तीन पुस्ता - भाग ९ – सपनाहरुको आशीष

पहिलो पुस्ता - भाग ९

आमा छोरी  - तीन पुस्ता 


सुुसन मास्के

 सपनाहरुको आशीष    




एउटै कोखबाट जन्मिएर आमालाई साझा बनाएको हामी आमाका चार सन्तानहरुसित एउटा अचम्म लाग्दो साझा कुरा छ । त्यो हो हाम्रो दुबै हातको बूढीऔँलाको आकार । घाँटी छिनिएको भ्यागुताको टाउको जस्तो देखिने  डल्ले  बूढीऔँला हाम्रो मात्र होइन आमा र बुवाको दुबै हातमा पनि  शोभयामान थियो । यस अर्थमा डल्ले बूढीऔँलालाई हामी चारैजनाले जेनिटिक रुपमा पाएका थियौँ । सानो छदा जोक जस्तो गरी कुरा पनि चल्थ्यो , हिन्दी सिनेमाहरुमा जस्तो  गरि हामी आमाको चार सन्तान कुम्भको मेलामा बिछोडियौ र पछि ठूलो भएर कतै भेट भयौ भने हाम्रो पहिचान हामी सबैको उस्तै उस्तै लाग्ने यही डल्ले बूढीऔँलाले गर्ने छ । यो कुराले हामीलाई खुब हँसाउथ्यो ।

यो पारिवारिक चिनोको यो जेनेटिक विशेषता बाहेक आमाको व्यक्तित्वको चारवटा हिस्साहरु हामीसित बाँडिएर आएछ । ठूलीदिदी चन्द्रासित आमाको सामाजिक व्यक्तित्वको पाटो बढी सामेल छ । सबैसित हेलमेल राख्ने , सबैलाई मायाको छहारीमा सहजेर राख्ने आमाको त्यो मायालु मन , र आमाको त्यो तेज हक्की र अथक जीवटपनलाई स्वभावमा पाउनु भएछ दिदीले चाहिँ । ठूलो दाजु महेशले भने आमाको प्रखर बुद्धि र विवेक,  दानी र दयालु मनलाई अंसमा पाउनु भएछ । सान्दाजु रमेशले चाहिँ आमाको साहसी र अति परिश्रम गर्न सक्ने र आटिलो पनलाई भागवण्डामा पाउनु भएछ । अनि मैले  ? मैले चाहिँ आमाको सारा संबेदनशिलताहरुलाई  धरोहरमा पाए जस्तो छ ।
 आफ्नो  चार सन्तानहरुसित आमा

हामीसित किशोर अवस्था र बाल्यअवस्थाको मात्र आमाका संझनाहरु छन र यिनै संझनाहरुको लहराहरु समातेर भन्दा , लुखुरी अनि टीररर अग्ली आमाको जेठो सन्तान मेरो ठूलीदिदी चन्द्राले भने हिड्न जान्नु भन्दा अघि नाच्न जानेको हुनु पर्छ । बुवा
संझिनु हुन्छ , “जसले पनि नाच त नानी” भन्दा फुर्किएर नाचि हाल्ने बानी थियो रे उहाँको । त्यसैले उहाँ बाल अवस्थादेखि नै स्टेज कलाकार बनिसक्नु भएको थियो । त्यसबेलाका मोरङ्गका विख्यात कलाकार नर्तक चतुर्भुज आशाबादी अनि मास्के परिवारले विराटनगरमा आयोजना गर्ने सांस्कृतिक कार्यक्रमहरुमा उहाँको नृत्य प्रतिभा प्रदर्शनले मुग्घ दर्शकहरुको ताली र वाहवाही पाउथ्यो ।

र यही दिदीलाइ भने सानो छदा कुहिना नजिक पाखुरामा पीलो जस्तो एउटा घाउ आएको थियो । आमाको घर छिमेकमा चाँदनी बाबासिर नामको एक बोर्ड झुण्डाएर एउटा बंगाली होेम्योपैथी डाक्टर बस्थ्यो । उसको घर अगाडिको त्यो बोर्डमा लेखिएको थियो ,यहाँ घाउ ,खटिरा, लुतो उपचार गरिन्छ । पिलो आएकोले आमाले दिदीलाई यो डाक्टरकहाँ लैजानु भएको थियो । अनि म त पुच्छर भैहाले आमाको , त्यसैले त्यो बंगाली डाक्टरको सारा उपचारहरु मेरो आँखाबाट पनि गुज्रिएको थियो । दिदीको हातको घाउलाई उसले निचोर नाचर गरेर दवाइ लगाए तीन दिन पछि फेरि आउनु भनेर घर पठाइदिएको थियो ।निचोरेको घाउ भने तीन दिनभित्र सुक्न को साटो भित्र टनटनी पीप भरिएर पुटुस्स भएर पाकेर आएको थियो । 
अनि त के थियो यस उपचारमा होम्योपैथी डाक्टर भने घाउ निचोरेर कर्कोलाको पात थापेर  पीप खलल बगाउथ्यो।  अनि टोड्को जस्तो परेको घाउको मुखमा औषधीको लेप भरेर रुवा कोचर  बुजो लगाइदिन्थ्यो र पट्टि बाधेर फेरि तीन दिन पछि आउन भन्थ्यो । तीनदिन पछि फेरि कर्कलोको पातमा पीप बगाउने र त्यसपछि घाउको मुखमा बुजो कोच्ने यस्तो चालाले दिदीको हातको यो कष्टकर उपचार महिनौ दिन चल्यो । उता भने हरेक तीन दिनमा डाक्टरको फिस आमाको थैलीबाट  झर्थ्यो  तर  घाउ जाति हुनको साटो अब हात नै बाङ्गिन थालेको थियो । 

डाक्टरको यो खतरनाक उपचारले आमासितको धैर्यको सीमा र बिश्वास तोड्न थालेको थियो । यो उपचारलाई बीचमा बन्द गरेर , बाङ्गिदै गरेको दिदीको हात  सोझ्याउन र घाउ निको पार्न अब आमा मैदानमा आफै ओर्लिनु भएको थियो । उपाय स्वरुप सानो टीनको बाल्टि ल्याएर दिदीको घाइते हातमा थमाइदिनु भएको थियो आमाले । र दिदीलाई कडा उर्दी सुनाउनु भएको थियो, “अब तैले बगैचाका सारा फुलहरुमा हरेक दिन साँझपख पानी हाल्नु र यसरी पानी हाल्दा भने,बाङ्गिएको हातले पानीको बाल्टी बोकेर ल्याउनु ।” अनि लट्टे जोगीले दिएको जडीबुटीबाट आमा स्वयले गरेको दिदीको उपचार र बाल्टी उचाल्ने त्यो घरेलु फिजिकल थ्योरापी पाएर बिस्तारै घाउ निको भएको थियो । र  बाङ्गिएको हात पनि सोझिन थालेको थियो ।

सानोमा सबैले जेन्टलमेन भन्थ्ये रे आमाको यो ठूलो छोरा दाजु महेशलाई चाहिँ । सुट पेण्टमा सजिएर दुबै हात गोजीमा राख्न पर्ने यो दाजु सिनेमा हेर्न जादा पनि किताबसंगै बोकेर जानु हुन्थ्यो रे । बुवा संझिनु हुन्छ सिनेमाको मध्यान्तरमा पनि किताब खोलेर पढनु पर्ने रे उहाँलाई । बुद्धिजीवि बन्ने छनक सानोमै देखाइसकेको यही दाजुलाई हाम्रो आमाले भने डाक्टर बनाउने सपना देख्नु भएको थियो रे ।

ठूलो भएपछि आमाको सपना साँचो बनाएर देखाउने त्यही असल डाक्टर छोरा महेश दाजु , आमासितका आफू सानो छदाको कुराहरुलाई यसरी संझिनु हुन्छ “शिक्षित नभए पनि आमा आफै केटाकेटीहरुसित पढ्न बस्ने र पढाउन बस्ने गर्नु हुन्थ्यो । म सानो क्लासमा हुदा आफैले मेहनत गरेर सिकेर मैले पढेको सुनेर यसमा छलफल गर्न सक्ने क्षमता थियो आमाको । सबभन्दा ठूलो कुरा म कक्षामा राम्रो गरिरहन्थ्ये ।  त्यो स्कूलमा पुरस्कारहरु  दिने भने चलन थिएन् । तर एकदिन मेरो एक शिक्षकले ‘ तिमी प्रथम भएकोले यो पुरस्कार तिमीलाई ’भनेर मलाई एक कपी र पेन्सिल दिए ।  पुरस्कारमा पाएको कपी , रातो र  एकापट्टि नीलो टुप्पा भएको पेन्सिल लिएर म खुब खुशिले गदगद भएर आमालाई देखाउन गए । आमाले पनि मेरो पिठ्यूूँमा धाप मार्दैै श्याबासी दिनु भयो । त्यसपछि त्यो स्कूलबाट पुरस्कारहरु प्राय जसो मैले पाउन थाले  । तर पछि म ठूलो भएपछि सोही शिक्षकले एकदिन मलाई भनेका थिए, हाम्रो स्कूलको आर्थिक अवस्थाले पुरस्कार दिने प्रबन्ध थिएन । तिमीले पाउने पुरस्कारको व्यवस्था तिम्रो आमा आफैले गरिदिनु भएको थियो ।” केटाकेटीहरुलाई पढ्न प्रोत्साहित गर्ने आमाको यो तरिका पनि आफैमा अचम्म लाग्दो गरी सुन्दर र मौलिक थियो ।

ठूलो छोरा महेशलाई डाक्टर बनाउने मात्र होइन आफ्नो सानो छोरा रमेशलाई चाहिँ इन्जिनियर बनाउने सपना देख्नु भएको थियो रे आमाले । अनि उहाँलाई आफ्नो सपना साकार हुने पक्का पक्कि विश्वास पनि थियो । तर एउटा मात्र शंका थियो आमाको । त्यो थियो, उहाँको सानो छोरा रमेश असाध्यै गोरो जन्मेको थियो  ।
कालो बनाउन खोजेको आमाको सानो गोरे छोरा रमेश


आमाको विचारमा इन्जिनियर मान्छे भनेको कालो हुनुपर्छ  ।  बुवाको ठेक्का पट्टाकोे सिलसिलामा विराटनगर आउने जाने गरेका काला भारतीय इन्जिनियरहरुलाई देखेर आमाको मनमा  शायद यो धारणा बनेको थियो होला । त्यसैले आफ्नो गोरो छोरालाई कालो कालो बनाउन  घण्टौँ घाममा तेल लगाएर  लडाइदिनु गर्नु हुन्थ्यो रे ।  घाममा डढेर मेरो यो सानो दाजु कालो त बन्न्नु भएन तर पढेर धेरै ठूलो र योग्य इन्जिनियर भने बन्नु भयो ।

आमाको सानो कान्छा छोरा रमेश दाजुकोको स्वभाव भने टफ ,सहासी आँटी र खोजीकर्ताको थियो । सानोदेखि नै उहाँको केही न केही बनाउने, बिगार्ने र खोल्ने धन्दा चलिरहन्थ्यो । सलाईको बट्टामा धागो बाधेर टेलिफोन बनाउने अनि जलजला सिनेमा हलमा सिनेमा हेर्नु भन्दा सिनेमा देखाउने प्रोजेक्टरहरु भएको कोठामा गएर समय बिताउनुमा रुची लिने र रमाउनु गर्नु हुन्थ्यो रे  । अनि घरमा आएर कार्डबोर्ड बक्सामा प्रोजेक्टर बनाउने एकपछिको अर्को उहाँका अनुसन्धान एक्सपेरिमेन्टको धन्दाहरु चलिरहन्थ्ये र साथै चल्थे रे उहाँका चकचक र उपद्रोहरु पनि ।

एकदिन आमाले एउटा कालो कुखुरा पाल्न ल्याउनु भएछ  । र आफ्नो यो चकचके सानो छोरालाई भन्नु भएछ “यो कुखुरा तेरोलागि पालेको हो ।” तर किन पालेको भनेर कसैलाई पनि भन्न्नु भएको रहेन छ । अनि बच्चा काड्न भनेर सो कालो पोथी ओथारा बसेको रहेछ ।

ठूलोे भएपछि आमाको यही कान्छो इन्जिनियर अनि इन्जिनियरहरुलाई पनि पढाउने प्रोफेसर बनेको रमेश दाजुले आमाको त्यो कालो कुखुरा बारे मसित गरेको कुराको सार केही यस्तो छ । “सानोमा भालु माथि चढ्ने, गोमन साँपको माला लगाउने, मझुवा पोखरीमा डाइभ मारेर आहाल बसिरहेको भैँसीको सींगमा पर्ने जस्तो उप्रदो खुब  गर्थ्ये र पछि आमाको कुटाइ खान्थ्ये । त्यो दिन पनि गाडीको मर्मत गर्ने मेकानिक छिमेकका घरमा भएको ठूलो नीमको रुखमा टार्जनले जस्तै एक हातले हाँगो समातेर तुन्दु्रङ्ग झुण्डिरहेको थिए । यो कुरा मन नपराएको, त्यहाँ काम गर्ने ठीटोले खेदन आएकोले हात खुस्केर अग्लो रुखबाट तल  गीट्टि नै गीठटी भएको भूइँमा बजारिए र मेरो  टाउको फुट्यो  अनि  त्यही समय  उता घरमा चाहिँ छन्दखन्दको ओथारा बसेको कालो पोथी पनि मर्यो ।”

“यो कालो कुखरा तेरो साटो मर्यो ” आमाले पछि सान्दाजुलाई भन्नु भएको थियो रे ।

के सान्दाजुकोलागि कालो कुखरा पाल्ने सल्लाह आमाले कुनै धामी झाँक्री वा ज्योतिषीबाट पाउनु भएको थियो ,मलाई थाह भएन । तर आफ्नो सानो छोराको चकचके बानीले आमा भित्र भित्रै पिरोलिनु भएको हुन सक्छ । आमाको मन भित्रको अन्तरप्रेरणाले खतरा देख्न थालिसकेको थियो शायद । त्यसैले छोरालाई आइपर्ने संकटलाई काली पोथीमाथि छल्ने जोरजाम गर्न  खोज्न भएको पनि हुनु पर्छ  आमाले । सान्दाजु गम्भिर दूर्घटनामा परेको दिन नै कालो पोथी पनि आफै मर्नु यो मात्र एक संजोग थियो कि आमाको विश्वास (अन्धविश्वास) ले जितेको थियो ? कसलाई के थाह ? 


तर हाम्रो आमालाई भने तर्साइ राख्ने यो चकचके सानो दाजुको चाला भने टुकुटुकु हिड्दा देखिको हुनुपर्छ । बुवाले हात्तीसारको ठेक्का लिएकाले हरैचाबाट हात्ती लिएर माउतेहरु आमाको आँगनमा आउने गर्थ्ये  रे । एकदिन यसरी हात्ती आएको देखेर सान्दाजु रमाउदै टुकुटुकु हिडेर आँगनमा पुग्नु भएछ । हात्तीको नजिक जाला भनेर पछि  पछि सानो छोरालाई समात्न आएको आमाको आँखाकै अगाडि त्यो हात्तीले भने माहुतेको इसारा पाएर सान्दाजुलाई आफ्नो सुडले टपक्क टिपेर काँधमा राखेछ । यो दृश्य देखेर आमा बेहोश नै हुनु भएको थियो रे ।

आफूले राम्ररी पढन नपाएको मनको खोप थियो आमाको, त्यसैैले  छोराछोरीहरुले धेरै धेरै पढुन भन्न्ने चाह राख्नु हुन्थ्यो । र सकेसम्म प्रोत्साहित गर्नु हुन्थ्यो । मौका मिल्नेसाथ आफू पनि पढ्न बस्नु हुन्थ्यो । पढ्नुसितको  आमाको यो मोह पछिसम्म थियो ।  बालमनमा बसेको धमिलो संझना छ मेरो ,सी ए टी क्याट , क्याट माने बिरालो , आर ए टी रयाट, रयाट माने मुसा भनेर हामी केटाकेटीहरुसित हाम्रो आमा अंग्रेजी पढ्न बसेको ।

तर पढ्न अल्छि गर्ने केटाकेटीहरुलाई तह लगाउने अनेक साम , दाम ,दण्डको  नीति आमालाई आउथ्यो । आमाको पहिलो प्रयत्न सम्झाउने ,बुझाउने  र फकाउने नै हुन्थ्यो तर यति गर्दा पनि नटेर्नेलाई तह लगाउने कलामा पनि आमा खप्पिस हुनुहुन्थ्यो । । दिनको उज्यालो जस्तै संझनामा छ त्यो दिन, जब म स्कूल जान नमान्दा आमाले मलाई सम्झाएर ,मायाले फकाएर ,लोभ लालच देखाएर  स्कूलसम्म पुर्याउन भएको थियो । संसारी थानको भानु स्कूलको बालकक्षा कोठामा पुगेपछि आमाले हातमा राखिदिएको पैसालाई भूइँमा फालेर आमासित घर जान्छु भनेर कोलहाल रुन थाले म । त्यसो त स्कूल नजान मैले गरेको यो पहिलो प्रयत्न थिएन । पहिला पनि  मलाई बोकेर स्कूल पुर्याउन खोज्ने आमाको कान्छी बहिनी सूर्य आण्टिको जीउमा बटारिएर, चिथोरेर, उहाँको हात टोकेर ,ओढेको कुर्ताको सल च्यातिदिएर मैले ठूलो काण्ड रचेको थिए । साम ,दामको यो प्रयत्न ममाथि सफल नहुने देखेर आमाले अब दण्डको नीति अख्तियार गर्नु भएको थियो । तीनचार झापड गालामा र तीनचार राउण्डको  जगटा समातेर आमाले गरेको मेरो मर्मत पछि मेरो होश ठेकानमा आएको थियो । र म लुखर लुखुर स्कूल जान थालेको थिए ।

दण्डको यो नीतिमा पढ्न अटेर गरे वा कुनै बदमाशीहरु गरे केटाकेटीलाई बोरामा हालेर यता उता लडाइदिने जस्ता आमाका कठोर सजायहरु पनि हुन्थ्यो । धेरै जसो यस्तो  आमाको बोराको धरापमा भने धेरैै उप्रदो गरिराख्नु पर्ने हाम्रो सान्दाजु नै पर्नु हुन्थ्यो रे , अनि दयालु मनको माइलीदिदी आएर खुसुक्क बोराको मुख खोलेर सान्दाजुलाई फुत्किन दिनु हुन्थ्यो रे । आमाको बोराको यो दण्डहरुमा मेरो जेन्टलमेन ठूलो दाजु पनि एकपटक पर्नु भएको रहेछ । यसबारे मेरो दिदी चन्द्राको संझनाहरु यस्तो छ । “बिहान बेलुका केटाकेटीहरु पढ्न बस्नै पर्ने आमाको अनुशासन थियो । दिमागको धनी महेशलाई कक्षामा पढेको कुराले पुग्थ्यो । घरमा पढ्न बस्न उसले त्यती मन गर्दैन थियो । उसको गुच्चा खेल्ने बानीले पनि आमालाई दिक्क लागेर होला ,एक साँझ बोरामा बाँधेर भाईलाई बारीमा लडाइ राख्नु भएको रहेछ यो थाह पाए र म रुँदै गएर बोरा खोलिदिएको थिए ।”

कुमालेको सिपालु हातले माटोलाई सुन्दर आकारमा सिर्जेको जस्तै अनुशासन र मेहनतको जलप चढाएर हामी केटाकेटीहरुलाई हुर्काउन खोजिरहनु भएको थियो आमाले पनि । अहिले स्पष्टसित थाह भएको छ , हामी भित्र ज्ञान र विवेकहरुको मजबुत जग हाल्ने हाम्रो अल्पशिक्षित आमा हुनुहुदो रहेछ  ।

आफ्नो नातेदार छरछिमेककासित ठूलो छोरालाई डाक्टर बनाउछु अनि सानो छोरालाई चाहि इन्जिनिर बनाउछु भन्ने आमाको यो केवल फोस्रो धाक मात्र थिएन  । शायद यो उहाँको गट वा इन्टयूसन , अन्तरप्रेरणाले भनिरहेको कुरा थियो  , एकदिन उहाँको यो सपना साकार हुनेछ भनेर ।  आफ्नो छोराहरुको योग्यतामाथि भर थियो आमालाई । र आमाको यो सपनाको मान राखे छोराहरुले पनि । कति असल र संयोगको कुरा आमाका दुबै छोराहरु ,आमाले भनेको जस्तो भए , असल र योग्य डाक्टर र इन्जिनियर । तर आमा भने आफ्नो यो सपना सत्य भएको हेर्न पाउन हामी माझ हुनु भएन ।  यो हामी आमाको छोराछोरीहरुको कहिले निको नभएको एउटै खालको मनको दुखाईहरु हो ।

भारतबाट चिकित्साशास्त्र अध्ययन गरी बोस्टन युनिभरसिटीबाट  “ डाक्टर अफ साइन्स ” पढनु भएको आमाको यही डाक्टर छोरा महेश दाजुलाई उहाँ चाइनाको राजदुत भएको ताका सन २०१७ मा बोस्टन युनिभरसिटीले “डिस्टिङ्गविश्ड् अल्मुनाइ एवार्ड”ले सम्मानित गरेको थियो । 





 एपिडिमियोलोजिस्ट र एक्टिभिस्ट भएर नेपालको समुदायिक स्वास्थ क्षेत्रमा उहाँले दिएका सारा देनहरुका कदरमा दिइएको यस सर्वोच्च सम्मान समारोहमा ,मनमा उर्लिएर आएको संबेदनाहरुको भेललाई बडो मुस्किलका साथ सम्हाल्दै उहाँ भने आमालाई यसरी संझदै हुनुहुन्थ्यो ।“.... मेरो यो सम्मानले मेरो देश सम्मानित भएको छ ...मेरो आमा सम्मानित हुनु भएको छ .. मेरो आमा परिश्रमी छोरी ,बुहारी र पत्नी हुनुहुन्थ्यो , शिक्षाको अवसरबाट बन्चित..  तर उहाँले मेरोलागि उच्च सपना देख्नु भयो, धेरै माथि र घेरै उचाइमा पुग्ने । आज यहाँ तपाईहरुको अगाडि उभिएर उहाँलाई म भन्न चाहन्छु ....आमा ! शायद आज म त्यहाँ पुगे जहाँ तपाई ,मलाई पुगेको हेर्न चाहनु हुन्थ्यो र म यो सम्मान तपाईलाई सर्मपण गर्न चाहन्छु ...........”

अनि सोभियत संघबाट सिभिल इन्जिनियर बनेर जर्मनीमा इन्जिनियरिङ्गमा डक्टरेट गरेको आमाको यो कान्छो छोरा रमेशले पनि आमाको सपनालाई त्यसरीनै उचाईमा लगेर पुरा गरेरै छाडे ।  विगत ३२ बर्षहरुदेखि पेशागत शिक्षक प्राविधिक बुद्धिजीवीको  
रुपमा राष्ट्रिय र अन्तराष्ट्रिय योगदानहरु पुर्याउन सफल हुन भयो सान्दाजु  ।
अल्बीदा नभन्नु ...वर्षौ पढाएको काठमाण्डौ युनिभरसिटीबाट अवकासलिदै सान्दाजु 



र अहिले लेख्दालेख्दै यस्तो लागेको छ ,वर्षौ अघि सन् १९८७ ताका डायरीको पानामा कोरिएको सान्दाजुको त्यो कविताहरुको पंक्तिहरुको यो टुक्राको चर्चा विना आमाको यो स्मृति आलेख अधुरो छोडिएला । त्यो बर्ष आफू इन्जिनियर बन्ने नतिजालाई पर्खेर बसेका मेरो यो सानो दाजुले कवितामा पोखिएर आमाको सपना पुरा गरेको  खुशखबरी आमालाई यसरी दिन चाहनु भएको थियो।


...झुल्किन्छ तिम्रो प्रतिविम्ब
मेरो मस्तिष्कमा
गुन्जिन्छन तिम्रो बचनहरु
मेरो  व्यक्तित्व बनाउने तिम्रो रहर
बिर्सिएको छैन तिम्रो तपस्या
तिम्रो त्याग र ममता
मनाउदै छु नयाँ बर्ष तिम्रो संझनामा
आमा... किनकी यो वर्ष
तिम्रो सपना साकार हुने वर्ष हो ..



 यो पंक्ति लेख्दा लेख्दै आमाको सपना साकार गरिदिने यी दुई असल दाजहरुसित धेरै.. ..धेरै.. धेरै शब्दमा पोखिनै नसक्ने गर्व  र माया लागेको छ । तर आश्चर्य पनि लागेको छ किन हामी दुई छोरीहरुकोलागि भने आमाले त्यस्तो केही सपनाहरुको बीउ रोप्न भएन ? दुई छोरीहरुको सवालमा भने के आमाको कुनै सपनाहरु नै थिएनन् । के त्यतिबेलाको आमाको समाजमा कुनै सपना नै देख्न नमिल्ने गरि छोरीहरुको अवस्था यति हेय थियो ? कि त आमालाई डर थियो नेपाली समाजमा छोरीहरु कुनै सपनालाई पुरा गर्ने हैसियत नै राख्दैनन् ।

रोगी आमाले आफ्नो जीवन दीयो मधुरो बन्दै जादा किशोरी बन्दै गरेकी ठूली छोरीकोलागि केटा रोज्न थाल्नु भएको रहेछ । उहाँको एउटै शर्त थियो रे  , केटा गरिब भएपनि हुन्छ तर पढेलेखेको हुनुपर्छ । र आमाको तीक्ष्ण नजरको खोजाइमा एउटा लायक असल केटा पनि फेला परेको रहेछ र उसैसित धुमधामले विहे गरिदिने सपनाहरु सजाउनु भएको रहेछ आमाले चाहिँ दिदीकोलागि । तर अरु सपनाहरु जस्तै यो सपना पनि मनमा अधूरो लिएर हामीसित सदाकोलागि बिछोडिनु भएको थियो आमा । तर दिदीसहित् हामी अझै पनि अचम्ममा पर्छौ कसरी कसरी हो आमाको त्यो सपना पनि साकार भएको थियो । 
आमाले रोजिदिनु भएको जीवनसाथी महेश श्रेष्ठसित दिदी चन्द्रा



आमाले रोजिदिएको सोही केटासितै दिदीको घरजम भयो ।आमाले दिदीकोलागि सजाएको योे सपनासितै फुलेर, फक्रिएर, फैलिएको अनुभुतिमा जीवनको सम्पूर्णता बोध गरिरहेको हाम्रो ठूलीदिदी चन्द्रासित भने आमाको अर्को अन्तिम चाहनापनि टासिएको रहेछ । हामीसित बिछोडिने क्षणमा “तेरो भाई बैनी तेरो जिम्मामा अब” भन्ने मृत्युशैयामा वाक बसेको आमाको आँखाको त्यस लाचार र मुक अनुरोधलाई पढनु भएको रहेछ दिदीले चाहिँ । त्यसैले आमाको यो अन्तिम ईच्छा पुरा निष्ठाको साथ पुरा गर्दै हामीलाई आमासरहको त्यही मायाको छाहारी मुनी सदा सहजेर राख्नु भयो दिदीले । जीवनले ल्याएको जस्तो उतार चढाउमा पनि ममताको अटुट धागो बनेर एउटै डोरमा अथक स्नेहले भाइबैनीहरुलाई समेटिरहन उहाँले आफ्ना सारा जीवन लगाइदिनु भयो । 

अनि मेरोलागि नि त ? के म उहाँको कुनै सपनाहरुको लायक थिए ? 

यो ताका अटोग्राफ बनाउने चलन भर्खर भर्खर चलेको थियो । बच्चाको जस्तो सिकारु अक्षरहरुहरुमा मेरा लागि भनेर उहाँका  सपनाहरु मेरो अटोग्राफमा यसरी साँचिएको थियो ।
 सन् १९९९ जर्मन फ्रयाङ्फर्ट पुस्तक मेलामा 

“असल बन्नु ,नाम कमाउनु, देशको सेवा गर्नु .....”

यो कठिन तर कति सुन्दर र सार्थक सपनाहरु सजाउनु भएको रहेछ मेरोलागि आमाले ।
उहाँको हातले लेखिएको यो हरफले जीवनभरीको मेरो मार्ग दर्शन गरिरहे । आमाको यो आदेश कति पुगे कति पुगेनन् तर पत्रकारिता पेशा अप्नाएर आम नेपाली महिलाको अस्तित्व र मयार्दा स्तरलाई खोज्ने प्रयत्नमा ‘अस्मिता’ पत्रिका शुरु गरेपछि हाम्रो आमा जस्तै पितृसत्ताको जालोमा परेका लाखौ नेपाली महिलाहरुलाई वरिपरि छ्यासछ्यसती पाउन थाले ।   

जीवनको त्यो कालखण्डमा नेपाली महिलाहरुको समान अस्तित्वकोे लडाईमा सामेल हुँदा  एउटा असल कर्मको सुयोग जुरेको थियो मलाई। अनि विधार्थी जीवनमा पंचायतीकालको विरोधमा जागरण र सचेतता जगाउने गीत गाएर हिड्ने जनताका कलाकार बन्दा सार्थक जीवन र देश सेवाको अनुभूति गर्न पाए । अहिले सोच्दैछु यो शायद आमाले मेरो अटोग्राफमा लेखिदिनु भएका अक्षरहरुको 
आशीष थियो मलाई ।


भन्नेहरु अझै भन्ने गर्छन ... हामी आमाका चार सन्तानलाई आमाको सपनाहरुको आशीष छ । र  हामीले अनुभव गरेका छौ उनीहरु साँचो भन्छन् ।

क्रमश........


Comments