तीन पुस्ता– भाग ८ – किस्सा र कहानीहरुमा




  आमा छोरी– तीन पुस्ता

पहिलो पुस्ता – भाग ८ 

सुसन मास्के

किस्सा र कहानीहरुमा 

थोरै  आफ्नो र घेरै अरुको संझनाहरुको भरमा संगालिएको आमासित जोडिएका किस्सा र कहानीमा रोमान्चित भएको
छु ,छक्क परेको छु , रोएकोे छु , हाँसेको छु । यस्तो बेला ती सबै खाले अनुभूतिहरुले मलाई डोर्याएर आमासित अरु नजिक पुर्याएको हुन्छ । उहाँको जीवनमा घटेका यी साना ठूला कुराहरु संझिनु र थाहपाउनु नै मातृविहीन मेरो अन्तसका घाउहरुकालागि उपचार सरह भए । उहाँसित जोडिएका हर तीता मीठा संझनाहरु मेरोलागि चन्दन बने र म यसमा सर्पजस्तै लठ्एिर आजीवन बेरिएर रहे ।

एउटा रोचक किस्सा आमाको साहिली नन्द पार्वती निनीको संझनामा रहेछ । “ भाउजुले एकपटक  चिठीसहित एउटा केटीको फोटो दाजुको गोजीमा फेला पार्नु भएछ । जलजला सिनेमाको कामले  कलकत्ता गईरहनु पर्ने दाजुको सम्भवत यो समय कुनै बंगाली केटीसित मित्रता बढेको थियो होला । अनि भाउजुले  बडो पीर लिएर ‘ नानी मलाई पनि लेख्न सिकाइदिनुस न ’ भनेर  मसित लेख्न सिक्न थाल्नु भयो । अनि केही समयपछि भाउजुले त्यो केटीलाई बेस्सरी  मनपरि गाली  लेखेर , आइन्दादेखि मेरो श्रीमानलाई पत्र सत्र नलेख्नु भन्ने आशयको एउटा चिठी पठाउनु भयो । यस चिठीले दाजु विवाहित भएको थाह पाएपछि, बंगाली केटीले दाजुसितको यो सम्बन्ध तोडिछे ।”

यो छोटो चटपटे किस्सालाई पार्वती निनीले संगाली राखेको संझनाहरुको सानो आँखी  झ्यालबाट मलाई चिहाउन दिनु हुन्छ  । फेरि आफूमाथि आईलाग्न लागेको अर्को निजी आपतलाई अगाडि नै सुइँको पाएर अनि आफ्नै ढंगले निकालेको यो समाधान देखेर कहिलेकाही म चाहिँ एउटा फ्यान जस्तै आमाको बाठोपन माथि मुग्घ हुनपुग्छु ।

आफ्नो कान्छी नन्द सितको सहचर्य भने आमालाई  मनपर्थ्यो रे । कतै डुल्न जान परे ,पूजा आजामा आमा विशेष गरि गायत्री निनीलाई साथमा लिएर जान रुचाउनु हुन्थ्यो रे । विषेश स्नेह थियो रे आमाको आफ्नो कान्छी  नन्दसित । गायत्री निनीले चाहेको कुरा भरसक पुर्यादिन खोज्नु हुन्थ्यो रे ।नन्द भाउजुको यो मिल्ती शायद सिलाई , बुनाई , कढाई ,क्रसस्टिज ,क्रोशिया जस्तो क्रिएटिभ र एक आपसमा मिल्ने उस्तै समान रुचीले गर्दा थियो कि त ? मसित भएको कुराकानीमा आमालाई मनपर्ने उनै गायत्री निनीको संझनाहरुले आमाको व्यक्तित्वको  सृजनशील पाटोमा बढी प्रकाश हालेको थियो ।
आमाको सुन्दरी कान्छी नन्द गायत्री



“ भाउजुलाई थरी थरीका डिजाइन र बुट्टा स्वेटरमा  उतार्न मन लाग्थ्यो । कतै कसैले लगाएको देखे त्यो नमूना जस्ताको तस्तै उतार्नु हुन्थ्यो । पढेलेखेको हुनुहुन्न थियो तर धेरै विचारहरु भएको तेज दिमागको हुनुहुन्थ्यो ।”

एक पटक आमालाई एउटा मान्छेले लगाएको स्वीटरको नमुना साह्रै मन परेछ । घाम ताप्दै स्वीटर बुनिरहनु भएको आमालाई, आफ्नो आँगन छेउबाट गइरहेको त्यो मान्छेको स्वीटरको नमुनाले साह्रै आकर्षित गरेछ । अनि आमा पनि जुरुक्क उठेर त्यो मान्छेको पछिपछि हिँड्न थाल्नु भएछ । दुईघर उल्टो दुईघर सुल्टो मनमनमा डिजायन गम्दै र बुन्दै त्यो मान्छेको पीछा आमाले निकै पर सम्म गर्नु भएछ ।

त्यो लोभलाग्दो नमुना हेर्ने शायद सबै सुधबुध बिर्सिनु भएको थियो आमाले । उहाँ छिटो छिटो हिँड्दै त्यो मान्छेको अरु नजिक नजिक पुग्नु भयो रे । त्यो अपरिचित मान्छे हातमा काटालिएर स्वीटर बुन्दै  हिँडिरहेको  एक महिलाले यसरी पीछा गरिरहेको कुराले असजिलो मानेर टक्क अडियो रे अनि फर्केर आमालाई नम्र भएर सोध्यो रे । “तपाईलाई के चाहिएको छ ?” अनि साह्रै लाज डरले हडबडाएर आमाले “ मैले त तपाईको स्वीटरको नमुना हेरेको” भन्नु भएछ । अनि त्यो असल मान्छेले उसले लगाएको स्वेटरलाई भोलिपल्ट कागजमा बेरेर आमालाई ल्याइदिएको थियो रे ।

कति सुन्दर तपाईको यो एकाग्रता सृजनकोलागी हैन आमा ? अहिले सोच्दैछु , मलाई पनि सिकाइदिनु हुन्थ्यो होला स्वीटर बुन्न । तर म त सानी थिए अनि मेरोलागि यो सीप हस्तान्तरण गर्न तपाईसित पर्खिने उमेरहरु रहेनछ  । तर तपाईको स्वेटर बुन्दा उब्रिएको ऊनको रङ्गीचङ्गी धागोले बोरामा क्रसस्टिज गरेर सुन्दर गलैचा बनाएको भने मेरो धमिलो संझनाहरुमा तैरिने गर्छ । बोरामा क्रसस्टिजले फुलहरु  काड्ने आफ्नो गारो काम सकेर तपाई सजिलो काम भने हामी केटाकेटीलाई छाडिदिने गर्नु हुन्थ्यो ।  बोराको खाली सानो सानो कुनाहरु हरेक केटाकेटीहरुको भागमा छुट्याएर यसमा क्रस गर्दै भर्न  उत्साहित गर्नु हुन्थ्यो । ऊनको रङ्गविरङ्गी धागोलाई भुत्ते टुप्पा भएको मोटो सियोले बोराको एउटा प्वालबाट अर्को प्वालमा घुसाउदै क्रसको आकारमा बोराको खाली कुना भर्न कुनै रमाइलो खेल जस्तै बनेको थियो हामी केटाकेटीको लागि । बोराको आआफ्नो कुना भर्न आफूलाई मनपरेको रंग छानेर भर्न स्वतन्त्रता दिनु भएको थियो हामीलाई ।  तपाईको त्यो गलैंचा, कुनै मामुली बोराको गलैंचा मात्र थिएन । अहिले बुझेको छु खेलजस्तो रमाइलो मानेर सृजनात्मक बन्न सकिन्छ भन्ने पाठ थियो त्यो तपाईको ।

आमाको हातले बनाएको मसित एउट बाघ र बघिनीको सुन्दर चित्र छ । थाह छैन यो एक मात्र आमाको सृजनशील चिनो बनेर मसित कसरी आयो । हुक जस्तो सियोमा धागो अड्काएर कपडामा खोप्दै विभिन्न रंगहरुको संयोजनमा, तौलिया जस्तोे मखमली स्वरुपमा बनेको छ आमाको यो हेण्डमेड कृति । आमाको यो क्राफ्टको थीम भने एउटा बाघ र बघेनीलाई प्यास लागेर उनीहरु खोलाको तीरमा पुगेका छन । अनि बाघ भने सर्तक भएर चारैतिर कुनै खतरा भए नभएको हेरिरहेको छ ।


मानौ उ आफ्नो बघिनीलाई सुरक्षा दिइरहेको छ र बघिनी भने खोलाको तीरमा निस्फिक्रि रातो लामो जीब्रो निकालेर खोलाको पानी लपलप चाटिरहेकी छे ।यो सुन्दर हस्तकलालाई नियाल्दै एकदिन मैले एउटा अर्को कुरा पनि डिसकभर गरी पठाएको थिए । त्यो थियो  यो कृतिको छेउमा अंग्रेजीमा लेखेको आमाको नाम के. के. । अथार्त कृष्णा कुमारी । तर यो  अंग्रेजी हस्ताक्षरलाई ध्यानदिएर हेर्नेले चाल पाउछन् । आमाको के. भने उल्टा छ । यो हस्तकला पक्कै पनि आमाले हामी  बच्चाहरुसित ए ,बि ,सि, डी सिकिरहेको ताका बनाएको हुनु पर्छ । अनि अंग्रेजीको सिकारु विधार्थी बनेर आमाले भने यसरी दुईवटा उल्टा के. के. लेखि भियाउनु भएको रहेछ  ।

हाम्रो आमासित जोडिएको अर्को एउटा किस्सा छ चौथीको ....छोडनै नमिल्ने ।
तर यो कुरा घटेको हुनपर्छ म जन्मनु भन्दा अघि ... त्यतिबेला जब विराटनगरको  आमाको घर आधा अधूरो थियो । त्यतीबेला जब झ्याल झ्याल र ढोका विहिन घरमा आमा आफ्ना परिवार र बालबचेरासित टिनका पाता ढप्काएर सुत्ने गर्नु हुन्थ्यो । त्यो रात चौथी हान्नेहरुले साँझ ढल्नेसाथ ढुंगाको छारो फाल्न थालिसकेका थिए रे । आमाको त्यो बेलाको समाजमा चौथी, एक किसिमले बदमासी गर्न छुट दिने पर्व जस्तै बनेर आउथ्यो । कारण चलि आएको बिश्वास थियोे तीजको भोलिपल्टको रातमा उदाएको चन्द्रमा हेर्नु हुदैँन रे । हेरे चोरीको आरोप लाग्न सक्छ । त्यसैले  चन्द्रमा हेर्नेले अवगाल मेटन भनेर चौथीको रात सानोतीनो अपराध बिगार वा गाली पाउने काम गर्नु पर्छ भन्ने परम्परामा चली आएको मान्य कुरा थियो ।

 त्यो रात चौथी हान्नेहरुको बदमासीको तारो बनेको थियो रे  हाम्रो आमाको गुँड पनि । ढप्काइराखेको जस्तापातामा ढुंगाहरु लागेर र्छररर र्छरररर र ड्याङ्ग डुङ्गको आवाजले आमालाई निदाउन दिइरहेको थिएन रे । यस्तै बेला अलि बडेमाको ढुंगा नै छानामा ठोक्किएर ठूलो आवाज दिएर खसेछ । अनि के थियो अब सहेर सहन नसक्ने भएपछि आमाले त्यही ढुंगा टिपेर ‘ल जास त तिमीहरु भातेलाई ’ भनेर घुइँक्याएर हानी दिनु भएछ । अनि चौथी हान्नेहरुलाई ठूलो ठूलो स्वरले गाली पनि गरिपठाउनु भएछ । यसपछि चौथी हान्नेहरुको यो टर्चर सामसुम भएछ र आमा पनि निदाउनु भएछ ।

भोलिपल्ट बिहानै ढोकाको संघारमा एउटा भोगटे कसैले राखिदिएको पाउनु भएछ । अनि ‘ओह पक्कै हिजो ढुंगा हान्नेले माफि माग्न भोगटे ल्याएर ढोका अगाडि राखिदिएछ ’ यो सोचेर मख्ख पर्दै भोगटेलाई भित्र लिएर आउनु भएछ । ‘आज चढाउन राम्रो प्रसाद भयो’ भनेर दंग परेर काटन खोज्दा त भोगटेको माथिल्लो भागलाई बडो सीपले काटेर भित्रको गुदी चाहिँ निकालेर त्यसभरी आची भरेर पो राखिदिएको रहेछ । यो खुराफात भने पक्कै आमाले फर्काएको ढुंगाले चोटलागेर , आमाको मनपरी गाली खाने त्यो चौथी चोरको हुनु पर्छ  ।

अनि आमा सहित घरका सबैले नुहाएर  चोख्खिनु परेको थियो रे । हाम्रो यो  संयुक्त परिवारमा हाँस्ने र हँसाउने मौकाहरु जुरेको बेला यो घटनाको पनि अनिवार्य रुपले उल्लेख हुने  गर्थ्यो ।  र सुन्दा सुन्दा पछि यस्तो लाग्न थालेको थियो, यसको चर्चा बिना यस्तो हाँसखेलको मौसम अलि अलिनो भएर केही नपुगेको जस्तो बन्थ्यो । अनि परिवारकाहरु मध्ये कोहीले यो घट्नालाई जोक्सको रुपमा कोट्याउन थाल्थ्यो अनि हामी सबै केटाकेटीहरु लोटपोट भएर हाँस्न थाल्थ्यौ । अनि आमाचाहिँ अलि लाजमाने जस्तो मुसुमुसु हाँस्नु हुन्थ्यो ।

“पुरानो शिशी देख्नै नहुने बिर्को खोलेर स्वाक्क सुँघि हाल्ने बानीले भाउजु कति पटक बेहोश हुनु भएको थियो ” आमासितको पुरानो दिनहरुको साक्षी पार्वती निनी आमाको यस अनौठो बानीलाई संझिनु हुन्छ । घरको मसला, अचार, दवाईका लगायत बिर्सिसेको पुरानो शिशीहरु त अनिवार्य रुपमा आमाको नाकको सुँघाइबाट गुज्रेको हुन्थ्यो रे । अहिले सोच्दै छु शिशीमा के छ भन्ने आमाको उत्सुकता बस हो भने त्यो त आँखाले पनि देख्न सक्थ्यो  तर   सुँघ्नु नै पर्ने कारण भने अज्ञात र अनौठो नै थियो । यो बानीले भने उहाँलाई अनेक पटक डरमर्दो र हास्यास्पद ठाउँमा लगेर पनि छोडिदिन्थ्यो  ।
एक पटकको कुरा हो उहाँ  पाहुना लागेर काठमाण्डौ वीर हस्पिटल एक डाक्टर देवरको क्वाटरमा पुग्नु भएको थियो रे । बडो मानमनितो गरेर खाना ख्वाउन सकेपछि ,देवरले आमालाई अस्पतालको एक टुर दिएछन । सम्भवत आमा अस्पतालको एउटा ल्याबमा पुग्नु भएको थियो होला अनि त्यहाँ उहाँले लोभलाग्दो शिशीहरु देख्नु भएछ  ।  अनि त के थियो मन थाम्न नसकेर आमाले सबभन्दा आकर्षक र अनौठो शिशीको बिर्को उघारेर स्वाक्क  सुँघ्नु  भएछ । विभिन्न रसायन  पदार्थ राखेर सुरक्षित गरिएका अनौठा ससाना जीवजन्तु भित्र भएको शिशी को यस जोरदार सुँधाइले आमा चाहिँ बेहाश भएर भूँइमा पछारिनु भएछ । तर यो किस्साको  राहतको भाग भने आमाको तत्काल उपचारकालागि  अस्पताल र डाक्टर देवर साथमा थिए । 

अनि मनोरन्जनको नाममा आमाको भागमा जलजला सिनेमा चल्ने हिन्दी सिनेमाहरु  थिए । आजको समयमा टी भी,  यूटयूब र नेटफ्लिक्स  खोलेर हेरेको जस्तै थियो होला,  दिल बहलाउनका लागि आमाले जलजला सिनेमा हल धाउनु पनि । बुवा जलजला सिनेमा हलको म्यानेजर भएको हैसियतले आमालाई जहिले पनि सिनेमा हेर्न छुट थियो । त्यसैले घरको कामधन्दा सके पछि  आधा अधूरो भए पनि सिनेमा हेर्न हल पुग्ने बानी थियोे रे आमाको । अनि रातीको शो सकिएर काम सकेको बुवासित संग संगै घर फर्किने रुटिन बनेको थियो आमाको । हिन्दी सिनेमाहरु मात्र देखाउने जलजला हलमा पहिलो पटक नेपाली भाषामा बनेको ‘माइतीघर’ लागेको थियो रे ।नेपाली चलचित्र ‘माइतीघर’लाई आमाले  २८ दिनसम्म लगातार हेर्नु भएको थियो रे ।  जति पटक हेर्यो त्यती पटक रुनु भयो रे । २८ दिनमा भने आमालाई  आँसु  आएन , अनि हलमा अर्को  सिनेमा पनि बदलियो रे ।

पार्वती निनी कै भनाइ अनुसार अभिभावक भएर पनि आमा भने घरका सबैलाई साथी जस्तो व्यवहार गर्नु हुन्थ्यो रे । तर कतै कोही गलत बाटोमा त लागेको छैनन भनेर बेला मौकामा अनौठोे परीक्षाहरु लिने गर्नु हुन्थ्यो रे । एक पल्ट घरका सबै देवर ,नन्द बहिनी र केटाकेटीहरुलाई जम्मा पारेर भन्नु भएछ “ल आज हामी सबै मिलेर सिगरेट खाने है । ” सबैले खुशि भएर कागज कसैले चाहिँ मकैको पातको सुकेको खोस्टा बेरेर सल्काउन थाल्दा “ए तिमीहरु त सबै सिगरेट खादो रहेछौ हैन त” भनेर सबैलाई केरकार गर्न थाल्नु भयो रे ।“तपाईले खाने भनेकोले पो त खाएको त ” भने पछि “मैले त तिमीहरु के गर्दा रहेछौ भनेर विचार मात्र गरेको ”भन्नु भएछ । यस्तो गलत काम अरुले गर भन्यो भन्दैमा नगर्नु भनेर संझाउनु पनि भएछ । मलाई भने अहिले आमासित सोध्न मन लागेको छ । परिवारका सबै केटाकेटीहरुलाई भेला गरेर सिगरेटबारे तपाईले यो मनोवैज्ञानिक प्रयोग गरिरहेको बेला भन्नु त म कति ठूलो थिए ? पक्कै म एकदमै सानो हुनु पर्छ । मैले मेरो होश सम्हाल्नुभन्दा अघिको कुरा हुनुपर्छ, नत्र भने तपाईको त्यो प्रयोग र त्योसित टासिएर आएको चुरोट कहिले नखानु भन्ने अर्ति त्यतीबेला भने मेरोलागि किन काम लागेन ?

चुरोट खान पल्केको आमाको सानी छोरी म 

छिमेकको काहिँली साहुनीको घरमा बर्माबाट आएर डेरामा बसेको एउटा  परिवार थियो । जहाँ  छ सात वर्षको मेरो उमेरसित मिल्ने र लगभग मेरो जस्तै नाकनक्सा भएको त्यो ठूलो ठूलो आँखा भएको केटीसित हेलमेल भएर म खेल्न थालेको थिए । हाम्रो मिलेको उमेर र अनुहार हेरेर दुई परिवारकाहरुले सोच्न थालेका थिए , ‘यिनीहरुको त मीत लगाईदिनु पर्छ ।’ र हामी एक अर्कालाई मिता भन्न थालेका थियौ । धेरै थरीका धेरै खेलहरु दिनभरी खेल्थ्यौ  र एउटा खास खेल भने  उनले मलाई सिकाएकि थिइन‘ स्वा फ्वा ’  गर्ने । स्वा को मतलब धुवाँ भित्र तान्ने फ्वाको मतलब धुवाँ बाहिर फाल्ने ।

उनको बाबा सिगरेट खान्थ्ये अनि बाबाको सिगरेटको प्याकेटबाट उनलाई चुरोटको खिल्ली उडाउन कुनै गारो थिएन । उनी हात तानेर मलाई बारीमा लग्थिन अनि स्वा फ्वा  गर्ने भनेर सिकाउथिन । केही दिनमै म माहिर बनिसकेको थिए । चुरोट सल्काएर धुवाँ उडाउनु यो हाम्रो बडो रमाइलो खेल बन्दै थियो । गोजीबाट चुरोट उडाउन नपाएको दिन भने बाटो  तिर फालिएको चुरोटका ठूटालाई सल्काएर हाम्रो काम चल्थ्यो । तर यो खेलको बडो कहालीलाग्दो अन्त्य भएको थियो ।

त्यो विराटनगरको लामो  दिउँसोतिर आमा झकाउन पल्टेको बेला कोठेबारीको झ्याङ्गमा उडीरहेको  चुरोटको खिरिलो धुवाँ माथिल्लो तल्लासम्म आमाको नाकमा पुगेछ । गन्ध पहिल्याउदै  झ्यालबाट यसो तल हेरेका आमाले जे देख्नु भयो त्यो आँखाले पत्याउनै नसक्ने दृश्य थियो । अहिले सोच्दैछु सम्भवत त्यो दिन मिताले उनको बाबाको गोजीबाट दुईवटा साबुत चरोट उडाएको  हुनुपर्छ । त्यसैले धुवाँ पर्याप्त गाढा र गहन बनेर माथि आमाको  झ्यालसम्म पुगेको थियो होला ।

रणचण्डिका भेष धारेको  आमाले मलाई जगल्टामा समातेर पहिला मार धुलाइदिनु भयो  त्यसपछि संसारी थानमा धचेट्दै पुर्याएर मलाई किरिया खान लगाउनु भयो “आइन्दा म कहिले सिग्रेट खादिन ” भनेर । यो बाचाले म बाधिए ।  नत्र त ठूलो भएपछि पुरानो हिन्दी सिनेमामा देखेको नायक अशोक कुमार र भिलेन प्राणले जस्तो मोटो सिगार खान्छु भन्ने सोचमा पुगेको मान्छे हो म । चुरोट खादिन भनेर संसारी थानमा आमालाई दिएको यो बचन सुरक्षाको कवच बनेर मसित बेरिएर रह्यो । मैले जीवन पर्यन्त  आमालाई दिएको यो बचनको  लक्षमण रेखालाई कहिले पार गरिन् ।

अहिले यो हरफहरु लेखिरहदा मेरो बाल्यकालको संझनाहरुले कुनै धमिलो ऐनामा आमालाई हेरिरहेको जस्तो लाग्छ । र म आमालाई अक्ष्यरहरुमा समात्न खोज्छु । तर त्यो ऐनाको धमिलोपन मेरा आँखामा कतिखेर सरिसक्छ , र लेखिरहेको अक्ष्यरहरु धमिलो भएर बिस्तारै देखिन छोड्छ ।

आमा कस्तो हुनुहुन्थ्यो ह ? मेरो बालसंझनाहरुमा त आमा हाँस्दा आँखाको कुना पनि हाँस्थ्यो । अनि उहाँ पूजा घरमा काठको खटौलीमा झुकेर रामायण पढ्न बस्दा उहाँको भर्खर नुहाएर सुकिनसकेको केशको लट दाँया पटि हल्का घुम्रिएर गाला छुदै तल गर्धनसम्म  झरेको हुन्थ्यो । अनि रीस उठेको बेला तल्लो ओठको सबै भागलाई दाँतमा च्यापेर उहाँको दाहिने हातले मुक्का पारेको हुन्थ्यो । आमासितकोे अरु मेरो यी निजी बालसंझनाहरु बाहेक अरु विस्तृत र मिहीन जानकारीहरुको खोजीमा मेरो मन तडपेको थियो ।

...“ रोगलाई लुकाउनु हुन्थ्यो ग्याष्टिकको मामुली रोग भन्दै वैधको औषधि र सेतो डाइजिनको झोल खानु हुन्थ्यो ..” सूर्य आण्टि

मनमनै मुरमुरिदै छु कस्तो बेवास्ता गरेको ह ? हाम्रो आमाले आफूलाइ अनि हामीले पनि आमालाई ....

...“अमिलो पीरो खुब खानु पर्ने भाउजुलाई, धेरै खोर्सानी खादा अरुको गाली सुन्न नपरोस भनेर थालमा पस्केको भातभित्र  खोर्सानी लुकाउनु हुन्थ्यो  ...” नगेन्द्र कान्छा काका

ए ...भात भित्र  खोर्सानी लुकाउने आमाले ?

...“ मासुको थरी थरीको परिकार बनाएर खान  मनपर्थ्यो ततालाई ...” साइली चिर्मा

मलाई थाह भएको थियो , मासुको परिकारमा मनपर्ने चाही बोसे आन्द्रा रहेछ जसलार्ई सिन्काले उल्टोपट्टि पट्टि पल्टाएर बोसो जतिको भाग चाहिँ भित्र सुरक्षित पारेर कोइलामा पोलेर च्वाम च्वाम खानु हुन्थ्यो रे । 
अ ..स्वादे जिब्रो पनि रहेछ आमाको म निष्कर्षमा पुग्छु   ।

... “जुरोमा फुलको थुंगा  टिपेर ख्वास्स लगाइ हाल्ने रौसे बानी थियो हाम्रो ठूलीनन्दको” ....छत्र माइजु

....“ आफ्नो गाडी किनेर  चढेर  हिड्छु भन्नु हुन्थ्यो भाउजु ....” उर्मिला काकी

 ए ...रसियन जीप किनेर सुखसयलको जीवनको चाह राख्ने रौसे मन रहिछ  हाम्रो आमासित त्यसो भए ?

हरियो खोर्सानी ...बोसे आन्द्रा ... पुरानो शिशी ... स्वेटरको काटा...  रौसे ... रसियन जीप ...फुलको थुंगा .....भोगटे .. यी सबै शब्दहरु आमासित जोडिएका थिए कुनै समय  कुनै किस्साहरुमा  कुनै कहानीहरु बनेर ...

नातागोताहरुको मनबाट उधिनेर बटुलेको संझनाहरुको थुप्रोलाई खनी खनी म ओझलमा रहेको आमाका घेरै किस्सा र कहानीहरुमा बरालिन्छु । र आमाको लागि  आफन्तहरुले छानिदिएको विषेशषण र अक्ष्यरहरुको छेनोको भरमा  म  कुँद् न खोज्छु मेरो बालमनको त्यही आमाका अधूरो आकृतिलाई  । यस्तो बेला लाग्छ मानौ म त्यो कुनै अन्धो कारीगर हु । जो मनको आँखाले आफूले  कुँदे्को आकृतिलाई अब पूर्ण र सजिव देख्न थालेको छ ।

क्रमश .........

Comments

  1. युटुबमा आमा छोरिले गाएको गित बाट सुरु भएको मेरो यात्रा तपाईंको लेखहरु सम्म आइपुएर मात्रै रोकियो। अहो कति मीठो सम्झना तपाईंको आमाको आमाको आमाको। बाकी अंश पनि चाढै पढ्न पाउने आसामा छु।

    ReplyDelete
  2. Well written ! How truly you have reflected your attachment to your mom!

    ReplyDelete

Post a Comment