेरणा र करकापमा पर्दै ,आमाले यो ब्याग बिस्तारै बोक्न थाल्नु भएको थियो । एकपटकको कुरा हो आमा सिनेमा हेर्न जानु भएको थियो । संजोगले त्यो दिन काठमाडौँबाट राजपरिवारको एक सदस्य माइली महारानी पनि जलजलामा सिनेमा हेर्न आएकी बेला परेछ । सिनेमा सकिएर आमाको अगाडि अगाडि माइली महारानी आफ्नो अंगरक्षकहरुको साथ सिँढी ओर्लि रहेकी थिइन । तर माइली महारानी भने घरी घरी र फर्कि फर्कि हाम्रो आमालाई हेरिरहेकि थिइन् । वरपरका सबैले यो कुरालाई नोट गरेका थिए । र यसपछिको हप्तौ सम्म, हाम्रो सगोल परिवार भित्र ,यसरी आमालाई माइली महारानीले किन हेरेको भन्ने रहस्य फुकाउन थरीथरीको अडकल अन्दाजहरु लागेको थियो । आमाको अनुहार कान्छी बैनी सूर्य आण्टीसित मिल्न खोज्थ्यो । माइली महारानी र सूर्य आण्टि त्रिभुवन युनिवरसिटीमा संगै पढेको र मिल्ने साथी थिए र त्यसैले “सूर्य जस्तै को महिला यस्तो भनेर हेरको हुनुपर्छ ” भन्ने आमा सहित सबैको मत यही थियो । तर मेरो मत अलि फरक थियो । पक्कै पनि माइली महारानीले आमाले बोकेको त्यो सुन्तले ब्यागलाई हेरेको हुनुपर्छ । हुनपनि त्यो चहकिलो ब्याग लोभलाग्दो गरी आउटस्याण्डिङ् थियो । परबाट जो कसैको नजरलाई आकर्षित गर्ने खालको । शायद यस राजपरिवारकी माइली महारानीसित पनि हाम्रो आमाको जस्तो सुन्दर हैण्डब्याग थिएन होला ।     


अनि आमाको त्यो मनचिन्ते बाकस नि ? सगोल परिवारका कोही सदस्यले आमालाई सोध्थ्यो “फलानो चिज खोइ ? ”कुनै काममा व्यस्त आमाको जवाफ आउथ्यो “ मनचिन्ते बाकसमा खोज ... ।” लगभग एकफिट जतिको लम्वाइ र चौडाइ भएको चार पाटे  टीनको खुइलिएको पुरानो बक्सा थियो त्यो । जुन“ मनचिन्ते बाकस”को नामले घरमा प्रसिद्ध थियो । पाटीमा लेख्ने खरी चाहियो, पेन्सिल,पिन्सो,सीयो,बटन,टाँक,धागो चाहियो, कि टाउको जीउ दुखेको छ भने आनन्दसागरको पुरिया, भिक्स, आइडेक्स । जसलाई जे चाहिएको छ ,आतुरी परेर खोजेको बेला आमाको यो अचम्मको मनचिन्ते बाकसले सगोल परिवारको सदस्यहरुलाई सितिमिती निराश पार्दैन थियो । झन मेरो लागि त यो  जादुको छडि थियो । आमाको साडीको सप्कोमा बाँधेको पैसा झार्न नपाएको दिन, मनचिन्ते बाकसमा खोजे त बंगाली बाबुको दोकानमा गएर पाचक ,इमलीको खट्टी मिठी अचार किन्न पुग्ने खुदुरा पैसा भेटिहालिन्थ्ये ।

आँगनमा आउने चाडपर्वहरु 

आमाको यस सगोल परिवारमा चाडपर्वहरुले निरन्तर प्रवाह पाएको हुन्थ्यो । आमाको किफायती र फारोतिनोको एकमुष्ठ असुली उपर हुदै मन खोलेर आँगनमा चाडपर्वहरु आउने गर्थ्यो । यसरी रचेबसेको दसैँको भुटेको रातो च्यूरासित मासु कवाफको भोज भतेर र तिहारको सेल,अनसरा, मेवामसलाहरु,माघे सक्रान्तिको योमोरी ,तीलको लड्डु, तरुल, दारा निस्केकोे बँदेलको मासु र जनैपूर्णेको लामो टुसा आएको क्वाटी, असार पन्द्रको दही च्यूरा, होलीको भाङ हालेको लड्डुहरु मेरो संझनाको कुहिरोभित्र आजसम्म ताजै र स्वाद सहित बसेका रहेछ । तर मलाई धेरै उदास बनाएर जाने त्यो धमिलो संझना ,पक्कै पनि माघेसंक्रान्तिको बेला घटेको हुनु पर्छ । त्यो बिहानै जब मैले जीवनभरी बिर्सन नसक्ने हिंसालाई अनुभव गरेको थिए ।  


झोडाको जंगलमा समातेको जंगली बँदेलको बच्चालाई बाँसको चोयाले बनाएको सानो पेरुङ्गोमा राखेर, कामतको एउटा हलीले आमालाई उपहारमा ल्याइदिएको थियो । यो बँदेलको बच्चा रहरलाग्दो गरी मायालाग्दो थियो । उ सान्दाजु र मलाई खुब पछ्याउथ्यो । बारीको माटो  थुथुनोले उधिनेर उ गँड्यौला खोज्थ्यो । हामी उसको यो काम सजिलो बनाइदिन, कुटोले माटो अलि गहिरो  खनिदिन्थ्यौँ । नाम पनि राखिदिएका थियौँ ,   रामु ! भनेर बोलायो भने उ घ्वाक घ्वाक गरेर जवाफ फर्काउथ्यो हामीलाई । लठ्ठीले उसको खस्रो ढाड कन्याइदिएको खुब मनपराउथ्यो । राती भने उ छोपेको डोको भित्र सुत्ने  गर्थ्यो। डोको भित्र नअटाउने भएपछि, आमाले उसलाई काठको खोर बनाइदिनु भयो । अनि खोरभित्र हेर्दा हेदै उ बडेमाको हुन थालेको थियो । थुथुनोको दुईतिरबाट उम्रेको उसको दारा आकाशतिर फर्किएको थियो । सान्दाजु र म कमलो इटालाई फुटाउदै ,ससानो टुक्रा पारेर उसलाई दिन्थ्यौँ । उ भने थुथुनोको दुईतिरबाट लसिलो रातो राल चुहाउदै सुपारी चपाएको जस्तो गरेर खुब स्वाद लिएर ईटा चपाउथ्यो ।   


त्यो माघेसंक्रान्तिको एक बिहानै मान्छेहरु आमाको गाईको गोठ नजिक रामु बँदेल बसेको खोरमा जम्मा हुन थालेका थिए । अनि बुवाको दुई नाले बन्दुक दुई पटक गर्जिएको थियो ,रामुको दुई कनपटीलाई ताकेर । उसको निस्प्राण देह पछारिएको देख्न नसकेर ,कान थुनेर परालको थुप्रो भित्र सान्दाजु र म घुस्रिएको सम्झना आउछ मलाई चाहिँ । अनि धेरै बेर रोएर भान्साघरमा पाकेको रामु बँदेलको मासु खान नमानेको याद पनि आउछ मलाई । मासु खुब खानु पर्ने हाम्रो आमा पनि उदास भएर त्यो दिन स्वीकारदै हुनुहन्थ्यो “ मान्छे भनेको राक्षस पनि हो ।” आँगनमा जंगली बँदेलको मासु किन्न तछाड मछाड गर्ने मान्छेहरुको ओइरो लागेको थियो । हाम्रो प्यारो “रामु बँदेल ” माघेसंक्रान्ति चाड मान्ने मान्छेहरुको स्वादे जिब्रोकोलागि बलिदान भएको थियो ।


 बिस्तारै होश सम्हाल्न थालेपछि  दसैँ आएको संकेतको मध्य रात तिर एउटा रिच्युएलबाट  शुरु हुने भेउ पाउन थालेको थिए । घर छरछिमेकतिर जजमज.. जजमझ..योझोमोझो... योजोजोजो... जस्तो लाग्ने उच्चाणहरुमा ,मानौ हजारौ भमराहरु एकसाथ मिलेर गुन्जिन थाल्थ्ये । लामा भाषाको जस्तो लाग्ने यो मन्त्रोच्चारणको बिचोबिच बज्ने लामो टूऊऊऊ  ...टुऊऊऊऊको शंख फुकेको जस्तो ध्वनी सुनेर डरले छट्पटिएर निन्द्राबाट जाग्थ्ये । आमाको जीउमा टाँसिदै सिरकभित्र घुस्रिएर कान थुनेर रुन्थे म । मध्यरातमा दुई वा चार जनाको समूह बनाएर घरको वरिपरि र छरछिमेक चारैतिर घुमी घुमी मन्त्र र शंख फुक्ने यिनीहरुको बारे आमाले हामी केटाकेटीहरुलाई भन्नु भएको थियो, यिनीहरु मसान बाँध्ने हुन रे । उनीहरुको यस्तो तन्त्रमन्त्रले भुतप्रेत ,पिचाश बाँधिन्छन् रे । अनि उनीहरुले निकाल्ने ध्वनी कुनै शंखबाट होइन, मसानघाटमा पाउने नली खुट्टे हाड बजाएर निकाल्छन रे । रातभरी तन्त्रसाधना गर्ने गठिला शरीरका देखिने यी मंगोल तान्त्रिकहरु बिहान आमाको आँगनमा, थैली लिएर उभिएका हुन्थ्ये । आमाको पुच्छर लागेर चामल र पैसा राख्न जादा, म भने उनीहरुले राती बजाउने बाजा हेर्न उत्सुक हुन्थ्ये । आमाको अनुरोधमा उनीहरुले बोकिरहेको चामलको थैलाबाट झिकेर देखाएको नली खुट्टाको लामो हाडे बाजा अझै मेरा संझनाहरुमा सुरक्षित नै रहेछ । अहिले सोच्दैछु मैले जीवनमा भेटेको पहिलो कलाकारहरु उनीहरु नै हुनुपर्छ । तर मन भित्र भयरस उत्पन्न गर्ने कलाकार ।


मध्यरातको तन्त्रसाधना बाहेक ,दसैँ ताका हाम्रो सगोल परिवारमा दिनदिनै जसो पूजा अर्चना चल्थ्यो । हाम्रो हजुरबुवा भने यस्तो चाडपर्वको “डेजिग्नेटेट ” पूजारी हुनुहुन्थ्यो । साथै दसैँको हिन्दु सम्मत बली दिन खसी बोकाको प्रबन्ध कर्ता पनि उहाँ नै हुुनुहुन्थ्यो । शनिहाटमा बाँकटे खसी छान्न म पनि हजुरबुवासित जान्थ्ये । उहाँको पारखी हातले कहिले खसिको कान छाम्न थाल्थ्यो त कहिले खुट्टा र भूँडी । धण्टौको मोलतोल बार्गेनिङ्ग चलेपछि ,अन्त्यमा साहूले खसीको दाम्लो हजुरबुवाको हातमा थमाइदिन्थ्यो । हजुरबुवाको सानो एसिस्टेन्ट थिए म । खसी मात्र होइन नदीको चोखो माटो लिन हजुरबुवा मलाई साथै लग्नु हुन्थ्यो । उहाँले घरको पूजाकोठा अँध्यारो पारेर टपराहरुमा नदीको चोखो माटो ल्याएर रोपेको मकै, धान र जौ हेर्दा हेर्दै नौरात्रीभित्रै कलिलो सुनौलो जमरा बनेर लहलहाउन थाल्थे । अनि बडादसैँका दिनमा टीका थाप्ने शीरमा र हार जस्तो माला बनेर घरमूलिको गलाको शोभा बन्ने गर्थे । आमाले सनक्क लिपेको आँगनमा चारवटा सिन्काको खुटा हालेको कुभिन्डो वा धिरौलालाई हजुरबुवाले मारहान्दै छयाक्क काटी सकेपछि रगत जस्तो देखाउन काटेको भागमा रातो अभिर दलेर देवीको थानमा “लौ  परमेश्वरी रक्षे गर ..” भन्दै चढाउनु हुन्थ्यो । अनि कहिले भने विशेष अनुष्ठानसित मन्त्रजाप गदै अक्षता पानीले पर्सेर साँच्चैका बली बनेर कुखरा , खसी बोका ,हाँस तप तप रगत चुहाउदै हजुरबुवाको देवीको थानमा चँढ्थे । अनि प्रसादको रुपमा भान्सा घरमा, कवाफ, सुकेर जमेको रगतको रक्ति, आन्द्रा भूँडी, फोक्सोको भुटन, आदि अनेक पक्वानको भेषमा पाक्न थाल्थे । अरु उब्रिएका मासुहरु सुकुटी बनेर तन्द्रागङ्ग तुदु्रगङ्ग चुल्होमाथि झुण्डिन थाल्थ्ये ।      


मेरो धमिलो संझनाबाट तैरिएर आएको आमाको यो सगोल परिवारमा दसैँमा “सीर खाने ”भन्ने एउटा भोजको आयोजना हुने  गर्थ्यो। तर यो भोज खान भने केटाकेटी र स्त्रीजात वर्जित थिए । अष्टमीको बोका, खसीको आँखा, कान, जिब्रो, गिदी आदि टाउकोको भागलाई अनेक परिकारमा ढालेर ख्वाउने यो भोजलाई भने घरको शिर्षस्थ टाउके पुरुषहरुले मात्र खाने चलन थियो । अहिले सोच्दैछु यस्तो “सीर खाने ” रीच्यूवेल पक्कै पनि पितृसत्तात्मक परिवरमा पुरुषको श्रेष्ठता र  वर्चस्व देखाउनलाई चलेको रीत हुनु पर्छ । 

आमाको नौकन्या पूजा



दसैँको नौरथामा भोर हुन अघि मन्दिरमा पूजा आराधना भ्याउनुमा होस, कि शक्तिको नौ रुपको अर्चना गर्न, घर छरछिमेकबाट कुमारी केटीहरु भेला गरेर नौकन्याको पूजाको आयोजनामा होस,आमा सदा चुस्त दुरुस्त देखिनु हुन्छ । दसैँको नयाँ लुगा, दक्षिणाको व्यवस्था लगायत पाहुना पासा इष्टमित्रका ससम्मानमा हुने भोजभतेरको आयोजनाहरु, सबै आमाको नेतृत्वमा सुन्दर र पूर्ण थिए । दसैँको लागि अलि सस्तो पर्ने भएकोले होला प्राय चिनी ,दाल, मरमसलाहरु लगायत परिवारको दर्सैका लुगाफाटाको किनमेलहरु सीमा नजिक पर्ने भारतीय बजार जोगमनीमा सम्पन्न हुन्थ्यो । यसरी किनिएको सामान सीमा चौकीमा ,कहिले काही चेकिङ्गमा पनि पर्ने गर्थ्यो। यसरी किनिएको सामान ,भारतीय सीमा प्रहरीले खोस्न पनि सक्थ्ये तर यो जोखिम उठाएर पनि किनमेल जोगमनीमा नै हुन्थ्यो । म सम्झन्छु यस्तो बेला ,धेरै जसो आमासित जानु हुने हाम्रो एक दुस्साहासी साँहिली काकी हुनुहुन्थ्यो । म देख्थे, खरिदारी सकेर पसलभित्रको एक कुनामा छेलिएर उहाँ एकपछि अर्को गर्दै ,छ सातबटा साडीहरु जीउमा मज्जाले बेरेर लगाउनु हुन्थ्यो । अझ नपुगको भए  केही लुगाफाटा थपएक्स्ट्रा उहाँको पेटिकोटमा घुसारेको हुन्थ्यो । दुब्लो पात्लो शरीरको साँहिली काकी हेर्दा हेर्दै गोलमटोल फुल साइजको गर्भवती महिला जस्तो देखिनु हुन्थ्यो । 


झमक्क साँझ परेपछि मात्र , सीमा चेक पोस्ट काट्ने योजना बन्थ्यो र सोही अनरुप मनभित्र त्रास र तनाव भए पनि सामान्य भावमा, आमाको यो सपिङ्ग टोली लुरुलुरु हिड्थ्यो । बाँसको लामो लठ्ठाले छेकेको वारी पट्टि फुत्त निस्केर, नेपालको भूमी टेकपछि मात्र बल्ल टोलीले राहतको सास  फेर्थ्यो । “कसको हिम्मत ,गभवर्ती महिलाको शरीर छाम्ने ?” भन्दै काकीले घर आएपछि मरिमरी हाँस्दै नयाँ साडीहरु शरीरबाट अलग गर्दै खाटमा थुपारेको सम्झन्छु म र अहिले सोच्दै छु , उती बेला महिला प्रहरी हुन्थ्येन कि क्या हो ? यो सानो तिनो “तस्करी ” त पक्कै हो,  तर व्यापारिक प्रयोजनको कालोबजारी भने थिएन । दैनिक र निजी उपभोगकोलागि अलि बचत गर्न खोज्ने महिलाहरुको रमाइलो बठ्याई थियो ।

 


सगोल परिवारसित दसैँ मानेर

 

आमाको यो सगोल परिवारको घेरा बाहिर मास्के परिवारको अर्को विशाल घेरा थियो । दसैँको साइतमा घरको टीका थाप्ने काम सके पछि , मास्के नौ भाइका जेठा लप्टन तीलविक्रम हजुरबुवाको आँगनमा भेला हुनु  पर्थ्यो । जहाँ धरान, झापा, हरैचा, विराटनगरमा छरिएका मास्के खलक जम्मा भएर दसैँको टीका लगाउने चलन थियो । जेष्ठताको क्रममा पहिलो पालोमा नौ दाजुभाई हजुरबुवा र हजुरआमाहरुको जोडी , कुर्सीमा गोलो घेरा बनाएर बसेको हुन्थ्यो । यसपछि उहाँहरुको छोरा बुहारी खलकको रोलक्रममा पालो आएको हुन्थ्यो । यो पालो सके पछि तिनका पनि भाइ बुहारीको अनि भाइहरुका भाइहरुकोे.... यसरी अन्त्यहीन लाग्ने यस्तो गोलो घेराहरुमा फन्को मार्दै हजुरबुवा हजुरआमा, तरिबुवा तरिआमा ,काका काकी ,दाजु भाउजु आदिको हातको टीका थाप्ने क्रम दिनभरी जसो चलिरहन्थ्यो ।


मास्के खलकका नौभाइ हजुरबुवाहरु

 रमाइलो लाग्ने कुरा के थियो भने उहाँहरुले टीका लगाएर दिएको दक्षिणा थाप्न मेरो दुईहात काफी हुन्थ्येन , दसैँ को नयाँ जामाको पोल्टा बनाएर थाप्नु  पर्थ्यो । छोरी चेलीले मात्र दक्षिणा पाउने छोराले नपाउने  चलन थियो दसैँको । मलाई भने दाजुभाइलाई यस्तो भेदभाव गरेकोमा अचम्म लाग्थ्यो ? तर अहिले भने सोच्दैछु ,शायद यो छोरीलाई अंस नदिइने,छोराले मात्र पैत्रिक सम्पति पाउने रीतको पूर्खाहरुले चलाएको सानोतिनो  कम्पेनशेसन थियो होला । 

यसरी दसैँ आयो आयो भन्दा भन्दै खुरुक्क जान्थ्यो पनि । तर लगतै अर्को खालको रमझमले  हाम्रो घर आँगन फेरि व्यस्त देखिन थाल्थ्यो । हजुरआमाले बनाएको दुनोमा दिएको चोखो खानेकुरा टिपेर काग, काग.. काग.. गर्दै मानौ पाँचदिने तिहार आएको उदघोष गरेर जान्थ्यो । अनि त के थियो, घरलाई चुनाले रंगाउने चटारो र ओखलमा चामल कुटने व्यस्ततासितै ,सेलरोटी ,अनसरा ,फिनी र सयपत्रीका बासहरुले घरदैलो गम्किन थाल्थ्यो । 

संझनामा आएको छ ,कलकत्ताबाट बुवाले ल्याइदिएको आमाको त्यो पित्तले मेशिनको । चामलको पीठोलाई उसिनेर ढीडो जस्तो भएको साना डल्लोलाई ,आमा तात्तातै मेशिनको मुखमा कोच्नु हुन्थ्यो । अनि घरको कुनै बलियो सदस्यले कुर्सीमा अडाएको मेशिनको हेण्डिल फन्फन् घुमाउदा, यसको मसिनो प्वालबाट काइदाको गीलो पीठाको झल्लरहरु निस्किन थाल्थ्यो । जसलाई आमाले गोलो आकारमा थाप्दै घाममा सुकाउन राखिदिनु हुन्थ्यो । घाममा मज्जाले खङ्गरंग सुकेको यी रातो,पहेलो,सुन्तले रंगहरुका यी झल्लरे रोटी, डीपफ्राई गरेर निस्किदा रहरलाग्दो फक्रिएका फुलहरु जस्ता देखिन्थ्ये । कलात्मक रोटी बनाउने यो मेशिनको बढ्दो लोकप्रियताले गर्दा तिहारको मौसममा आमासित  पैँचोमा मागेर लैजान नातेदार र छरछिमेक महिलामा हानथाप चल्न थालेको थियो  ।  

यो सगोल परिवारमा दुईवटा पाल्तु कुकुरहरु थिए ,भगतराम र जगतराम अनि सेतो कालो टाटेपाटे सुन्दरी मेरो बिराली झुमी पनि । कुरा झुमीको उठ्दा मलाई अरु यादहरुले पनि सताउन थालेको छ । प्रसंग मिलोस या नमिलोस नलेखि भएको छैन मलाई ..कुरा हो त्यतिबेलाको जब हाम्रो यो सगोल परिवार बिरालो विहिन थियो । संसारी थानको नजिक बस्ने आमाको नाता पर्ने एक सासू हुनुहुन्थ्यो । मास्के नौ दाजुभाइ मध्येका जेठा लप्टन तीलविक्रम हजुरबुवाको धर्मपत्नी भएकोले हामी उहाँलाई लप्टनी हजुरआमा भनेर बोलाउथ्यौँ । बुवाको सम्झनामा मास्के परिवारका उतिबेलाका केही गरिमामयी महिलाहरुको नाम लिनु परे उहाँको नाम सबैभन्दा अग्रपंक्तिमा आउने गर्थ्यो रे । मायालु, अनुशासित र आध्यात्मिक व्यक्तित्वको धनी यो हजुरआमा, हाम्रो आमासित खुबै रिझिनु भएको थियोे रे । आमा प्राय लप्टनी हजुरआमाको घरमा गईरहनु हुन्थ्यो अनि भन्नु पर्दैन, पुच्छर बनेर म पनि पुगेका हुन्थ्ये । यसरी भेट्न गएको बेला सासूलाई काममा 

आफ्नो चार पुस्तासित लप्टनीहजुर आमा

सघाउन आमा ,कोठा कुचो लगाइदिने, भान्सामा च्याँइचुइ    पारेर  भात, तरकारी पकाइदिने गर्नु हुन्थ्यो । सिक्किममा बिहे भएर गइसकेको एकमात्र छोरी हुनुहुन्थ्यो रे उहाँहरुको । हाम्रो सगोल परिवारमा जता पनि घरभरी मान्छेहरुलाई देख्ने बानी लागेकोले होला ,यो घर प्राय शान्त र सुनसान जस्तो लाग्थ्यो मलाई । म लप्टनी हजुरआमालाई टोल छिमेक

 महिलाहरुसित बडो सभ्रान्त पारामा, ताशको बाजीमा रमेको देख्ते कि त पूजा कोठामा आध्यात्मिक साधनामा व्यस्त देख्ते । उहाँसित मलाई सारै अकर्षित गर्ने चौँरीको पुच्छरको झुप्पालाई चाँदीको मोठले बेरेको सेतो“चमर” थियो । यो अरु बेला छुन मनाही भए पनि उहाँले पूजा आरती गरिरहेको बेला “चमर” समातेर देवदेवीलाई हम्काउन मलाई अनुमति दिनु भएको थियो । यो काम बाहेक मेरो अर्को निजी ध्याउन्न पनि थियो , लप्टनीहजुरमाको घरमा केही बिरालाहरु थिए र एउटा बिराली मेरो नजरमा थिई । उ भने मलाई देख्ने बितिक्कै लुसुक्क लप्टनी हजुरआमाको खाटमुनी लुक्थि । सुरी...सुरी ....भनेर रातदिन पछि लाग्दा पनि ,यो बिरालीको मन मसित पग्लेको थिएन । मेरो मरिहत्तेको माया देखेर लप्टनी हजुरआमा यो बिरालो मलाई दिने निधोमा पुगिसक्नु भएको थियो । 

एकदिन लप्टनी हजुरआमाको फूलबारीको अमलाको रुख मुनी यो बिराली घाम तापेर न्याप लिइरहेको अवस्थामा पछाडिबाट मैले उसलाई झ्याप्पै दुईहातले समातेको थिए । अनि बादर्लीबाट हेरिरहनु भएको लप्टनी हजुरआमाले जोर जोरले हास्दै मलाई निर्देशन दिइरहनु भएको थियो । “लैजा... लैजा ..बिरालोको आँखा थुन्दै लैजा ..” र मैले यसै गरेको थिए । आमाले भनेपछि थाह पाए । यी बिरालोहरु बाठा हुन्छन रे उनीहरुले बाटो चिने भने फेरि पुरानो घर फर्किन सक्छन रे त्यसैले आँखा छोप्न जरुरी थियो । यही बिराली, मेरो झुमीको आमा थिई । अनि यही माउ बिरालोले गर्दा हाम्रो सगोल परिवार बिरालो विहिन घरबाट “ बिरोलोको गोठ”मा फेरिएको थियो ।

कुकुर पूजाको दिन टीका ,माला लगाएर पेट भरी टन्न चोखो मीठो मासुभात खाएर घरका कुकरहरु भने गजक्क र दंगदास पर्थे । बिरालो उदास भएर घुमेको देखेर ,मलाई भने बिरालो पूजा किन नगरेको होला भन्ने प्रश्नले सताउथ्यो । यो चलन पक्षपात जस्तै लागेर कुकर तिहारको दिन म मेरो बिरालोहरुलाई सुटुक्क माला ,टीका लगाइदिन्थे । 

जीवजन्तुप्रति सम्मानको धारणा, धार्मिक र परापूर्वका व्याख्या संकेत र रहस्यलाई यस्ता चाडपर्वको रमाइलो मिसाएर हामी केटाकेटीहरुको अघि ल्याइदिएको हुन्थ्यो ।यसै लहरमा आउने गाईतिहार मनाउन गाई खोज्न, अरु छरछिमेकले जस्तै भौँतारिनु पर्थेन हाम्रो परिवारलाई । आमाको सानो गोठमा एउटा न एउटा दुहुनो गाई  सधैँ जसो हुन्थ्यो । गाईको बच्चा, बाछी भए लक्ष्मी पूजाकै दिन दुबैको पूजा हुन्थ्यो । बाछो भए गोर्वधन पूजाको दिन गोरु मानेर पूजा गर्ने चलन थियो ।  यो बेला घरको सबै सदस्यहरुले मिलेर रातो ,पहेलो, सेतो चहकिलो रंगहरु मिसाएको चामलको पीठोको लेदोमा सयपत्री फुलको  थुँगो चोप्दै गाईको जीउ भरी छप छप छाप लगाएर सिँगारिदिने चलन थियो । सिङ,गर्दन र खुरलाई सयपत्रीको माला लगाइदिएर नाङ्लोमा चामलको पीठो, रोटी, सेल , फलफुलका टुक्रा टाक्री मिसाएको मीठो खानेकुराको ट्रीट दिएर गाई पूजा हुन्थ्यो । पूजाको अन्त्यमा सम्मान देखाउन गाईको टाँग मुनिबाट छिर्दै अर्को तिरबाट निस्कन  पर्थ्यो  । जुन साना केटाकेटीहरुले गर्न मात्र सम्भव हुन्थ्यो । यो बेला गाईको लात खाने सम्भावना भए पनि , चार खुरमा चढाएको खुद्रा पैसा टिप्न ,सान्दाजु र म भने यो जोखिम खुशिसाथ उठाउथ्यौँ । ।    


तिहारभरी घरका साना ठूला सबैलाई कामको भ्याइ नभ्याई हुन्थ्यो । यो बेला आमाको सगोल परिवार मानौ मिलीजुली श्रम गर्ने मौरीहरु बन्थ्यो । लाभा,सुपाडी फुल ,जरिराखेको  ल्वाङ्गको कहिले नओइलाउने माला उन्न ,जजन्का बनाउन, सालको पातको बोता, दुना र लपेस गाँस्न आमाको नेतृत्वमा रातोदिन धुरिएर लागेका हुन्थ्यो । घरको बार्दली,दलिन ,ढोका र  झ्याल यहाँसम्म माझेर झकमक पारिएको तामाका गाग्रो,  भाँडाकुँडा धरिले सयपत्रीका माला लगाएर सजिन पाएका हुन्थ्ये । नयाँ माटोका पालाकोलागि आमाको विशेष निर्देशन हुन्थ्यो, यस्तो पालालाई पानी पियाउनु पर्छ ,नत्र काँचो पालाले तेल बढी सोस्छ रे । अनि पुरानो पालालाई धोइपखाली घाममा सुकाए पछि ,पालामा तेल र बाती हालेर छत बार्दली झ्याल र घरको कुना काप्चामा राख्दै दीपमाला बाल्ने चटारो शुरु भैहाल्थ्यो ।   


उता लक्ष्मी पूजाको साँझ खत्रक्क के खस्नु भैलिनीहरुको मधुरो समूहगानले आँगन गुन्जिन थाल्थ्यो । 


“ भैलिनी आइन  आँगन  गुन्यू चोलो मागन

हे .. औसीको दिन गाईतिहारो भैलो... 

हरियो गोबरले लिपेको लक्ष्मी पूजा गरेको 

हे... औंसीको दिन गाइतिहारो भैलो...” 


भैलिनीको पाश्र्व संगानमा आमाको लक्ष्मी पूजा शुरु हुन्थ्यो । आँगनदेखि ससानो गुलाबी पाइतालाको प्रतिक बनाएर घर र चोठाकोठा लक्ष्मीलाई भित्र्याए पछि ,सुन्दर पहिरनमा सजिएर आमाको यो सगोल परिवार, दीपमाला हेर्न बजार अड्डा हुदै कालीथानसम्मको एक फन्को लगाउथ्यो । बाटोको कुन घर वा कुन पसलको सजावट राम्रो ? मत सबैको मिल्दैन थियो । कसैलाई केराको थाम खोपेर बाँसको खपेटोमा सजाएको दीपमाला मन पर्थ्यो भने,कसैलाई  बुट्टे कलस र सयपत्रीको झल्लादार मालाले सजाएको प्रबेशदार  मन पर्थ्यो । तर मलाई भने यसरी सौन्दर्यलाई निहार्ने आफन्तहरुका आँखामा दीयोको किरमिचे चमक हेर्न मन  पर्थ्यो । गल्ली थर्काएर अनार ,झिरझिरे र चक्र, रकेट, पटका पड्काउने मनोरन्जनसितै  लक्ष्मी पूजाको रात जाग्राम बस्दै आमाको सगोल परिवारका साना ठूला सदस्यले जुवाडे सरह पालै पिलो हत्केला भित्र छङछङ्ग बजाउदै “लौ मारा” भन्दै कराएर कौडा भुइँमा छर्दै रमाइलो गर्ने चलन थियो । अनि फलास ,जुतपत्ति ताशको खेल पनि यो दिन पैसाको कारोबारमा खेल्ने आमाको छुट थियो हामीलाई ।

यसपछि देवीदेवहरुलाई होइन स्वयलाई पूजा गर्ने दिन “म ” पूजा आउथ्यो । यस्तो चलन त संसारै भरी खोज्दा पनि पाइदैन होला । थाह भएन आमाको व्याख्या के हुनेथियो यस चाडमाथि । तर अहिले सोचमा छु हाम्रा उपनिषदका ऋषी मुनीहरुले “  अहम् ब्रम्हास्मि ” “तत्वमसि ”  “सोहोम ” अथार्त“ त्यो म हु ”  भनेर गरेको संकेतमा आफूलाई परम चेतना मानेर आफूले आफूलाई पूजा गर्नेचलन चलाएका हो कि त हाम्रो पुर्खाहरुले ?

हेर्दा हेर्दै भाइटीकाको दिन पनि आइपुग्थ्यो । सगोल परिवारका सदस्य माझ रेखी बनाउन चल्ने प्रतिस्पर्धामा सधैँ जसो भने आमाको कान्छी नन्द गायत्री निनीको रेखीहरुले नै बाजी मार्ने गर्थ्यो । उहाँको आडेतिर्छे रेखीहरु हेर्दाहर्दैे एक सुन्दर कलाकृतिमा फेरिन्थ्ये ।

आमाको परिवारको चलन थियो, सुपाडी टुक्रा र सयपत्रिको फूललाई खामेर छोरीचेलीले भाइटिकाको निम्तो बाड्नु  पर्थ्यो । यो निम्तोमा रगतको साइनो भित्रका मात्र होइन मनले बनाएको दाजुभाइ पनि अटाउथे । चारदाजुहरुको धनी हाम्रो आमाको एकपछि अर्को गर्दै सारा दाजुहरु कलिलो उमेरमै बित्नु भएको थियो रे । तर आमाको भाइटीकाहरु भने कहिले खाली हात गएको मेरो स्मृतिले संगालेको छैन । मनको साइनोले बनाउनु भएको धेरै दाजु र भाइहरु थिए उहाँका । बुवाको पुरानो ड्राइभर दुर्लभ मामा, मारवाडी मामा, यहाँ सम्म कि घरको डेरामा बस्ने पंजाबी इन्जिनियर मामा । आमा उहाँहरुको स्नेही कृष्णा बैनी, कृष्णा दिदी हुुनुहुन्थ्यो । 

यसरी दिदी बैनीको भाइटीकामा पाएको निम्तो मान्न तैयार भएर आएका दाजुभाइहरुकोलागि अलग अलग पूजा मण्डप सजिन्थ्यो । कपाल कोरिदिएर,अत्तर, ढाका टोपी ,जजन्का र थरीथरीका मालाहरु पहिराएर ,दूबो पानीले छेकेर भाइटीकाको रीतपूर्वकका लामा र सुन्दर आयोजना चल्थ्यो । केराको पातको मदतले निधारमा बाटुलो सेतो धर्का बनाएर अनि यसमाथि थोपा थोपा गर्दै सातवटा रंगको टीकाले दाजुभाइहरुको निधार सजिन्थ्यो । अनि अर्को सालमा फेरि आउन बाचामा आमाको आँगनबाट तिहार विदा हुन्थ्यो ।

चाडबाडको यही लहरमा अहिले मेरो सम्झनामा आइरहेको त्यो नै मेरो पहिलो आमाको मुख हेर्ने दिन हुनुपर्छ । कुनै खेलमा व्यस्त भइरहेको मलाई , “आमाको मुख हेर्न जाउ रे ” भन्ने सन्देश मिलेको थियो । मनमा यस्तो कुरा खेलाउदै थिए मचाहिँ । “आमाको मुख त सधैँ हेरेको हो । आज कतै लुक्नु भएको छ आमा ? कि हिन्दी सिनेमाको हिरोइनले जस्तो लामो घुम्टो काडेर मुख लुकाएर बस्नु भएको छ ?” म उत्सुकताले भरिएर कोठा भित्र छिरेको थिए । उज्यालो अनुहार लगाएर बसिरहनु भएको  थियो आमा । निनी, काका, दिदी ,दाजु आदि घरका सदस्यहरुले घेरिएर । दिदी ,दाजुहरु सहित आमा सरह मान्दै निनी, काकाले पनि पालै पिलो आमाको निधारमा  टीकालगाएर सगुन, उपहार आदि दिइरहेका थिए । मलाई सिकाए जस्तै गरि आमालाई टीका लगाइदिएर ढोगे पछि ,आमाले नै ठीक पारिदिनु भएको उपहार आमालाई दिएका थिए मैले चाहिँ । त्यो सानो गोर्खापत्रले बेरिएको पोकाभित्र आमालाई चोलो सिलाउन पुग्ने गाढा खैरो रंगको प्वाल बुट्टे कपडा थियो । जसलाई म आजसम्म जस्ताको तस्तै संझिन सक्छु । अनि आमाको मुख हेर्नदिन भने आमाको तस्वीर हेर्दै त्यही चोलोको सानो टुक्रा कपडालाई सम्झिएर अक्सर सोच्छु ,मैले आफै कमाएर किनिदिने उमेरको भएर आमाको मुख हेर्न पाएको भए म आमालाई के उपहार दिन्थ्ये होला ? छान्नकोलागि कैयौ भौतिक उपहारहरु मेरो आँखा अघि नाच्छन तर मलाई भने मैले आमालाई कहिलै भन्न नभ्याएको र नपाएको केही शब्दलाई वाक्यमा उनेर भन्न मन लाग्छ “ म तपाईलाई धेरै माया गर्छु आमा ..” 

क्रमश....

Comments